भानुभक्तको कान्तिपुर नगरी कुनै परिकथाको तिलस्मी शहरझैँ  मेरो बालसुलभ मस्तिष्कमा एक अद्भुत चित्र बनेर बसेको थियो । झिलिमिली शहर हेर्ने रहरको भारी बोकेर, चौध–पन्ध्र वर्षको उमेरमै वि.सं. २०४२ सालतिर म पहिलोपटक काठमाडौँको चिसो र कठ्याङ्ग्रिँदो हावासँग ठोक्किन पुगेको थिएँ ।

वि.सं. २०४५ सालमा एस.एल.सी. पास गरेपछि त म यो खाल्डोमै डेरा जमाएर बस्न थालिसकेको थिएँ । यहीँको चोक-गल्ली र भीडहरूमा मैले आफ्नो सुदूर भविष्यको सपना बुन्न थालेँ ।

निर्दलीय पञ्चायती शासनदेखि संवैधानिक राजतन्त्र, र अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको इतिहासका यी सबै परिवर्तनका मोडहरूलाई मैले यहीँ  बसेर नजिकैबाट अनुभूत गरेको छु । वि.सं. २०४६ सालको जनआन्दोलनको भीडमा, परिवर्तनको नारा बोकेर, मुटु ढुकढुकाउँदै म पनि सडकमा उभिएको थिएँ ।  टियर ग्यासको पोल्ने धुवाँले आँखाबाट आँशु  झरेका क्षणहरू अझै पनि मनको एल्बममा ताजै छन् ।

मेरो पहिलो डेरा लगनखेलको प्रयाग पोखरीमा थियो । त्यसपछि झन्डै पचासभन्दा धेरै ठाउँमा डेरा सरेँ होला । काठमाडौँ र ललितपुरका गल्ली तथा सडकहरू, हरेक घरको नक्शा र घरभेटीको अनुहार अझै पनि स्मृतिको क्यानभासमा कोरिएको छ ।

डेरा, घर भाडा, र घरभेटी— यी तीन कुराले सधैँ पिरोल्ने र थिचिरहने काठमाडौँको एउटा सानो कोठा नै कुनै समय मेरा लागि एउटा सुन्दर र पृथक् संसार थियो । आखिर, यो जिन्दगी पनि त एउटा अस्थायी डेरा नै त हो । जहाँ सबैको आफ्नै खालका भोगाइ, स्मृति र सुगन्धका कथाहरू छन् । मेरा यी स्मृतिहरू नितान्त आफ्नै भोगाइका प्रतिबिम्ब हुन् ।

त्यो समयको काठमाडौँ, आजको जस्तो कोलाहलले भरिएको थिएन । न यति धेरै सवारी साधन थिए, न प्रदूषण, न चटारो, न हतारो नै । बाटाहरू साँघुरा थिए, तर मान्छेका मन भने फराकिला देखिन्थे ।

°°°

मलाई अझै याद छ— त्रिपुरेश्वरबाट एक रुपैयाँको टिकटमा ट्रली बस चढेर सूर्यविनायकसम्मको यात्रा कति रोमाञ्चक हुन्थ्यो । बाटो वरिपरि घरहरू त्यति थिएनन् । टाढासम्म फैलिएका हरियाली फाँटहरू, टल्कँदै उभिएका हिमालका मनोरम दृश्यहरू, अनि गहिरा नीलो आकाश यी सबै स्मृति पटलमा अझैसम्म ताजै छन् ।

अहिलेको माइतीघर मण्डला वरिपरि त्यति वेला व्यापारिक घरहरू थिए । सटर कवलहरूमा मोटर पार्ट्सका पसल र वर्कसपहरू देखिन्थे । त्यहीँको एक घरमा ‘मह सञ्चार’को अफिस थियो, जहाँ मैले पहिलोपटक हरिवंश दाजुसँग हात मिलाएको दिन अझै सम्झिन्छु ।

बानेश्वर साँघुरो र शान्त थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको त नामनिशानै थिएन । वरिपरि तारबारले घेरेको आर्मी ब्यारेक थियो, जहाँ अग्ला–अग्ला रुखहरू हरियाली फैलाउँदै उभिएका देखिन्थे । उत्तरतर्फ पुरानो बानेश्वर जाने साँघुरो गल्ली थियो । दक्षिणतर्फ ओरालो झर्दै गयो भने शंखमुल पुगिन्थ्यो । शंखमुलतिर राति हिँड्न मान्छेहरू डराउँथे।

पुरानो बानेश्वर जाने बाटोमा लक्ष्मी नामको सुपरिचित चिया पसल थियो । त्यही पसलको छेउमा एउटा पान पसल पनि थियो, जहाँ पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कहिलेकाहीँ पान खान आउनुहुन्थ्यो रे ।

