वाशिङ्टन डिसी, १२ मार्च / नेपाली साहित्यका वरिष्ठ विद्वान् समालोचक, नियात्राकार तथा उपन्यासकार डा. तारानाथको स्मृतिमा अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरमा अवस्थित थोमस जेफरसन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा एक “स्मृति सभा” को आयोजना गरियो ।

सो स्मृति सभामा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै भन्नु भयो । यस्तै नेपाली दूतावासका प्रतिनिधि इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले कार्यक्रमको शुरुमा दिवङ्गत डा. तारानाथ शर्माको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । तत्पश्चात् दिवङ्गत आत्माको चीरशान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो ।

सो कार्यक्रममा कवि वसन्त श्रेष्ठले डा. तारानाथ शर्माको परिचय प्रस्तुत गर्नु भएको थियो भने साहित्यकारहरु सीता पाण्डे, उत्तम भौकाजी, कृष्ण भण्डारी लगायतले डा. तारानाथ शर्माको योगदान बारे चर्चा गर्दै उहाँसँगका सम्झनाहरु प्रस्तुत गर्नु भएको थियो ।

सभाध्यक्ष तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले डा. तारानाथ शर्माको तोगदान नेपाली वाङ्मयमा अतुलनीय रहेको बताउँदै उनको विद्वत्ताको फाइदा नेपाली समाजले लिन नसकेको बताउनु भयो ।

कार्यक्रमको आरम्भमा खसखस डटकमका सञ्चालक साहित्यकार वासु श्रेष्ठले आगन्तुकहरुको स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालिका कवि गीतकार पुष्पा खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।