साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समीक्षाः वन हन्ड्रेड इयर्स अफ सोलिच्युडको पृष्ठभूमि

Chovar Blues Mobile Size

“One hundred years of solitude” उपन्यास कोलम्वियन लेखक Gabriel García Márquez (गेब्रियल गार्सिया मार्क्वेज ) द्वारा १९६७ मा लेखिएको विश्व प्रसिद्ध उपन्यास हो । जसले लेखकलाई १९८२ मा साहित्यतर्फको सर्वोच्च पुरस्कार दिलाएको थियो । उनले नेसनल युनिभर्सिटी अफ कोलम्बियामा अध्ययन गर्दा गर्दै आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए । १९५० को दशकमा सुरु भएको क्युबा कम्युनिस्ट आन्दोलनका शक्तिशाली नेता फिडेल क्यास्ट्रो, चे गुएभेरा जस्ता व्यक्तित्वसँग निकटत सम्बन्ध गाँसेका थिए । यस्ता सम्बन्धहरूको प्रभाव उनको लेखनमा परेको साधारण पाठकले समेत स्पष्ट सँग अनुभव गर्न सन्छन् । क्युबाको संलग्नता रहेको एङ्गोलाको गृहयुद्ध, साउथ अफ्रिकाको युद्ध तथा अन्य ल्याटिन अमेरिकाको कम्युनिस्ट आन्दोलनहरू नजिक-नजिकबाट अध्ययन गर्दै यस्ता जटिल राजनैतिक घटनाक्रमहरूलाई विभिन्न पात्रहरू मार्फत सरल रूपमा पाठकहरू समक्ष पुर्‍याउन वास्तवमै लेखक सफल सावित भएका छन् ।

प्रवीण निरौला

अठारौँ शताब्दीमा स्पेनिस उपनिवेशबाट स्वतन्त्र भए तापनि एकातर्फ अमेरिकन पुँजीवादीहरूको हस्तक्षेप तथा अर्को तर्फ आन्तरिक द्वन्द्वको चपेटाबाट गुज्रिएका कोलम्बियनहरूको नियतिको कथा यस उपन्यासभित्र छ । उपन्यास, लामो समयसम्म भ्रष्ट राजनीतिज्ञ तथा पाब्लो एस्कोबारजस्ता ड्रग माफियाहरूका लागि स्वर्ग बनेको कोलम्बियाको चित्रण गरिएको छ भने म्याजिकल रियालिजम शैलीको लेखनको कारण पात्रहरूलाई जन्माएर अमर बनाउनसमेत सफल भएको छ ।

समय क्रमसँगै मानवीय समाजमा हुने क्रमिक परिवर्तन, समाज विकाशका विभिन्न चरणहरू तथा विभिन्न कालखण्डमा कोलम्बियन समाजमा घटेका सामाजिक घटनाहरूलाई काल्पनिक तवरले कथामा जोड्नु उपन्यासको अर्को सुन्दर पक्ष हो ।
यस उपन्यासले म्याकोन्डो** भन्ने स्थानमा बसोबास गर्न आइपुगेका बुन्डिया परिवार र उनीहरूका सात पुस्ता भित्र घटेका पारिवारि घटनाहरूको वर्णन गर्दै पात्रहरूको चरित्र, व्यवहार र प्रत्येक पुस्ताहरूद्वारा दोहोर्‍याउने उस्तै प्रकारका गल्तीहरूको चित्रण गर्न खोजेको छ । अतीतका भूलहरूलाई सच्याएर अगाडि बढ्न नसक्ने मानवीय प्रवृत्तिलाई लेखकले बडो चातुर्यताका साथ देखाउन खोजका छन् ।

