सुमन्त दास

के गर्नु लेखेर,
हेर्दैन पढ्दैन कसैले
लेख्छु कथा-व्यथा दुनियाँको
हुन्छ कि मानवताको कदर भनेर
तर जसले हेर्नु, पढ्नु र जाग्नुछ
ऊ ता बोल्दै बोल्दैन
आँखै खोल्दैन
निद्राबाट जाग्दैन
दुनिया त आफ्नो भाग खान
घोप्टिएको छ
गिद्धझैँ एकोहोरो स्वार्थको चोक्टोमा दाह्रा गाडेर
आफ्नो थाल आफ्नो भाग भराउन
मस्त मग्न नग्न छ।
चाहे दुर्नीति आँगनमा रगतको खोला भएर बगोस्
चाहे ऊजस्तै मानिस शोषित भई लुछियोस्
कसैले चिच्याए पनि वास्ता गर्दैन
अनि सभ्यता भन्दै कति कराउनु
साहित्य भन्दै कति चिच्याउनु
खोई के गर्नु कसले पढिदेला
मेरा वेदनाका हरफहरू।

समारदलनि विश्वनाथ, असम