पुरुषोत्तम उपाध्याय दाहाल

गोदार कान्छी काम्न थालेकी करिब आठ महिना भयो । टाढा-टाढाबाट धामी आएर उनीको झारफुक गरिरहेका छन्। उफ्रिएर, घरमा लात्ती हानेर धूमचक्र गर्छिन् । सधैँ बेलुकी चिन्ता बस्थे धामीहरू । ‘के भएको नि यो बीसै वर्षको उमेरमा’ भनेर सबै गाउँलेहरू चिन्ता गर्थे । जेठी बुढी बजू रे, सारै कडा । धामीले दियो कलश पनि दिए तर काम्न छोडिनन् ।

अचानक उनको मृत्यु भयो । कारण भन्न सकेनन् कसैले । नराम्रो देवा लागेर मरेकी भन्ने हल्ला भयो । जो मलामी जान्छ उसैलाई देवा लाग्ने सम्भावना छ भन्ने हल्ला फिँजियो । मलामी जान कोही आएका थिएनन् ।
हाम्रो घरको छेउमा गुरुबाको घर थियो । गुरुबाले  कोही पनि मलाम नजाने देखेर हाम्रो घरको तीन भाइलाई “लौ हिँड केटा हो, मलाम ” भन्नुभयो । गुरुबा गएपछि के को डर ।

म अलिक सानै भए पनि लानुभो मलाम । गुरुबा आएको देखेर करिब १० जना जति मात्रै मलामी भेला भए । अरू गाउँले डरले आएनन् ।

गोदार कान्छीको छिमेकी केटो लोके उनीको साथी । लोकेले ख्याल-ख्यालमा गोदार कान्छीलाई एकदिन एउटा सस्तो बजारे औँठी दिएको रहेछ । त्यसको हल्ला फिँजियो गाउँमा । लोकेलाई “तैँले औँठी दिएको, अब तँलाई देवा सर्छ” भने ।

लोकेले घर छोडेको आज करिब चालीस वर्ष भयो, केही अत्तोपत्तो छैन । कहाँ गयो ऊ देवा लाग्ने डरले, कसैलाई थाहा भएन । बिचरी लोकेकी आमा पनि कान्छो छोरो लोकेलाई अन्तिम समयमा नदेखी मरिन् । अहिले गाउँका शिक्षित नानीहरू “बनको  बाघले जस्तै मनको बाघले कसैलार्इ नखाओस् ।”  भन्छन् लोकेको गुमनाम कथा सुनेर ।