विभिन्न कोणहरूबाट विश्लेषण गर्दा पुस्तक भित्र थुप्रै सुन्दर साहित्य भएता पनि यो उपन्यास पढ्दा एकै प्रकारका थुप्रै पात्रहरूको नामले अलमल्याउन तथा दिक्क बनाउन सक्छ । पुस्तौँपछि दोहोरिने एकैप्रकारका नामहरूले पात्रपहिचानमा भ्रम सृजना गर्न सक्छ । अर्कोतर्फ सिधै प्रयोग नभएका शब्दहरू र वाक्यहरूले पढ्नलाई केही अप्ठ्यारो पर्न सक्छ । प्रायः सेक्स सम्बन्धी विषयहरू लेखकले साहित्यिक तवरमा लेखेका छन् । जस्तै उनले महिनावारीलाई चकलेट कलर पेस्ट भनेर लेख्नु तथा सुहागरातलाई आत्मीयता बढ्नु भनेर प्रतीकात्मक तरिकाले लेख्नु यसको उदाहरण हो ।

sagarmani mobile size

(म्याकोन्डो** उपन्यासमा उल्लेखित सहरको नाम जुन लेखक आफ्नो बाल्यकाल बिताएको सहर अराकाटाकालाई दिएको काल्पनिक नाम ।)

जोस आर्काडियो बुन्डियाको वंशावली

सारांश
उपन्यासको सुरुवात पात्र कर्नेल ऐरेलियानो बुन्डियाले गरेको अतीतको स्मरणबाट हुन्छ ।

“Many years later as he faced the firing squad, colonel Aureliano Buend was to remember that distant afternoon when his father took him to discover ice.”

युरोपियन सहर म्याकोन्डोमा बस्ती बसाउनुपूर्व पितृसत्तात्मक सोच बोकेको जोस आर्काडियो बुन्डियाको एल्केमी, साइन्स, तथा टेक्नोलोजीतर्फ झुकाव हुन्छ र ऊ प्रायः दिवास्वप्न देखिरहन्छ । बेलाबखत बाहिरी दुनियाँबाट नयाँ-नयाँ आविष्कार लिएर आउने जिप्सीहरूमध्येको मेलक्याइड्ससँग ऊ भावनात्मक रूपमा नजिकिन्छ र उसले दिएका म्याग्नेटिक स्टोन, म्याग्निफाइग ग्लास, टेलिस्कोप जस्ता आविष्कारबाट कहिले युद्ध गर्दे सैन्य हतियारको डिजाइन गर्न खोज्छ त कहिले श्रीमतीका सिक्काहरूलाई रसाइनिक रियाक्सनद्वारा पग्लाएर सुन बनाउने फमुर्ला पत्ता लगाउन खोज्छ । नजिकको नाता पर्ने उर्सुला इगुअरानसँग जोस आर्काडियो बुन्डिया प्रेममा पर्छ । दुवैको पारिवारिक सम्बन्धको सुरुवाती इतिहास भने पाइरेट सर फ्रान्सिस डुकले रिहोच्चा आक्रमण गरेपछि भएको हुन्छ । जब पाइरेटको आक्रमणमा परेकी उर्सुलाकी पुखौँली हजुरआमाको परिवार त्यहाँबाट भागेर जोस आर्काडियो बुन्डियाको पुखौँली हजुरबुबा (सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कृषक) कहाँ पुगेर बसोबास गर्न थाल्छे तब दुवै परिवारको वंश यसै स्थानमा विस्तार हुँदै उनीहरूको पुस्तासम्म आइपुगेको हुन्छ ।
विगतमा आफन्तहरूका बिचमा भएको वैवाहिक सम्बन्ध (जिन विकृति) र त्यसबाट सुँगुरजस्तो पुच्छर भएको बच्चा जन्मिएको कारण देखाउँदै उनीहरूको परिवार विवाह गर्न राजी हुँदैनन् तर हठी स्वभावको जोस आर्काडियो बुन्डियाले जबरजस्ती उर्सुलासँग विवाह गर्छ तर विवाहको लामो समयसम्म पुच्छर भएको बच्चा जन्मने डरले उर्सुला शारीरिक सम्पर्क अस्वीकार गर्छे । गाउँमा उर्सुला अझै कुमारी भएको गाइँगुइँ हल्ला चल्न थाल्छ । एक दिन जब जोस आर्काडियो बुन्डियाको भालेले उसको चिर परिचित प्रतिस्पर्धी प्रुडेनसिओ अगुइलरको भालेसँग विजय प्राप्त गर्छ तब प्रुडेनसिओले उसलाई नपुंसक भनेको सहन नसकी उसले प्रुडेनसिओको हत्या गरिदिन्छ । हत्यापश्चात् जबर्जस्ती आफ्नी श्रीमतीसँग शारीरिक सम्पर्क राखेको जोस आर्काडियो बुन्डियालाई दिन प्रतिदिन प्रुडेनसिओको भूतले तर्साउन थाल्छ ।

