उसले लामो श्वास तान्यो एक छिन फोक्सोभित्र राख्यो र फाल्यो । पुनः तान्यो फाल्यो र लामो सुस्केरा हाल्दै आँखा चिम्लियो ।

अस्पतालमा अक्सिजन नपाएर छटपटिएका हृदय विदारक समाचारहरू उसको मानसपटलमा दौडिन थाले । जुरुक्क उठ्यो कोठाको एउटा कुनाबाट अर्को कुनामा पुगेर चर्किएको ऐना हेर्‍यो । आफ्नै अनुहार उसलाई भयभीत लाग्दै जान थाल्यो ।  मनभित्र गहिरो डरले डेरा जमाउँदै गएको महसुस गर्‍यो ।

“हेर ! उजेली आत्मबल बलियो बनाउनुपर्छ  तँलाई केही हुँदैन छिटो निको हुन्छ ल, यो टिम्मुर ज्वानो पानी तनक्क पार । पिँधमा रहेको यो टिम्मुर, ज्वानो जिराको छोक्राहरू मुखभित्र राखेर चुस् । टिम्मुरले अक्सिजन लेबल बढाउँछ उजेली  !”

तीन दिनदेखि जरोले सिकिस्त श्रीमतीलाई हौसला दिँदै उम्लिरहेको पानी डेक्चीबाट खन्याउँदै एक गिलास श्रीमतीको नजिकै लगेर राखिदियो र  सँगै टाउको सुमसुम्याउँदै बस्यो ।

जिन्दगीमा कयौँ पटक रुघाखोकी ज्वरो आयो होला । उसले सामान्य रूपमा अदुवा, बेसार, तातोपानी पिएरै भगाएको थियो । ऊ कहिल्यै यति धेरै आत्तिएको थिएन । आज उसको मन  त्यसै त्यसै आत्तिइरहेछ । मन त्रसित भएको छ । समाचार हेर्‍यो  जतासुकै हाहाकार छ । जताततै दर्दनाक दृश्यहरू देखिन्छ । अक्सिजन सकिएको छ रे हस्पिटलमा जरो आएको बिरामीलाई भर्ना नलिने रे ! अचम्म लाग्छ सुन्दा पनि यत्रो अक्सिजन छ हाम्रो वायु मण्डलमा कसरी सकिन्छ होला ?
उसको मनभित्र एक प्रकारको आक्रोश उब्जन्छ । समाचारहरूले पनि कति आतङ्कित बनाएका हुन् । बिरामीको भन्दा नि सद्दे मान्छे कै कुन बेला प्राण लिएर जाने हो थाहा छैन  ।

ऊ चिन्ताले  छट्पटिँदै आँगनमा आएर आकाशतिर हेरेर टोलाउन थाल्छ ।

आकाशमा एउटा हेलिकप्टर उसैको टाउकोमाथि मडारियो । खुसीले ऊ फुरुङ्ग हुँदै हेलिकप्टरलाई हेर्दै सोच्न थाल्यो कतै मेरै उजेलीलाई अस्पताल लिएर जान आएको त होइन ? हेर्दाहेर्दै हेलिकप्टर आकाशबाट ओझेल भैसकेको थियो ।

पुन्टेको बा … ! पुन्टेको बा… ! भित्र बाट उजेलीले बोलाएको मधुरो आवाजले ऊ झसङ्ग भयो र दौडिएर भित्र हेर्न पुग्यो । पुन्टे आमाको छेउमा बसेर आमाको टाउको सुमसुम्याउँदै रहेछ ।

“मलाई धेरै गाह्रो भो, अस्पताल जान पाए हुन्थ्यो ” उजेलीको पीडा मिश्रित स्वरले ऊ झनै विचलित हुँदै गयो ।

खै कसरी अस्पतालसम्म पुर्‍याउने होला ! छरछिमेक हेर्नसम्म पनि आएका छैनन् सवारी साधन गाउँमा एउटै चलेको छैन । मर्दा पर्दा त मैले धेरैलाई ज्यानले सकेको सहयोग गरेकै थिएँ । आज आफूलाई पर्दा कोही भएनन् हरे शिव ! ऊ पुर्पुरोमा हात राखेर बिलौना गर्छ । गाउँ कै एक चिनजान प्रतिष्ठित हरिदाइलाई फोन लगायो फोन उठेन ।

“उजेली चिन्ता नगर बिहान सम्म तँलाई ठिक हुन्छ बिस्तारै जरो ओर्लिन्छ म पानी पट्टी लगाइदिन्छु । अहिले सुत उजेली ।”

बुढीलाई कोरोना त लागेकै होइन भन्ने कुरामा ऊ  निश्चिन्त थियो । गाउँमा कुनै पनि मान्छेसँग बुढीको  भेटघाट न सम्पर्क थिएन  । लकडाउन भएदेखि आफ्नै बारीमा मकै गोडेर बसेकी थिइन् । कतै गाउँ छर छिमेककोमा पनि गएकी थिइन  । कसरी सर्न सक्छ र कोरोना ? उसले मनमनै सोच्न थाल्यो ।

