हामी सधैँ औपचारिक भूमिका निभाउँदै खुम्चिएर बस्यौँ । अलिकति अनौपचारिक भएर खुल्न सकेनौँ । उन्मुक्त हाँसो हाँस्न सकिरहेका छैनौँ । सभा, सम्मेलन गोष्ठी, सेमिनार, जागिर, जिन्दगीको भाग दौड सधैँ निरन्तर उस्तै छ, घोडाको टाँगा जस्तो । एक प्रकारको  मनोटोनस जिन्दगी बाचिरहेका छौँ । साहित्यिक कार्यक्रमहरू पनि अत्यन्तै निरस हुँदै गएको महसुस हुन्छ । सबैको  आफ्नै-आफ्नै नलेखिएका कथा-व्यथाहरू, अनुभूति र अनुभवहरू छन् । जीवनको एउटा लामो आरोह-अवरोह छ । हामी स्वयं कथाको पात्र हौँ । हामी अरूकै कथा बुन्नमा मात्र तल्लीन भयौँ । आफ्नो जिन्दगीको रुमाल उध्रेको पत्तै छैन ।

सुन्ने–सुनाउने लघुकथाको अभियानमार्फत सुन्दर जमघट हुने वातावरण तयार गर्‍यौं त्यो हो लघुकथा चौतारी । र लाग्यौँ काव्यकार मुना अर्याल दिज्यूको कुटि हर्नामाडी कलाकुञ्जतर्फ ।  कुटि सानो भए पनि मन फराकिलो भएपछि हामीले उहाँको महाकाव्य आकाशमा ढुक्कसँग आसन जमायौं । सुन्तलासँगै छोडाउँदै गयौँ ओशो दर्शनका विचार र आफ्नै कथा/ व्यथा, हामीलाई समयको पाबन्दी थिएन । पट्यारलाग्दो सम्बोधन थिएन । मात्र थियो आफ्नै कथा र थियो सुन्नै पर्ने कुनै कालखण्डमा लेखिएको लघुकथा ।  भुटेको मकै, भटमास, बदाम र सुन्तला नाङ्लो भरी अगाडि फिँजाएर हामी लहरै बसेका थियौं गोलबद्ध कुर्सीमा ।

हेटौँडाका अग्रज कवि आर.आर.चौलागाईं मकै चपाउँदै खुलेर उन्मुक्त हाँस्दै हुनुहुन्थ्यो । उहाँले दिल खोलेर यो जमघटको खुब प्रशंसा गर्नुभयो  र आफ्नो जीवनका आरोह-अवरोहका भोगाइ र अनुभूतिहरू सुन्तलासँगै केस्रा-केस्रा छोडाउँदै गर्दा हामी मन्त्रमुग्ध भयौं । आफ्नो लामो साहित्यिक यात्रामा अनगिन्ती कविता, कथाहरू पाठक सामु पस्किसक्नु भएको उहाँले २०५५ सालतिर पहिलो पटक लघुकथा लेख्नु भएको रहेछ । काठमाडौँमा भएको एउटा विशेष कार्यक्रममा अधिराजकुमारी श्रुति शाहको अगाडि “माओवादी” शीर्षकको  लघुकथा  वाचन गर्दा सुरक्षाकर्मीहरू सतर्क भएर उहाँतर्फ हेर्दै लघुकथा सुनेको र अन्तिममा त्यही लघुकथा नै उत्कृष्टमा परेको एउटा रोचक संस्मरण  सुनाउँदा हामीले पनि त्यही लघुकथा नै सुनाउन अनुरोध गर्यौं । उहाँले  आफ्नो लामो कथा/ व्यथाहरूको बिट मार्दै त्यही  छोटो लघुकथा वाचन गर्नु भो । लघुकथा अत्यन्तै चोटिलो र सान्दर्भिक थियो ।

साहित्य किन लेख्ने र कसका लागि लेख्ने उहाँको एउटा गम्भीर प्रश्न थियो हामी सबैको अगाडि । हामीले आफ्ना-आफ्ना मनका भावना र विचारहरू पालैपालो पोख्दै गयौँ  ।

बिम्ब कविको छवि हेटौँडाका अग्रज कवि साम्ब ढकाल एकदम कम बोल्नु हुन्छ र धेरै सोचेर तार्किक विचार पस्किनु हुन्छ । समग्र साहित्यको बारेमा उहाँका गहकिला बिचारहरू मकवानपुरे नव साहित्य सर्जकहरूले सुन्नै पर्ने हुन्छ । उहाँका धेरै कविता, कथा, निबन्ध, संस्मरणहरू प्रकाशित भएको छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पढ्दै आएका छौँ ।