यस्ता घटनाहरूले दिक्क बनेको ऊ आफ्ना केही सहयोगीहरूलाई लिएर यात्रा गर्न थाल्छ र केही समयपश्चात् नदी किनारमा रहेको म्याकोन्डो पुग्छ । जिप्सीहरूले उनीहरूसँग ल्याएको आइसको टुक्रा देखेको जोस आर्काडियो बुन्डियाले सिसाको पर्खाल भएको सहर बनाउने सपना देख्छ । बरिपरि घुम्दा कुनै सहर नभेटेका उनीहरूको त्यस स्थानलाई पेनेन्सुला (प्रायद्वीप) ठान्छन् र त्यहि म्याकोन्डोमा बसोबास गर्न थाल्छन् ।

कथा बिस्तारै अगाडि बढ्दै जान्छ । त्यसै दौरान, ठुलो लिङ्ग भएको जेठो छोरा जोस आर्काडियोलाई फकाएर पिलर टर्नेराभन्ने स्थानीय आइमाईले सम्भोग गर्छे । त्यसैको केही समयपश्चात् जब जोस आर्काडियोले पिलर गर्भवती भएको थाहा पाउँछ तब गाँसमा जिन्सी समूहसँगै आएकी एक जिप्सी युवतीको प्रेममा परेर उनीहरूसँगै जान्छ । उता छोरो जिप्सीहरूसँग गएको थाहा पाएर भर्खरै जन्मिएकी काखे छोरी अमरन्तालाई छोडेर उर्सुला छोरो खोज्न हिँड्छे । छोराको खोजीमा हराएकी उर्सुला करिब पाँच महिना पछि म्याकोन्डो र अर्को मानवीय सभ्यताबिच करिब दुई दिनको दूरीमात्र रहेको पत्ता लगाउँदै फर्कन्छे । यसरी म्याकोन्डो र अन्य सभ्यताबिच व्यापारको ढोका खुल्छ । बिस्तारै म्याकोन्डो तथा बुन्डिया परिवार संवृद्धितर्फ अगाडि बढ्न थाल्छ ।

