मैले निर्माण गरेको
मायाको ताजमहलमा
घाम र जून दुवै बनेर झुल्कियौ
प्रेमको मदिरा पिलाउन
कहिल्यै नमेटिने तिर्खा भएर उदायौ
आपसमा साटासाट गर्न
बैँशको भारी कुर्लुम्म बोक्दै
प्रीतिको तेलमा
रूपको दियो बालेर आयौ
तिम्रो लालित्यपूर्ण मुस्कानमा
ओझेल पर्छ ईन्द्रेणी
कति मीठो बोलि तिम्रो
सुरताल मिलेको सङ्गीतजस्तो
मुहार तिम्रो जुनले चाँदनी पोखेजस्तो
सुन्दरताको यो अधिक रोशनीमा
तिम्रो गीत गाइहनेछु सदा म ।

मेरो जीवनको बार्दलीमा
तिमी सधैँ झुमिरहन्छ्यौ
मुटुको माझमा मात्र हैन
आँखाको नानीमा
अनि हृदयको अग्रभागमा तिमी छौ
जीवनको तारेभिरमा यात्रारत हुँदा
हात थाम्न मात्र आइनौ
पैरोसमेत सम्याएकी छौ
मेरा उध्रिएका सपनाहरू सिलाएकी छौ
हजारौँ सगरमाथाहरू
सह-आरोहण गर्यौं हामीले
मायाको सुन्दर फूलबारीकी बास्ना तिमी
प्रीति पोख्दै मेरो दिलमा
शितल मलम बनी बसेकी छौ।

के गुरूत्वबल छ हँ तिमीमा ?
मलाई सधैँ लुटपुटाइरहने
तिम्रो मायाँको राजमार्गमा
सधै यात्ररत् रहन सकूँ
दिलमा सदा छचल्किई रहनेछ्यौ
प्रेमको पछ्यौरीले ढाकी राख
मायाको पञ्चामृत पिलाइरहू
छु आकर्षित म तिम्रो चित्रमा
सम्मोहित छु झन् चरित्रमा
चुराको आत्मिक छन-छनले
निरन्तर ब्युँझाइरहू मलाई।

चखेवाको जोडी हामी
मुना र मदनको भेषमा
एउटै बोटको दुई थुँगा फूल बनी
यात्रारत् छौँ छायाँ सरी
अन्तरहृदयको क्यानभाषमा
तस्वीर बनी सजिएकी छौ
म शरीर तिमी आत्मा
म प्रार्थना तिमी वरदान
म अपूर्ण तिमी सम्पूर्ण
अनेक यी रूपका जलले
अभिषेक गरिरहू मलाई
मरूभूमितुल्य मेरो जीवनमा
कलकल भै गण्डकी बगिरहू
तिमी छौ र त मेरो जीवन छ
जसरी छ रश्मि सूर्यमा
अनि लालित्य छ प्रकृतिमा।
***
गोरखा बजार
हाल:- विस्कन्सन, अमेरिका।

(कवि अर्यालका दुई नियात्रा संग्रह, एक कथा संग्रह ( संयुक्त) र एउटा कविता संग्रह प्रकाशोन्मुख रहेको छ ।)