हेमप्रसाद शर्मा
हरनाथ दासको एउटा अलमस्त खालको बानी छ । यही बानीले गर्दा सहरका प्रायःजसो मान्छे उनलाई चिन्दछन्। सधैँ बेलुका यसो एक-दुई घुडकी सँगै तान्दै ग्यारेजका पुछारको कोठामा हरनाथसँग तासको अड्डा जमाउने, हरनाथका अत्यन्त अन्तरङ्ग भनेर दाबी गर्ने तीनजना दौँतरीहरू पनि उनको यही बानीले गर्दा भित्रभित्रै लुत्रुक्क परेका हुन्छन् । हरनाथ ‘खुसमिजाज’मा छन् भने आधिरातसम्म पनि तासको अड्डा चलिरहन्छ, कसैले कुनै असुविधा देखाएर उठेर जान पाउँदैन । तर यसको उल्टो पऱ्यो भने, तासका पत्ता बाँड्दाबाँड्दै हातका तास फ्यात्त टेबलमा फ्याँकेर हरनाथले भन्न सक्छन्- ‘भो, अब खेल्दिनँ ।’ बस्, त्यसपछि कसैको साद्धे छैन । कसैले एकखेप पनि अनुरोध गर्ने कुरो आउँदैन । सबैजना लुरुलुरु निस्केर हिँड्छन् ।
हात्तीजत्रो जिउका हरनाथलाई देख्ता उनको उमेर तीन कोरीको छेउछाउ पुगेको छ भनेर कसैले ठम्याउन सक्तैन। अग्लोमा छ फुट, जिउमा पोसिलो मासु लागेको । हातका नसा परैबाट प्रस्ट चिनिने । आँखा र चिउँडामुनि मासुका लुँदा झुन्डिएका । गम्भीर बोलीले हरनाथ एकबिघा जमिन ओगटेको आफ्नु ग्यारेजको वल्लो छेउबाट जब कराउँछन्, पल्लो छेउमा स्टार्ट भइरहेको इन्जिनमुनि पसेर काम गरिरहेको सत्य निमेषमै कुदेर उसका छेउ आइपुग्छ । हरनाथका ग्यारेजमा काम गर्ने सत्य नै सबैभन्दा पुरानु मान्छे हो । काममा नढाँट्ने, सबैभन्दा भरपर्दो मान्छे । अगाडि हरनाथ र सत्य सँगै हातमा रेन्च लिएर काम गरेका । अचेल केही साल यतादेखि सत्य हरनाथलाई यी केही छुन दिँदैन । जिउमा गन्जी र लुङ्गी मात्रै लगाएर हरनाथ दिनभरि काउन्टरको कुर्सीमा अथवा गाडीको कुसन ओछ्याएर ग्यारेजमा राखेको बेन्चमा बसेर-सुतेरै दिन कटाउँछन् । ग्यारेजको हिसाब-किताप पनि अचेल हरनाथले हेर्नु पर्दैन, उनको जेठो छोरो निरञ्जन अचेल नियमितरूपले काउन्टरमा बस्न थालेको छ ।
हरनाथलाई लिएर सहरमा थुप्रै कहानी चल्तीमा छन् । कोही-कोही गाडीका ड्राइभर अथवा मालिकहरू पनि ग्यारेजमा गाडीका सानातिना दोष ठीक पार्न आउँदा सत्यले कामगर्दै गरेको छेउमा कुर्सीमा बसेर ऊबाट हरनाथका कहानी सुन्छन् । सत्य पनि उसका मालिकका कुरा गर्न थाल्यो भने एकतिरबाट नबिराइकन भन्न थाल्छ ।
सत्यको आफ्नै बिहे पनि सानोतिनो कहानी हो र ? केही कुरो-कन्थो छैन, फ्याट्टै तीन दिन भित्रमै बिहे ! बिहे पनि लर्तरो कहाँ हो र ? छेउछाउका पसलेहरू अझै पनि सत्यका बिहेको कुरो गर्छन् । सत्यको आफ्नै भनाइमा, ‘मैले त बिहे-सिहेको कुरो छाडिसकेको थिएँ । हाम्रा मालिक नहुन्थे भने काहाँ बिहे हुन्थ्यो र मेरो ? कङ्गाल मान्छे, आफैँलाई खान जुर्दैन । त्यसमाथि अर्काकी छोरी ल्याएर कसरी घर भित्र्याउनु ? त्यतिखेर मालिक र म सँगै काम गर्थ्यौं । मालिक बिहे गर, बिहे गर भनेर कचकचाई रहन्थे । मचाहिँ आलेटाले गर्थेँ । एकखेप एउटा एक्सिडेन्ट भएको ट्रक हाम्रो ग्यारेजमा आएको थियो । त्यस ट्रकका ड्राइबर त्यो एक्सिडेन्टमा ठहरै मरेका रहेछन् । कुरैकुरामा त्यस ट्रकका मालिकले हाम्रा मालिकलाई ती ड्राइभरकी एउटी जवान छोरी भएको बताए । हाम्रा मालिक त तम्सिइहाले, – काहाँ, कति टाडा पर्छ ? त्यहीबेला फेरि केही एउटा तीन दिनको बन्द पनि पर्नुथियो । दोकान-बजार, गाडी-मोटर सबै बन्द थिए । हाम्रा मालिक भन्छन्, त्यसै बसेर के गर्नु ? बरु सत्यको बिहे नै भइहालोस् । कुरो न कन्थो, एकदिन बेलुका हाम्रा मालिक त सोझै केटीका घर पुगेर, केटी हेरीवरी बिहेको दिन-बार पनि