पिलर टर्नेराले छोरो आर्काडियोलाई जन्माएर बुन्डिया परिवारलाई नै जिम्मा दिन्छे । पूरानो गाउँबाट आएकी माटो खाने केटी रिवेकालाई बुन्डिया परिवारले धर्मपुत्री बनाउँछन् । यसरी एक्कासि आएकी रिवेका र ऊसँगै आएको महामारी इन्सोम्निया प्लेगले सम्पूर्ण गाउँलाई सताउन थाल्छ तर जिप्सी मेलक्याइड्सले ल्याएको प्लेगको एन्टिडोजसँगै यो महामारीको समाधान हुन्छ । बाहिरी दुनियाँबाट विभिन्न नौला आविष्कारहरू लिएर आउने जिप्सी मेलक्याइड्सले ल्याएको प्लेगको एन्टिडोजसँगै यो महामारीको समाधान हुन्छ । बाहिरी दुनियाँबाट विभिन्न नौला यसपटक भने आफूसँग डेग्युरोटाइपसमेत लिएर आउँछ ।
यस घटनापश्चात् गाउँ शान्त तवरमा विस्तार हुँदै जान्छ । एकान्त प्रेमी बुन्डिया परिवारको कान्छो छोरा कर्नेल ऐरेलियानो बुन्डिया घरमै निर्मित प्रयोगशालामा सिल्भरस्मिथको काम गर्न थाल्छ । केही समय अन्तरालमा डाँन अपोलिनर मास्काँट नाम गरेको सरकारी मजिस्ट्रेट गाँउमा आउँछ । जोस आर्काडियो बुन्डियाको विरोधबाबजुद सरकारी अधिकारसहित ऊ पुनः केही सैनिक सहित गाउँ आउँछ । डाँन अपोलिनरका बाबुले विरोध गर्दा गर्दै सात छोरीहरूमध्ये रेमेडिओस भन्ने कान्छी छोरीसँग कर्नेल ऐरेलियानो बुन्डिया प्रेममा पर्छ तर रेमेडियोसको विवाह योग्य उमेर नपुगेकोले विवाहका लागि केही समय पर्खने निर्णयमा पुग्छ । यही एक्लोपनलाई मेट्न ऊ धेरै नै पिउन थाल्छ भने त्यही पिलर टर्नेरा भन्ने आइमाईसँग सुत्छ । पिलर पुनः प्रेग्नेन्ट हुन्छे । उता बुढो हुँदै गएको जिप्सी मेलक्याइड्स त्यस गाँउमा मर्ने पहिलो व्यक्ति बन्छ ।

रिवेका र रिवरन्ता दुवैलाई नृत्य सिकाउने इटालिएन म्युजिकल सामाग्री व्यापारी पिएर्तो क्रेस्पीसँग प्रेम हुन्छ । उसको रेवेकासँग विवाहको छिनोफानो हुन्छ । यस विषयलाई लिएर रिवरन्ता, रिवेकासँग रिसाउँछे र उसले रिवेकालाई पिएर्तोसँग विवाह हुन नदिने भए पनि मार्ने धम्की दिन्छे ।

बुढो जोस आर्काडियो बुन्डिया बिस्तारै आफ्नो निरन्तर एक्लो अनुसन्धान कार्यबाटबाट पागल हुन थाल्छ । ऊ निरन्तर एउटै वार दोहोर्‍याउन थाल्छ र उसलाई घरपछाडिको रुखमा लगेर बाँधिदिइन्छ । उसलाई उसको मृत्युसम्म त्यहीँ एक टहरो बनाएर राखिन्छ । बिस्तारै रेमेडिओस यौवन अवस्थामा प्रवेश गर्छे । रेमेडिओस र कर्नेल ऐरेलियानो बुन्डियाको विवाह हुन्छ तर उता पिएर्तोको आमा बिरामी भएको खबरले रिवेका र उसको विवाह भने रोकिन्छ । विवाह भएको केही समयमै रेमेडियोसको मृत्यु हुन्छ भने पुनः एक्लिएर निराश बनेको कर्नेल ऐरेलियानो बुन्डिया ससुरासँगको निकटताले राजनीतितर्फ आकर्षित हुन थाल्छ ।

गाँउमा फादर निकारनोरको आगमनसँगै चर्च बन्ने चर्चा चल्न थाल्छ । त्यसबखतसम्म गाँउमा स्कुल खुलिसकेको हुन्छ । यसै दौरान एकाएक हराएको जोस आर्काडियो आउँछ । ऊसँग गाउँका सबै आइमाई शारीरिक सम्बन्ध राख्न लालायित हुन्छन् । यही क्रममा धर्म बहिनी ऊसँग नजिकिन्छे र पिएर्तोसँगको फूलमालासमेत रद्द गर्दै जोस आर्काडियोसँगै विवाह गर्छे । उर्सुलाको विवाह स्वीकार गर्दिन र उनीहरूलाई घरबाट निकालिदिन्छे ।

