

इन्दिरा गौतम (असम)
बेलुका छ बजेदेखि आमालाई खटपटी लागेको । एक्लै भित्र बाहिर गर्नुहुन्छ । घरका सबैजना आफ्नो आफ्नो काममा व्यस्त छन् । दुईचोटि सम्म भित्र श्रीमानलाई छोरी खोज्न जाऊँ भन्दा झण्डै सात्तो खाएनन् । आमाको मन त हो , सातचोटि बाटोसम्म हेर्न गइन् । झमक्क हुँदा पनि छोरी घर आई नपुग्दा मन भित्रभित्रै काटी मारीसक्यो । मोबाइलमा फोन गर्दा नट रिचेवल भन्छ ।
“पढेकी छोरी जागिर खान खोज्दा कसरी नदिने ? पढाइ पूरा गरेर त्यसै घर बस्ता कुरा काट्नेको कमी हुँदैन । सानो तिनो जागिर गर्दा आयश्रोतको र समयको सदुपयोग हुने भन्ठानेर छोरीलाई जागिर खान पठाएकी ।” यो कुरा बूढोलाई सातचोटि सुनाइन् । खोज्न जानु त परै जाओस् उल्टै बूढीको सातो खाए । छोरो पनि बिहानको भात खाएर घरबाट निस्किएको अहिलेसम्म घर आएको थिएन ।
रातिको नौ बजे एउटा गाडीले मिनुलाई घरसम्म छोडेर गयो । छोरा पनि दिदीसँगै थियो । मूल दैलोको तगारो तान्दै तिनले छोरोलाई धन्यवाद दिँदै भनिन् ‘छोरो भनेको छोरै हो रातभरि डुले पनि डर हुँदैन । तँ दिदीसँग आइस् र म पनि ढुक्क भएँ ।” तिनले छोरीतिर इशारा गर्दै भनिन् ‘छोरीको इज्जत सियोको टुप्पोमा भनेको सुनेको छैन ?’ भाइलाई पुलिस हिरासतबाट मुक्त गराएको दस्तावेज बाबाको हातमा राख्दै मिनु भन्छिन्” छोरीलाई भन्दा हिजोआज आफ्ना छोरालाई पनि कन्ट्रोलमा राख्नुपर्छ । कहाँ जान्छन् ,के खान्छन् , सङ्गत कस्ता मान्छेसँग त्यो ख्याल राख्नुपर्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