ठीक पारेर आएछन् । तीन दिनपछि नै बिहे ! मालिक भन्छन्, तैँले केटी हेर्नुपर्ने के छ र ? फुल ग्यारन्टी छ । हामीजस्ता कोही-केही नभएका एक्लाले कसैको यस्तैखाले उपकार त गर्न सकिने हो नि ! सबैथोकको चाँजो मालिकले नै मिलाए । ग्यारेजबाट बेहुलीघरसम्म छ माइल पर्छ । अब पैदल हिँडेर गएर बिहे गर्छस् त ? गाडी-मोटर बन्द छन् त, हात्ती ल्याऔँ । हात्तीत बन्द छैन नि ! चन्द्र ठेकेदारको काठका मुढा तान्ने हात्ती ठीक पारियो । अहिले सम्झिँदा अचम्म लाग्छ, – हात्तीमा चढेर म बेहुली लिन गएको थिएँ । बाटाका दुई छेउका मान्छेहरूले घरको झ्याल, ढोकाबाट चियाएर बेहुलो हेरेका थिए । मन्डपमा मात्रै घुम्टोमा मुख लुकाएकी बेहुलीलाई पहिलोपल्ट देखेको थिएँ । मालिकले ‘मन पऱ्यो त ?’ भनेर जिस्काएका थिए । बिहानीपख फगत बेहुलीलाई हात्तीमा चढाएर ल्याएर घर भित्र्याएको थिएँ । तिनै गृहलक्ष्मीले दुई बेला दुई छाक पकाइ-बनाइ गरेर खुवाइराखेकी छन भन्नु पऱ्यो ।’
सत्यले हरनाथका कुरा गर्न थाल्यो भने सजिलै टुङ्गिदैन।
हरनाथको आफ्नै जीवन पनि त कम रोचक छैन ! पग्लादिया खोलाको किनारमा बसेको, बर्सेनि आउने उलाउले रुख्याएको एउटा गाउँमा हरनाथले तेह्र-चौध वर्षको उमेरसम्म बिकामे भएर गाउँ चहारेरै बिताए । बाबुचाहिँ व्यापार गर्न भनेर हरनाथ सानोछँदै घरबाट निस्केर हिँडेका, हिँडेको हिँड्यै भए । अहिलेसम्म केही खबर-पत्तो छैन । हरनाथकी आमा विक्षिप्त थिइन् । उनको त्यही अवस्थाले गर्दा नै असलमा हरनाथका बाबुले घर छाडेर हिँडेका हुन् भनेर पछि मान्छेहरू भन्थे । गाउँका जम्मै घर हरनाथका लागि भान्साघर थिए, कसैका घरमा यसोउसो केही सघाएर ऊ आफ्नु भुँडी भर्थे। गाउँको एकछेउबाट रेललाइन थियो । एकपल्ट केही भएर एउटा रेलगाडी तीन घन्टा जति उनीहरूको गाउँका छेउको खेतका बीचमा रोकिएको थियो । गाउँका भुराभुरीहरू उल्लासले कराउँदै-चिच्याउँदै त्यो रोकिएको रेलगाडीतिर दगुरेका थिए । तिनमा हरनाथ पनि थिए । रेलगाडीलाई केटाकेटीहरूले दुवैपट्टिबाट घेरेका थिए । कोहीकोही केटाकेटी यात्रुहरूसँग पैसा मागिरहेका थिए । हरनाथ भने एउटा खाली डब्बामा चढेर एउटा खाली बेन्चमा बसेर झ्यालबाट बाहिर भएका साथीहरूसँग बात गरिरहेका थिए । हरनाथबाहेक अरुले डब्बामा चढ्न साहस गरेका थिएनन् । एकछिनमा रेलगाडी सिटी बजाएर बिस्तारबिस्तार चल्न थाल्यो । हरनाथ ओर्लिएनन् । झ्यालबाट बाहिर निकालिराखेको आफ्नु हात उनले साथीहरूतिर फर्काएर हल्लाए । केटाकेटीहरू छक्क परेर कराए, – ‘ओर्ली हर, ओर्लेर आइज ।’ उनी ओर्लिएनन् । उनले आफ्नु हात गाउँतिर फर्काएर पनि हल्लाए ।
भुराभुरीबाट गाउँले हरनाथ गयो भन्ने खबर मात्र पायो तर कहाँ गयो, किन गयो, कसैले थाहा पाएनन् ।
कम्मरमा डोरीले गाँठो पारेर लगाएको फाटेको हाफ्प्यान्ट र गन्जी मात्रै लगाएर गाउँबाट निस्केका केटा भोलिपल्ट जब बडेमाको स्टेसनको प्लेटफर्ममा ओर्लिए, तब मात्र उनले त्यहाँ त आफूले जानेको भाषा कोही पनि बोल्दा रहेनछन् भन्ने थाहा पाए । विचित्रखाले मान्छेका मुखतिर ट्वाल्ल परेर हेर्दै उनी प्लेट्फर्ममा यताउति ओहोर दोहोर गर्न थाले । भुँडीको भोकले जसतससँग हात थाप्तै, हकार-पकार खाँदै, रात परेपछि मगन्तेहरूसँग सुतेर उनले आठ-दस दिन बिताए । त्यसपछि एक दिन उनी स्टेसनदेखि परको लाइट्को उज्यालाले आँखा तिर्मिऱ्याउने पृथिवीतिर निस्केर गए । अनि यो त उनले सानैदेखि सुन्दैआएको कलकत्ता सहर पो रहेछ भन्ने थाहा पाए । भोकले खप्न नसकेर उनी