लामो यात्रामा निस्किएको
म र मेरा सोचहरु
गन्तव्यको पत्तो नभए पनि
यात्रा निरन्तर अघि बढाउने अभिप्रायले
श्रद्धाको आकाश ओढेर
भावनाको समुद्र मन्थन गर्दै
अमृतका घडा झैँ काव्य प्यालाबाट
अमृत बुँदको चाहमा
उमेरको सिँढी र
समयको पर्खाल छिचोलेर
कदमहरु सर्दैछन्।

परिवर्तित समयको बन्दी भै
घाम-पानी र आँधी-बेहरीलाई
आत्मसात गर्दै
डोरिएर तिमीसँग
प्रमुग्ध भै शब्दभित्रै
विश्वास र समर्पणमा
बनेर तिम्रो पार्श्व
अनन्तसम्म फैलिने मन
भएर शब्दको पालक ।

पुजेर तिमीलाई आस्थाले
संकल्पेर सोचका घेराहरु
त्यो पुण्य आस्थाको मन्दिरभित्र
ईश्वरीय तिम्रा प्रतिमामा
सिङ्गो मन चढाउँदै
तिम्रो पदचाप पछ्याउन
हरदम प्रयन्तरत म पादुक !

हालः अमेरिका