साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फेसबुकः ५ लघुत्तम कथा

लघुकथा

एक

उसले आफ्नो प्रेमिकाको सुन्दरतम् सेक्सी फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना दियो !
त्यसपछि प्रेमिकाको फोन उठ्न छाड्यो ।
भोलिपल्ट त ऊ अनफ्रेण्ड भैसकेको रहेछ !

दुई

bahulako diary small and inside post

सूर्यप्रसाद प्रशन्न मुद्रामा भन्दै थिए, “भन्दिएँ मैले ! गज्जबले भन्दिएँ । क्यै बाँकी नराखी भन्दिएँ । यसरी देश कहाँ चल्छ ? ’’
मैले सोधेँ, “कस्लाई भन्नु भो काका ?’’
“लौ त्यही प्रधानमन्त्रीलाई नि, अरू कस्लाई भन्नू !’’ काकाले जवाफ दिए !
“कहिले भेट्नु भो प्रधानमन्त्रीलाई र भन्नु भो काका ?’’ मैले थप जिज्ञासा राखेँ !
काकाले भने, “कहाँ भेट हुनु नि ! त्यही फेसबुकमा भन्दिया नि मज्जाले !’’

तीन

रत्नाकरले हँसिलो मुहार बनाएर भने, “झारपात सारा उखेलेर फाल्दिएँ लौ जा !’’
उनी दङ्ग थिए !

श्रीमती पनि दङ्ग परिन् र बगैंचातिर लागिन् !
बगैंचा जस्ताको तस्तै थियो ।
बूढीले सोधिन्, “बूढा, कहाँको झारपात उखेल्यौ ?”
रत्नाकरले जवाफ दिए, “लौ, फेसबुकका झारपातहरू क्या !”

सम्बन्धित पोस्टहरु

चार

कुमार बिहान उठेदेखि मोबाइलमा काम गरेका गर्यै थियो ।
श्रीमतीले ल्याएको चिया पनि सेलायो ।
डेड घण्टापछि ढाड मर्काउँदै कुमार उठ्यो !
श्रीमतीले भनी, “बिहानैदेखि कति व्यस्त हजुर ! चिया पनि सेलाइसक्यो ! सकिएन काम ?’’
“अब एक घण्टामा सकिन्छ !’’
“लौ, अझै एक घण्टा !’’
“बल्ल त लाइक र शेयर गरेँ, अझ कमेन्ट गर्नै बाँकी छ क्या !’’
श्रीमती ट्वाल्ल परिन् !

पाँच

मुना छट्पटाइरहेकी थिेई !
सुमन छटपटाइरहेको थियो !

दुवै छटपटाइरहेका थिए !
“बल्ल एकाउन्न र आठ पुग्यो !’’ मुना फुसफुसाई !
“मेरो त अठहत्तर र पन्ध्र पुग्यो ।’’ सुमनले भन्यो ।
वाहियातहरू ! पाँच-पाँच हजार वाहियातहरू !
मुना दाह्रा किट्दै थिई ।
सुमन नबोले पनि उस्तै तनावमा थियो !
लोग्ने स्वास्नीले एकसाथ नयाँ फोटो पोष्ट गरेका थिए र लाइक र कमेन्ट गनिरहेका थिए !

०००

फल्स चर्च, भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया
Loading...