दुई-चार दिन एउटा होटलमा भाँडा माझ्ने भएर बसे । यहाँ-वहाँ ठाउँ फेर्दै उनले केही दिन कलेजमा पढ्ने केटाहरूको एउटा होस्टलमा पनि काम गरे । त्यहाँ मात्र उनले लगभग सात महिनाको लामो समय कटाए । बिस्तारै यी कामहरू उनलाई मन नपर्ने हुन थाल्यो । अनि एक दिन अकस्मात उनी फेरि स्टेसनमा आएर केही नसोची एउटा रेलमा चढे । यसपालि उनी सोझै लख्नौ पुगे । यसपालिको यात्रामा उनका हातमा केही पैसा पनि थिए । रेलबाट ओर्लिएर उनी त्यसै नबरालिएर कामको खोजीमा लागे । होटल आदिको भाँडा माझ्ने कामदेखि उनी विरक्त भएका थिए । यहाँ-वहाँ काम खोज्दै अन्त्यमा उनी एउटा मोटर कम्पनीको कारखानामा पसे- हेल्पर भएर । ज्याला खासै थिएन, जसोतसो खान पुग्थ्यो । दुई-चार दिन काम गरेपछि उनको भविष्यको बाटो बनिने ठाउँ यही नै हो भन्ने उनले राम्ररी बुझे । उनी मन लगाएर काम गर्न थाले । धेरै साल काम गरे यहाँ उनले, यहीँ जवान भए । अनि एउटा समय आयो जब उनी आफूलाई ‘मेकानिक’ भनेर परिचय दिनसक्ने भए । गाडीको स्टियरिङ्मा हात लगाएरै गाडीको कहाँ, के दोष छ भन्न सक्ने भए ।
आफ्ना मालिकका पुराना कुरा एकतिरबाट भन्दै जाँदा सत्य रोमाञ्चित हुँदै जान्छ । आफ्नु छाती बिस्तार ठोक्तै भन्छ, ‘यत्तिको हुन हिम्मत चाहिन्छ, कुन मर्दले यसरी उँभोलाग्न सक्या छ ?’
आफ्नु गाउँ फर्किनुपर्छ भनेर कुनै दिन नसोचेका हरनाथ एकदिन एक्कासि कारखानासँगको सबै सम्बन्ध तोडेर गाउँ आइपुगे । गाउँमा त्यसबेला उनको आफ्नो भन्ने कोही रहेको थिएन । केही दिन त्यसै बरालिएर बिताएपछि एक दिन फेरि एक्कासि उनले अब बाहिर नजाने भनेर मनमा ठाने । त्यसका केही दिनपछि नै सहरमा एउटा दोस्रो ग्यारेज खोलियो । हरनाथका लागि त्यही नै सुरुवात थियो ।
सत्यले हरनाथका कुरा गर्दैजाँदा बीचमा आफूले गर्दैगरेको काम रोकेर गम्भीर पाराले भन्छ- ‘हाम्रा मालिकलाई लिएर बनाउनु हो भने एउटा राम्रो फिलिम बनिन्छ । अचेलका रद्दी फिलिमभन्दा त त्यो फिलिम धेरै राम्रो हुन्छ, राम्रो चल्छ ।’
कसैसँग चिनजान नगरी, कसैसँग केही सरसल्लाह नगरी आफैँआफ हरनाथले सहरमा दोस्रो ग्यारेज खोले – यो कुरो धेरैका लागि पचाउन नसक्ने कुरो भयो । पहिलापहिला त ग्यारेज चलाउन निकै गाह्रो परिसकेको थियो । कतिथोकका झमेला आइलागेका थिए तर हरनाथ कसैसँग सानो हुन गएनन् । कति जनाले त हरनाथका खस्रा हातको पिटाई पनि खाए । दुई-चार दिनमै हरनाथको अकडो स्वभावको कुरो सहरका सबै मान्छेले थाहा पाए । अनि बिस्तारै सबै साम्मे भयो । ग्यारेजले पनि बिस्तारै नाफा दिन थाल्यो ।
त्यसैताक हरनाथ ग्यारेजदेखि अलि परतिर बस्ने एउटी बिधुवा आइमाईका घरमा धाउन थालेका थिए । त्यस कुरालाई लिएर मान्छेहरूका बिचमा गाइँगुइँ चलेको पनि थियो । तर हरनाथका मुखेन्जी केही भन्न कसैले साहस गरेका थिएनन् । अनि एकदिन अकस्मात ती गाइँगुइँ गर्नेहरूका मुखमा बुजो लाइदिएर हरनाथले सुभद्रा नाउँकी ती बिधुवालाई ल्याएर घरमा भित्र्याए । समाजलाई बोलाएर केही गरेनन्, जे गर्नुथियो कोर्टमै गरेर आए । तीनै बिधुवासँग सन्सार गरेर हरनाथ दुई छोरा र दुई छोरीका बाबु भए । दुवैओटी छोरीलाई समयमै राम्रै घरमा बिदा पनि गरिसके । छोराहरूले अलिकति पढेर पढ्न छाडे । सानो छोराले दुई कक्षा जति कलेजमा पनि पढ्यो । हरनाथ यी कुरा लिएर टाउको दुखाउँदैनन् । हुर्केका छोराले अवश्य नै केही न केही गरेर खान्छन् । ठूलो छोरो निरञ्जनले त बाबुको काममा सघाउन पनि थालिसकेको छ । सानो छोरो चैँ अलिक भिन्नै छ । नाच-गाना, नाटक आदि लिएरै ऊ सधैँ व्यस्त रहन्छ ।
