साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मेरी श्रीमती र ऊ

Chovar Blues Mobile Size

मेरी श्रीमतीको मुहारमा देखिने खुशीको सानो धर्कोले मलाई अझै तर्साउँछ ।
कथाको सुरुवात होइन यो र अन्त पनि हैन । कथा सुरु हुन्छ म जन्मेपछि । मेरा बा कुपोषण लागेर पनि उभिइरहेको बच्चाजस्तो देख्न्थिे । ‘काला, कस्ता नराम्रा हुन् !’ भन्ने उपनाम प्रयोग भएर सम्बोधित हुन्थे मेरा बा गाउँमा । आमा पनि खासै राम्री सलक्क परेकी ल्याउन पाएनन् । ‘जोडी त क्या ठ्याक्कै मिलेको ! बुढीका दाँतले त सधैँ बुढालाई मात्रै हेरिरहने । हाँस्ता त झनै काला गिँजा पनि बाहिरै निस्केर हाँस्ता रछन्,’ गाउँको भिडभाड अथवा एकान्त जहाँ पनि मुख र कानको भेट हुँदा असरल्ल त्यसै पसारिने वार्तालाप हुन् यी । मेरो घरको सम्मानमा ।
अब म पनि फरक जन्मिने त कुरै भएन । घरमा भएका सदस्यभन्दा फरक जन्मिनँ म पनि । पक्षपात गर्न पनि भएन । भगवान्ले पनि कत्ति पक्षपात गरेनन् । बाआमाजस्तै म पनि यो घरको सदस्यजस्तै देखिएँ । ‘ठ्याक्कै बाआमाको दुरुस्त रूप लिएर आको’ भनेर मुसुमुसु हाँस्न पाए गाउँलेहरूले ।
आमाको मन न हो । कति राम्रो सुन्दर देखिन् मेरी आमाले मलाई । उनको मुटुको टुक्रा भएँ म । एउटा संसारको उत्तम वस्तु भएँ म । त्यसैले मेरो नाम पनि ‘सुन्दर’ राखिदिइन् आमाले । हुन त मेरी फुपुले ओठ लोप्प्राएर भनेकी थिइन् रे ‘मान्छे कस्तो, नाम भने सुन्दर’ बाले न्वारनमा जुरेको नाम ‘मोदनाथ’ नै ठीक पनि भनेका हुन् । आमाको बलका अगाडि बाको केही चलेन । फुपै एक छिन पुत्ताएर जलिन्, पछि शान्त भइन् ।
यो नामले मलाई स्कूलमा निकै आपत् पारेकै हो । शिक्षक होस् या विद्यार्थी साथी मेरो नाम लिएपछि एक पटक हाँस्थे । म त्यसै पिरिन्थेँ । कक्षा छोडेर भागौँजस्तो लाग्थ्यो । आमालाई एक दिन बिन्ती गरेँ— मेरो नामले स्कुलमा कमाएको हँसीमजाकको बारेमा । मेरो नाम ‘सुन्दर’, जुन शब्द मभन्दा धेरै फरक थियो । नाम र मान्छेमा परस्पर कतै भेट हुने सम्भावना थिएन । तर आमाले छोरालाई सुन्दर देख्न छोडिनन् । भलै अरूले जे देखुन् ।
आमाले भनेकी थिइन्— ‘मान्छे सुन्दर यो बाहिर पोतिएको रङ, बनोट, छाँट छन्नले हुँदैन । मान्छे राम्रो याँबाट हुन्छ । मेरो छोरो मलाई थाछ । याँबाट राम्रो सुन्दर छ’ भन्दै दाहिने हाँतले छातीको देब्रे कुनामा हानिन् आमाले । यही एउटा कुरो मेरो दिमागमा रेकर्ड भयो र चाहिएको बेलामा प्ले पनि भयो । फेरि डिलिट भएन । यसपछि कुनै क्लासमा पनि दोस्रो भइनँ म ।
