
ग्याब्रियल गार्सिया मार्खेज
‘एकान्तका सय वर्ष’ उपन्यास गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) ले लेखेका हुन् । उनी नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए । उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारेवियन क्षेत्रस्थित अराकाटा नामक एउटा सानो शहरमा बिते । यहाँ उनी आफ्ना बाजे-बज्यै र तीन फुपूसँगै एकांकी बालकको रूपमा पालिए । बाजेको घरमा बितेका बचपनले नै उनको रचना-संसारलाई जन्म दिएको देखिन्छ । उनले जेसुइट स्कूल सेन जोसमा हाई स्कूलको पहिलो वर्षमा भाग लिएका थिए । त्यस बेला नै उनले पत्रिकामा कविता प्रकाशन गर्न शुरू गरेका थिए। त्यसपछि उनले बोगोटा निकट लिसो नेसियन डी जिपाकिरामा अध्ययन गर्नको लागि एक सरकारी छात्रवृत्ति पाए । त्यहाँ उनले आफ्नो स्नातकको डिग्री प्राप्त गरे र नेशनल यूनिभर्सिटी अफ कोलम्बियामा कानूनको पढाइ शुरु गरे । मार्केजको इच्छा लेखक बन्ने थियो । सन् १९४७ मा उनले आफ्नो पहिलो लघुकथा स्पेक्टरमा प्रकाशित गरे । सन् १९५० मा उनले पत्रकारिताको अभ्यासको लागि आफ्नो कानूनी डिग्री छोडिदिए । त्यसपछि उनी रोम र पेरिसमा ‘स्पेक्टेटर’ को संवाददाता भए । पत्रकार रहँदा उनी जेम्स जोयज र भर्जिनिया वुल्फजस्ता आधुनिक लेखकहरूका कृतिबाट परिचित भए । सन् १९५७ मा उनी भेनेजुएलाको राजधानी काराकास पुगे र त्यहाँ लगभग दुई वर्ष पत्रकारिता गरे । सन् १९५८ को मार्चमा उनले मर्सिडीज बारचासँग विवाह गरे । उनीहरूका सन् १९५९ मा रोड्रिगो र १९६४ मा गोंजालो नामका दुई सन्तान भए।
मार्केज पत्रकारको रूपमा छिट्टै प्रसिद्ध भए तर साहित्यकारको रूपमा पहिचान बनाउन भने उनलाई धेरै समय लाग्यो । सन् १९५९ को क्युबा क्रान्तिपछि उनले क्यूबन समाचार एजेन्सी प्रेन्सा लातिनामा काम शुरू गरेका थिए । सन् १९५९ देखि १९६१ सम्म उनले हवाना र न्यूयोर्कमा क्युबाली सञ्चार एजेन्सीका लागि काम गरे । उनले पत्रकारिताका साथसाथै फिल्मी पटकथाहरू पनि लेखे । वामपन्थी विचारधारातर्फ झुकेका कारण उनलाई अमेरिका र कोलम्बिया सरकारले देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । सिआइएबाट धम्की आएपछि मार्केज र उनको परिवार मेक्सिको सिटी गयो । एज्टेक भूमिमा उनीहरूले आफ्नो बासस्थान बनाए र बोगोटा, कार्टाजेना डी इंडियास तथा पेरिसमा रहेर आफ्नो जीवनको अधिकांश समय बिताए । उनको पहिलो कथा संग्रह, Leaf Storm and Other Stories, 1955 मा प्रकाशित भएको थियो । No One Night (1961), To the Cornel and Other Stories र Eyes of a Dog उनका उत्कृष्ट कथा संग्रह हुन्। उनको उपन्यास एकान्तका सय वर्ष पहिलो पटक १९६७ मा स्पेनी भाषामा प्रकाशित भएको हो। उनले सन् १९८२ मा साहित्यतर्फ नोबेल पुरस्कार हात पारेका थिए । ८७ वर्षको उमेरमा १७ अप्रिल २०१४ मा मेक्सिको सिटीमा उनको मृत्यु भयो।
ग्याब्रियल ग्रासिया मार्केज ती चार ल्याटिन अमेरिकी उपन्यासकारहरूमध्ये एक थिए, जसलाई पहिलोपटक १९६० र १९७० को दशकमा साहित्यिक ल्याटिन अमेरिकी बूममा राखिएको थियो । अन्य तीन जना पेरुका मारियो वर्गास लोसा, अर्जेन्टिनाका जुलियो कोर्टजार र मेक्सिकन कार्लोस फ्यूएन्टेस थिए ।’वान हण्ड्रेड इयर्स अफ सोलिच्यूड’ (१९६७) ले गार्सिया मार्केजलाई ल्याटिन अमेरिकी साहित्यभित्रको जादूमय यथार्थवादी आन्दोलनको उपन्यासकारको रूपमा अन्तर्राष्ट्रिय प्रसिद्धि प्रदान गर्यो। यो उपन्यास शैलिगत रूपमा आधुनिकतावाद (यूरोपियन र उत्तरअमेरिकी) र क्युबाको भ्यानगार्डिया साहित्यिक आन्दोलनबाट प्रभावित थियो । गार्सिया मार्केजको उत्कृष्ट रचना मानिने यो उपन्यासलाई विश्व साहित्यमा महत्त्वपूर्ण कार्यको रूपमा व्यापक रूपले प्रशंसित र मान्यता प्राप्त छ।
मार्केजको एकान्तका सय वर्ष एक विश्वप्रसिद्ध उपन्यास हो । लेखकले यो उपन्यास १८ महिना लाएर लेखेका थिए । यो उपन्यास संसारमा धेरै ठूलो संख्यामा विक्री भयो र ५० भन्दा बढी भाषामा अनुवाद पनि भयो । यो उपन्यासलाई मार्केजको जादूमय यथार्थको बेजोड कृति मानिन्छ । यो उपन्यास केवल एउटा शहर र त्यसका कयौं पुस्ताहरूको कहानी मात्र होइन, यसले वास्तवमा आफ्नो समय र समाजको व्यापक यथार्थ जादूमय अलंकार प्रस्तुत गर्दछ। शहर र पुस्ताका लामा र रोचक कथामार्फत लेखक यसमा समाज, देश र सभ्यताको अस्तित्व र ध्वंसको कथा पनि प्रस्तुत गर्दछन् । क्रमबद्ध कथा तथा उपकथाहरू, अतिरंजना, रहस्य र कल्पनाको बीचबाट उपन्यासको मूल कथा निरन्तर अगाडि बढिरहेको हुन्छ । यो उपन्यास म्याकोंडो नामक शहरको उदयदेखि पतनसम्मको रोचक कथा हो। यो शहरको स्थापना जोस आर्केडियो बुएडिंया र उसका केही पुस्ताहरूले मिलेर बनाएका थिए । शहरसँगै यसमा आर्केडियो परिवारको सात पुस्ताको कथा छ । यसमा प्रस्तुत गरिएको कथाको आधारमा मार्केजलाई विश्व साहित्यमा जादूमय यथार्थवादी भनिन्छ । यो यस्तो यथार्थ हो, जसले पुस्तौं पुराना कथाहरू जस्ता रोचक, मोहक र कयौं पटक अविश्वसनीय लागेर पनि वास्तविकतालाई सामुन्ने ल्याउने एक गैर-पारम्परिक रूप लिएर आउँछ । यस्तो कथामा मार्केज अलंकार बनाउँदछन् र त्यो बेजोड छ । उनको यो शैली र अव्यक्त सन्दर्भले उनलाई विश्वका महान् उपन्यासकारमध्ये एक बनाएको हो ।
एकान्तका सय वर्ष उपन्यासमा बुएडिंया परिवारका कयौं पुस्ताहरूको महाकाव्यात्मक कथा सय वर्षसम्म फैलिएको छ । केराको उत्पादन र व्यापारमा जमेका ठूला कम्पनीहरूका लूट र षड्यन्त्रकारी गतिविधिहरूका विरूद्ध कर्नेल ओरेलियानो बुएडिंया आफ्नो समाज र जनताको लागि लड्दछ । ऊ नायकको रूपमा प्रकट हुन्छ । ल्याटिन अमेरिकाका कयौं देशहरू यो राजनीतिक कथात्मक उपन्यासको मूल कथानकका महत्त्वपूर्ण हिस्सा हुन् । अनिद्रा, गरीबी, युद्ध र करीब पाँच वर्षसम्म चल्ने एक उष्णकटिबन्दीय तूफानबाट ध्वस्त भएको म्याकोंडो शहरको कथाले बुएंडिया परिवारका सात पुस्ताका घटनाक्रमहरूलाई सामुन्ने ल्याउँदछ । र, मार्केज यसलाई समाज र सभ्यताको अलंकार बनाएर प्रकट हुन्छन् ।