बिस्तारै कर्नेल ऐरेलियानो बुन्डिया आफ्नै कन्जरभेटिभ सरकारमा रहेका ससुराविरुद्ध गएर लिवरल पार्टीमा आबद्ध हुन्छ । ऊ युद्धमा होमिन्छ र कर्नेल ऐरेलियानो भनेर चिनिन थाल्छ । सहरमा लिवरल पार्टीको विजयपश्चात् उक्त मोर्चा आफ्नो भतिजो आर्काडियो जिम्मा लगाउँदै कर्नेल ऐरेलियानोले राष्ट्रिय विद्रोह गर्ने उद्देश्य बोकेर म्याकोन्डो छाड्छ । एकाएक शक्तिशाली बनेको आर्काडियो तानाशाह हुँदै जान्छ । आफ्नै आमा पिलरसँग सुत्न खोजेपछि उसकी आमाले आफूसँग जीवनभर जम्मा गरेको आधा खर्चिएर कुमारी शान्ता सोफिया डे ला पिडाद भन्ने युवतीलाई आफ्नो छोरासँग सुत्न पठाउँछे जोसँग पछि आर्काडियोले विवाह गरी रेमेडियोस द ब्युटी, जोस आर्काडियो सेगुन्डो तथा ऐरेलियानो सेगुन्डोलाई जन्म दिन्छन् । यसैसँग बुन्डिया परिवारको चौथो पुस्ताको उदय हुन्छ । आर्काडियोको भने एक स्थानीय युद्धमा मृत्यु हुन्छ । पिएर्तो क्रेस्पी, रिवेकासँगको असफल सम्बन्धपश्चात् रिवरन्तासमक्ष विवाहको प्रस्ताव राख्छ तर रिवरन्ताले उसको प्रस्ताव अस्वीकार गरिदिन्छे । पिएर्तोले आत्महत्या गर्छ । पीडामा रिवरन्ता आफ्ना हातलाई जलाउँछे र बाँकी जीवन कालो पट्टी हातमा बाँधेर बिताउँछे ।

लिवरलहरूको हारपश्चात् कर्नेल ऐरेलियानो र कर्नेल जेरिनेल्डो समातिन्छन् र उनीहरूलाई दण्ड दिइन्छ तर कर्नेल ऐरेलियानोले अन्तिम इच्छा म्याकोन्डो जाने गर्छ । दण्डबाट जोगिएको ऊ युद्धमा फर्कने निर्णय गर्छ । लिवरल राजनीतिमा विभिन्न उतारचढाव भोगेको उसलाई पार्टीबाट निष्कासन गरिन्छ । उसले आफ्नै बलबुताले पुनः म्याकोन्डो र केही कोस्टल क्षेत्र कब्जा गर्न सफल हुन्छ । यता उसको दाइ जोस आर्काडियो रहस्यमय तरिकाले मृत्यु हुन्छ । पतिको मृत्युपश्चात् रिवेका धेरै वर्ष एकान्तवासी जीवन बिताउँछे । भने धेरै वर्ष रुखमा बाँधिएको जोस आर्काडियो बुन्डियाको मृत्यु हुन्छ र उसको मृत्युमा आकाशबाट पहेँला फूलहरूको बर्सात हुन थाल्छ । कर्नेल ऐरेलियानो र पिलर टर्नेराको छोरो जोस ऐरेलियानो हुर्कँदै जाँदा आफ्नो फुपू अमरन्तासँग आकर्षित हुन थाल्छ । उनीहरूसँगै नाङ्गै सुते पनि शारीरिक सम्पर्क भने गरेका हुँदैनन् । शान्ति सम्झौता हुनुभन्दा केही समयअगाडि लिवरल पार्टीको सेनाकामा भर्ती भएको ऊ शान्ति सम्झौता पश्चात् अमरन्तासँग विवाह गर्ने उद्देश्यले घर फर्कन्छ । केही समयपश्चात् कन्जरभेटिभ सेनाले उसको हत्या गरिदिन्छन् ।