यो नितान्त अनौपचारिक भेटघाट हुनाले उहाँ पनि के कम बिस्तारै काव्य आकाशमा हाँसेर मन खोल्दै हुनुहुन्थ्यो । जीवनको उतारचढावको मन्थन गर्दै उहाँको स्मृतिमा कण्ठाग्र रहेको गजल सुनाएर अनौपचारिक माहौललाई थप रौनकता थपिदिनु भयो । हामीले गजल महफिलमा सायद उहाँको गजल सुन्ने अवसर पाएका थिएनौँ होला । यति मिठो गजल वाचन गर्नुहुँदो रहेछ । हामी दङ्ग परेर सुन्दै थियौ । आगामी गजल मञ्चको महफिलमा उहाँलाई अवश्य सुन्ने नै छौँ ।

मकवानपुरका धेरै सङ्घ सङ्गठन स्कुल कलेज  र साहित्यिक संस्थाहरूको संस्थापक ऊर्जावान् व्यक्तित्व हयग्रीव आचार्य सानैदेखि भारतको हरिद्वारमा नै पलेटी कसेर नेपाली र संस्कृत अध्ययन गर्नुभयो । शास्त्री र आचार्यसम्मको अध्ययन सकेर आफ्नो कर्मथलो हेटौंडा फर्किनु भो । उहाँ २०४० सालबाट हेटौँडामा बसेर साहित्य सेवा गर्दै आउनु भएको छ ।

उहाँको कथा पनि रोचक रहेछ । पहिलो पटक हेटौँडामा कविता वाचन गर्न लुङ्गी र कमिज लगाएर जानुभएको रहेछ । अलि कालो कालो वर्णको सबैले हाँसेर उहाँको खिल्ली नै उडाएछन् । अन्तिममा उहाँको कविता नै प्रथम भएको रहेछ । उहाँको यो आफ्नै कथा सुन्दा हामी खुब हाँस्यौं । उहाँले एउटा आफ्नो पुरानो लघुकथा कण्ठाग्र नै पार्नु भएको रहेछ । खुब मिठो शैलीमा वाचन गर्नु भो र लघुकथाको अन्तिम हरफले मार हान्दा हामी धेरै बेर सोचमग्न भयौँ । उम्दाको लघुकथा रहेछ । आगामी साहित्यिक कार्यक्रमहरूमा उहाँको लघुकथा अवश्य सुन्ने नै छौँ ।

हामीसँग समय प्रशस्त थियो । त्यसैले ढुक्क थियौं । कथा भन्नमा पालो आयो । उमेरले पाको अनुभवले खारिनुभएका रामकुमार विष्ट अङ्कलको । उहाँको कथा पनि आकर्षक थियो । रौतहट स्कुलदेखि  मकवानपुरको क्याम्पस जीवन सम्मको स्मृति । जागिरे जीवन र लेखनका शृङ्खलाहरू धेरै लामो रहेछन् ।  लघुकथामा भर्खरै पाइला सार्दै गर्नुभएको उहाँले छोटो समयमा छोटा र मिठा लघुकथाहरू लेखेर पाठक सामु छाप छोड्न सफल हुनुभएको छ ।

“कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको” भन्ने भनाइलाई तोडमोड गर्दै हामीले पनि  आ-आफ्ना कथाहरू पस्कँदै गयौँ ।

सञ्चारकर्मी शिक्षण पेसामा आबद्ध मकवानपुरे बलशाली कवि सुवास खनालको बिचारका साथै पहिलो पटक उहाँको मुखबाट सुन्दर लघुकथा सुन्ने अवसर पायौँ । बिम्ब युक्त लघुकथा हामीलाई सुन्दर लाग्यो । निरन्तरता रहोस् भन्ने हामी सबैको अपेक्षा रहन गयो ।

पुरानो मकवानपुरे बासिन्दा नाटककार, कथाकार समीर पाख्रिनको जीवनका उतारचढाव सुन्यौँ साथमा सुन्दर लघुकथा पनि । उहाँको छिट्टै प्रकाशित भएर आउन लागेको कथाको एक-एक प्रति मकवानपुरे सर्जकहरूले अग्रिम बुक गरिसकेका छन् । उहाँलाई हामीले अग्रिम बधाई तथा शुभकामना दियौँ ।

त्यस्तै गरी चौघडामा नै कर्मथलो बनाएर बस्नु हुने लघुकथाकार श्याम श्रेष्ठ लामो समयदेखि साहित्य साधनामा तल्लीन हुनुहुन्छ । उहाँको जीवनको लामो कथा सुन्यौँ र अन्तिममा उहाँको पहिलो लघुकथा सुन्यौँ । अत्यन्तै चोटिलो र मार्मिक थियो । उहाँको ‘व्यथा भित्रको कथा’ लघुकथासङ्ग्रह छिट्टै विमोचन हुने तयारीमा छ । उहाँलाई पनि शुभकामना दियौँ ।