फेरि गाउँलेहरू किन यति निर्दयी भएका होलान् है ! कस्तो दिन पनि देख्न परेको । पहिले पहिले बिरामी पर्दा गाउँमा कति धेरै मान्छेहरू कुर्नलाई जम्मा हुन्थे । एक आपसमा  दुःख सुखका कुराहरू गरेर सहानुभूति दिँदै रातभरि बिरामी कुरेर बसिन्थ्यो । आत्मबल कति बलियो हुन्थ्यो । साँच्चिकै यो कस्तो निर्दयी कलियुग होला ! मान्छे भित्र संवेदनशीलता र मानवीयता हराउँदै गएको छ  ।

मनभित्र अनेकौँ कुराहरू खेलाउँदै पुन्टेलाई सुताएर उजेलीसँगै छेउमा ऊ पनि निदाउने कोसिस गर्छ ।

मध्यरातमा उठेर बिस्तारै उजेलीको निधार छाम्यो चिसो न चिसो भैसकेको रहेछ ।

बेलुकी त्यस्तो भुङ्ग्रो जस्तो तातो थियो अहिले त बरफ जस्तै चिसो भइसकेको रहेछ ।  ऊ अतालियो ।

बुढी टाउको काखमा राखेर सुमसुम्यायो ।

“उजेली …! उजेली…!”

इन्तु न चिन्तु आवाज विहीन चिसो मुडो जस्तै शरीर छामेर ऊ हतासियो । फेरि अङ्गालो हालेर भक्कानियो ।
सम्हालिन खोज्यो । निद्रामा मस्त सुतेको छोराको अनुहारमा पुलुक्क हेर्‍यो । बिहानै सधैँ “आमा” भन्दै बिउँझिने छोरो आमा बोलिन भने के सोच्छ होला । मन भित्रका तर्कनाले उसका आँखा रसाउन थाले । फेरि सम्हालिन खोज्यो ।
उजेलीले कल्पना गरेको छोरोको भविष्य सम्झिन्छ । छोरालाई पढाएर ठुलो मान्छे बनाउने एउटा सपना र आशाले अलिकति मनभित्र हौसला पलाउँछ ।

अब के गर्ने होला अन्योलग्रस्त भएर उसको  मन अतालिन्छ । मुटुको धड्कन जोड जोडले धड्किरहेछ । मध्यरातमा बाहिर निस्केर कराउँदै चिच्याउँछ । कसैले उसको आवाज सुन्दैनन् । वडाका हर्ताकर्ता वडा सदस्य हर्क दाइलाई मध्यरातमा फोन गर्छ।

“कोरोना लागेको रिपोर्ट छ कि छैन ? रिपोर्ट भए भोलि आर्मी आएर लिएर जान्छन् छैन भने आफैँ गर्नुपर्छ दाह संस्कार । बिहान उतै घाटमा भेटुँला बोकेर लिएर आइज ।”

उसको खरो निर्दयी स्वरले उसको मन झनै दुखित हुन्छ ।

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथ सहयोगका भावनाहरू उर्लिन्थे । रात बिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथ सहयोग मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्यु जस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहारा विहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई ।

मस्त सुतिरहेको छोराको अनुहारमा पुलुक्क हेर्छ छोराको निधारमा हात राख्छ

“सुतिरहनु बाबु म आमालाई अस्पताल लिएर जान्छु।” एउटा झुटो आश्वासन पनि उसलाई मिठो लाग्छ।

जुरुक्क उठेर श्रीमतीको लासलाई सकी नसकी काँधमा बोकेर घर बाहिर निस्किन्छ । अँध्यारो बाटो कान्लाकुन्ली, कति पटक ठेस लाग्यो, कति काँडा बिझ्यो उसलाई अत्तोपत्तो छैन । झिसमिसे उज्यालोमा तल बगरको घाटमा पुग्यो ।

सुनसान, खोलाको कलकल आवाज बाहेक अरू केही थिएन। उजेलीलाई भुईँमा राखेर केही बेर श्रीमतीको मुहार हेरिरह्यो र एक्लै डाँको छाडेर रोयो । उसको रुवाइले शान्त निश्चल झिसमिसे प्रहरलाई नमिठो गरी चिर्‍यो ।

उज्यालो हुँदै गयो दुई चार जना गाउँलेहरूले दाउरा ल्याएर टाढै बाट फालिदिए । कोही उसका नजिक परेनन् ।

“अलि टाढै बस !  हामीलाई फेरि कोरोना सर्छ ।” गाउँलेहरूको वचनले उसको मुटु झन् छिया छिया भयो।

मन मुटु कठोर पारेर श्रीमतीको सग्लो देहमा आगो सल्कायो। छिनभरमै खरानी भएकी उजेलीलाई सम्झेर केही बेर आँसु झारेर टोलाई रह्यो । पुनः सुतिरहेको छोरालाई सम्झिएर झस्कियो र सम्हालिँदै बिस्तारै उठ्यो । घरतर्फ लम्कियो । घरमा पुगेर छोरालाई लिएर ऊ सरासर स्वास्थ्य चौकीतर्फ लाग्यो ।आफ्नो र छोराको रगत टेस्ट गर्न दिएर आयो ।

दुई दिन पछि रिपोर्ट आयो कोरोना टेस्ट – नेगेटिभ