सहरका विभिन्न अनुष्ठान, सङ्घ-संस्था, तथा सभा-समितिहरूसँग पनि हरनाथको एकप्रकारको सम्पर्क छ । विभिन्न पूजा समिति, मस्जिद उन्नयन समिति, नाट्यशाला, युथ क्लब, स्पोर्ट्स क्लब आदि सबैसँग उनको उत्तिकै सम्पर्क छ । यी सबै सङ्घसंस्था तथा सभा-समितिका कार्यक्रमहरूमा हरनाथको एउटा दह्रो सहयोग रहेको हुन्छ तर त्यो सहयोग नितान्तै अर्थको सहयोग हुन्छ, अन्य प्रकारले सहयोग गर्न उनी भ्याउँदैनन् अथवा सक्तैनन् । यी सङ्घ-संस्थाका कुनै पनि अनुष्ठान, कार्यक्रम अथवा बैठकमा हरनाथको उपस्थिति रहँदैन । यी सबैलाई हरनाथले रसिदबिनै मद्दत गर्दै आएका छन्, कसैको वार्षिक हिसाब-कितापको बैठकमा गएर उनले हिसाब सोधेका छैनन् । ठिटा केटाहरूले कुनै थेटर ल्याउन खोजे अथवा बाहिरबाट नामी कलाकार बोलाएर सांस्कृतिक साँझको आयोजना गर्न खोजे, तर बजेट अझै जुटिसकेको छैन – केही कुरो छैन, हरनाथले दुवै हात खोलेर मद्दत गरिदिन्छन्- गर केटा हो, गर । अहिलेको अन्याय अधर्मको दिनमा पनि केही राम्रो गर्न खोज्याछौ- तिमीहरूले बाधा पाउनु हुँदैन ।’ बेलुकीपख हरनाथका ग्यारेजदेखि एकफार्लङ् जति परको चउरमा सारा सहर आएर थुप्रिएको हुन्छ – हरनाथलाई त्यसको केही चासो छैन । ग्यारेजका सबै कर्मचारीलाई पठाइदिएर आफू यसो दुई घुडकी तान्दै बाहिरको बेन्चमा बसेर एक्लै तासका पत्ता मिलाइरहेका हुन्छन् ।
यस्तै छन्, हरनाथ… ।
वर्ष दिनमा आउने विश्वकर्मा पूजा हरनाथ निकै सानदार पाराले गर्छन् । सहरभरिमै उनको पूजा सबैभन्दा झिलिमिली, सबैभन्दा राम्रो हुनुपर्छ । ग्यारेजका सबै कर्मचारीले नयाँ लुगा पाउनु पर्छ । हरनाथको यो एउटा सोख छ । कसैले यसपालि केदारमल मारवाडीले कोचबिहारदेखि मूर्तिकार झिकाएर ठूलो प्रतिमा बनाउने भएका छन् भनेर सुनाउनु मात्र पर्छ, हरनाथ कलकत्ताबाट राम्रो मूर्तिकार झिकाउने चाँजो मिलाउन थालिहाल्छन् । उनको प्रतिमा सबैभन्दा राम्रो हुनुपर्छ । साँझमा ग्यारेजको विशाल आँगनदेखि सडकसम्म पूजा हेर्न आएका मान्छेको घुइँचो हुन्छ । राति पूजामण्डपमा ओपेरा हुन्छ । रातभरि हल्लाखल्ला चलिरहन्छ । सबै काम हरनाथले चिताएअनुसार नै हुन्छ ।
हरनाथको जुन एकखालको अलमस्त बानी छ, मान्छेले त्यसको फाइदा पनि नउठाएका होइनन् । सत्यका साथै निरञ्जनले पनि अचेल यो कुरो बुझ्न थालेको छ । बेलुकीपख हरनाथसँग तासको अड्डा जमाउन आउने ती महापुरुषहरूलाई सत्य एक आँखाले देखी सहँदैन । घाम अस्ताइसक्ता तीन महापुरुष आएर ग्यारेजका अघिल्तिर त्यसै अल्याङ्टल्याङ् गर्न थाल्छन् । यिनमा जगन्नाथ भन्ने डौँठे चाहिँ स्वास्नीको कमाइमा रजगज गर्छ । स्वास्नी भने छेवैको अस्पतालमा नर्सको जागिर गर्छिन् । डम्मरु भन्ने अर्को, लोकल लिडर । फिटफाट पञ्जाबी कुर्ता लगाएर हिँड्छ । पूजा समितिको कोषाध्यक्ष हुनदेखि लिएर पन्चायतको चुनाउ लड्नसम्म सबैथोकमा सिद्धहस्त । हरनाथलाई उचालेर फाइदा लिन उस्ताद छ । पोहोर साल छोरीको बिहेको मोटामोटी खर्च हरनाथबाटै छिरायो । अर्को अनङ्ग भन्ने चाहिँ खोई केको व्यापार गर्छ कुन्नी, सधैँ नशामै देखिन्छ ।
सदानन्द वकिलको घर-जग्गा बेच्न खोजिरहेको खबर पनि तासको अड्डामै डम्मरुले हरनाथलाई सुनाएको थियो । देब्रेहातका औँलाले च्यापेर राखेका तासका बीचबाट एउटा पत्ता झिकेर दाहिनेहातले जोडले फ्याँक्नआँटेका हरनाथ अकस्मात त्यत्तिकै रोकिए ।
के रे ? सदानन्द वकिलको घर बेच्ने रे ? हैन, वकिलको छोराचैँलाई के भाको छ ?
