आमाको काखमा
मेरो टाउकाको
कपालभित्र चलमलाउने
औंला र गाला सुमसुमाउने
अशक्त हातको स्मरण
गर्दै
मनमा
भ्रमको झाडी
उमार्न खोज्दछु,
आँखालाई
कुहिरोले ढाकोस्
भन्छु
भौतारिन्छु
यता र उता
वल्लो कोठा र पल्लो कोठा
तल र माथि
केही बोल्न खोज्दछ
मुटु
हातले थम थमाउँछु‑
अल इज वेल !
बग्न खोज्ने
पानी बाँधमा टिलपिल छ
ढाँटिदिन्छु आफ्नै मनलाई
घरमै छौ तिमी
पल्लो कोठामा छौ तिमी
कौसीमा छौ तिमी
भाइको घरमा छौ तिमी
बैनीका गन्थन सुन्दैछौ तिमी
नातिलाई जिस्काउँदैछौ
वा
मैले भनेको जस्तै
सकी नसकी
कतै डुल्दै छौ
खुट्टा तन्काउँदै छौँ
आमा, तिमी
तर
जब आँखा
बन्द गर्दछु
कसले उखेल्छ
भ्रमको झाडी
कता भाग्छ
आँखाको कुहिरो
देख्छु दूरमा एउटा
दीपक बल्दै गरेको

यहाँ पानी भरिएको हो
वा बाँध फुटेको हो
हेक्का पाउँदिन म
बगिरहन्छ, बगिरहन्छ ।
तिम्रो
छुटेको उपस्थितिमा
सम्झनाका बछिटाले
निथ्रुक भएको मन
पानी रोकिए पनि
भिजी रहँदो रहेछ
पानीको मूल त
खडेरीमा सुक्छ भन्छ्न्
नयन जल कहिले
सुक्छ
पत्ता लगाउन सकेनन्
है कसैले ?
भल्केर आउने
तिम्रो स्मरणले
परेलीका बाँध
फुटाई रहन्छ ।
घर शून्य
आँगन शून्य
शून्य छ यो मन
आमा बिनाको
संसार शून्य
के पो छ र अब
केवल छ
अनायास
हरपल हरक्षण
यी ओठहरूमा आउने
शब्द
आमा आमा आमा !

 

पोखरा ७ मासबार, कास्की