बुटवल राखेर आई.कम. पढाए बाआमाले । विशेष त यो आमाको ‘सुन्दर’ कहिल्यै पछि परेन । आई. ए. सक्नेवित्तिकै खाद्य संस्थानको सुब्बामा पनि नम्बर एकमै नाम निकाल्यो । बुटवल नै कर्मथलो बनाएर अफिस डेरा र बिहानमा वि.कम पढ्न थालेको थियो ।
आफ्नो ‘सुन्दर’को विवाहको चिन्ता आमालाई हुने नै भयो । पुट्ट भँुडी र सिखुटे हातखुट्टा गरेका फुस्रे कुभिण्डामा खुट्टा हालेर उभ्याएजस्ता मेरा सन्तकी बालाई कराउन थालिन् आमाले ।
मेरो सुन्दरता, पढाइलेखाई र जागिरको राम्रै बयान भयो होला ! शहरमा एकै पटकमा सुब्बा भएर हाकीम बनेको ज्वाइँ पाएपछि के र ? लमीले गरेको केटीतर्फको बयान सुनेपछि मख्ख परेर मेरी आमा त बाहिर झुण्डिइरहने दाँतमा झन् गिँजा थपेर देखाउँदै हाँसिन् । रूप त हाम्रो घरले किन हेर्नुपर्यो र ? रूपमा हामी जति कमजोर यो एरियामा कोही थिएन । त्यसैले हामीभन्दा नराम्रा पर्लान् भन्ने कुरै भएन ।
जसले मसँग विवाह गदैछिन् तिनले मलाई नदेखेको कुरा त पक्का थियो । सुहागरातमा लाल्टीनको उजेलो छरिएको थियो । कोठा गच्छेअनुसार सजिएको थियो । त्यसमा पनि मेरो अफिसका साथीहरूको कला अलि अलि पस्किइएको थियो । गाउँमा कसले जान्नु र यत्तिको सजाउन ?
मैले उनलाई देख्दा र उनले मलाई देख्दा उत्तिकै आश्चर्यमा पर्यो होला ! दुवैजना वरिपरि पर्याप्त जमिन भए ढल्ने सम्भावना थियो । तर कोठा यति सानो थियो ढल्न पनि ठाउँ पुग्दैनथ्यो । एकअर्काको गन्धसम्म मिसिएर हाम्रा नाकभित्र कोचिएको थियो । सस्तो परफ्यूम र पसिनाको गन्ध । अतः हामी सल्लाह गरेजस्तै गरेर ढलेनौँ ।
उनको र मेरो रियाक्सन भने अचम्मको उल्टो थियो । उनको सुन्दर उजेलो मुहारमा चट्ट परेको नाक ठुस्स परेर खुम्चिएको थियो । मुखले ङिच्च परेर नमिठो पाराले हाँसेर मेरो पहिलो झलकको स्वागत गरेको थियो । परिस्थितीले उनलाई लोप्पा खुवाएर ‘बल्ल खाइस् !’ भनेको उनले प्रष्ट सुनेकी थिइन् । मैले त्यो बुझेको थिएँ । मेरो रियाक्सन अर्कै थियो । आँखा र मुख दुबै खुलेका खुलै थिएँ । मनमा मङ्गल धुन र मिठो गितारको तार खेलेको थियो । यति राम्री सुन्दरी मैले नजिकबाट कहिल्यै देखेको थिइनँ । अब आफ्नै श्रीमतीको धेरै बयान गर्ने कुरा पनि भएन । यतिवेलासम्म आँखा सामान्य आकारमा फर्के र मुखबाट लामखुट्टे भित्रबाहिर गर्ने क्रम बन्द हुँदा उनी गहना कपडा फेरेर गइसकिछन् ।
म झस्केँ, उनलाई नदेखेर । उनी सामान्य भएर बाथरुम गएको पत्ता लाग्यो । म ढुक्क भएँ । मलाई यो कुरा भन्न मन थिएन तर कथालाई ढाँट्न सकिनँ । उनले ट्वाइलेटमा बान्ता गर्दै थिइन् । मलाई त्यो बान्तामा मेरो सुन्दरता छादिएको भान भयो । म अलि निराश भएँ । गर्नुपर्ने सबै काम सकिएका थिए । अब रिभर्स गरेर फेरि सुरुमा पुग्नलाई क्यासेट प्लेयर त हैन जिन्दगी!

सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ ।

सुहागरातको भोलिपल्ट एउटा नारीमा हुनुपर्ने चमकता थिएन । भाग्यले नराम्रोसँग पछाडिबाट लात्तो हानेको थियो उनलाई । आफ्नो छेउमा उभिएर फोटो खिच्नुपर्ने लोग्ने हेर्न लायकको थिएन । त्यसै च्यातचुत पारेर डष्टविनमा फाल्नुपर्नेजस्तो मान्छे । यो मैले गरेको कल्पना मात्र हैन । यो त उनको अनुहारमा लेखिएको सूचना मैले पढेर भनेको हुँ ।
कौवाहरूको घरमा राम्रो परेवा वा ढुकुर ल्याएर थुनेको गीतको कारुणिक प्रस्तुती गाउँलेले गरेका थिए । विवाहघरमा दुलही हेर्न आउँदा भोलिपल्ट यस्तो गीत सुनिएको थियो । मैले बुझेँ । आमाले खै ! के गरिन ? उनलाई मख्ख परेर दुलहीको स्तुति नस्वाई नस्वाई गाउँदै ठिक्क भयो । दिनभर उनका माथिल्ला दाँत र गिँजाले सुख पाएनन् । बा अलि लाज मानेकाजस्ता देखिन्थे ।
आमाले बुहारी गाउँमा राख्न मानिनन् । गाउँमा बुहारीको विस्कुन सुकाउँदा चोरी हुन सक्ने विचार गरिन् क्यारे !
दुलही बुटवल पुगिन् । एउटा सानो कोठा, भान्छा घर र बाहिर बजार हेर्ने बादर्ली भएको मेरो डेरा थियो । मेरी श्रीमती भने मतिरभन्दा बार्दलीतिर बढी आकर्षित हुन्थिन् । खै कुन्नि ! के के खोजिरहेका जस्ता देखिन्थे उनका आँखा । मैले समाधान गर्न सकेको थिइनँ वा मेरो औकात थिएन । पानी नपाएको रातो गुलावजस्ती भएकी थिइन् उनी ।
‘आई.ए. प्रथम र द्वितीय वर्ष दुवैमा अङ्ग्रेजी ब्याक छ’ भनेर सासूले भनेकी थिइन् । दुलहीको मागअनुसार ट्यूसन पढाउने मास्टर खोजेँ । साथीहरूको सहयोगमा बल्ल यौटा मास्टर आए । भर्खरका हँसमुख युवा, प्रखर बोल्ने, मिठास खालका र आकर्षक पनि थिए उनी ।
उनी आए । ‘भरत’ रहेछ उनको नाम । हामीले भरत सर भन्यौँ । उन्ले स्विकार गरे । म अफिसबाट फर्कने समय र उनी आउने समय मिलाइयो । मैले आफ्नो घरको सुन्दर गहनालाई कसैसँग एकान्त दिन चाहिनँ । तर शुरुदेखि नै माष्टर केटालाई देख्दा उनका आँखामा एउटा लुकेको अनौठो हर्ष देखिन्थ्यो । उनले देखाउन नचाहेको तर उकुसमुकुस भएर फुट्न चाहेको हर्ष । त्यो अपरिपक्व लुकेको उनको चाहनाले मलाई कुच्च कोपेको थियो । कता हो कता त्यो कोपाइ पहिलै दिन छिरेको थियो म भित्र । तर श्रीमतीको आई.ए. पासमा ससुराली खलकको आस टाँगिएको हुनाले विरोध गर्न सकिनँ ।
हुनत मैले विवाहपछि बुटवलमा दिएको सानो रिसेप्सनमा पनि निकै रमाएका थिए साथीहरू । मलाई भन्दा पनि मेरी राम्री श्रीमतीतिर हेर्दै मलाई बधाई दिएको तरिका अलि शङ्कास्पद थियो सबैको । रिसेप्सन पार्टीमै खाद्यको पिउनले भनेको थियो— ‘सर हजुर त कस्तो भाग्यमानी ! कति राम्री श्रमिती पाउनुभो ! आफ्नी त उही १५ वर्ष पुरानी थाङ्नोजस्तै गन्हाउने स्वास्नी । जिन्दगी नै वाक्क ।’ एउटा कुराचाहिँ सबै पुरुष कर्मचारीहरूको मिलेको थियो । त्यो के भने ‘यति राम्री भाउजू हेर हेर ! तपाईंले दुःख दिन पाउनु हुन्न नि । यदि दुःख दिनुभयो भने …..?’ मात्र यति भन्थे । तर मैले दुःख दिए भनेँ के त ? यो लामो डट् डट्को जवाफ कसैले दिएनन् । तर सबैका मुखमा रयाल भने थियो ।