अन्तिममा मेल्कियाडेसका रहस्यमय पाण्डुलिपिहरूबाट यो कथा सामुन्ने आउँदछ । यही नै मार्केसको जादूमय यथार्थ हो, जसमा कुनै पारम्परिक कथाभन्दा बढी कथात्मकता छ र जहाँ कथाभित्र समाज र सभ्यताको उत्थान-पतन, संघर्ष र विकासको जटिलता र गत्यात्मकता गाँसिएको प्रतीत हुन्छ । यो महाकाव्यात्मक मानवीय गाथामा धेरै विचित्र लाग्ने कथा-मोडहरू छन्, जुन जादूमय र अतिरंजित देखिए पनि तिनीहरूले आफ्नो समयको वास्तविकतालाई रोचक ढंगले पेश गर्दछन्।
यो उपन्यासले पोर्चुगल र स्पेनको आइबेरियन संस्कृति, सामाजिक जीवन र त्यससँग जोडिएका अन्य चीजहरूको बारेमा जानकारी दिन्छ। यसले सामन्तवादबाट व्यापारिक पूँजीवादमा संक्रमणको युगका मानिसहरूको चरित्र, समुद्री डाकु, घुमन्ते, आदिको बारेमा पनि जानकारी प्रदान गर्दछ । यसले स्पेनी औपनिवेशीकरणको बेलामा ल्याटिन अमेरिकामा कसरी मानिसहरू अलग-अलग ठाउँबाट आएर बसे र कसरी विभिन्न संस्कृतिहरूको बीचमा घात-प्रतिघात र मिश्रण भयो भन्ने कुरा स्पष्ट पार्दछ । त्यसरी नै स्पेनी, अंग्रेजी र अमेरिकी उपनिवेशवदीहरूले ल्याटिन अमेरिकासँग कस्तो व्यवहार गरे भन्ने कुराको जानकारी पनि उपन्यासले दिन्छ ।
यसरी एकान्तका सय वर्ष एक काल्पनिक शहर म्याकोंडोको जन्म, उत्थान र पतनको गाथा हो। यसका सबभन्दा महत्त्वपूर्ण बासिन्दा बुएंडिया परिवारका मानिस नै हुन्, जसका सात पुस्ताको कहानी यो शहरको उत्थान र पतनसँगै गाँसिएको छ। यो एक ऐतिहासिक विवरणात्मक गाथा जसरी अगाडि बढ्दछ । अन्य महाकाव्यात्मक कृति जस्तै यो उपन्यासको पनि एक खास इलाकाका जनताको ऐतिहासिक यथार्थसँग प्रत्यक्ष सम्बन्ध छ । यसमा एक ल्याटिन अमेरिकी देश कोलम्बियाको उन्नाइसौं शताब्दीको आरम्भदेखि स्पेनबाट स्वतन्त्रता (१८१०-१८२५) प्राप्तिदेखि लिएर त्यसपछिको विकासको इतिहास छ । उपन्यासमा वर्णन गरिएको गृहयुद्धको अन्त्यहीन सिलसिलालाई प्रत्यक्ष रूपमा सन् १८५५ देखि १९०२ सम्म कोलम्बियामा जारी गृहयुद्धमा आधारित ठानिन्छ र कर्नेल ओरेलियानोको चरित्र तथा कर्नेल राफेल उरीबेका बीचमा अनेकौं समानताहरू छन् । यिनीहरूको कमाण्डमा लेखकका हजुरबाले लडाइँ लडेका थिए । उरीबेको संघर्ष सन् १९०२ मा नीरल्याण्डिया सन्धिसँगै खत्तम भएको कुरा उपन्यासमा उल्लेख गरिएको छ । सन् १९०० र १९२८ को बीचमा बोस्टनको यूनाइटेड फ्रूट कम्पनीले कोलम्बियालाई आफ्नो कब्जामा लियो । यो कम्पनीको विरूद्धमा मजदूरहरूको संघर्ष अक्टुबर १९२८ मा आफ्नो चरम उत्कर्षमा पुग्यो । यसमा ३२ हजार मजदूरहरूले हड्ताल गरे। पछि सरकारले आन्दोलनको दमनको लागि सेना पठायो । यो सेनाले ५ डिसेम्बर १९२८ मा सियेड्गामा नरसंहार गर्यो ।
यो उपन्यास ऐतिहासिक उपन्यास भने होइन । यसले पाठकहरूलाई काल्पनिक उपन्यास हो भनेर पहिल्यै सावधान पनि गर्दछ । इतिहास यहाँ यथार्थवादी उपन्यासहरूको इतिवृत्तात्मक हुबहुपनसँगै उपस्थित छैन, बरू बिम्ब, मिथक र चामत्कारिक घटनाहरूको एक श्रृंखलाबाट निर्मित जादूमय आवरणद्वारा आलंकारिक छ । सम्पूर्ण उपन्यासमा मनोरन्जनात्मकता, काल्पनिकता र तथ्यपरकता एक-अर्कोसँग घुलमिल भएका छन् र यो नै उपन्यासको एक खास विशेषता रहेको छ । यसको रसास्वादन गर्न अस्वीकार गर्दा वा अधिक यथार्थवादी तर्कसंगताको माग गर्दा यो उपन्यासबाट आनन्द लिन सकिंदैन । यथार्थलाई मनोरन्जनात्मक र कल्पनात्मक ढंगले अभिव्यक्त गर्ने यो शैलीलाई जादूमय यथार्थवाद भनिन्छ । यो उपन्यास यसको प्रतिनिधिमूलक उदाहरण हो । जादूमय यथार्थवादलाई सामान्यतः ल्याटिन अमेरिका र त्यहाँको प्राकृतिक, भौगोलिक, राजनीतिक र सांस्कृतिक रहस्यसँग जोडेर हेरिन्छ र यसले यथार्थवादी उपन्यासहरूको पारस्परिक शैलीबाट आफ्नो अलग पहिचान कायम गरेको छ।
यसरी एकान्तका सय वर्ष उपन्यासले विभिन्न आयामहरूको बीचमा एक द्वन्द्वात्मक आकर्षण कायम राख्दछ । यो उपन्यास एक मनोरन्जनात्मक र कल्पनात्मक रूपमा अगाडि बढ्द । यो पुस्तकले ल्याटिन अमेरिकाको इतिहासको पुनर्लेखनको बिडा उठाउँदै अन्त्यमा यसले पाठकलाई एक कल्पित संरचना हो भन्दछ । वास्तविकतालाई बुझ्ने र त्यसको वर्णन गर्ने मानिसको क्षमतामाथि परम्परागत यथार्थवादी लेखनको भरोसालाई स्वीकार्न असमर्थ मार्केजले यथार्थवादी उपन्यासको दस्तावेजी विधिभन्दा बाहिर रहेर एक शैली अपनाए । यसलाई जादूमय यथार्थवाद भनियो । एकान्तका सय वर्ष उपन्यासले ल्याटिन अमेरिकाको प्राकृतिक माहौलका अपूर्व आयामहरू र राजनीतिक जनजीवनका अतिशयोक्तिहरूलाई खुलासा गर्दछ । उपन्यासमा वर्णित प्रत्येक घटना जतिसुकै अद्भूत भए पनि नितान्त तर्कसंकत स्पष्टीकरण हुन् । उपन्यासमा प्रस्तुत गरिएका घटनाहरू वास्तवमा घटित नभए पनि त्यहाँका मानिसहरूले तिनीहरूलाई बुझेका र अनुभव गरेका हुन्छन् ।
यो उपन्यासमा बुएडिंया परिवारको इतिहासको एक दृष्टान्त छ । यसले सम्पूर्ण अमरिकाको सामाजिक-सांस्कृतिक इतिहासलाई दृष्टान्त बनाएर प्रस्तुत गरेको छ । यो मानव प्रगतिको इतिहासको एक संक्षिप्त प्रतिरूपमा देखा परेको छ । यो उपन्यासले विकसित समाजलाई लक्षित गर्दै ल्याटिन अमेरिकाका औपनिवेशिक चरणहरूका खाकालाई इतिहासको रेखीय गतिक्रममा हाम्रो सामु प्रस्तुत गर्दछ । म्याकोन्डो परिवारमा कसरी क्रमैसँग फ्रान्सेली, अंग्रेजी र स्पेनी उपनिवेशहरूको स्थापना हुन्छ भन्ने कुरा उपन्यासमा दर्शाइएको छ ।