°°°

समय यस्तो थियो, टुँडिखेलमा आर्मीहरूले कवाज खेलेको हेरेर बस्दा पनि रमाइलो लाग्दथ्यो । धरहराछेउमै रहेको सुनधाराको चीसो पानीमा धेरैपटक नुहाएको अनुभव छ । गोगंबुमा बसपार्क बनेकै थिएन । रत्नपार्कसँगैको पुरानो बसपार्कबाटै नेपालका मुख्य शहरमा चल्ने दिवा र रात्रि बसहरू छुट्थे । प्रायः दिवा सेवामा साझा बसहरू चल्दथे । तिनताका वीर अस्पताल अगाडिको टुँडिखेल मञ्च कपडाको बजारले गुञ्जायमान हुन्थ्यो, जुन पछि भृकुटीमण्डपमा  स्थानान्तरण गरिएको थियो ।

°°°

रत्नपार्कसँगै रानीपोखरीको डिलमै एउटा झिलिमिली मार्केट थियो । त्यहाँ बाँसबारी छाला जुत्ता र अन्य जुत्ताहरूका शोरुम थिए । छोलाभटुरा खाने एउटा प्रसिद्ध झिलिमिली भोजनालय थियो । त्यहाँ छ रुपैयाँमा एक प्लेट छोलाभटुरा खान पाइन्थ्यो । म प्रायः त्यहाँ जाने गर्दथेँ । त्यही रहेको छुर्पी  र अमिलो पाउका लागि प्रसिद्ध पाउ भन्डारमा सधैँ भीड देखिन्थ्यो । रानी पोखरीको उत्तरतर्फको डिलमा पेट्रोलवाला विक्रम टेम्पुहरूको  पार्किङ थियो ।

घण्टाघरको सुईको चाल नियाल्दै, रानीपोखरीको चक्कर लगाएर दरबारमार्गको रौनकतामा रोमाञ्चित हुँदै, राजदरबारको भव्य गेटमा पुगेर भित्रसम्म राजालाई कतै एक झलक देखिन्छ कि भनेर आँखा तन्काएर हेरिन्थ्यो ।  बाल सुलभ मस्तिष्कभित्र राजाप्रतिको कौतुहलता र सद्भाव गहिरोसँग जरा गाडेर बसेको थियो ।

°°

जनताको सिंहदरबार पस्ने पश्चिमतर्फको मूल गेट सर्वसाधारणका लागि जहिले नि खुल्ला नै रहन्थ्यो ।

म पनि कयौँपटक त्यहाँको क्यान्टिनमा खाजा खान जान्थेँ— पाँच रुपैयाँको खीर र दुई रुपैयाँको चना खाएर पेट भरिन्थ्यो । सिंहदरबारभित्र रहेको राष्ट्रिय कम्प्युटर केन्द्रमा मलाई  केही महीना डाटा इन्ट्रीको काम गर्ने अवसर पनि मिलेको थियो । त्यो वेला कम्प्युटर भनेको एक चमत्कारी यन्त्रझैँ लाग्दथ्यो । सामान्य जनताका लागि अज्ञात र अद्भुत ।

नाचघरमा दश रुपैयाँको टिकट काटेर नाटक हेर्न  पुगिन्थ्यो । त्यो वेला ´के सक्कली के नक्कली’ र `विज्ञापन` नाटक धेरैपटक हेरियो ।

°°

न वाइफाइ थियो, न मोबाइल । जीवन सादा थियो, सरल थियो, रमाइलो थियो । साहित्य पढ्ने संस्कृति निकै समृद्ध थियो । मधुपर्क, गरिमा, विमोचन, कामना, युवामञ्च जस्ता साहित्यिक पत्रपत्रिकाले पाठकहरूको प्यास मेटाइरहेका थिए । साहित्यको पठन संस्कृति त्यो समय अत्यन्तै राम्रो थियो । पढ्नुको विकल्प नै थिएन । मनोरञ्जनका अनेकौँ माध्यमहरू थिएनन् । त्यस वेला किताब विमोचन कार्यक्रमहरू हुँदैनथे । एक झोला किताब बोकेर आउने कल्पना नै थिएन । हामी किताबहरू आफैँ खोजेर, चासोका साथ पड्थ्यौँ । सुनधाराको आर.एन.सी. अगाडि पुराना किताबहरू सस्तोमा किन्न पाइन्थ्यो । मैले धेरैपटक त्यहीँबाट पुराना पुस्तकहरू किनेर ल्याएको सम्झना छ । एकपटक मैले लियो टल्सटोयको कथा-कहानीको एउटा मोटो पुस्तक किनेर ल्याएको थिएँ । त्यो पुस्तक मैले धेरैपटक पढेँ । अझैसम्म मसँग सुरक्षित छ ।