महिला कर्मचारीहरूले भने मलाई हेर्ने नजर नै परिवर्तन गरेका थिए । अलि अलि ईर्ष्या र अलि अलि जिस्काउने पारामा भन्थे ‘सर त क्या लक्की !’ यत्ति हो यिनीहरूले भनेको । म अफिस छिर्दा यिनीहरूको कानेखुशी र मुसुमुसु हुने गरेको मुस्कानमा म नै थिएँ । विवाहभन्दा अगाडि भने अफिस छिर्दा यति चर्चाको केन्द्रविन्दु म पटक्कै हैन । मैले पनि आफूभित्र छुट्टै गर्वको महशुस गरिरहेको थिएँ । तर यति बेला भने यो मास्टरको आगमनको भयले भुइँचालो ल्याएको थियो मनमा । मास्टर ट्यूसन पढाउन आउने दिनमा मेरी श्रीमतीको चुरीफुरी भिन्नै हुन्थ्यो । विहानैदेखि त्यो अनुहार र आँखामा लुकाएर नलुक्ने प्रकारको चमक हुन्थ्यो भने अर्कोतिर विहानै म अफिस जानुअगाडिदेखि नै घरमा मास्टरका लागि बन्ने पकवान र बजारबाट मैले ल्याई दिनुपर्ने सामानको लिस्ट तेर्सिन्थे । म अफिसबाट घर आइपुग्नुभन्दा अगाडि नै आइपुग्न थालेको थियो मास्टर ।
म घर आइपुग्दा मास्टर मेरी श्रीमतीलाई पढाइरहेको हुन्थ्यो । भलै म पुगेपछि आपसमा अलि दुरी बढाउँथे । मेरी श्रीमतीले आफ्ना लगाएका कपडामा पनि यसो ध्यान दिन्थिन् । शायद त्यो उनको मास्टर वा उनको केटो साथीको इज्जत बचाउन गरिएको नाटक पनि हुन सक्थ्यो । मेरी श्रीमतीको मुहारमा देखिने मुस्कानका लागि म यो हर्कत सहन अबोध बालकजस्तै हुन बाध्य भएको थिएँ । मेरी आमाको ‘सुन्दर’ त्यत्ति कठोर हुन सकेको थिएन ।

‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’

sagarmani mobile size

पढाइको समाप्तिपछि दिनभरि बनेका पकवानहरूको भागबन्डा हुन्थ्यो । यसमा पनि म ठगिन्थेँ । मप्रति भन्दा उनी आफ्नो सरप्रति कर्तव्य परायणता देखाउँथिन् । केही दिनको पढाइमा नै उनले उसका बारेमा धेरै जानेकी थिइन् । उसलाई पस्किएको खाजाको तुलनामा मेरो खाजा निकै गरिब देखिन्थ्यो । मेरै खर्चमा मेरै फुलबारीको डाली चपाइरहेको थियो त्यो साँढे ।
मेरा आँखाअगाडि मेरै आँखा छलिन्थे । ईशारा र कोड भाषा प्रयोग भएका हुन्थे । तर म लाचार त्यो मिठो पकवानमा आफ्ना दाँत गाडिरहेको हुन्थेँ । ऊ मतिर फर्केर मुसुक्क हाँस्थ्यो । मलाई लाग्थ्यो— उसले मलाई मुखमा पिच्च थुकेको हो र भनेको हो— ‘के तलाई लाज लाग्दैन यति राम्री स्वास्नी ल्याउन ? आफू कुरूप भएर । अनि तह लगाएर राख्न सक्दैनस् आफ्नी स्वास्नी ?’
