भूमिका :

कवि नयाँ वा पुरानो हुँदैन । कविता भाषाको सबैभन्दा प्रभावकारी अभिव्यक्ति हो र यस  अभिव्यक्तिलाई सही ढङ्गले प्रस्तुत गर्न सक्यो भने कवि सफल हुन्छ । कविका मनमा समय समयमा उब्जिएका भावहरूलाई सम्प्रेषित गरेर पाठक मनलाई आन्दोलित पार्न सक्यो भने, घोर्‍याउन सक्यो भने, घोत्लाउन सक्यो भने, पाठमा अड्काउन सक्यो भने अथवा उसका कविताहरू धेरै दिनसम्म पाठक मनमा प्रतिध्वनित भइरहे भने ती सर्जकलाई सफल सर्जक मान्नुपर्छ । यही निर्णयको तराजुमा जोखेर हेर्दा धेरै नवीन कविहरू कवितालेखनमा सफल भएको र धेरै प्रवीण कविले पनि पछिल्ला कृतिहरू अघिल्ला कृतिको दाँजोसम्म पुर्‍याउन नसकेको देखिन्छ । कृतिको मूल्याङ्कन कृतिकारको साहित्यिक संलग्नता अथवा इतिहास हेरेर गरिँदैन । वर्तमान कृति नै मूल्याङ्कनको आधार बन्छ । यस दृष्टिले नागरिफार्मकी कवि विमला जोशी प्रधानलाई नयाँ कवि भन्न मिल्दैन यद्यपि “ऐनाभित्र जिन्दगीको रङ्ग” उनको पहिलो काव्यकृति हो, पहिलो प्रकाशित पुस्तक पनि यही नै हो ।

“ऐनाभित्र जिन्दगीको रङ्ग”मा छोटालामा कुल ७३ वटा कविता समाविष्ट भएका छन् । यस कृतिमा अर्जुन प्रधानको भूमिकासहित अन्य तेह्र जना साहित्यकारका शुभकामनाहरू पाइन्छ र तीस पृष्ठ भूमिका र शुभकामना रहेकाले जोशीका कविताहरू बुझ्न गाह्रो पर्दैन । यस कृतिमा गाभिएका कविताहरूको प्राय: सबै पक्ष नै कवितामा पस्नुभन्दा अघि नै छर्लङ्ग हुन्छ ।

प्रस्तुत कृतिको भावपक्ष :

 

सामग्रिक रूपमा समकालको भारतेली नेपाली कविताको केन्द्रीय प्रवृति जातीय अस्मिता र माटाको अधिकारको प्रश्न हो । दार्जीलिङ भेकका कवितामा यो प्रवृत्ति अझ मुखर भएर आएको देखिन्छ । कवि विमला जोशी प्रधानको यो कृति सन् २०२० मा प्रकाशित भएको हो । सन् २०१७ मा बङ्गालमा भएको भाषिक अतिक्रमण र त्यसपछि पुनः चर्किएको गोर्खाल्यान्ड मागको आन्दोलनको सोझो प्रभाव उनका कविताहरूमा पाइन्छ । भाषा र संस्कृति बचाउने तीव्र चाहनाले जोशीभित्रको असन्तुष्ट कवि यसरी बोल्छ –

“भाषा हराए संस्कृति हराउनेछ

संस्कृति हराए जाति हराउनेछ

जाति हराए भोलि के हुनेछ?”    (आह्वान नवपिँढीलाई)

 

“हो त, एक सय पाँच दिनको हडतालमा

आधा पेट खाएको

सिस्नुको झोलमा नै रमाएको,

जुलुसमा हिँड्दा

चुँडिएको चप्पल

घिसारेर लगाएको

दृश्यहरू आँखाको नानीअघि

नाचिरहेका छन् ।”  (लामेताँत प्रश्नहरूसित)

 

यति मात्र होइन दार्जीलिङको आन्दोलनको इतिहास ११३ वर्षको इतिहास हो । अनेक आन्दोलन भए, हडताल र जुलुस भए, सयौँ मानिस सहिद भए तर उपलब्धि खास केही छैन । यो समस्यालाई कवयित्रीले यसरी उतारेकी छन् उनका कवितामा –