यो खबर सुनेर हरनाथ जुरुक्क उचालिन्छन् भन्ने डम्मरुले पहिला नै सोचेको थियो । वकिलको घर बेच्छन् रे भन्ने कुरो डम्मरुले दुई दिन जति अगाडि नै सुनेको थियो । त्यतिखेर उसले त्यस कुरालाई त्यति महत्त्व दिएको थिएन । हिजो बजारमा वकिलको छोरो अनिरूद्धसँग जम्काभेट हुँदा डम्मरुले यो कुरो आफ्नै कानले सुन्यो । स्थानीय कलेजका प्राध्यापक शेखर भट्टाचार्यसँग कुरो केही अगि बढेको छ भन्ने पनि थाहा पायो । यो कुरोचैँ डम्मरुले पचाउन सकेन । शेखर भट्टाचार्य यस शहरमा स्थायी रूपले बस्छन् भन्ने सोचेर डम्मरू भित्रभित्रै झस्कियो। कहाँबाट आइपुग्नुपरेको यो मान्छे यस सहरमा — ! सहरमा आएर केही दिनमै निकै लोकप्रिय भएका छन् यी मान्छे । सहरका धेरै युवायुवतीले अचेल यिनका कुरा सुन्न थालेका छन् । अझ ठूलो कुरो चाहिँ के भने, पोहोर साल डम्मरूको माहिलो छोरालाई परीक्षाहलबाट बाहिर लिकाल्ने मान्छे यिनै हुन् । डम्मरुसँग बसाउठी गर्ने केहीजना मिलेर यी मान्छेलाई यस कलेजबाट हटाउन भित्रभित्रै लागिपरेका छन् । त्यस्तो बेलामा यो खबर ! डम्मरुको मनले हाहाकार गऱ्यो । –पर्ख न पर्ख, अहिल्यै निधो दिई नहाल न । तिमीले खाँचोमा परेर पो बेच्न आँटेका त ! प्रोफेसरले एउटै किस्तामा एकमुस्ट सबै पैसा कहाँ दिन सक्छन् होला र ! म तिमीलाई प्रोफेसरले दिएको दामभन्दा अलिक बढ्ता नै दिलाउन सक्छु । पैसा पनि एकमुस्ट एकैसँग दिलाउन सक्छु । अलिकति पर्ख न ! हरनाथ त्यतिखेर सहरको कुनै एक राम्रो ठाउँमा घर बनाउन सक्ने अलिकति जग्गा खोजिरहेका छन् भन्ने कुरो डम्मरुलाई थाहा थियो । ग्यारेजका छेउको हरनाथको घर अलिक साँघुरो थियो । जमिन पनि सानो थियो, भविष्यमा घर बढाउने ठाउँ थिएन । त्यसमाथि बजारको भीडभाड, हल्लाखल्ला भएको ठाउँ थियो । त्यसैले हरनाथले सहरको कुनै राम्रो ठाउँमा जमीन किनेर घर बनाउने अनि यो घर भने भाडामा लगाउने कुरो मनमनै सोचिरहेका थिए ।
यो खबर पाएदेखि हरनाथले तासका पत्तामा सारै मन लगाउन सकेनन् । एक घण्टा जति त्यत्तिकै खेलेर उनले खेल समाप्त गरे । जगन्नाथ र अनङ्ग उठेर गएपछि पनि डम्मरु हरनाथका छेउमा बसिरह्यो । यस खबरले हरनाथलाई अलिकति विचलित पारेको थियो । केहीबेर चुपलागेर बसेपछि हरनाथले आफैँलाई भनेझैँ गरेर भने, ‘घर-जग्गा नै बेचिहाल्नुपर्ने के त्यस्तो साह्रो परेछ त्यसलाई ? थिएटरको पारा कस्तो छ होला ?’ डम्मरुले पनि हरनाथकै बोलीको सोरमा केकेजाति फलाक्यो, मानौँ यस खबरले उसलाई पनि उत्तिकै विचलित पारेको छ । – ‘केहीसाल यता थिएटरमा बर्सेनि थुप्रै घाटा भइरहेको थियो रे ! यसपालि त झन् थिएटरलाई भङ्ग नै गर्नुपर्ने भयो रे ! काबुलीको पनि थुप्रै रिन छ रे ! अहिल्यै रिन तिर्न नसके घरजग्गा जम्मै काबुलीका हातमा जान्छ । त्यसैले काबुलीका हातमा पर्नुभन्दा बरु कुनै चिने-जानेको मान्छेलाई उसले आफ्नु घर-जग्गा बेच्न खोजेको ।’ डम्मरुका कुरा सुनेर पनि हरनाथ केही नबोली त्यत्तिकै बसिरहे । एकछिन पछि डम्मरु उठेर हिँड्यो, हिँडेपछि उसको मन त्यसै हलुङ्गो लागेको थियो ।
राति भात खाएर सुत्न जाँदा पनि हरनाथलाई त्यही कुरो मनमा आइरह्यो । अँध्यारामै ओछ्यानमा उत्तानो परेर सुतेर निकैबेरसम्म त्यही कुरो सोचिरहे । ठाउँचैँ सारै राम्रो छ | चौहद्दी पनि मज्जाले मिलेको । घरको चार सिमाना छ फुट अग्लो इँटको पर्खालले घेरेको छ । घर माझमा छ । आसाम टाइपको घर । त्यतिसारो ठूलो त होइन तर भविष्यमा बढाउन सक्ने सुविधा छ । घरको चौहद्दीको कुरो मनमा आउँदा हरनाथलाई सदानन्द वकिलको सम्पूर्ण आकृति मनमा आयो । सुकिलो धोती र गन्जी लगाएर, हातमा कैँची लिएर सदानन्द वकिल मानौँ घर अगाडिको बगैँचामा फुलका बुटाहरूका बीचमा हिँड्दै छन्, – हरनाथले नचिनेका विभिन्न जातका साना-साना बुच्काहरूलाई विभिन्न सजावटमा काट्तै छन् । वर्षका सबै ऋतुमा नानाविधि रङबिरङ्गी फूल फुलेर अत्यन्त सुन्दर लागेको हुन्छ त्यो बगैँचा ! अनि ती रङ्बिरङ्गी फूलका बीचमा वकिलको तेजस्वी चेहरा- आहा ! क्या सुन्दर ! क्या दीप्त !
