प्रतिविम्ब !

किशन पाैडेल

म खोजिरहेँ
तिमीभित्र
आफ्नै अनुहार
म भ्रममा रहेछु !
तिमी त ऎना पो रहिछौ ।

°°°°

राष्ट्रियता !

एउटा अदृश्य चोट
एउटा असह्य पीडा
बारम्बार बल्झिरहने
यो छाती भित्रको घाउ
मेरो राष्ट्रियता !

***

अफसोच !

उसको हातमा
अझै आलो नै छ
रगतका छिटाहरु !
चित्कारहरु अझै सुनिदैछ,
हामी अंकमाल गर्न आतुर छौ
उसैसँग !
जो
हामीलाई लिस्नु बनाएर
काँधमा चढेर
पिठ्युँमा प्रहार गर्दैछ !
०००

विडम्बना !

पृथ्वीको
अखण्ड भूगोलहरुमा
अनेकौँ सिमानाका
कल्पित रेखाहरु कोरेर
मानवीय चेतनाका
मस्तिष्कहरुमा
संकीर्ण विचारहरु कोचेर
सदियौंदेखि लडिरहेछ
आफ्नै जातिविरूद्ध
एउटै नश्लका
फरक मान्छेहरू !
°°

सपनाहरू !

नक्साहरुमा
सुरुङ मार्ग-
पुल र बाटोहरु धेरै बने,
हरेक सपनाहरूमा कुदिरहेकाछन्
मेट्रो र मोनोरेलहरु !
फाइलहरुमा धेरै छन्
योजना र घोषणाहरु
युगौँदेखि रटिँदै आएको छ,
वाचा र कबुलहरु !
भ्रमको खेती गर्दै
आँखामा धुलो छ्यापेर
फगत लुट्दै गए
र आफैँ भरिपूर्ण भए
म र मेरो देश
अझै
समृद्धिको सपनाहरू
देखिरहेका छौँ ।

०००

भ्रम !

हे भगवान !
तिमी कहाँ छौँ ?
‘म’ मन्दिरमा छु ।
°°°°

कविता

कविता !
म फूल पात र दुबोहरु
एक एक गर्दै
धागोमा उन्दै जान्छु ।
गाँसिदै जान्छन्
अनेकन् जातका फूल पात र दुबोहरु
र एउटा आकृति बन्दै जान्छ
हृदयतलबाट सिञ्चित
भावनाका संवेगहरुलाई
स्निग्ध हातले,
कला र सौन्दर्यका रङहरु भरिदिन्छु
र एउटा नाम दिन्छु
कविता !

०००

सम्झना !

मस्तिष्कको –
एउटा कुनाबाट उठेको लहर
आँखाबाट भेल भएर खस्छ ।
धुमिल बिम्बहरु
तरङ्ग बनेर
मानसपटलमा बिम्बि्त हुन्छन्
पदचापहरु ,
शुन्यतामा
असरल्ल छोडेर फर्किन्छ !

०००

किनार !

युगौंदेखि …
हामी एक समान्तर रेखामा
उभिएका छौं !
नजिकै भएर पनि
मिलन असम्भवं छ
ता पनि !
हामी भएर बाच्नँ
हाम्रो सह-अस्तित्व
अपरिहार्य छ !
*****
हेटौंडा