म्याकोण्डोको स्थापना मूल रूपमा सबभन्दा पहिले कर्नेल बुएन्डियाले २१ सहयोगीसँग गरेको थियो, जसमा पहिलो पुस्ता पितृसत्तात्मक छ र यो जादू, टुना र रहस्ययुक्त छ । यो समाज बाहिरी संसारको सम्पर्कमा आएपछि आदिवासी जीवन अनुशासन प्रणालीको स्थानमा औपनिवेशिक शासन प्रणालीमा जान्छ । यससँगै आदिवासी जीवन अनुशासन प्रणालीलाई कायम राख्ने र औपनिवेशिक शासन स्थापित हुने कुरामा लडाइँ शुरु हुन्छ, जुन गृहयुद्धको रूपमा सामुन्ने आउँदछ । यो युद्ध बीस वर्षसम्म चल्छ । एउटा ठूलो गृहयुद्धपछि त्यहाँ वर्चश्ववादी औपनिवेशिक शासन प्रणालीको नगरपालिका स्थापित हुन्छ । यससँगै यहाँ बाहिरी संसारको प्रविधिको प्रवेश हुन्छ । जसमा, आधुनिक ट्रेन, यन्त्र, विजुली, ग्रामोफोन, चलचित्र, टेलिफोन, आदि धेरै बर्चस्व र विकासका नयाँ संकेतका रूपमा सामुन्ने आउँदछन् ।
उत्तर अमेरिकाकाको केरा कम्पनी यहाँ आएपछि ऐतिहासिक परिवर्तन हुन्छ र यससँगै म्याकोंडो औपनिवेशिक विदेशी शक्तिको वर्चश्वको प्रतीकको रूपमा एक विशेष प्रकारको औपनिवेशिक केन्द्र बन्दछ । यही बीचमा यहाँ एउटा अर्को व्यापारिक गुट पुग्दछ । त्यसपछि सामाजिक टकराव सृजना हुन्छ र साथसाथै प्राकृतिक विपद पनि आउँदछ । यी सबै टकराव र प्राकृतिक विपद जस्ता स्थितिहरूले म्याकोंडो परिवारलाई आफ्नो इतिहासको अन्तिम चरणमा पुर्याइदिन्छ । प्राग-ऐतिहासिक समाजको प्रतीकको रूपमा सम्पूर्ण म्याकोंडो ऐतिहासिक प्रगतिमा प्रवेश गर्दै जाँदा उसले कृत्रिमताको बोधको स्थिति पाउँदछ । प्राग-ऐतिहासिक समाज आधुनिक समाजमा परिवर्तित हुँदै जान्छ, जसमा व्यवस्थित संस्थान र विस्तृत संयन्त्र हुन्छ । त्यसपछि यो सृजना हो वा विध्वंश भन्ने प्रश्न उठ्छ । यहाँको सामाजिक भूगोल रक्त-सम्बन्धमा नै बन्दछ । मुक्त पारिवारिक समाज भएर पनि एकान्तपन त्यो परिवेश र समाजमा व्याप्त छ । यो एकान्तपनले त्यो परिवार र समाजलाई खान्छ । यही कुराले यो उपन्यासको कथा बुन्दछ । यसलाई इतिहासको हस्तक्षेप वा इतिहासको व्यावधानबाट मुक्त भएर लेखिन्छ । यो यस्तो समाज हो, जुन बाँकी संसार र सभ्यताभन्दा धेरै फरक छ । यो समाज आफ्नो पारिवारिक संसारको गहिराइसम्म पुगेको छ तर पनि भयंकर उदासीमा छ । त्यहाँ उदासीपन धेरै गहिराइसम्म विद्यमान छ । यो परिवारमा एकान्तको स्रोत प्रेमको अभाव हो । यसकारणले गर्दा नै यो उपन्यासको अन्तिम परिणति प्रेममा हुन्छ, जुन यो समाजमा थिएन । यही परिणतिसँगै एकान्तको सय वर्ष सकिन्छ । बुएडिंया परिवारको अन्तिम पुस्ताले जमेर प्रेम गर्दछ, त्यसैमा डुब्दछ । सबै कुरा सकिएपछि पनि यो पुस्ता सबै भुलेर प्रेम गरिरहन्छ, जुन पहिले यहाँ कहिल्यै हुनसकेको थिएन । यसको साथै यो परिवार हरेक प्रकारका बन्धन, एकान्त र उपनिवेशहरूबाट मुक्त हुन्छ । यसपछि ओरेलियानो र उर्सुला दुवै प्रेममय रिक्त संसारमा रहन लाग्छन्, बन्धनहरूबाट मुक्त, बिल्कुल मुक्त र प्रेमयुक्त जिन्दगी ।
‘एकान्तका सय वर्ष’ उपन्यासको सम्पूर्ण सारांश
यो उपन्यास म्याकोंडो नामक एक काल्पनिक गाउँमा बस्ने बुएंडिया परिवारका सात पुस्ताहरूको कथा हो । यसमा उल्लेखित सम्पूर्ण कथाले परिवारका आकांक्षा, असफलता, प्रेम, युद्ध, क्रान्ति र अनन्ततः एकान्तपनतिर बढिरहेको दृष्टान्त प्रस्तुत गर्छ । कथाको शुरुवात आर्केडियो बुएंडिया र उसकी पत्नी उर्सुला इगुआरनबाट हुन्छ । यी दुवै एक पारिवारिक श्रापको डरसँगै जिउँछन्, जसमा के भनिएको हुन्छ भने उनीहरूका वंशमा सन्तानले सुँगुरको पुच्छरसँगै जन्म लिन्छन् । जोस आर्केडियो बुएंडिया एक आदर्शवादी व्यक्ति हुन्छ । उसले एक नयाँ जीवन र सभ्यताको खोजीमा म्याकोंडो नामको गाउँको स्थापना गर्छ । जोस आर्केडियो (एक सनकी र विद्रोही), ओरेलियानो (पछि कर्नेल, एक शान्त र रहस्यमयी, जसले पछि गृहयुद्धको नेतृत्व गर्छ) र अमरांता (छोरी, प्रेम र अस्वीकारको बीचमा अल्झिरहन्छिन्) गरी तीन सन्तान हुन्छन् । जोस आर्केडियोको छोरो कर्नेल ओरेलियानो बुएंडिया लिबरल पार्टीको तर्फबाट गृहयुद्धमा सामेल हुन्छ । उसले ३२ पटक विद्रोह गर्छ तर हरेक पटक हार्छ । उसको यो यात्रा एकान्तपन र निराशातिर जान्छ । यसरी यो उपन्यासले युद्धको निरर्थकतालाई दर्शाउँछ । यो उपन्यासमा प्रेमलाई गहन ढंगले प्रस्तुत गरिएको छ । यो उपन्यासमा जादूमय घटनाहरूको गहन उल्लेख गरिएको छ । यसको अन्त्यमा ओरेलियानो बेबिलोनिया नामक अन्तिम पुस्ताको एउटा व्यक्तिले प्राचीन पाण्डुलिपिको अनुवाद गर्छ, जसमा बुएंडिया परिवारको अन्त्य सुँगुरको पुच्छर लिएर जन्मिएको एउटा बच्चासँगै हुन्छ भन्ने भविष्यवाणी गरिएको हुन्छ । अन्ततः यस्तै हुन्छ, एउटा बबण्डरले सम्पूर्ण म्याकोंडोलाई ध्वस्त बनाइदिन्छ ।
यो उपन्यासमा हरेक पात्रले कुनै न कुनै रूपमा एकान्तपनको सामना गर्दछन् । यसमा पुस्ताहरूको बीचमा घटनाहरूको दोहोरिने क्रम र वंशको श्रापले बुएंडिया परिवार भाग्यको एक दुश्चक्रममा फसेको कुरा देखाउँछ । यसमा घटनाहरूसँग असंभव र अलौकिक तत्त्वहरूलाई मिलाएर कथालाई जादूमय बनाइएको छ । यसमा गृहयुद्ध र म्याकोंडोको पतनको माध्यमबाट कोलम्बिया र ल्याटिन अमेरिकाको सामाजिक-राजनीतिक संघर्षको उजागर गरिएको छ । यसकारण यो उपन्यास एक पारिवारिक गाथा मात्र नभएर यो एउटा सम्पूर्ण समाजका र त्यसको नियतिको कथा हो ।
अध्याय एक