°°°

मैले नेशनल पानासोनीको जापानिज  रेडियो घरबाट काठमाडौँ जाँदा लिएर गएको थिएँ । त्यो वेला त एफ.एमको जमाना नै थिएन । लामो एरियल तानेर कहिलेकाहीँ लन्डनबाट प्रसारण हुने बिबिसी नेपाली सेवाबाट बज्ने फर्माइसका गीत र समाचार सुन्ने गरिन्थ्यो नत्र त्यही रेडियो नेपालबाट बज्ने आधुनिक गीत र गीति कथा ।  रेडियो नेपालबाट बज्ने फर्माइस गीत सुन्दा पनि कति आनन्द आउँथ्यो । वीरगन्जका कुर्वान हवारी फर्मान हवारी रहमान हवारीहरू आजकल कता हुनुहुन्छ कुन्नि । सामाखुशीका अरुण बाबु खत्री `नदी`सँग आजकल पनि मेरो साहित्यिक कार्यक्रमहरूमा कहिलेकाहीँ भेटघाट भइरहन्छ । अहिले जस्तो फेसबुकबाट जोडिएका हजारौँ मित्रहरू भन्दा अनुहार नै नदेखिएका नभेटिएका पत्र–मित्रताबाट जोडिएका साथीहरूसँग आत्मीयता र मित्रताको गहिरो सम्बन्ध हुन्थ्यो । तीमध्ये कतिपय साथीहरू अझै पनि फेसबुकमार्फत् जोडिएका छन् ।

°°

दुई हजारको तलब खान दुई रुपैयाँ बस भाडा तिरेर अफिस पुगिन्थ्यो । पाँच सयको कोठा भाडा तिरेर पितले स्टोभमा साग र भात पकाएर खाएर अलिकति  पैसा पनि बचत गरिन्थ्यो । खानेकुरा सस्तो, मन सन्तुष्ट, जीवन सादा थियो ! साँच्चै भन्नुपर्दा, भौतिक साधन कम थिए तर आत्मसन्तोष, मनको खुशी र जीवनको सहजतामा कुनै कमी थिएन । मनमा सन्तोष भए खुशी र सन्तुष्टि एकदम साना साना कुराहरूबाट प्राप्त हुन्छन् ।

अनावश्यक सूचना र समाचारहरूको बाढी आएको थिएन । सादा टेलिभिजनमा रामायण, महाभारत हेर्दा पनि  सन्तुष्टि प्राप्त हुन्थ्यो । मन शान्त रहन्थ्यो । न फेसबुक थियो, न युट्युब, न टिकटक तर जीवन सरल, विन्दास, र अर्ग्यानिक थियो । मान्छेहरूबीच आत्मीयता र संवेदनशीलता धेरै थियो । सूचना र प्रविधि, विकास र समृद्धिसँगै संस्कृति र संस्कार आत्मीयपन र मानवीय संवेदना बिस्तारै हराउँदै गएको देखिन्छ ।

काठमाडौँको आकाश अब बदलिएको छ ।  गल्ली, चोक, सडक र घरहरू बदलिएका छन् । मान्छेको मन, सोच, चिन्तन र विचारहरू बदलिएका छन् ।  तर ती दिनहरूको मीठो सुगन्ध अझै पनि स्मृतिको कुनामा धुमिल भएर बसेका छन् ।

°°°

हामी जेनरेशन एक्सका भाग्यमानी पुस्ता हौँ । हामीले संसारका अनगिन्ती परिवर्तनहरू आफ्नै आँखाले देख्ने मात्र होइन, आफ्नै हातले छाम्ने अवसर पाएका छौँ । माटोको घरमा बस्दै, माटोकै गाग्रोको चिसो पानी पिउँदै, अङ्गेनामा आलु र मकै पोल्दै हुर्केका पुस्ता हौँ हामी । खुला चौरमा डन्डी-बियो, लुकामारी, गुच्चा, कबड्डी खेलेर, मोजाभित्र टालाटुली हालेर फुटबल बनाएर पनि संसारको सबैभन्दा रमाइलो अनुभव गर्ने हात्तीछाप पुस्ता हौँ ।

श्यामश्वेत टेलिभिजनदेखि टेप रेकर्डर, वाकमेन,पेजर टाइपराइटर, क्यासेट चक्का, सिडी र अलार्म घडीसम्मको स्वाद चाखेका, र आजको अत्याधुनिक डिजिटल प्रविधि र उपकरणमा पनि उतिकै अभ्यस्त  हामी बहुरूपी पुस्ता हौँ ।

अहिलेका अल्फा पुस्तालाई त हलो–कोदालो, डोको, डालो भनेको सुन्दा पनि शायद कुनै लोककथाका औजारहरू होलान् भन्ने लाग्छ होला । बाआमाको चुटाइ र शिक्षकको कुटाइको कथा पनि कुनै अतिरञ्जित उपन्यासको अंशझैँ लाग्न सक्छ ।

हामी त इस्पातझैँ कठोर जीवनको चुटाइमा तयार भएका पुस्ता हौँ, जसले हाम्रो आत्मबललाई मजबुत कङ्क्रिटझैँ बलियो  बनाइदियो । त्यसैले हामी गर्वका साथ भन्छौँ –  हामी भाग्यमानी पुस्ता हौँ । हामीले समयको धागोमा दुई युगलाई गाँसेका छौँ । अहिलेका जेन-जीका लागि यी कुराहरू कुनै पुराना रोचक कथा जस्तै लाग्न सक्छन् ।