किशन पौडेल साहित्यपोस्टमा आबद्ध भएका छन् । लघुकथा तथा काव्य लेखनमा सक्रिय पौडेल हेटौँडा संयोजकका रूपमा साहित्यपोस्टमा आबद्ध भएका हुन् ।

पत्रकारिता पृष्ठभूमिका पौडेलको साहित्यपोस्टसँगको आबद्धतालाई प्रधानसम्पादक अश्विनी कोइरालाले पुष्टि गरेका छन् ।

व्यावसायमा संलग्न पौडेल विशेषतः कविता, गजल र लघुकथा लेखनमा सक्रिय छन् । पौडेलका कहर (गजलसङ्ग्रह), खुसी (लघुकथा सङ्ग्रह), अभिव्यञ्जना (संयुक्त कवितासङ्ग्रह), हैसियत र गजल ए महफिल (संयुक्त गजलसङ्ग्रह) र संयुक्त विश्व लघुकथा सङ्ग्रह (हिन्दी) प्रकाशित छन् ।

मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष पौडेल बागमती लघुकथा समाज, मातृभूमि साहित्य समाज तथा साहित्य सङ्गम मकवानपुरको कार्यसमिति सदस्यसमेत हुन् ।

०२८ सालमा हेटौँडा ६, मकवानपुरमा माता रमादेवी र पिता ताराप्रसादका सन्तानका रूपमा जन्मिएका पौडेलले पत्रकारितामा स्नातक गरेका छन् । हाल हेटौँडा ४, चिल्ड्रेनपार्कमा स्थायी बसोबास गर्दै आएका उनको कविता तथा मुक्तकसङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।