एकान्तका सय वर्ष एक पूर्व-दृश्यको रूपमा शुरु हुन्छ । कर्नेल ओरेलियानो बुएंडिया जिप्सी (घुमन्ते) हरूको एउटा समूहले प्रायः सपनामा अलग-अलग गाउँमा प्राविधिक चमत्कार ल्याएपछि म्याकोंडोको स्थापनाको तुरुन्तै वर्षौंको स्मरण गर्दछ । शहरको धेरै जिज्ञासु संस्थापक आर्केडियो बुएंडिया यी जादूगरी उपकरणहरूप्रति आशक्त हुन्छ । जिप्सीका नेता मेलक्किएड्सद्वारा दिइएका आपूर्तिहरूको उपयोग गर्दै उसले आफ्नी धेरै व्यावहारिक पत्नी उर्सुला इगुआरनको निराशाको लागि स्वयंलाई वैज्ञानिक अध्ययनमा डुबाइदिन्छ । अन्ततः मेलक्किएड्सको उक्साहटमा जोस आर्केडियो बुएंडिया अन्य धातुहरूबाट सुन बनाउने छद्म रसायन विज्ञानको खोज शुरु गर्दछ । ऊ प्रगतिको इच्छा र ज्ञानको तीव्र खोजबाट प्रेरित हुन्छ, जसले उसलाई एकान्तमा जानको लागि बाध्य बनाउँछ । विस्तारै-विस्तारै ऊ मानवीय सम्पर्कबाट टाढा हुन्छ, अव्यवस्थित तथा असमाजिक हुन्छ, र केवल ज्ञानको खोजमा रुचि राख्छ । तर जोस आर्केडियो बुएंडिया सधैँ एक एकान्त वैज्ञानिक रहेको हुँदैन । यसको विपरीत ऊ नेता हो, जसले म्याकोंडो गाउँको हेरविचार गर्दछ । यो गाउँ कडा परिश्रम र व्यवस्थाको लागि समर्पित एक रमणीय स्थान हो । यो गाउँ युवाहरूले भरिएको छ र अझैसम्म मृत्युबाट अछुतो रहेको छ ।
ज्ञान र प्रगतिको खोजमा जोस आर्केडियो बुएंडियाको उत्साह सभ्यतासँग सम्पर्क स्थापित गर्ने इच्छामा बदलिन्छ । उसले उत्तरतिर एक अभियानको नेतृत्व गर्छ, किनभने पश्चिम र दक्षिणमा केवल दलदल मात्र छ र पूर्वमा पहाड छ भन्ने कुरा उसलाई थाहा छ । तर पनि ऊ म्याकोंडो पानीले घेरिएको छ र बाँकी संसारको लागि दुर्गम छ भन्ने तय गर्दछ । उसले म्याकोंडोलाई कुनै अन्य धेरै सुलभ स्थानमा लैजाने योजना बनाउँदा उसकी पत्नीले रोकिदिन्छन् र उनी त्यहाँबाट जान अस्वीकार गर्छिन् । निराश भएर ऊ आफ्नो ध्यान अन्ततः आफ्ना बच्चाहरूमा केन्द्रित गर्दछ । जोस आर्केडियोलाई आफ्ना पिताको महान् शक्ति विरासतमा प्राप्त भएको छ र ओरेलियानो (जसलाई पछि कर्नेल ओरेलियानोको नामबाट चिनिन्छ) एक बच्चाको रूपमा पनि रहस्यपूर्ण र अन्तर्मुखी देखिन्छ । जिप्सीहरू फर्किंदा उनीहरूले मेलक्किएड्स मरिसकेको खबर ल्याउँछन् । यो खबरबाट दुःखी हुनुको बावजुद जोस आर्केडियो बुएंडिया नयाँ प्रविधिमा आफ्नो रुचि गुमाउँदैन र आश्चर्यचकित हुन्छ – जिप्सीले उसलाई बरफ देखाउँदा म्याकोंडोको कुलपति यसलाई संसारको सबभन्दा ठूलो आविष्कार घोषणा गर्दछ ।
अध्याय दुई
अब उपन्यास म्याकोंडोको स्थापनाको कथा बताउँदै समयमा पछाडि फर्किन्छ । काकाको छोरा जोस आर्केडियो बुएंडिया र उर्सुला इगुआरन एउटा सानो गाउँमा जन्मिएका हुन्, उनीहरू सर फ्रान्सिस ड्रेक रियोहाचामाथि आक्रमणमा जीवित बचेका मानिसका पनाति हुन् । उर्सुला आफ्नो विवाहलाई पूरा गर्नलाई डराउँछिन्, किनकि के भनिन्छ भने अनाचारबाट जन्मिएका बच्चाहरूमा भयानक आनुवांशिक दोष हुन्छन् । यसको लागि एउटा उदाहरण थियो : तिनका दुई नातेदारहरूले सुँगुरको पुच्छर भएका बच्चालाई जन्म दिएका थिए । त्यसकारण उनको विवाहपछि समय बित्दै जाने क्रममा उर्सुला आफ्ना बच्चाको आनुवांशिक विकृतिको डरले यौन सम्पर्क गर्न अस्वीकार गरिरहन्छिन् र यसका लागि उनले विशेष प्रकारको पहिरन लगाएकी हुन्छिन् । तर पछि बुएन्डियाको दबावपछि उनीहरूबीचमा यौनसम्पर्क हुन्छ । गाउँका मानिसहरू भने जोस आर्केडियो बुएंडियाको मजाक उडाउन शुरु गर्छन् । एकपटक भालेजुधाई खेलिरहेको बेलामा एउटा प्रतिद्वन्द्वी प्रुडेन्सियो एगुइलरले ठट्टा गर्दै बुएंडिया नपुसंक छ र यसको लिंग छैन भनेपछि अपमानबोधको कारण बुएंडियाले उसलाई हिर्काएर मारिदिन्छ । यसपछि अपराधबोध र एगुइलरको भूतबाट त्रसित जोस आर्केडियो बुएंडिया परिवारले आफ्नो घर छोड्ने निर्णय गर्दछन् । धेरै महिना यताउता भड्किएपछि तिनीहरूले म्याकोंडो गाउँको स्थापना गर्दछन् । बिस्तारै म्याकोन्डो पूर्ण शहर बन्छ ।
समय बित्दै जाँदा जोस र उर्सुलाका धेरै सन्तान भइसकेका थिए। जिप्सीहरूको बरफलाई देखेर जोस आर्केडियो बुएंडियालाई म्याकोंडोको आफ्नो सपनाको स्मरण हुन्छ, जुन दर्पण-पर्खालले बनेको एक शहर हुन्छ, जसको अर्थ ऊ बरफ ठान्छ । त्यसपछि ऊ फेरि आफ्नो वैज्ञानिक अध्ययनमा डुब्छ । यसपटक ऊसँग उसको छोरो ओरेलियानो पनि हुन्छ । ऊ निकै फूर्तिलो र महत्त्वाकांक्षी थियो । परिवारका बाँकी सदस्यहरू पनि फरक-फरक व्यक्तित्वका थिए । कोही सन्की थिए, कोही दुर्व्यसनी थिए र कोही शान्त र धैर्यवान थिए । जेठो छोरो अनौठो प्रकारको, विशाल देह भएको, ठूलो लिंग भएको थियो। यही बीचमा उसको अझै किशोरावस्थामा रहेको ठूलो छोरो जोस आर्केडियोलाई एक स्थानीय महिला पिलर टेरनेराद्वारा बहकाइन्छ; उनी उसको लिंगको विशाल आकारको कारण उसतर्फ आकर्षित हुन्छिन् । अन्ततः, उसले उनलाई गर्भवती बनाइदिन्छ । यद्यपि उनीहरूको बच्चा जन्मिनुभन्दा पहिले उसले एक युवती जिप्सी केटीलाई भेट्दछ र उनीसँग प्रेममा पागल हुन्छ । जिप्सीहरूले शहर छोडेपछि जोस आर्केडियो उनीहरूसँग जोडिन्छ । आफ्नो सबभन्दा ठूलो छोरो गुमाएपछि दुःखी उर्सुला आफ्नी नवजात बच्ची अमरांतालाई छोड्दै जिप्सीहरूको पीछा गर्ने कोशिस गर्छिन् । पाँच महिनापछि उर्सुला फर्किन्छिन् र म्याकोंडोलाई सभ्यतासँग जोड्ने दलदलको माध्यमबाट दुई दिवसीय सरल यात्राको खोज गर्छिन् ।
अध्याय तीन
उर्सुला इगुआरनद्वारा म्याकोंडोलाई सभ्यतासँग जोड्ने मार्गको खोजको परिणामस्वरूप गाउँमा परिवर्तन आउन शुरु हुन्छ । गाउँ बुएंडिया परिवार सँगसँगै बढ्छ, जसमा जोस आर्केडियो बुएंडियाले दुवैको विस्तारमा महत्त्वपूर्ण भूमिका निभाउँछ । पिलर टेरनेराले बेपत्ता भएको जोस आर्केडियोको छोरालाई जन्म दिन्छिन् । केटाको नाम पनि आर्केडियो नै राखिन्छ । परिवारमा एक अनाथ केटी रेबेका पनि सामेल हुन्छिन् । उनी एक दिन रहस्यमय तरीकाले आउँछिन् र उनको जन्मको बारेमा स्पष्ट हुँदैन । तर पनि बुएंडिया परिवारले उनलाई आफ्नै बच्चा जसरी पाल्छन् र सबभन्दा माटो खाने उनको आत्म-विनाशकारी बानीमाथि विजय प्राप्त गर्दछन् । छिट्टै के स्पष्ट हुन्छ भने रेबेका अनिद्राबाट पीडित छिन् र जुन स्मृति हानिको कारण पनि बन्छ । अन्ततः सम्पूर्ण शहर अनिद्रा र भुल्ने बिमारीबाट संक्रमित हुन्छन् । स्मरणलाई सुविधाजनक बनाउनको लागि शहर निवासीले हरेक चीजमा तह लगाउन शुरु गर्दछन्; सबभन्दा