मैले आँखा जुधाउन सक्दैनथेँ उसँग । हारेको साँढेझँै जमिन हेर्न थाल्थे मेरा आँखा । गल्लीका लाचार छेरुवा कुकुरझैँ म अवाक् हुन्थेँ र यस्तै चलिरहेको थियो समय ।
त्यो कुनै एकदिन जाने बेलामा बिदा माग्यो हामीसँग । मेरी श्रीमती उसलाई विदा गर्न परसम्म गइन् । म बार्दलीमै बसिरहेँ वल्लोपल्लो घर हेरेर । पल्लो घरको पाल्पाली जोडी मुसुक्क हाँसे मलाई देखेर तर केही बोलेनन् । मभने लाजले भुतुक्क भएँ । मलाई लागिरहेको थियो उनीहरू मलाई एउटा शब्दले सम्बोधन गरिरहेका थिए— ‘पानीमरुवा !’
मेरी श्रीमती सरलाई विदा गरेर फर्किन् । हाँसो र मुखको चमक भने उतै आफ्नै केटोलाई दिएर पठाइछन् । मेरो लागि उही पुरानै नाक खुम्चिएको र बाङ्गिएको मुख लिएर आइन् । सरासर सधैँझैँ टाउको दुखेको निहुँमा विस्तारामा घोप्टिइन् । मैले मेरो भागको चन्द्रमा ‘ग्रहण’ लागेजस्तै स्विकारेँ । त्यो नै बाध्यता थियो ।
आजकल म उसलाई सर भन्दा श्रीमतीको केटो भन्न रुचाउँछु । अब पढाइभन्दा मन र आँखा सेक्ने काम भएको प्रष्ट देखिन्थ्यो । पढाइको क्रममा कक्षामा बसेर मास्टर र विद्यार्थीको एकाग्रता भङ्ग गर्न चाहिनँ मैले । अतः भित्र आफ्नै कोठामा नै बस्न थालेँ । भित्र कोठाबाट वा कतै चरबाट देखिने बार्दलीको प्रेमील मर्मलाई बयान गर्न म सक्दिनँ । म नै यो सुकार्यको परिपोसक भएको छु जस्तो लाग्थ्यो । गर्न सक्ने धेरै थिए तर आँट आएको थिएन । श्रीमती र उसको प्रेम बढोस् वा रोकियोस्, कुन राम्रो ? भन्न सकेको थिइनँ । आजकल छिमेकमा, अफिसमा र यताउता हिडँदा ममाथि ठोकिने नजरहरूले रङ परिवर्तन गरेजस्तो लाग्थ्यो । म त यसै पनि ती नजरहरूमा श्रीमतीका लागि योग्य थिइनँ । त्यसैले ‘देखिस् ?’ भन्ने टाउकाहरू धेरै थिए । ती अर्काका श्रीमती राम्रा देखेर ‘भाउजूले दुःख पाइन भने…!’ भनेर पछाडि लामो डट्डट् ठोकेर बधाई दिनेलाई पनि सघाएजस्तो भएको थियो ।
ताऽती श्रीमतीको छेउमा चिऽसो तापेर पऽरै सुत्ने असल श्रीमान् भएको छु आजकल । एक मनले यसलाई रोक्न खोजेको पनि हो । गाउँबाट आमाबा बोलाएर डेरामा राख्ने मन पनि आयो । फेरि सोचेँ, आमाबाले पनि यो तमासा रोक्न नसके के होला ? आफ्नो ‘सुन्दर’ छोराकी ‘सुन्दर’ बुहारीको चालाले दुःखी होलान्, आमा बा । किन यसो गर्नुजस्तो लाग्यो । योभन्दा बरु केही क्षण भए पनि श्रमितीको सुन्दर मुहारमा मुस्कानको धर्को हेर्न मास्टर नजाँदै अफिसबाट आउने कोशिस गर्छु । तर आजकल उसको कार्यतालिका मैले निर्धारण गर्न सक्दिनथेँ । अतः कति दिन त भेट पनि हुँदैनथ्यो । तर भेट हुँदा भने उसको नमस्कार र कुटील मुस्कानमा मेरो खिल्ली उडेको चित्र भने मैले बिर्सने कुरै भएन ।