यसरी आफ्नो छोराको हत्यापश्चात् कर्नेल ऐरेलियानो बुन्डिया म्याकोन्डो फर्कन्छ र म्याकोन्डोको मेयरलाई दण्डित गर्छ । कर्नेल ऐरेलियानो शान्ति सम्झौतामा हस्ताक्षर गरेर धोका भएको ठान्छ र आत्महत्या गर्ने प्रयास गर्छ । आत्महत्याको प्रयासबाट बाचेको ऊ आफ्नै प्रयोगशालामा सुनको माछा बनाउँदै बस्न थाल्छ ।

कथा अब बुन्डिया परिवारको चौथो पुस्ताका जुम्ल्याहा भाइ जोस आर्काडियो सेगुन्डो तथा ऐरेलियानो सेगुन्डोमा घुम्न थाल्छ । युवा अवस्थामा प्रवेश गर्न लाग्दा ऐरेलियानो सेगुन्डाको झुकाव प्रयोगशालातर्फ हुन्छ भने अर्को भाइ कहिले धार्मिक देखिन्छ त कहिले भाले जुधाइ र गधासँग यौनसम्पर्क गर्ने कार्यमा लाग्न थाल्छ । दुवै दाजु भाइ पेट्रा कोट्स नाम गरेकी आइमाईसँग शारीरिक सम्पर्क राख्छन् । सरुवा रोगको डरले जोस आर्काडियो सेगुन्डा, पेट्रासँग सम्पर्क राख्न छाड्छ । उता एक अर्काप्रतिको आकर्षणका कारण ऐरेलियानो सेगुन्डो र पेट्रा बिच घट्ने अलौकिक जादुमयी मिलनले उनीहरूलाई घरपालुवा जनवार र खेतीपाती उनीहरूलाई फलिफाप हुन थाल्छ । उनीहरूका कारण सम्पूर्ण गाँउमा समृद्धि आउन थाल्छ । जोस आर्काडियो सेगुन्डा आफ्नो हजुरबुबामा भएको अन्वेषण गुणको अनुसरण गर्दै नदीबाट समुन्द्रमा पुग्ने बाटो इन्जिनियरिङ गर्न सफल हुन्छ र एउटा वेश्याहरू बोकेको फ्रेन्च डुङ्गालाई म्याकोन्डो ल्याई कार्निवल गर्न सफल हुन्छ । त्यस कार्निवलमा रेमेडियोस द ब्युटीलाई कार्निवलको रानी बनाइन्छ तर उनको स्थानलाई अर्की आइमाई फर्नाडा डेल कारपियोले चुनौती दिँदै दङ्गा सुरु गर्छे ।

फर्नाडा डेल कारपिया खानदानी परिवारमा हुर्केकी धार्मिक प्रवृत्तिकी हुन्छ । कार्निवलपश्चात् ऐरेलियानो सेगुन्डोले फर्नाडालाई विवाह गर्छ । विचार तथा स्वभावमा राम्रोसँग मेल खान नसक्ता वैवाहिक सम्बन्ध राम्रो हुन सक्तैन र ऊ पेट्रासँगै सुत्न जान्छ । तैपनि ऐरेलियानो सेगुन्डो र फर्नाडा बट मेमे र जोस आर्काडियो दोस्रोको जन्म हुन्छ ।
शान्ति सम्झौताको उपलक्ष्यमा गणतन्त्रका राष्ट्रपतिले कर्नेल ऐरेलियानो बुन्डियालाई उसले पुऱ्याएको योगदन बापत सम्मान गर्न खोज्छ तर उसले अपमानजनक तवरले राष्ट्रपति प्रस्तावलाई अस्वीकार गरिदिन्छ । गणतन्त्रको वार्षिकोत्सव मनाउन सत्रैजना छोराहरू पनि म्याकोन्डो आइपुग्छन् ।

