
इन्दिरा गाैतम
”आमा, आज म पल्लो गाउँको काकाको घरमा जानुपर्यो है ?” लुगाको पोको छलेर घर मालिकनीलाई वीरेले भन्यो । उनलाई केही भन्ने मौका नदिई कुर्सीमा बसेर जुत्ता लगाउँदै भन्यो “खेती गर्न आइपुगे भएन”?
”ल ल, वीरे जा,” बाटो खर्च दिन भनेर कैलाशकी आमा भित्र छिर्दै भनिन्, ”रहर पुगुन्जेल घुम्नु ।”
भित्रबाट पैसा लिएर निस्कँदा वीरे पर पुगिसकेछ। बोलाउँदा पनि कान नसुन्ने, बैरो थियो, अब्डेरो थियो।
ऊ सानो छँदा बाबु-आमा मरेपछि धेरै दुःख पाएको देखेर कैलाशकी आमाले छोराको साथी हुन्छ भन्ने सोचाइले हुर्काइन्। ठूलो हुँदै आएपछि सुस्त मस्तिष्कको रहेछ भन्ने थाहा पाएपछि धेरै खर्च पनि गरिन्। बिमारकै कारण स्कुल पनि छोड्यो । आफ्ना परिवारका भन्ने कोही थिएनन्। एउटी फुपू मात्रै थिइन्। उनको घरमा कहिलेकाहीँ मात्र जान्थ्यो। कैलाशकी आमालाई नै आमा भन्ने गर्थ्यो।
खेतीको समयमा फुर्क्याएर गाउँमा सबैले काम लगाउने गर्थे । दुई-चार पैसा दिन्थे । हातमा पैसा भएपछि साप्ताहिक हाटबजार घुम्ने गर्थ्यो। मन परेका चिजहरु किन्थ्यो। पैसा छउञ्जेल यताउता डुल्ने गर्थ्यो र अलपत्र परेका दिन कैलाशको घरमा आमा भन्दै आउँथ्यो। यसरी नै उसको जीवनमा शोक न सुर्ता, भोक न भकारी हुँदै दिन बित्दै गयो ।
आज तीन दिन यहाँ छ भने, भोलि मास्टर काकाको घरमा, त्यहाँ दुई दिन बसेपछि गाउँबूढाको घरमा अनि कस्को घरमा मिठो खाना पाक्छ, बिजुली, पंखा र टिभी भएको घरमा बस्ने गर्दै आएको थियो।
उसले हरेक घरको चालचलन बुझिसकेका थियो। वीरे ठूलो हुँदै आयो। उसका मनमा पनि अनेकौँ रहरहरु एकाएक फुट्न थाले। खुसीका तरंग उत्पन्न हुन थाल्यो। जवानीको जोसलाई शब्दमा उतार्न नसके पनि महसूस गर्न सक्ने भएको थियो।
केटी भएको घरमा दिनैभरि काम गरेको थाहा पाउँदैनथ्यो। कसैले मेरी सालीसँग तेरो कुरा मिलाइदिन्छु भन्ने गर्थे। ऊ गदगद हुन्थ्यो। कसैले केटीको बाउको फोन आयो भनेर दिनैभरि दाउरा चिराउने गर्थे भने कोही कुनै केटीको फोटो देखाएर मख्ख पार्थे। बिचरा वीरे कल्पनालाई मलजल गरेर रहरहरु हुर्काउँदै थियो, सोचाइमा हराउँथ्यो। सोचाइमै रमाउँदै थियो।
सबै गाउँ चारिसकेर अन्तिममा कैलाशको घर फर्केर भन्थ्यो, “आमा केटीको बाउ मरेछ। अर्को साल मेरो बिहे गर्ने है !”
कैलाशकी आमा दु:खी हुन्थिन्, “तेरो लगन आएको छैन । कसले पो देला केटी ! कतै दिगो लागेर बस्तैनस् । एकोहोरो लाटो रिस छ, केटी पनि मान्नु परो नि?”
कैलाश भने सबैलाई यस्तो अवस्थाका व्यक्तिलाई जिस्काउनु हुँदैन भनी अनुरोध गर्थे । मानसिक सन्तुलनको विकृति बढेर जान्छ । कैलाशलाई भने वीरेको माया लाग्थ्यो । जे भए पनि बालापनको खेल्ने-डुल्ने साथी जो थियो !
दिन बित्तै गयो। वीरे मान्छेको भीडबाट टाढा-टाढा, एक्लै बस्न मन पराउने भो। मोबाइलमा देखापरेका अनुहार सम्झेर दिनरात कल्पनामा डुब्दथ्यो। लीलामणि काकाले सालीसँग कुरा मिलाइदिन्छु भनेर बर्खाभरि हलो जोताको कसरी पो बिर्सिन सकोस् र ? यसरी हिउँद र बर्खा भन्दाभन्दै उसको यौवनको लालीमा कालो पोतो बसिसकेको छ। रहरहरु मात्रै छन् केवल समय बिताउन गाह्रो हुन थाल्यो । सबै कुरा बिर्सन थालो। दिन-रात एउटै लाग्ने भयो। निर्दयी मान्छे देख्दा कोपर्न चिथोर्न मन लाग्न थालेको थियो । रात परेपछि खोलाको किनारबाट कैलाश र आमा उसलाई खोजेर ल्याउँथे भात खान दिन्थे। यसरी वीरे बिस्तारै-बिस्तारै घरै फर्कनै बिर्सिने भो।
एक दिन तल्लो गाउँका मान्छेहरुले स्ट्रेचरमा कसैलाई लिएर कैलाशको आँगनतिर पसे। आमा झसङ्ग हुँदै स्टेचरभित्र हेरिन्। जीवनको अन्तिम सास फेरिरहेको वीरेले आँखाभरि आँसु पार्दै इसारा गर्यो, “आमा केटीको बाउको बार्षिक भयो ?”
आमा गहभरि आँसु पार्दै भन्छिन्, ”तैँले बिहे गर्ने केटी जन्मेकै छैनन् वीरे, जन्मेकै छैनन्।”
ओदालगढी, असम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