एक दिन शनिबार मेरो अफिसको खर्दार रघुले जन्मदिनको निम्ता दिएको थियो । मलाई निम्ता नआउने कुरै भएन । बारबार उसले भनेको थियो— “भाउजूलाई लिएर आउनुभएन भने भित्र पस्न पाउनुहुन्न है, हाकिमसाव । रघुकी श्रीमती यता खर्च नपुगेपछि छोरो पढाएर माइतमै बस्छे, बाँकेको कोहलपुरमा । ऊ यता एक्लै छ । मैले श्रीमतीलाई भनेको थिएँ ‘रघुको वर्थ डे हो, दुवैलाई बोलाएको छ । दिनभर उतै बस्ने, डिनर गरेर केकसमेत काटेर फर्कने भनेको छ, तयार होऊ’ उनले मेरो आदेशलाई रत्तिभर पनि मनन् गरिनन् । कहिले पो गर्थिन् र ! उनले सधैँझैँ भनिन्— ‘मेरो घरमा धेरै काम छ । टाउको पनि दुखेको छ । आफू गए हुन्छ, जान्न ।’ यसपछि मेरो कहिल्यै केही चल्दैन । किनकि मसँग उनी बाहिर जाँदिनन् । मलाई श्रीमान् भनेर चिनाउन लाज हुन्छ उनलाई । यसमा मेरो र उनको दोष केही थिएन । यो त तिनै लमीको दोष हो । सुहागरातमा आश्चर्यचकित परेको भेटघाटपछि उनी कैल्यै मिठो बोलेकी छैनन् मसँग । त्यसको मलाई सधैँ अभाव खट्केको छ । अब बानी पनि परिसक्यो ।
रघुको घरबाट फर्केँ । रघुलाई धेरै गाली गरँे । मनमनै भन्नु नभन्नु भनेँ । उसले बिरामी भएर वर्थ डे पार्टी रद्ध गर्यो । सबै घर फर्के । म पनि कतै गएर दिन काट्ने ठाउँ सम्झने प्रयास गरेँ । केही त्यस्तो ठाउँ पत्ता लागेन ।
मैले देख्न नहुने कुरा घरमा भइसकेको थियो । मास्टरको मुखुण्डो ओढेको मेरी श्रीमतीको केटो र मेरी श्रीमती मेरो विस्तारामा मस्त निदाएका थिए । रघुले जन्मदिनको कार्यक्रम रद्ध गर्दा अकस्मात् म यस्तो भुमरीमा परेको थिएँ । उनीहरू गोरु बेचेर सुतेकोे किसानझैँ मस्त सुतेका थिए । संसारप्रति उनीहरूलाई रतिभर चासो थिएन । उनी मेरी श्रीमती हुन् तर छेउमा सुत्ने मान्छे म थिइनँ । विस्तारा मेरो थियो । दुवैको अनुहारमा कुनै मेकअप थिएन तर सुन्दर मुस्कान छ्यापिएको प्रष्ट देखिन्थ्यो । निद्रामै पनि एकअर्कालाई छामिरहेका, टटोलिरहेका जस्ता देखिन्थे । पूर्णरूपमा अघाएपछि पनि सिनोबाट मासु लुछिरहेको बाघजस्तै ।
