राजेश कोइराला

संसार रोकिएका बेला यो कुनै विषय हो र ? पक्कै होइन । तर साहित्यको इतिहासमा यो विषय एक वाक्यमा भए पनि पक्कै लेखिनेछ । म के इतिहास लेख्दैछु र ? होइन । यो केही हो, अनि केही होइन । छुसी विषय हुनसक्छ । मलाई त्यो इतिहासका लागि सन्दर्भ-सामग्री तयार पारेको भ्रम भएको हुनसक्छ, विषयः ‘कोरोना कहरले साँघुरिएको विमोचनको रहर’ । विमोचन रहरले यति लामो यात्रा पूरा गरिसकेको छ । यो अ-विमोचनका रूपमा पछाडी फर्कन सक्ने अवस्थामा छैन, भनौं न हाम्रा जीवनका धेरै पक्षहरू जस्तै ।
कोरोना कहरमा मैले लेखक, साहित्यकारलाई परेको यो मर्का उहाँहरूले थाहै नपाउने गरी हेरेको छु । साहित्यकर्मीलाई आफ्नो विमोचन सार्वजनिक गर्न कम्ती रहर लाग्या हुँदैन । यी रहरका दियाहरू कोरोनाले पालैपालो निभाएको मैले देखेको छु ।
गत फेब्रुअरी-मार्चको कुरा हो । एउटा दियो, धिपधिप बलेर निभेको थियो, नेपालमा । अरू देशमा चम्किएको कोरोना, अमेरिकामा शुरू हुन थालेकै थिएन । बस्टनका महेश्वर पन्त नेपालमा थिए । नेपाल जाने धेरैजसोले कामको फेहरिस्त लामै बोकेर जान्छ । पन्तको सूचीमा आफ्ना पिता-माताका नामको पुरस्कार ‘कालीभक्त कृष्णा पन्त पुरस्कार’ प्रदान गर्न, धुर्मुस-सुन्तली फाउन्डेशनका सिताराम र कुन्जनालाई भेट्न, ‘गौथली चरी’ को छायाङ्कन तथा तयारी गर्न, लोक-दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउनै मन थियो । उनले गरे पनि । तर एउटा पुस्तक विमोचन कार्यक्रममा आइपग्दा पन्तले सोचेअनुसार हुन सकेन । उनको उपन्यास ‘फुर्लुङ्ग’ आयो । तर विमोचन कोरोनाका कारण भएन । सानो भेटघाट र पुस्तकबारे छलफल गरेर चित्त बुझाउनमा सीमित भयो ।
दियो बाल्ने रहर पेन्सलभेनियाका जे. एन. दाहालको पनि थियो । अप्रिलको कुरा । उनको कथा-संग्रहको विमोचन-कथा अर्कै छ । तर रमाइलो छ । मायालु छ । सानो, चिटिक्क परेको छ । उनलाई पनि विमोचनको रहर पक्कै थियो । १४ कथाको उक्त संग्रह दाहालको दोस्रो कृति हो । ‘सन्ध्या’ (सन् २०१४) गजल-काव्यपछिको उनी लेखनमै थिए, तर परिपक्वताको लडाइँ जारी थियो । उनको कथा-संग्रह ‘लेखककी छोरी’ लाई अप्रिल १० मा उनकै छोरीले विमोचन गरीन् । घरमै । बाबा-आमाले छोरीलाई सारीमा सिँगारे । हातमा किताब राखिदिए । गज्जब । विमोचन भयो । यस्तो देख्दा लाग्छ, किन पो गर्नुपर्‍यो र कार्यक्रम नै ।
कार्यक्रमका कुरा गर्दा मे-जूनमा अमेरिकामा सकिने स्कूल-कलेजपछि । करिब तीन महिने बिदामा केही साहित्यिक कार्यक्रम हुन्छन्, आफ्ना रचना पढिन्छन्, केही दर्जन नेपाली कृति विमोचन हुन्छन् । यो यसपाली हुने देखिएको छैन । विभिन्न संघ-संस्थाका वार्षिक कार्यक्रम पनि शायदै होलान् । अमेरिकाबाट १२ हजार ७ सय २५ किलोमिटर टाढा नेपालमा के छ त ?
नेपालमा भने साहित्य-कृतिको फरक प्रसंग छ । बाहिर बस्ने लेखकका कृतिको गर्भ बाहिरै बस्छ । अनि कृति नेपालमा जन्मन्छन् । मानौं कृतिका प्रसुति-गृहहरू नेपालमा छन् । कति कृतिका अक्षरहरू नेपालमा टाइप हुन्छन् । शुद्धाशुद्धि हेरिन्छन् । कृतिमा बडेमान मानिएका लेखकका दुई शब्दका नाममा लामा गनथन लेखिन्छन् । पेज बनिन्छन् । आवरण डिजाइन हुन्छन् । पुस्तक छापिन्छन् । धेरैले यसैमा जीविकोपार्जन गरेका छन् । लेखकीय रहर पालिएका हुन्छन् । यसरी नै रहर पूरा हुन्छन् । यसबेला धेरैको आम्दानी रोकिएको हुनसक्छ ।
जे.एन. ‘लेखककी छोरी’ सँगै विमोचनका कुरा भइरहेको, अमेरिकाको केन्टकीमा डा. लक्ष्मीनारायण ढकालको कृतिको विमोचनलाई कोरोनाले गतिलै ‘किक’ हान्यो । उनले लेखेका थिए, ‘वासदेखि पुनर्वाससम्म’ संस्मरणात्मक कृति । मार्च २२ का दिन लोकार्पण गर्न तयार गरिएको डा. ढकालको उक्त कृतिको विमोचन मिति सारियो । मे २२ मा विमोचन भयो । उनीसँग आफ्ना बाबा-आमा थिए । उनका पाठक, साथीभाई, गुरू, शुभेच्छुक आदि संसारका धेरै ठाउँमा थिए । ‘जुम’ मा विमोचन गरियो । साहित्य परिषद्, भूटानको आयोजनामा केन्टकीको लुइभिलमा भएको विमोचन कार्यक्रमलाई सुनकोश टीभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । ढकालको विमोचनको दियो फरक ढंगले बालियो भनेर चित्त बुझाउन पाइयो ।
अब विमाचनका यस्ता दियोहरू अझै निभ्ने छन्, केही पहर बित्नेछन् । कोरोना कहरमा, विमोचनका रहर पक्कै हामीसँग परिचित शैली वा ढाँचामा पूरा नहुने देखिँदैछ, केही समय ।

 

विमोचनका केही तस्बिरहरूः

 

 

 

 

(कोइराला, अमेरिकामा निस्कने नेपाली न्युजलेटर अक्षरिकाका सम्पादक हुन् । उनका लेखहरू www.koirala.com.np मा पढ्न सकिन्छ ।)