धेरै कुरा आए हरनाथका मनमा । ग्यारेज नयाँ नयाँ थालेका बेलाको घटना । माघ बिहुको उरुकाको मौका छोपेर केही ठिटा केटाहरूले हरनाथको ग्यारेजमा उत्पात गरे । निकै रुपियाँका सामान आगामा डढाए । पछि हरनाथले थाहा पाएर ती भित्रका दुइटा जतिलाई भेटेर बेसरी गोदे । त्यस कुरालाई लिएर निकै हङ्गामा भयो । वरपरका निकै जना पसले पनि होहोरेमा लागे – ‘अस्ति भर्खर काहाँदेखि यहाँ आएर त्यस्को यत्रो साहस !’ त्यतिखेर सदानन्द वकिलले नै यस घटनाको छिनाफाना गराइदिएका थिए । नत्र भने हरनाथको कोर्ट-कचहरी धाउँदा धाउँदा कम्ता बिजोक हुन्थ्यो ? यही घटनादेखि सदानन्द वकिलसँग हरनाथको बोलचाल भएको । सुभद्रालाई घर भित्र्याउन लिएर आएपछि पनि कोर्टमा हरनाथलाई भेटेर पिठ्युँमा थपथपाउँदै सदानन्द वकिलले भनेका थिए, – ‘राम्रो काम गऱ्यौ । आदर्शको काम गऱ्यौ । मान्छे साहसी हुनु पर्छ ।’ त्यसपछि पनि अरु थुप्रै घटना थिए । यहीँ परतिरको भैँसीगोठे गाउँका अन्याय गरेर उच्छेद गरिएका मान्छेहरूलाई सदानन्द वकिलले नै त पुनःसंस्थापन गराएका थिए । त्यस कुरालाई लिएर पनि थोरै हङ्गामा भएको हो र ? कतिखेप मिटिङ बस्यो ! –त्यस्ता मान्छे, एकदिन अचानक खसे । केही भएको थिएन । दुई दिन जति अगाडि पनि डाक्टरले प्रेसर नर्मल छ भनेका थिए । वकिलको मुर्दा शरीरलाई जुलुस निकालेर मसानघाटसम्म लगेका थिए । हरनाथको ग्यारेज अगाडिबाटै जुलुस पार भएको थियो । कति दिनको कुरो हो र ! त्यही एघार-बाह्र वर्ष जति त भयो होला ? यति दिनमै यत्रो ठूलो घटना हुन आँटेछ !
हरनाथले जान्दा वकिलका दुई छोराछोरी मात्र छन् । उनकी पत्नी पहिले नै बितेकी अरे ! छोरी भने पढाइमा एकदम प्रखर थिइन् भन्ने कुरो सबै जान्दथे । उनको पढाइ असमबाहिर भएको थियो । बिहे पनि असमबाहिरै भयो । तर छोरो अनिरुद्ध- ऊ एकदमै उल्टो भयो । सानैदेखि क्लब, नाटक भनेपछि हिरिक्क थियो । उसका साथी-सँगीहरू पनि राम्रा थिएनन् । बाबु छँदैदेखि उसले रक्सी खान थालेको थियो । बाबुको देहान्तपछि उसले एउटा भ्राम्यमान थिएटर पार्टी खोलेको थियो । हरनाथले त्यतिखेरै यस्तै केही अनर्थ हुन बेर छैन भन्ने अनुमान गरेका थिए तर यति चाँडै भइहाल्छ भन्ने सोचेका थिएनन् ।
भोलिपल्ट अनिरुद्धलाई लिएर डम्मरू बिहानबिहानै हाजिर भयो । हरनाथले उनीसँग आफैँ बात गरी हेरे । घर-जग्गा नबेची मिलाउन सकिँदैन ? दुई-चार जनाले अलेली मद्दत गरे भने हुँदैन ? पछि बिस्तारै रिन तिर्दैगर्दा भइहाल्थ्यो नि ! तर अहँ, अनिरुद्धले अझै रिन बढाउन खोजेन । बरु भएको रिन तिरेर फुक्का हुने कुरा गऱ्यो । पछिको कुरा पनि उसले सोचिसकेको छ । यी सब झमेलाबाट फुक्का भएपछि ऊ कुनै एउटा थिएटर पार्टीमा अभिनेता भएर पस्छ । एक्लो मान्छेलाई के छ र ! नाटक गर्छ, खान्छ । चलिहाल्छ नि !
