पीपलु ढाल्यो हुरीले आज वर किन छुटायो
हे प्यारी तिमीलाई बैंसमै पापी दैवले उठायो
कठै दैवले उठायो
किरिया खाएँ एकसाथ बाँच्छु, मर्दछु भनेर
सँगसँगै मर्न डर लाग्यो जिएँ म लाचार बनेर
सकिन बाचा निभाउन मलाई माफ गरिदेऊ है
चढाउँछु तिमीलाई म श्रध्दाञ्जलि स्वीकारी देऊ है
एक थुङ्गा फूल नदीमा खस्यो छाल आयो बगायो
मायालु तिमीलाई बैंसमै पापी कालले उठायो
तिमी त गयौ छोडेर मेरो काखैमा परानी
कोसँग रोउँ, कल्लाई भनुँ यो दुखान्त कहानी
बगाउछु नीर तस्वीर तिम्रो छातीमा टाँसेर
निशाको घडी आउ मलाई भेट्न सपना बनेर
जीवनको ऋतु फेरियो मलाई शिशिर बनायो
बैंसमै मेरी पियारीलाई मृत्युले उठायो ।
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ जेष्ठ २०८३, शुक्रबार 