रुद्र बराल (असम)

“दुखेको दुखेकै छन्

जातिले खोजेका र चाहेका

जातिका सानसौकतहरू

झन् झन् दुरूह माखेसाङ्लोभित्र

अल्झेको अल्झ्यै भएर

बाँझै उराठिलो जर्जरित आकारमा

लतपत छन् ।” ( दार्जीलिङ निस्सासिरहेछ)

 

“हिन्दुस्तानी भीमकाय ऐनाभित्र

गोर्खाली पहिचानको रङ्ग खोज्दै

हाम्रो बाजेबोजूहरूले

यहाँका चियाबारीको

हरियाली छायामा

संस्कृतिको प्रतिबिम्ब नियाल्दै

आफ्नै अस्तित्व र पहिचान 

खोज्दा खोज्दै

युगले फड्को मारिसकेछ । (संस्कृतिको प्रतिबिम्ब नियाल्दा)

आजका समाजसचेत कवि केवल कल्पनाको उडान मात्र भर्दैनन्, यथार्थको धरातलबाट बटुलेका अनुभवहरू शब्दमा बुनेर कविता निर्माण गर्छन् । विमला जोशीले पनि उनका कविताहरूमा वर्तमानका विकृति र विसङ्गतिहरू, गरिबीका पीडाहरू, चियाकमानका श्रमिकहरूको अनन्त  भोगाइहरू, हेपाइहरू सहज सरल ढङ्गले उतारेकी छन् ।

“हाम्रा पेटमा लागेको आगो

दन्किएका ज्वालाहरू

सलबलाएका आन्द्राहरू

मडारिएका लाम्टाहरू

आज यो उच्च आसनमा बस्ने

ती मालिकवर्गलाई के थाहा?

दुःख कस्तो हुन्छ भनेर ।”  (आठ तेत्तिस)

 

“अस्ति जस्तो मात्र लाग्छ

खल्ती खाली पारेर

रुन्चे हाँसो हाँस्तै

बिदा गरेको

दसैँ त फेरि आउँछ ।” (दसैँ त फेरि आएछ)

हिजोआजका नेपाली कविताहरूमा र मुख्यतः नारी सर्जकका कविताहरूमा नारीमुक्तिका चर्का स्वरहरू सुन्न पाइन्छ, नारी सशक्तीकरणका मागहरू उठेका हुन्छन् । नारीवादका धेरै पाटा छन् र धेरैले यही व्यवस्थाभित्र नारी समस्याको समाधानको सपना देखेका छन् । हामीले पालन गर्दै ल्याएका मूल्य र मान्यता, धार्मिक आस्था र परम्परा यथावत् राखेर, अर्थ व्यवस्था र सामाजिक व्यवस्थामा कुनै परिवर्तन नल्याई नारीमुक्तिका आवाजहरू अरण्य रोदनबाहेक अरू केही हुने छैनन् । विमला जोशी प्रधान आज जताततै भएको बलत्कार, नारी हत्या आदिका बारेमा चर्किएकी छैनन् र एकप्रकार उनी अस्वाभाविक तरिकाले मौन छिन् तर उनले आर्थिक जाँतोमा पिसिएका महिलाहरू, भुँडीको आगो निभाउन जीवनको रङ्ग उडाइसकेका बालिकाहरूको दुःखको कोलाज भने राम्रो गरी उतारेकी छन् ।

” एकाबिहानै चारतले घरको

सिँढीदेखि भुईँहरू पुछ्दै गर्दा

कति ती कलिला हातहरू

गङ्ग्रिए होलान्

तातो आँसुको तप्कना सँगसँगै 

दुर्भाग्यको तार

आफ्नै जिन्दगीमा तन्काएर 

कति बज्दो हो

वेदनाको करुण वीणा 

दुर्भाग्यका सुर, लय र तालहरूमा ।”   (बाटो बिराएकी काली केटी)