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष कवि सानु खनालले पनि आफ्नो बाल्यकालका स्मृतिका साथै पहिलो पटक सुन्दर लघुकथा पस्किनु भयो । साथमा हुनुहुन्थ्यो सामाजिक सङ्घसंस्था हाँकेर हिँड्नु हुने  सधैँ साथ रहनु हुने अचला शर्मा म्याडम पनि ।

हामीलाई अब समय बिस्तारै छोटो लागेको महसुस भयो । ढुक्कसँग रात पनि आफ्नै भइदिएको भए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

पालो आयो  आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष भावना सापकोटा म्यामको  पारिवारिक पृष्ठभूमि केलाउँदै  ससुरा बुबाको काव्य प्रतिको रुझानको तारिफ गर्नुभयो । मधुर मुस्कानका साथ सुन्दर कविता सुनाउनु भयो । सुवास सर मुस्कुराउँदै हुनुहुन्थ्यो ।

हामीलाई साथ दिनु भएको थियो चोटिलो मुक्तकमा कलम चलाउँदै आउनु भएको मिथिला अधिकारी म्याडम जो मकवानपुरे साहित्यकारहरूको लागि नयाँ नाम थियो । तर उहाँ साहित्य आकाशमा विचरण गरेको धेरै भएको रहेछ । आफ्नो मार्मिक कथा सुनाउँदै साहित्यतर्फ मोडिएको मोडलाई उद्घाटित गर्दै आफ्नो लघुकथा वाचन गरेर सुनाउनु भयो ।

हामीलाई ढिलै भए पनि साथ दिन आइपुग्नु भएको थिए हर्नामाडी नै कर्मभूमि बनाएर शिक्षण पेसामा आबद्ध अनु रोका म्याम । उहाँले मिठो मुक्तक वाचन गर्दै आगामी कार्यक्रम आफ्नै कर्म थलोमा गर्न पाए हुन्थ्यो भन्ने महान् विचार पस्किरहँदा हामी अत्यन्तै खुसी भएका थियौं ।

कथा /व्यथा सुनाउँदा  सुनाउँदै डाँडा माथिको घाम ओरालो झरेको पत्तै भएन । नाङ्लो भरिको मकै, बदाम सुन्तला सकिसकेको थियो । त्यति मात्र कहाँ हो र  पुरी, तरकारी दुई पटक चियाको सत्कारले हामी तृप्त भैसकेका थियौं । काव्यिक स्वादले मन भने भरिएको थिएन । ध्यान कुटिको प्रशंसा जति गरे पनि अपूर्ण नै लाग्दथ्यो ।

उमेरले ७० वर्ष काटिसकेर पनि एकदम ऊर्जावान् सक्रिय जीवन व्यतीत गर्दै एकान्त डाँडामा ध्यानमग्न भई आफ्नो ओशो कुटिमा बसेर साहित्यको साधनामा तल्लीन हुनुहुन्थ्यो महाकाव्यकार मुना अर्याल दिज्यू । उहाँले यो उमेरमा पनि मकवानपुरलाई दुई वटा महाकाव्य दिइसक्नु भएको छ । अझै लेख्दै हुनुहुन्छ गजल, लघुकथाहरू । उहाँको एउटा सुन्दर काव्यिक लघुकथा सुन्दै  उहाँको ऊर्जामय जीवनलाई नजिकैबाट नियाल्यौं । उहाँको मुखर बिन्दुबाट ओशो दर्शन पनि सुन्न छुटाएनौं । उहाँको बारीमा विचरण गर्‍यौं । बारीका रुखबिरुवा, सुन्दर फूलहरूसँग आत्मीयता गाँस्दै सामूहिक तस्बिर लियौं र उहाँप्रति अत्यन्तै आभारी हुँदै नमन गर्दै ओरालो झर्‍यौं । साँझ पर्नै लागिसकेको थियो ।

लघुकथा चौतारीको  संयोजक भएको नाताले सम्पूर्ण आदरणीय व्यक्तित्वहरू प्रति हार्दिक नमन र आभार व्यक्त गरेँ ।  पुनः यस्तै बृहत् जमघट गर्ने  प्रतिबद्धता व्यक्त गर्दै अस्ताउनै लागेको घामलाई पछ्याउँदै गन्तव्यतर्फ लागेँ ।

हेटौंडा, मकवानपुर