कुराकानीमा धेरजसो डम्मरुलेनै बोल्यो । एउटा समयमा दरदामको कुरो आयो । प्रोफेसरले दिएको दाम पनि नराम्रो त होइन । तैपनि अनिरुद्धको दुर्दिनमा केही मद्दत पुगोस् भनेर अनि डम्मरुको बोली पनि रहोस् भनेर हरनाथले दुई-चार हजार बढतै दिने भए । त्यही बन्दोबस्त भयो । सबै बन्दोबस्त, कुराकानीको डम्मरु नै घटक भयो । राम्रो दिन-बार हेरेर पैसा दिनुभन्दा पहिला हरनाथ घरको भित्र पसेर चारकुना हेर्ने भए । त्यसै त सधैँ देखिराख्या घर हो ।
त्यसै दिन बेलुका निरञ्जन, सत्यहरुले पनि कुरो चाल पाए । भोलिपल्ट बिहान कामकै बीचमा एक फन्को गएर घर हेरेर पनि आए । उनीहरूलाई घर मनैपऱ्यो ।
त्यसका दुई दिनपछि बेलुकाको अड्डाका अगाडि अगाडि डम्मरुले हरनाथलाई पक्डियो – हिँडनुस् आजै गएर हेरेर आऊँ । हरनाथले एकछिन केही सोचिरहे । त्यसपछि भित्र पसेर एकजोर सुकिला धोती-कुर्ता लगाएर निस्केर आए । यतिञ्जेलमा जगन्नाथ र अनङ्ग पनि आएर हाजिर भइसक्या थिए । हरनाथले उनीहरूलाई पनि सँगै हिँड्न भने । अलिकति पर पुगेपछि डम्मरुले अनङ्गलाई एकछेउतिर लगेर केही भन्दै पर्खायो । डम्मरु र जगन्नाथले अघि नै निरञ्जनबाट दुइटा फुल बोतलको दाम निकालिसकेका थिए । अब अनङ्गले किनेर ल्याउनु पर्ने ।
सबैजनाले घरभित्र पसेर घुमी-घुमी हेरे । मन नपर्ने कुरै थिएन । जगन्नाथ र डम्मरुले नै धेर बोले । पछि घरका दुई छेउमा दुई छोराका लागि दुइटा भाग जोड्न सकिन्छ, बीचको अहिलेको घर हरनाथ, श्रीमती र पाहुनापाछाका लागि राम्रो हुन्छ । चारैपट्टिको परिवेश राम्रो छ । केही असुविधा हुँदैन भन्ने कुरा निस्कियो ।
घरभित्र हेरिसकेर बैठक कोठामा आएर बसिसक्तानसक्तै अनङ्ग पनि आइपुग्यो । उसका हातमा बोतल देखेर मात्रै हरनाथले भेउ पाए । -याहाँसम्म लिएर आइस् ?
अनङ्गले केही नबोली कुर्सीमा थ्याच्च बसेर बोतलको बिर्को खोल्न थाल्यो ।
अनिरुद्ध पनि भित्रबाट निस्केर आयो । अनुहारमा मुसुमुसु हाँसो । डम्मरुले आयोजनलाई पछाडिको बरण्डातिर सार्ने प्रस्ताव राख्यो । सबैजना उठ्न आँटेपछि अनिरुद्धले हतारहतार भन्यो, हुन्छ, यहीँ भइहाल्छ नि ! केही हुँदैन, बस्नुस न ! अनि लगभग कुदेजस्तै गरेर ऊ भित्र पस्यो । एकैछिनमा चारोटा सुन्दर गिलास ल्याएर टेबुलमा राख्यो । काम गर्ने केटो आज छैन रे ! गिलास चारोटा मात्र देखेर जगन्नाथले सोध्यो, ‘अरु एउटा ?’ उत्तरमा अनिरुद्ध अलि लजाएजस्तो गरेर मुसुक्क हाँस्यो । मानौँ हरनाथसँग यसरी बस्न उसलाई अलि अप्ठ्यारो लागेको थियो । सबैले हरनाथका मुखतिर हेरे । हरनाथले कसैतिर नहेरी भने, ‘लिएर आऊ ।’
गफ चर्कियो । डम्मरु र जगन्नाथ नै धेरजसो फलाकिरहे । डम्मरुले ससुराली पट्टिको कसैले गुवाहाटीमा जग्गा किन्ने भएर ठगिएको कुरा भन्यो । जगन्नाथले आफ्नु एउटा भाइले बडेमाको महल बनाएको कुरो गरेर गर्व गऱ्यो । अनङ्ग र अनिरुद्ध पनि बीचबीचमा एकदुई कुरा बोलिरहे । हरनाथचैँ खास केही नबोली अँ-अहँ मात्र गरिरहे ।
डम्मरु र जगन्नाथलाई छिट्टै मात लाग्छ । केहीबेर फलाकेपछि दुवैजनाको जिब्रो लरबराउन थाल्यो । हरनाथ सामान्यतः एउटा मात्रासम्म मात्र खाने गर्छन् । आज अलिकति मात्रा नाघेपछि रहल अनङ्गहरूलाई छाडेर उनी बाहिरको बरण्डातिर निस्केर आए । बरण्डाको बत्ती निभाइएको थियो । एउटा खम्बामा हात राखेर हरनाथ त्यसै एकछिन उभिइरहे ।