कवि विमला जोशीले बाल श्रमिकहरूको पीडा जसरी देखिकी छन् चिया कमानमा काम गर्ने महिलाहरूको दैनिकीका पन्नाहरू पनि त्यसरी नै उनलाई थाहा छ । पराधीन भारतमै गोरेहरूले दार्जीलिङ जिल्लामा चिया कमान बनाए र गरिब गोर्खाहरू चिया कमानका मजदुर बने । देश स्वाधीन भयो, बगानका मालिकहरू फेरिए तर कमानमा काम गर्नेहरूका दुःखका दिनको अन्त्य भएन, प्राप्य ज्याला पाएनन्, बस्ने आफ्नो निजी घर भएन, जमीनको पर्जापट्टा दिइएन । चिया कमानकी एउटी नारीको जीवन कस्तो छ उनको “साइँली” कविताले छर्लङ्ग पारेको छ –

” बिचरी साइँली

बिहानै कुद्छिन्

रित्तो टोकरी बोकेर

उनको रित्तो पेटजस्तै

त्यो टोकरी

रित्तो मन, रित्तो टोकरी

खोटो भाग्यजस्तै

उनको टोकरी

फर्किन्छिन् साँझमा

रित्तो मन, रित्तो टोकरी

रित्तो पेट, रित्तो भाग्ये लिएर ।”    ( साइँली)

जोशीका कविताहरूमा पर्याप्त क्षोभ र गुनासो छ तर विद्रोहको स्वर धिमा छ । कतै-कतै उपदेशात्मकता छ । आशा छ, निराशा छ तर उनको भित्री मन आशावादी नै छ । त्यसको प्रमाण –

‘हत्केलाले कहिलेसम्म

सूर्य छेक्छौ बुढा?’

भनिन् श्रीमतीले ।  (अनमोल चिह्नारी)

कविताको संरचना पक्ष :

विमला जोशी प्रधानका कविताहरूले काव्यिकताभन्दा विचार बोकेका छन्, समस्या बोकेका छन्, दार्जीलिङको दुःखको भारी बोकेका छन्, चिया कमानका आँसु बोकेका छन्, प्रेम छ, मिलनको चाहना छ, आफ्नो बाल्यकाल छ, अतीतको स्मृति छ, गुनासो छ, असन्तुष्टि र छटपटी-खटपटी छ । कविताहरू यथार्थको धरातलमा उभिएका छन् र रोमान्टिकताका बाछिटामा भिजेका छन् । उनको कविताको भाषा आम जनताकै भाषा छ । कविताहरू बुझ्न साथमा शब्दकोश लिएर बस्नु पर्दैन, बिम्ब-प्रतीकको गाँठो खोल्न पसिना चुहाउनु पर्दैन, मिथकको अर्थ खोज्दै धर्मशास्त्र र विश्व इतिहासका पन्ना पल्टाउनु पर्दैन । उनले कवितामा व्यवहार गरेका बिम्ब र प्रतीक, मिथक सबै हाम्रा परिचित र वरिपरिकै छन् । भाषामा उनको कट्टरता छैन । प्रयोजनअनुसार उनले अङ्ग्रेजी शब्द पनि प्रयोगमा ल्याएकी छन् । एकाध कविताबाहेक अन्य कवितामा नयाँ प्रयोग छैन । पुरानै परिपाटीलाई आफ्नै ढङ्गले सजाएर कवितामा मिठास भरेकी छन्, पठनीय पारेकी छन् ।

उपसंहार :

कुल मिलाएर “ऐनाभित्र जिन्दगीको रङ्ग” शीर्षक रहेको यस कृतिले आफ्नो ऐनामा आजकी पहाडकी रानीको असली अनुहार देखाएको छ, सबैले चिन्ने गरी । यसैले कृतिको शीर्षकलाई अर्थवह पारेको छ । कविताहरूमा स्थानीय समस्याका साथै वैश्विक मानवीय समस्याहरूको स्वरूप पनि अभिव्यक्त भएको छ । सरल ढङ्गले समकाल र सर्वकाललाई प्रतिनिधित्व गर्न सक्ने कविता लेख्न उनी सफल भएकी छन् । भविष्यमा उनीबाट अझ राम्रा कविता फुर्नेछन् भन्ने आशा राख्न सकिन्छ ।