पहिले उनीहरू स्वयंलाई स्मरण दिलाउनको लागि ईश्वर छन् भन्ने विशाल संकेत लगाउँछन्, र त्यसपछि त्यो दिनबाट डराउँछन्, जब तहको कुनै अर्थ हुँदैन, किनकि त्यहाँ बस्नेहरूले कसरी पढ्ने भन्ने कुरा भुलेका हुनेछन् । तासका पत्तीहरूमा भाग्य बताउने पिलर टेरनेरा अब अतीतलाई बताउनको लागि पनि तासको उपयोग गर्छिन् । अप्रत्यासित रूपमा मेलक्किएड्स जिप्सी एक विषको असर रोक्ने औषधि लिएर फर्किएपछि अनिद्राको उपचार हुन्छ । मृतकहरूबाट फिर्ता आएको जस्तै लाग्ने मेलक्किएड्सले आफूसँगै यस्तो प्रविधि लिएर आएको छ, जुन म्याकोंडोमा पहिले कहिल्यै देखिएको थिएन, त्यो डग्युरियोटाइप थियो । जोस आर्केडियो बुएंडिया ईश्वरको डग्युरियोटाइप (एक फोटोग्राफी) बनाउने कोशिसमा जुट्छ, ताकि उसको अस्तित्वलाई प्रमाणित गर्न सकियोस् । जोस आर्केडिया बुएंडियाको दोस्रो छोरो ओरेलियानो एक मास्टर सिल्भरस्मिथ बनेको छ । ऊ आफ्नो दिन आफूलाई प्रयोगशालामा बन्द गरेर बिताउँछ । आफ्ना कामलाई ऊ मेलक्किएड्ससँग मिलेर गर्ने गर्दछ । तिनीहरूमध्ये प्रत्येक आफ्ना विचित्र काममा उत्साहित रूपले लीन छन् । अब परिपक्व भइसकेको ओरेलियानो एक्लै र छुट्टै बस्न थाल्छ । स्पष्ट रूपमा स्त्रीहरूमा उसको कुनै रुचि छैन ।
परिवार र गाउँको विस्तार हुँदै जाँदा उर्सुला बुएंडिया घरको विस्तार गर्छिन् । पूर्व स्वायत्त म्याकोंडोमा भर्खरै आएको केन्द्रीय सरकारको प्रतिनिधि मेजेस्ट्रेटले तिनको घरलाई कुन रङले रङ्ग्याउने भन्ने कुरा तय गर्ने प्रयास गर्छ । जोस आर्केडियो बुएंडियाले मेजिस्ट्रेट डन अपोलिनर मोस्कोटलाई शहरबाट बाहिर निकालिदिन्छ । मोस्कोट आफ्ना परिवार र धेरै सैनिकहरूसहित फिर्ता आएपछि बुएंडियाले उसलाई गाउँमा आफ्नो अधिकांश अधिकार छोड्नको लागि बाध्य बनाउँछ । यद्यपि मेजिस्ट्रेटप्रति आफ्ना पिताको दुश्मनीको बावजुद ओरेलियानोले मेजिस्ट्रेटकी सबभन्दा सानी छोरी रेमेडियोस मोस्कोटसँग प्रेम गर्न लाग्छ ।
अध्याय चार
एक्लो र निरास ओरेलियानो उसकै दाजुले गर्भवती बनाएकी महिला पिलर टेरनेरासँग सुत्छ । त्यसपछि टेरनेराले ओरेलियानोलाई रेमेडियोससँग विवाह गर्ने अभियानमा मद्दत गर्छिन् । जबकि ओरेलियानो असंभव रूपमा युवती रेमेडियोसको लागि प्रताडित भइरहेको छ, बुएंडिया परिवार दुई केटीहरू अमरांता र धर्मपुत्री रेबेका – दुवैले एक अपरिचित पिएत्रो क्रेस्पीसँग प्रेम गर्न लाग्छन्, जो बुएंडिया घरमा एक पियानो स्थापित गर्नको लागि म्याकोंडो आएको छ । तिनीहरू दुवै दिदीबहिनीले त्यो अपरिचित पिएत्रोको प्रेममा आफूलाई बिरामी बनाउँछन् । यसपछि रेबेकाको माटो खाने रोग पुनः बल्झन्छ । त्यसपछि क्रेस्पीले ऊ उनीसँग विवाह गर्न चाहन्छ भन्ने निर्णय गर्छ । रेबेकाको क्रेस्पीसँग र ओरेलियानोको रेमेडियोससँग विवाह तय हुन्छ, यद्यपि रेबेकालाई धेरै ईर्ष्या गर्ने अमरांता उनको विवाह रोक्ने कसम खान्छिन् ।
जिप्सी मेलक्किएड्स विस्तारै मर्दा ऊ म्याकोंडोमा मर्ने पहिलो व्यक्ति हुन्छ । उसको शोकको अवधि समाप्त भएपछि घरमा खुशीको माहौल छाउँछ – पिएत्रो क्रेस्पी र रेबेका प्रेममा हुन्छन्, प्रणय निवेदन गरिरहेका छन् । ओरेलियानो आफ्नी भावि पत्नी रेमेडियोसको निकट आइरहेको छ । यहाँसम्म कि टेरनेरा उसको बच्चाको गर्भवती हुने खबरले पनि ओरेलियानोलाई हैरान बनाउँदैन । तर खुशी धेरै समयसम्म टिकेन । रेबेकाको विवाहलाई बर्बाद बनाउने अमरांताको धम्कीले रेबेकालाई धेरै हैरान बनाउँछ । जोस आर्केडियो बुएंडिया अज्ञात चीजको बारेमा आफ्नो अन्तहीन शोधबाट थाकेर पागलपनको स्थितिमा पुग्छ । त्यस्तो स्थितिमा उसले उसले धेरै समयअघि हत्या गरेको व्यक्ति देख्न थाल्छ । यसपछि भने ऊ एक्लोपनको दुःखले भरिन्छ । उसलाई त्यही दिनले पटक-पटक स्वयंलाई दोहोर्याइरहेको विश्वास हुन्छ । ऊ क्रोधित हुन्छ । घरलाई तहस-नहस बनाइदिन्छ । उसलाई बौलाएको ठानी २० जना मिलेर घरैको आडमा रहेको एउटा रुखमा बाँधेर राखिन्छ । ऊ आफ्नो जीवनको अन्त्य नहुञ्जेल धेरै वर्षसम्म सोही अवस्थामा बाँधिएरै रहिरहन्छ ।
अध्याय पाँच
रेमेडियोस यौवनावस्थासम्म पुगेको तुरुन्तै पछि उसको र ओरेलियानको विवाह हुन्छ । उही बेला हुने रेबेकाको विवाह स्थगित हुनपुग्छ किनभने पिएत्रो क्रेस्पीलाई उसकी आमा बिरामी छिन् भन्ने पत्रमार्फत् बोलाइन्छ । पत्र झूटो साबित हुन्छ, अमरांतामाथि विवाह ढिलो गराउन यो जाल बुनिएको शंका हुन्छ । रेमेडियोसले बुएंडिया परिवारमा स्वच्छ हावाको प्रवाह ल्याउँछिन्, जोकसैलाई आफ्ना अनुशरणकर्ता बनाउँछिन्, र यहाँसम्म कि पिलर टेरनेराबाट जन्मिएको अवैध छोरालाई पनि आफ्नै बच्चा जसरी पाल्ने निर्णय गर्छिन् । उसको नाम ओरलियानो जोस राखिन्छ । यद्यपि, विवाहको तुरुन्तै पछि रेमेडियोस अचानक आन्तरिक बिमारी, संभवतः गर्भपातको कारण मर्छिन् र घर शोकमा डुब्छ । दुःखको यो अवधि रेबेका र पिएत्रो क्रेस्पीका लागि बाधाहरूको अन्तहीन श्रृंखलामा एउटा अर्को साबित हुन्छ र उनीहरू बुएंडिया परिवारको शोकको क्रममा विवाह गर्न सक्दैनन् । एउटा अर्को झड्का म्याकोंडोमा पहिलो चर्च बनाउनमा लाग्ने धेरै लामो समय हुन्छ, जसलाई संगठित धर्मद्वारा पहिलो पटक हेरिएको छ । चर्चको निर्माण गर्ने पुजारीको एउटा आश्चर्यचकित खोज हुन्छ, जसमा जोस आर्केडियो बुएंडियाको स्पष्ट पागलपन त्यति गम्भीर छैन, जति जोकोहीले सोच्दछन् । उसले जुन बकवास गर्छ भनिन्छ, त्यो बकवास होइन, बरू उसले कुराकानी गर्नसक्ने शुद्ध ल्याटिन भाषा हो ।