ऐरेलियानो ट्रिस्ते र ऐरेलियानो सेन्तेनो आफ्नो हजुरबुबाको बरफको चम्किलो सहर बनाउने सपना पूरा गर्न त्यहीँ बस्ने निर्णय गर्छन् । भतिज ऐरेलियानो सेगुन्डो को सहयोगमा ऐरेलियानो ट्रिस्ते ले मोर्डन सहर सँग जोड्ने रेल रोड निर्माण गर्छ ।
रेलसँगै म्याकोन्डोमा नयाँ नयाँ टेक्नोलोजी, वैदेशिक लगानीकर्ता तथा उद्योगपतिहरूको आगमन हुन्छ । पुँजीपतिहरूले म्याकोन्डो छेवैमा केरा बगैँचा लगाउँछन् । बिस्तारै म्याकोन्डोले सहरका रूप धारण गर्न थाल्छ सिनेमा, फोटो स्टुडियो तथा पसलहरू भटाभट खुल्न थाल्छन् । व्यापारीदेखि वेश्याहरूको आगमन बाक्लिन थाल्छ । ऐरेलियानो सेगुन्डा बाक्लिँदै गएको मानिसहरूको सङ्ख्याले खुसी हुन्छ तर उसैकी बहिनी रेमेडियोस द ब्युटी भने यी सबै परिवर्तनबाट अनभिज्ञजस्तै हुन्छे र एक दिन त्यस सहरबाट अचानक स्वर्गतर्फ उड्दै बिलाउँछे ।

पुँजीपति को आगमन सँगै बढ्दो विदेशी हस्तक्षेप देखि कर्नेल ऐरेलियानो बुन्डिया निराश बनेको हुन्छ । धनाढ्य केरा बगैँचा मालिकहरूले आफ्नै तानासाही पुलिसहरूको सहायताले सामान्य जनताहरूलाई क्रूरतापूर्वक दमन गर्न थाल्छन् जसको विरुद्ध कर्नेल ऐरेलियानो बुन्डिया आफ्ना छोराहरूको सहयोगमा पुनः युद्ध गर्ने चेतावनी दिन्छ । उसका सबै छोराहरूको हत्या हुन्छ । त्यस घटनाबाट विक्षिप्त बनेको ऊ कर्नेल जेरिनेल्डो पुनः युद्ध सुरु गर्ने अनुरोध गर्न पुग्छ तर कर्नेल जेरिनेल्डोले मान्दैन ।

आफ्नो नाति जोस आर्काडियो दोस्रोलाई पोप बनाउने सपना देखेकी उर्सुला बिस्तारै अन्धी हुन्छे । मेमे र जोस आर्काडियो दोस्रो स्कुल जान थाल्छन् । कर्नेल ऐरेलियानो बुन्डियाको पनि मृत्यु हुन्छ ।

फर्नाडा आफ्नो तेस्रो सन्तान अमरन्ता उर्सुलालाई जन्म दिन्छे । जुन दिन आफ्नो अन्त्येष्टि कफन सिलाई सकेकै दिन बुढी अमरन्ता मर्छे भने उर्सुला आफ्नो अन्तिम सन्तानको मृत्युपश्चात् निकै वर्ष एउटै ओछ्यानमा लडिरहन्छे ।
मेमे भने मौरिसियो बबिलोनिया भन्ने मेक्यानिकको प्रेममा पर्छ । आफ्नी आमाले गार्ड राख्तासमेत उनीहरू लुकिचोरी सम्बन्ध राखिरहन्छन् त्यसैले फर्नाडाले आफ्नी छोरीलाई टाढा कन्भेन्ट पठाउँछे । केही महिनापश्चात् मेमेको अवैधानिक छोरो ऐरेलियानोलाई बुन्डिया परिवारको जिम्मा लगाउन नन आउँछे । फर्नाडा भने आफ्नो नातिलाई अनाथ भनी ढाकछोप गरिरहन्छे ।

