
नारी दिवस
“ए हुन्छ, हुन्छ । हाम्रै घरमा बसौँला नि । के गर्ने बिदा त मनाउनै पर्यो । बरु खसीको मासु ल्याउने हो वा कुखुराको भनौँ है । … त्यसको चिन्ता छैन बनाउँछिन् । बरु तीन बुक पो उतै परे जस्तो छ ल्याउन नभुल्नु ल ।”
रमेशचन्द्रजी फोन राख्नुभयो । भान्छाकोठामा पस्दै श्रीमतीसँग भन्नुभयो, “आज विदा भएर साथीहरु हाम्रो घरमा बस्ने भनेका छ्न् । खाजा बनाउनु पर्छ है । ”
“आज त विशेष दिन भएर हाम्रो आमा समूहले दिनभर कार्यक्रम राखेको छ । लैङ्गिक हिंसा विरुद्धको चेतना अभिवृद्धि , रजोनिवृत्तिको समयमा हुन सक्ने समस्याको बारेमा डाक्टरबाट जानकारी दिने कार्यक्रम र बालिकाहरुलाई निशुल्क कपी कलम वितरण कार्यक्रम छ । आज त म पनि व्यस्त हुन्छु ।” श्रीमतीको जवाफ थियो ।
रमेशचन्द्रजी भित्ताको क्यलेण्डर हेर्नुभयो । अन्तर्राष्ट्रिय महिला दिवसले उहाँको ज्ञानलाई गिज्याएजस्तै लाग्यो । आफैँसँग लाज लागेर आयो ।
===
फिराइ
“सर,आन्तरिक टर्मिनलतर्फ त होइन नि ?” टेक्सी ड्राइभरले सोध्यो ।
“होइन ,होइन ।” गोपालले भन्यो ।
“कहाँ जान लाग्नु भयो ?” टेक्सी ड्राइभरले जिज्ञासा राख्यो ।
“कतार जान लागेको हुँ । तपाईंले टेक्सी चलाउन थालेको कति भयो ?” गोपालले सोध्यो ।
“पहिला त म पनि बाहिर गएर आएको तर बाहिरको कमाई जोगाउन सकिएन । गाउँमा जायजेथा छैन, यहीँ बसेर यो पेशा थालेको पनि पाँच वर्ष भएछ सर ।” उसले भन्यो ।
हिँड्ने समयमा श्रीमतीको गहमा टिलपिलाएको आँसु सम्झ्यो । छोराको दुधेदाँतको हाँसो आँखामा आयो । घरमा काम गर्ने बलियो मान्छे नभएर बारी क्रमशः खरबारी हुँदै झाडीमा बदलिँदै गएको सम्झ्यो ।
“सर ओर्लनु पर्यो ।” भन्दै ड्राइभरले टेक्सीको छतमा राखेको सुट्केश निकाल्न बाँधेको डोरी खोल्दै थियो । गोपाललाई ओर्लन मन लागेन र उसले भन्यो, “ टेक्सी फर्काउनुहोस ।”
===
बाल मनोविज्ञान
“अब आज नयाँ खेल खेलौँ ।” शिक्षिकाले बालबालिकाहरुलाई कक्षाकोठामा भन्नुभयो । बाबुनानीहरु खुसी देखिए । सबै जनालाई एक एक गरेर अगाडि बोलाउनु भयो ।
“हरि भन त तिमीलाई ठूलो भए पछि के हुने इच्छा छ ?” गुरु आमाले सोध्नुभयो ।
“म त डाक्टर हुने हो । ” उसले भन्यो ।
“अब भन त डाक्टरले के गर्छ्न् ?” गुरुआमाले सोध्नुभयो ।
“ऐयाऐया भएकोलाई सञ्चो बनाउने ।” हरिले जवाफ दियो ।
गुरुआमाले कृष्णलाई सोध्नुभयो, “तिमी के हुन्छौ ?”
झ्याल बाहिर विद्यालयको नयाँ भवन बनाउँदै गरेका कामदारलाई हेर्दै भन्यो, “म त स्कुल बनाउँछु , घर बनाउँछु ।” कृष्णले भन्यो ।
गुरुआमाले गोपाललाई सोध्नुभयो, “तिमीलाई के हुन मन लागेको छ ?”
“म त धेरै पढेर अङ्कलजस्तै जागिर खाने हो ।” उसको जवाफ थियो ।
“विष्णुमणी, अब तिमी भन के हुने हो ?” गुरुआमाले अर्को विद्यार्थीलाई सोध्नुभयो ।
“हाम्रो बाले भन्नु भएको किसानले सबैलाई पाल्छ रे । म त किसान हुने हो ।” विष्णुमणीले भन्यो
यस प्रकार एक एक गरेर सबैलाई सोध्नुभयो ।
नरेशको पालो आयो । उसले भन्यो, “ गफ गर्न पाइने, ढाँट्न पनि पाइने । मिस म त नेता हुने हो ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