शोक र ढिलाइको अवधि एकसाथ जोस आर्केडियो बुएंडियाको सबभन्दा ठूलो छोरो जोस आर्केडियो फर्किएपछि समाप्त हुन्छ । ऊ जनावर जस्तै मानिस हुन्छ – धेरै बलियो, शरीरभरी ट्याटू भएको, आवेगपूर्ण र असभ्य । पियत्रो क्रेस्पीसँग आफ्नो ‘इन्गेजमेन्ट’ को बावजुद रेबेका जोस आर्केडियोको पुरुसत्वबाट मन्त्रमुग्ध हुन्छिन् र उनीहरूले वासनाबाट संचालित एक उग्र सम्बन्ध शुरु गर्दछन् । यो सम्बन्धमा विवाहमा समाप्त हुन्छ र क्रोधित उर्सुलाले उनीहरूलाई घरबाट निकालिदिन्छिन् । यद्यपि, क्रेस्पी र अमरांताको बीचमा बढ्दो कोमलता विकसित हुन्छ, जसलाई उनले पहिले रेबेकाको पक्षमा दुत्कारेकी थिइन् ।
रेमेडियोसको मृत्युपछि स्वयंलाई एकान्तमा समर्पित गरिदिएको ओरेलियानो पछि युद्धमा छिर्न पुग्छ । यो युद्ध म्याकोंडोमा प्रतिनिधित्व गर्ने मेजिस्ट्रेट ओरेलियानोको सुसुरा डोन अपोलिनर मोस्कोट र विद्रोही उदारवादीहरूको बीचमा हुन्छ । कन्जर्भेटिभहरूको बेइमानी र भ्रष्टाचारबाट हैरान भएर ओरेलियानोले स्वयंलाई उदारवादीहरूसँग जोड्छ । युद्धको शुरुवातसँगै शहरमा कन्जर्भेटिभ सेनाद्वारा क्रूरतापूर्वक कब्जा गरेपछि ओरेलियानोले शहरका युवाहरूलाई विद्रोमा लैजान्छ, र उदारवादीहरूको लागि शहरमा विजय प्राप्त गर्छ । उसले एउटा सानो उदार सेनाको नेतृत्व गर्दछ र उसलाई कर्नेल ओरेलियानो बुएंडियाको नामले चिनिन्छ । अन्ततः ऊ उदार सेनाको नेता बन्छ ।
अध्याय छ
कर्नेल ओरेलियानो बुएंडिया हतारोमा एकत्रित आफ्ना सैनिकहरूसँगै म्याकोंडो छोड्छ राष्ट्रिय गृहयुद्धमा सामेल हुन्छ । यस क्रममा ऊ देशभरी सत्र बच्चाहरूको पिता हुन्छ । उसले आफ्नो अनुपस्थितिमा शहरको जिम्मेवारी आर्केडियोलाई छोड्छ, जो जोस आर्केडियो र पिलर टेरनेराको अवैध पुत्र हो । ऊ एक तानाशाहा बन्छ, उसले अवस्यवस्था र क्रूरता निम्त्याउँछ । उसले आफ्नी आमा पिलर टेरनेरासँग सुत्ने कोशिस गरेपछि उनले उसको लागि सांता सोफिया डे ला पिएडेड नामकी कुमारी केटी पठाउँछिन् । उसले उनीसँग विवाह गर्छ र उनले तीन बच्चाहरू – रेमेडियोस् द ब्यूटी – ओरेलियानो सेगुंडो र जोस आर्केडियो सेगुंडो – लाई जन्म दिन्छिन् । लिबरलहरूले युद्ध हारेपछि कन्जरभेटिभहरूले शहरमाथि पुनः कब्जा गर्छन् र आर्केडियोलाई फाइरिङ स्कायडद्वारा मारिन्छ । युद्ध जारी रहेको बेला आर्केडियोको तानाशाही पनि जारी रहन्छ, पिएत्रो क्रेस्पीले अमरांतासँग विवाहको प्रस्ताव राख्छ, उनले उसप्रति आफ्नो प्रेमको बावजुद उसलाई क्रूरतापूर्वक अस्वीकार गर्छिन् । त्यसपछि उसले आत्महत्या गर्छ । पश्चातापमा उनले आफ्नो हातलाई नराम्रोसँग जलाउँछिन् र त्यसलाई कालो पट्टीले ढाक्छिन् र त्यसलाई उनले आफ्नो मृत्यु नहुन्जेलसम्म ढाकिराख्छिन् ।
अध्याय सात
लिवरलहरूले युद्ध हार्छन् र कर्नेल ओरेलियानो आफ्नो साथी कर्नेल गेरिनेल्डो मार्केजसँगै गिरफ्तार हुन्छ र उसलाई फाइरिङ स्क्वायडद्वारा फाँसीको सजाय सुनाइन्छ । उसको अन्तिम इच्छा सजाय आफ्नो गृहनगर म्याकोंडोमा नै दिइयोस् भन्ने हुन्छ । तर अन्तिम मौकामा उसको भाइ जोस आर्केडियोले उसलाई बचाउँछ र तुरुन्तै कर्नेल बुएंडियाले एउटा अर्को विद्रोह शुरु गरिदिन्छ । यो उसको सैन्य यात्राको क्रममा उसले गरेका बत्तीस विद्रोहरूमध्ये एक थियो । यद्यपि उसले असफलताहरूको एक लामो श्रृंखलाको सामना गर्नुपर्यो र लिवरल पार्टीका आधिकारिक प्रतिनिधिहरूले उसलाई छोडिदिए । अन्तमा उसलाई केही सफलता प्राप्त भयो र म्याकोंडो तथा अन्य तटीय क्षेत्रहरूमा पुनः कब्जा गर्न सफल भयो । तर एउटा हत्या प्रयासले उसलाई लगातार लडाइँबाट निराश बनाइदियो र उसलाई के महसुस हुनलाग्यो भने ऊ विचारधाराको लागि नभएर केवल गौरवको लागि लडिरहेको छ । त्यसपछि उसले पुनः कविता लेख्न शुरु गर्छ, जस्तो कि ऊ रेमेडियोस मोस्कोटसँग आफ्नो प्रेम प्रसंगको क्रममा लेख्ने गर्दथ्यो ।
ओरेलियानोले आफ्नो युद्ध लडिरहेकै बेलामा सांता सोफिया डे ला पिएडेडले आफ्नो मृत पति आर्केडियोका जुम्ल्याहा बच्चालाई जन्म दिन्छिन्; तिनीहरूको नाम जोस आर्केडियो सेगुंडो र ओरेलियानो सेगुंडो राखिन्छ। यद्यपि यो सुखद घटनाको अतिरिक्त बुएंडिया परिवारमा पटक-पटक त्रासदी आउँछ । जोस आर्केडियो रहस्मय तरीकाले मर्छ, र उसको हत्या गरिएको हो वा उसले आत्महत्या गरेको हो भन्ने कुरा स्पष्ट हुँदैन । उसको पत्नी रेबेका सन्यासिनी बन्छिन् र आफ्नो बाँकी जीवन एकान्तमा दुःखपूर्वक विताउँछिन् । ओरेलियानो फेरि लड्नको लागि गएपछि शहरको कमाण्ड सम्हालेको कर्नेल गेरिनेल्डो मार्केज वर्षौंदेखि एकान्तप्रिय अमरांतालाई प्रेम गर्छ, तर उनले उसलाई पिएत्रो क्रेस्पीकै जसरी दुत्कार्छिन् । र, अन्तमा धेरै वर्षसम्म रूखमा बाँधिइरहेपछि कबिलाको मुखिया जोस आर्केडियो बुएंडियाको मृत्यु हुन्छ । आकासबाट पहेंला फूलहरूको वर्षाले उसको मृत्युको संकेत दिन्छ ।
अध्याय आठ
समय बित्दै जाँदा कर्नेल ओरेनियालो बुएंडिया र पिलर टेरनेराको छोरो ओरेलियानो जोस परिपक्व हुन्छ । ऊ आफ्नो फुपू अमारांताको लागि एक अस्वस्थ वासना विकसित गर्दछ, जसमा उनी आफ्नो एक्लोपनलाई खतर्नाक रूपले जलाउनमा निकट पुग्छिन् । दुवैले एक-अर्कोलाई छुन्छन् र कहिलेकाहीं संभोग नगरीकन एकसाथ नाङ्गै सुत्छन् । उनीहरूलाई चुम्बन गर्दै गरेको पाइएपछि अमरांताले सम्बन्ध भंग गर्छिन् र ओर्लियानो जोस सेनामा भर्ना हुन्छ ।
आधिकारिक लिवरल पार्टीले कन्जर्भेटिभ सरकारसँग एक शान्ति सम्झौतामा हस्ताक्षर गर्छ, यो सम्झौतालाई कर्नेल बुएंडियाले विश्वासघाती मान्छ । उसले सम्झौतालाई अस्वीकार गर्छ र देशबाट भाग्छ । ओरेलियानो जोस पनि ऊसँगै जान्छ । कर्नेल ओरेलियानोले सम्पूर्ण क्यारेबियनमा यात्रा गरिरहेको र उदारवादी विद्रोह शुरु गरिरहेको बेलामा म्याकोंडो अपेक्षाकृत शान्तिको अवस्थामा हुन्छ । म्याकोंडो अब मेयर जोस रेकेल मोनकाडाको अधीनमा एक नगरपालिकाको रूपमा आफ्नो नयाँ स्थितिमा हुर्किरहेको हुन्छ । मोनकाडा एक रूढीवादी तर एक मानवीय र बुद्धिमान व्यक्ति पनि हुन्छ।