जोस आर्काडियो सेगुन्डा केरा बगैँचामा काम गर्ने कामदारहरूको अवस्था सुधार गर्ने उद्देश्यले हडतालमा उत्रन्छन् तर समाधानका लागि बोलाइएको भेलामा आर्मीले सबै ३००० कामदारहरूलाई वरिपरिबाट घेरा हाली गोली ठोकेर मार्छन् । लासहरूलाई रेलमा लोड गरेर समुन्द्रमा फालिदिन्छन् । बल्ल बल्ल आफ्नो ज्यान बचाएर आएको उसको कहानी कसैले विश्वास गदैनन् । त्यसपश्चात् उसले आफूले आफूलाई पूरानो प्रयोगशालामा बन्द गर्छ र मेलक्याइडस्को पाण्डुलिपिहरूको अर्थ खोज्न थाल्छ ।

त्यसपश्चात् म्याकोन्डो लगातार पाँच वर्षसम्म भारी वर्षा हुन्छ र यसले तबाही मच्चाउँछ । ऐरेलियानो सेगुन्डा आफ्ना छोरा छोरीको हेरचाह गर्दै घरभित्रै बस्छ । ऊ आफ्नो अवस्थामा सुधार गर्न उर्सुलाले सुन लुकाएको आशङ्कामा सम्पूर्ण स्थानहरू छापा मार्छ । उर्सुलाको १२० वर्षको उमेरमा मृत्यु हुन्छ । गरिबीसँग जुधिरहेको ऐरेलियानो सेगुन्डाले अमरन्ता उर्सुलालाई पढ्न ब्रुसेल पठाउँछ । जोस आर्काडियो सेगुन्डा, मेलक्याइडस् को पाण्डुलिपिहरूको अर्थ खोज्ने प्रोजेक्ट ऐरेलियानो जिम्मा लगाउँछ । दुवै दाजुभाइ आफ्नो कार्य पूरा गरेर मर्छन् र उनीहरूलाई एक अर्कोको चियाननजिकै गाडिन्छ ।

ऐरेलियानोले मेलक्याइड्सको पाण्डुलिपिहरूको अर्थ संस्कृतमा लेखेको पत्ता लगाउँछ । फर्नाडा डेल कारपियाको मृत्युपश्चात् आइपुगेको जोस आर्काडियो दोस्रोले उर्सुलाले लुकाएको सुन भेट्छ र साथीभाइसँग मोजमस्ती गर्न लाग्छ । ऊ डुबेर मर्छ भने कसैले उसको सुन चोरिदिन्छन् ।

उता अमरन्ता उर्सुला आफ्नो पति गस्टनसँग ब्रुसेल फर्कन्छे । यता ऐरेलियानो आफ्नै आन्टी अमरन्ता उर्सुलाको प्रेममा पर्छ । अमरन्ता उर्सुलाको प्रेमसम्बन्ध थाहा पाएको गस्टन व्यावसायिक यात्रामा जान्छ र कहिल्यै फर्किँदैन। उही जिनका कारण अमरन्ता उर्सुलाले वर्षौँ पहिलेका पुर्खाले जस्तो पुच्छरवाला बच्चा जन्माएर मर्छे । अमरन्ताको मृत्युको कारण विक्षिप्त बनेर हिँडेको ऐरेलियानो छोरालाई रातो कमिलाले टोकेर मार्छ । म्याकोन्डोमा ठुलो तुफान आउँछ र यो सहर नष्ट हुन्छ ।

प्रतिक्रिया
Loading...