उसका हातहरू मेरी श्रमितीको वक्षस्थलमा खेलिरहेका थिए, केही खोजिरहेजस्ता । उता मलाई भने काउकुतीको अनुभव भएको थियो । मेरी श्रीमतीका ओठहरू मन्द केही बोलिरहेका जस्ता देखिन्थे । तर नबुझिने पारामा । आँखा चिम्म गरेर आफ्ना लाजहरू छोपिरहेका थिए उनीहरूले । तर उनीहरूले एकअर्कालाई प्रष्ट देखेका थिए । संसारले भने देखेको थिएन, आँखा उघारेको संसार अन्धो भएको थियो ।
संसारका सुन्दर प्राणीहरूजस्ता देखिएका थिए मेरी श्रीमती र ऊ । मैले उनीहरूलाई डिस्टर्ब होला भन्ने पूर्ण ख्याल राखेँ । विस्तारै झ्यालबाट बार्दलीमा आएँ । कसैले नदेखोस् भनेर झ्याल लगाइदिएँ । बार्दलीमा एकछिन सोचमग्न भएँ । उसले गरेको खुल्ला च्यालेन्जलाई मर्दना टाउकोले महसुश नगरेको पनि होइन । भान्छा कोठामा राखेको मासु काट्ने खुकुरीको याद आयो । खुकुरीले गर्नसक्ने क्रान्तिको पनि याद आयो । तर त्यस्तो सोचाइलाई मुटुले विरोध गर्यो । मेरी आमाले दाहिने हात राखेर छातीको देब्रे पाटो छोएको याद आयो । तिनै आमाले जन्माएको सुन्दर मान्छेको सुन्दर मुटुले आफ्नै घमण्डी टाउकोसँग झगडा गर्दै थियो । उसले मेरी श्रीमतीमाथि निदाउनुभन्दा अगाडि गरेका हर्कतहरूको टाउकोले ताजगी गर्दै थियो भने मुटुले विरोध गर्दै थियो । टाउको र मुटुको आदेश प्रष्ट नहुँदा हात र खुट्टाहरू अलमलमा यताउता टहलिएका थिए तर गर्न केही सकेका थिएनन् । यसरी आफ्नै अङ्गहरू मनोमानी झगडा गरेको अनुभव मलाई कहिल्यै भएको थिएन ।
यसरी आफ्नै मुटु आफ्नै अगाडि चोरी हुँदा पृथ्वीले दिएको सानो कम्पन भने महशुस भएको थियो । तर मस्त निदाएका ती संसारका सुन्दर प्राणीहरूलाई दखल दिने कत्ति मन भएन । मेरी श्रीमतीको मुहारमा देखिने सानो खुशीको क्षण खोस्न मन लागेन बरु बुटवल बजारको तल रहेको गौरीको भट्टी पसलको याद आयो । विवाह हुनुभन्दा अगाडि ठर्रा पिएर जिस्केको याद आयो । त्यो रातभरि रक्सीको सिरक ओढेर कता सुतेँ थाहै भएन ।
केही दिनमा मेरी श्रीमतीको मुखमा देखिने खुशीको सानो धर्को मेरो नजरबाट टाढिएको थियो र त्यही दिन भरत सरको विवाहको निम्तो कार्ड घरको बार्दलीमा मुस्कुराउँदै थियो, मेरी श्रीमतीको खुशी लुटेर। आजकल म मेरो आफ्नै बार्दलीमा कालो चस्मा लगाएर टहलिने गरेको छु।

अमेरिका

प्रतिक्रिया
Loading...