ओरेलियानो जोस विद्रोही सेनालाई छोडेर घर फर्किन्छ, अमरांतासँग विवाह गर्ने आशा गर्छ, उनी अनाचारको धारणाबाट टाढै रहन्छिन् । स्थिति त्यतिखेर दुःखद रूपले समाप्त हुन्छ, जब ओरेलियानो जोसलाई नागरिक अवज्ञाको एक कार्यको क्रममा एउटा कन्भर्भेटिभ सेनाद्वारा मारिन्छ । ओरेलियानो जोस भागेको तुरुन्तै पछि कर्नेल ओरेलियानो बुएंडियाद्वारा आफ्नो यात्राको क्रममा जन्माएका सत्र छोराहरूलाई ‘बपतिस्मा’ दिनको लागि म्याकोंडो ल्याइन्छ र सबैलाई ओरेलियानो नाम दिइन्छ । ओरेलियानो जोसको मृत्युको केही समयपछि कर्नेल स्वयं एक सेनाको प्रमुखको रूपमा म्याकोंडो फर्किन्छ । अग्लो र पहेलो रंगको कर्नेल ओरेलियानो बुएंडिया आफ्ना धेरै लडाइँहरूको कारण कठोर भएको छ – एक सैन्य न्यायलयले जोस राकेल मोनकाडालाई मृत्युदण्डको सजय दिंदा उसले दुई सैनिकको बीचमा लामो समयदेखि चल्दै आइरहेको मित्रता र शहरका सबै प्रमुख महिलाहरूको विरोधको बावजूद सजाय कम गर्नलाई अस्वीकार गर्छ ।
अध्याय नौ
मोनकाडाको फासी अन्तको शुरूवात हुन्छ । कर्नेल गेरिनेल्डो मार्केज र त्यसपछि कर्नेल ओरेलियानो बुएंडिया स्वयं युद्धको उद्देश्यमा विश्वास गुमाउँछन् । गेरिनेल्डोले यसको बावजुद स्वयंलाई अमरांतामा समर्पित गर्दछ, जसले लगातार उसको प्रेमको दावीलाई खारेज गर्छिन्, जबकि उनी उसको उपस्थितिमा अझ बढी अभ्यस्त हुन्छिन् । आफैमा समेटिएर कर्नेल बुएंडिया एउटा यस्तो मानिसजस्तो बन्छ, जो भावशून्य र बिल्कुल एक्लो हुन्छ, जसको कुनै स्मरण हुँदैन । गेरिनेल्डो मार्केजलाई मृत्युदण्डको सजाय सुनाएपछि कर्नेल बुएंडियाले स्वयंसँग सामना गर्नको लागि बाध्य हुनुपर्छ र अन्ततः उसलाई युद्धको निरर्थकताको महसुस हुन्छ । रिहा भएको गेरिनेल्डो मार्केजसँग मिलेर ऊ लिबरलहरूलाई युद्ध अन्त्य गर्नको लागि मनाउने कोशिसमा आफ्नै सेनाको विरुद्ध रक्तपातपूर्ण लडाइँ लड्छ । उसले एउटा शान्ति सन्धिमा हस्ताक्षर गर्छ र उसलाई लिबरल पार्टी आफ्ना आदर्श कायम राख्न असफल रहेको छ भन्ने लाग्छ, त्यसलाई उसले स्वयंलाई र आफ्नो पार्टी दुवैलाई धोका दिएको महसुस गर्छ । अब ऊ आत्महत्याको प्रयास गर्छ, तर छातिमा गोली लाग्नबाट बच्छ । उसकी आमा उर्सुलाले ऊ जीवित रहने कुरा देखेपछि उनले घरलाई पुनर्जीवित गर्न र युद्धको क्रममा त्यसमा भएको क्षयको स्थितिबाट त्यसलाई बचाउने प्रयास गर्छिन् ।
अध्याय दस
कर्नेल ओरेलियानो बुएंडिया समाजबाट अझ टाढा भएको हुन्छ, आफ्ना दिन आफ्नै कार्यशालामा बन्द भएर साना-साना सुनौला माछा बनाउँदै बिताउँछ र राजनीतिको बारेमा कुरा गर्न अस्वीकार गर्छ । यस बीचमा आफ्नो किशोरावस्थामा ओरेलियानो सेगुंडो मेलक्किएड्सको प्रयोगशालामा अझै पनि संरक्षित गुप्त रहस्यहरूको खोज शुरु गर्दछ; उसले प्रायः मेलक्किएड्सको भूत देख्छ । अर्कोतिर, ओरेलियानो सेगुंडोको जुम्ल्याहा भाइ जोस आर्केडियो सेगुंडो एक धार्मिक पक्ष देखाउन शुरु गर्छ । यद्यपि छिट्टै एक भालेजुधाई योद्धा बन्छ र कहिलेकाहीं गधासँग संभोग गर्छ । दुवै भाइ पूर्ण रूपले ठूलो हुने बेलासम्म एक-अर्कोसँग धेरै मिल्दोजुल्दो हुन्छन्, दुवैजना एउटै महिला पेट्रा कोट्ससँग सुत्न शुरु गर्छन्, जसलाई उनीहरू एउटै मनिस होइनन् भन्ने महुसस हुँदैन । जोस आर्केडियो सेगुंडो पेट्रा कोट्सबाट संक्रमित एक यौन रोगबाट डराएपछि उसले सबै सम्पर्क समाप्त गरिदिन्छ, तर ओरेलियानो सेगुंडो उनीसँगै रहने निर्णय गर्दछ । दुवैमा एक-अर्कोको लागि जबर्जस्त वासना छ र तिनीहरूको मिलनमा केही जादूगरी चीजले तिनका खेतका जनावरहरूलाई अलौकिक रूपले उर्बर बनाउँछन् । छिट्टै ओरेलियानो सेगुंडो आफ्नो पशुधनको उत्पादकताको कारण धेरै धनी बन्छ । उसले ठूला-ठूला पार्टीहरू गर्छ र धनको विशाल प्रदर्शन गर्दछ । सम्पूर्ण गाउँले उसको समृद्धिमा भाग लिन्छन् ।
आफ्ना जिजुबाजे जोस आर्केडियो बुएंडियाको जसरी अन्वेषणको इच्छाबाट प्रेरित भएर जोस आर्केडियो सेगुंडो समुद्रसम्म जानको लागि एक नौगम्य नदी मार्ग बनाउने कोशिस गर्छ । ऊ नदीमा नाउ लैजानमा केवल एक पटक सफल हुन्छ । उसको नाउमा फ्रान्सेली यौनकर्मीहरूको एउटा समूह हुन्छ, जसले म्याकोंडोमा एक विशाल कार्निभलको प्रचार गर्छन् । रेमेडियोस द ब्यूटीलाई कार्निभलको रानी घोषित गरिन्छ । उनी अहिलेसम्म देखिएकी सबभन्दा सुन्दरी स्त्री बनेकी छिन्, तर पनि उनी एक बच्चा जस्तै आनन्दपूर्वक अन्जान र पूर्ण रूपमा निर्दोष बनेकी छिन् । यद्यपि, कार्निभलमा एक विपद आउँछ । एक प्रतिद्वन्द्वी रानी फर्नांडा डेल कार्पियो रहस्यमय पुरुषहरूद्वारा अनुरक्षित भएर आउँछिन्, जसले दंगा शुरु गर्छन् र त्यसपछि भीडमाथि राइफलहरूले गोलाबारी शुरु गरिदिन्छन्, जसमा धेरै मानिसहरू मारिन्छन् ।
अध्याय एघार
यहाँ शुरुवात फर्नांडा डेल कार्पियोको इतिहासबाट हुन्छ । उनलाई के विश्वास दिलाइन्छ भने उनी महान बन्नको लागि भाग्यमानी छिन्, तर उनको परिवारको सम्पत्ति खत्तम भइरहेको छ र उनको कुलीन वंश खत्तम हुँदै गइरहेको छ । कार्निभलमा उनलाई देखेपछि ओरेलियानो सेगुंडो उनीप्रति आसक्त हुन्छ, उनलाई तिनको उदास शहरमा खोज्छ र उनीसँग विवाह गर्नको लागि उनलाई आफ्नो घरमा लैजान्छ । यद्यपि तिनीहरूको व्यक्तित्वमा टकराव हुन्छ – उनी धार्मिक र घमण्डी छिन्, जबकि ऊ समर्पित सुखवादी हो । आफ्नी पत्नीको कठोर नैतिक र सामाजिक आचारको तिरस्कार गर्दै दुवै आफ्ना जनावरहरूको प्रजनन क्षमता सुनिश्चित गर्नको लागि र ओच्छ्यानमा आफ्नी पत्नीको लज्जास्पद प्रकृतिको कारण ओरेलियानो सेगुंडो पेट्रा कोट्सँग सुत्ने काम जारी राख्छ । यस बीचमा फर्नांडाले एक पटक आरामपूर्वक रहने बुएंडिया घरलाई आफ्नो कुलीन घरको नक्कलमा बदल्ने प्रयास गर्छिन् । उनी फलामे शासन गर्छिन् र घर कठोर रूपले औपचारिक र अप्रिय हुन्छ । आफ्नो अलगावको बावजुद पनि ओरेलियानो सेगुंडो र फर्नांडाको विवाहको शुरुवातमै दुईटा बच्चा हुन्छन् – सबैले मेमे भन्ने रेनाटा रेमेडियोस र जोस आर्केडियो (द्वितीय)। कबिलाकी सय वर्षीय कुलमाता उर्सुला जोस आर्केडियो पोप बन्नेछ भन्छिन् ।
