हिरनमयी आचार्य शर्मा

कोरोना भएर आइसियूमा भर्ना गरेको आज पाँच दिन भयो स्वप्ना दिदीलाई । आज पो केही  भन्नुहुन्छ कि भन्ने  सोचेर प्रियाले डाक्टरको अनुहारतिर हेरिन् । डाक्टरले नि प्रियातिर हेरेर भने “आज हजुरको बिरामीलाई आइसियूबाट साधारण कक्षमा निकाल्दै छौँ, स्वास्थ्यमा अलिक सुधार भएको छ ।” यो सुनेर खुसी भइन् प्रिया  ! (आइसियूको थेग्नै  गाह्रो खर्चले दिमाग खलबलिएको थियो उनको )सुन्नेबित्तिकै  दौडँदै दिदीको छेउमा पुगिन् प्रिया । दिदीका आँखामा आँखा जुधे उनका, दिदीले हाँसेर अब म निको भएँ छिट्टै घर फर्किने  भनेजस्तो लाग्यो  प्रियालाई, अक्सिजनमुक्त हुँदा !

                एधार वर्षकी छोरी छिन् हाम्री स्वप्ना दिदीकी । छोरी तीन वर्षकी  हुँदै दिदी भिनाजुको  वैवाहिक सम्बन्धविच्छेद भएकाले  माइतीमै बस्छिन् दिदी, छोरीसहित । आमा, दुई जना भाइ , म ( प्रिया ),आफू  र उनकी प्यारी छोरी यही थियो स्वप्ना दिदीको सानो परिवार !  दिदीकी छोरीले बाउ भानेको को हो  जान्दै जान्दिनन् !   पेरेन्ट्स मिटिङको दिन स्कुलमा सबैका बुबाआमाहरू देखेर आमालाई प्रश्न गर्थिन् छोरीले ” मेरो बुबा खै आमा ?”भनेर । आँखाबाट निस्किएको आँसु पिएर मौन बस्थिन् सधैँ दिदी छोरीको प्रश्नको जवाफमा ।
१ घण्टाभन्दा बढी भएको थियो होला स्वप्ना दिदीलाई साधारण कक्षमा सारेको, अचानक  छिटो-छिटो श्वास फेर्न थालिन्  सपनाले ! प्रियाको अनुहारमै हेरेर मनमा रहेका अनेकौँ  कुराहरू भन्न खोजेजस्तो गरी छटपटाउँदै उनको  हात अझै दह्रो गरी समात्न खोज्दा- खोज्दै अचानक कस्सिएका हात छुटे ! प्रिया स्तम्भझैँ बनेर दिदीतिर हेरेर ठाउँको ठाउँ उभिरहिन् !
अस्पतालका कर्मचारीले –“यो लास बाहिर निकालौँ, खै बाटो छोड्नुहोस् ” भन्दै  पन्छाउँदा  उनी झसङ्ग  भइन् । कोरोनाको भ्याकसिन लगाएकी भए आज दिदी हामीसँगै हुने थिइन् ।