अगाडिको सडकमा बीचबीचमा एक-दुईवटा गाडी पार भएर जाँदैछन् । बरण्डाबाट ओर्लिएर हरनाथ गेटतिर गएको सानो बाटामा दुईचार पाइला अघि बढेर अँध्यारामै त्यसै उभिइरहे । उनको टाउको अलिअलि झमझमाइरहेको थियो । अँध्यारामै उनले यहाँवहाँ आँखा दौडाए । चौहद्दीको पर्खालमा केही एउटा लहरो चढेर पर्खालको प्रायःजसो भाग नदेखिने पारेको थियो । अँध्यारामा ती लहराहरू कालाकाला देखिएका थिए ।
यस घरको चौहद्दीमा ऊ आज नै पहिलोपल्ट पसेका । पहिला घरअगाडि बरण्डाका छेउबाट गेटसम्म सानो बाटाको दुवैपट्टि फूलको बगैँचा थियो । कति थरीथरीका फूल थिए । बिस्तारै हरनाथलाई यस चौहद्दीको पुरानो छवि मनमा आउन थाल्यो, – हातमा कैँची लिएर सदानन्द वकिल सानासाना बुच्काहरूका पात विभिन्न सजावटमा काट्दै छन्, हातमा पानी हाल्ने भाँडो लिएर फूलका बोटहरूमा सररर पानी हालिरहेका छन् । रङ्बिरङ्गी फूल फुलेर ढकमक्क छ बगैँचा । सडकसम्मै तीनको मगमगाउँदो बास्ना फिँजिएको छ। फूलका बीचमा वकिलको त्यो तेजस्वी अनुहार !
कहाँ गए ? कहाँ हराए ती सबै ?
हरनाथको मस्तिष्कबाट मानौँ एउटा बिजुलीको लहर दौडियो ।
तिनै मान्छेका घरमा आज हरनाथले रक्सीको अड्डा बसाए ! भोलिदेखि यो घर, यो चौहद्दी हरनाथको आफ्नु हुनेछ । सक्ला त ? – सक्ला हरनाथले त्यस्तै बगैँचा बनाउन ? सक्ला त्यस्तै मगमगाउँदो बास्ना निर्माण गर्न ? यो घर, -यही घरमा भोलिदेखि अनङ्गहरू बिनारोकावट पस्नेछन्, -यही घरमा तासको अड्डा बस्नेछ, रक्सी खाइने छ ! सदानन्द वकिलजस्ता मान्छेको घरमा ! कसका बलले ? केका बलले ?
हरनाथको टाउको तातेर रनक्क हुन थाल्यो । अस्थिर भएर ऊ एकैठाउँमा यता र उता हिँडन थाले । त्यसपछि अकस्मात बरण्डामा चढेर उनले केही सोचे । बन्द भएको ढोका चाहिने भन्दा धेर जोडले खोल्नाले ढोकाको एउटा पल्ला घरको दिवालमा ठोकिएर ढड्याम्म गरेर शब्द भयो । त्यस शब्दले बेतको मेचमा टाउको अडेस लाएर निदाइरहेका जगन्नाथ र डम्मरु तर्सिएर उठे ।
-“उठ बजिया हो, यो घरको मालिक बनाउन ल्याएका तिमीहरूले मलाई ? यो कसको घर हो थाहा छ ? हँ ? सदानन्द वकिलको घर हो यो । सदानन्द वकिल मान्छे थिए । अनि यहाँ मान्छे नै बस्नेछन् । त्यो मान्छे म हुन सक्तिनँ, तिमीहरू हुन सक्तैनौ । अनि यो कुलाङ्गार, सदानन्द वकिलको छोरो भनाउँदो, यो पनि यस घरमा बस्न योग्य होइन । यो घर म लिन्नँ । प्रोफेसरलाई बेचिदेओ । प्रोफेसरको भएर बरू थप पैसा म दिउँला । मै दिउँला ।” कराई कराई नाटकको सम्वाद फलाकेझैँ हरनाथ लगभग कुदेजसरी बाहिर निस्किए । उनको कराईमा केही रोएको स्वर पनि मिसिएको जस्तो सुनिन्थ्यो ।
सबैजना जिल्ल परे । जऱ्याकजुरुक उठेर एक-दुई पाइला गर्दै उनीहरू बाहिर निस्किए ।
हरनाथ मूल सडकसम्म पुगिसकेका थिए । जगन्नाथले आँखा मिच्तै आफैँआफमा साउती गरेझैँ गरेर भन्यो, ‘मजाले नै चढेछ क्यार !’
भोलिपल्ट बिहान हरनाथ ब्युँझिदा अलि ढिलो भयो । ब्युँझिएर पनि ऊ केहीबेर आँखा चिम्लिएर त्यसै ओछ्यानमा लडिरहे । त्यसपछि उठेर मुख-हात धोएर चिया खाए अनि बाहिर निस्किँदा लाउने लुगा लगाए ।
कान्छो छोरो छेउको कोठामा बिस्तार बिस्तार टेपरेकर्डर बजाएर केही पढिरहेको थियो । हरनाथ उसका नजिकै गएर सोधे, – “तिमीहरुको कलेजका प्रोफेसर- शेखर भट्टाचार्य, – कसको घरमा भाडामा बस्छन् हँ ?”
मूललेखकः हेमराज शर्मा
अनुवाद- गदाधर शर्मा
गुवाहाटी, असम, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।