मेमेको जन्मको तुरुन्तै पछि गृहयुद्धलाई समाप्त गर्ने युद्धविरामको वर्षगाँठ हुन्छ र गणराज्यका राष्ट्रपतिले कर्नेल ओरेलियानो बुएंडियालाई ‘अर्डर अफ मेरिट’ बाट सम्मानित गर्ने प्रयास गर्दछ, जसलाई उसले तिरस्कारपूर्वक अस्वीकार गरिदिन्छ । प्रत्येकको नाम ओरेलियानो भएका उसका सत्र अवैधानिक छोरा वर्षगाँठ मनाउनको लागि म्याकोंडो पुग्छन् र ओरेलियानो सेगुंडोले उनीहरूको आगमनको स्वागत गर्छ । यसबाट फर्नांडा धेरै छट्पटाउँछिन् । सत्र ओरेलियानोलाई आफ्नो टाउकामा खरानीको क्रस प्राप्त भएपछि उनीहरूले यसलाई धुदैनन् र सबै सत्र भाइले आफ्नो मृत्युसम्म यो छापलाई आफूसँगै राख्छन् । छोराहरूमध्ये एक ओरेलियानो ट्रिस्टेलाई रेबेका आर्केडियो बुएंडियाको छोरो आर्केडियोकी विधुवा हुन् र अझै पनि उनको घरमा एक साधु जसरी बसिरहेकी छिन् भन्ने कुरा थाहा हुन्छ ।ओरेलियानो ट्रिस्टे र अर्को एक ओरेलियानो सेंटेनो म्याकेंडोमै बस्ने र त्यहाँ एउटा बरफको कारखाना बनाउने निर्णय गर्छन्, एकप्रकारले जोस आर्केडियो बुएंडियाको बरफले बनेको शहरको भविष्यवाणीलाई पूरा गर्दछन् । अन्तमा, ओरेलियानो सेगुंडोद्वारा वित्तपोषित ओरेलियानो ट्रिस्टेले एउटा रेलमार्ग बनाउँछ, जसले म्याकोंडोलाई औद्योगिक र आधुनिक संसारसँग निर्णायक रूपले जोड्छ ।
अध्याय बाह्र
रेलमार्गसँगै म्याकोंडोमा आउने आधुनिक प्रविधिको आगमनले अब सम्पन्न गाउँका नागरिकहरूलाई आश्चर्यजनक र हैरान बनाउँछ । तर म्याकोंडोमा विदेशी पूँजीपतिहरूको आगमन दुईगुना भ्रमित गर्नेखालको हुन्छ, जसले गाउँमा केराको बगान लगाए र म्याकोंडोको ठीक नजिकै स्वयं आफ्नो ठूलो शहर बसाए । म्याकोंडो तीव्र रूपमा महानगरीय हुँदै गइरहेको हुन्छ – सिनेमा, फोनोग्राफ, लक्जसरी र धेरै यौनकर्मीहरू शहरमा आइरहेका हुन्छन् । यो म्याकोंडोमा अराजकता र अनियन्त्रित विकासको समय हो र ओरेलियानो सेगुंडो अतिप्रवाहित ऊर्जाबाट धेरै खुशी छ । एक व्यक्ति अप्रवाभित रहन्छिन्, उनी अलौकिक सुन्दरी रेमेडियोस् हुन्, उनी वरिपरि भइरहेका परिवर्तनबाट अज्ञात छिन् । उनी उनको सुन्दरता घातक छ र पुरुष उनलाई प्रेम गर्ने पापको लागि मर्दछन् भन्ने कुराबाट पनि अज्ञात छिन् । वास्तवमा उनी सम्पूर्ण उपन्यासमा प्रेम र पुरुषहरूबाट बेपरवाह रहन्छिन् र तबसम्म सांसारिक लाग्दिनन्, जबसम्म एक दिन उनी जमिनबाट उडेर स्वर्गमा जाँदिनन् र सँधैको लागि लोप हुन्नन् ।
म्याकोंडोमा पूँजीवाद अनियन्त्रित भएसँगै कर्नेल ओरेलियानो बुएंडियाले कन्जरभेटिभहरूको विरुद्धमा युद्धलाई समाप्त गर्ने आफ्नो निर्णयमा पश्चाताप गर्न शुरु गर्यो, जसले विदेशी साम्राज्यवादीहरूलाई सत्तामा ल्याउनमा मद्दत गरिरहेको छ । धनी केरा बगानका मालिकले स्वयं आफ्ना तानाशाही पुलिस बल स्थापित गरे, जसले सामान्य साना-साना अपराधको लागि पनि नागरिकहरूलाई क्रूरतापूर्वक आक्रमण गर्दछन् । यसपछि कर्नेल बुएंडियाद्वारा आफ्ना सत्र छोराहरूलाई सैनिक बनाएर युद्ध शुरु गर्ने धम्कीको परिणामस्वरूप त्रासदी शुरु हुन्छ – अज्ञात हत्याराले केटाहरूलाई पत्ता लगाउँछन् र उनीहरूमध्ये एकलाई छोडेर बाँकी सबैलाई मारिदिन्छन्, उनीहरूको शिरमा नमेटिने छापको क्रसमा गोली हान्छन् । कर्नेल बुएंडिया गहिरो दुःखमा पर्दछ र एउटा अर्को युद्ध गर्ने प्रयासमा कर्नेल गेरिनेल्डो मार्केजसँग भेट्न जान्छ, तर कर्नेल मार्केजले त्यसलाई अस्वीकार गरिदिन्छ ।
अध्याय तेह्र
यस बीचमा उर्सुला धेरै बूढी भइसकेकी हुन्छिन् र उनले समय पहिलेभन्दा धेरै तीव्र रूपमा बितिरहेको देख्छिन् । उनी अन्धी भइरहेकी छिन्, तर कसैले उनीमाथि ध्यान दिंदैनन्, किनकि हरेक व्यक्ति आफ्नो दिनचर्याको हिसाबले छैन भन्ने कुरा उनलाई थाहा छ । उर्सुला जोस आर्केडियो द्वितीय पोप बन्ने कुरामा समर्पित छिन् । तर पनि, उनी परिवारमा आएका सम्पूर्ण त्रासदीबाट धेरै दुःखी छिन् । जोस आर्केडियो द्वितीय सेमिनार र मेमे स्कूल जाँदा घर अझ खाली हुन्छ । अमरांता मृत्युको तयारीमा स्वयं आफ्नो कफन बनाउन शुरु गर्छिन् । फर्नांडा डेल कार्पियोले घरमा आफ्नो नियन्त्रण बढाउँछिन् र पुनः घरमा आफ्नो कठोर, धार्मिक अनुशासन थोपर्ने कोशिस गर्छिन् । परिणामस्वरूप ओरेलियानो सेगुंडो आफ्नी उपपत्नी पेट्रा कोट्सको घरमा जान्छ र आफ्नो मोजमस्तीलाई नयाँ उचाइमा लैजान्छ । एकपटक उसले हात्तीको नामले चिनिने एक महिलासँग खाने प्रतियोगितामा झण्डै स्वयंलाई मार्दछ । बच्चाहरूको अनुपस्थितिमा घर गम्भीर भूतहरूले पूर्ण शान्त हुन्छ । मेमे स्कूलबाट घर आउँदा ओरेलियानो सेगुंडो पेट्रा कोट्सको घरबाट एक पिताको भूमिका निभाउनको लागि आउँछ । यद्यपि उनले एउटा छुट्टीमा स्कूलबाट बहसत्तर पाहुनाहरूलाई घर ल्याएपछि उनलाई आफ्ना पिताको लापरवाही प्रवृत्ति विरासतमा प्राप्त भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
अन्ततः एक्लो र रहस्यमय जोस आर्केडियो सेगुंडो बूढो कर्नेलसँग कुरा गर्नको लागि घरको वरिपरि फेरि प्रकट हुन्छ । तर कर्नेलले राम्रोसँग जवाफ दिंदैन र यसको बावजुद स्वयंमा अझ बढी हराउँछ । गहिरा भावना र आफ्ना अतीतका केही ठोस स्मरणहरूको लालसामा असमर्थ, एक्लो बूढो मानिस मृत्युतिर अगाडि बढ्छ । ऊ सुनबाट नयाँ माछा बनाउन बन्द गरिदिन्छ, जुन उसको एक निरन्तर शोख थियो, र यसको सट्टा ऊ केही माछाहरू बनाउँछ र फेरि तिनीहरूलाई पगालेर फेरि शुरू गर्दछ । अन्तमा एक विहान ऊ मर्दछ ।
अध्याय चौध
कर्नेल ओरेलियानो बुएंडियाको शोखको क्रममा फर्नांडा डेल कार्पियोले ओरेलियानो सेगुंडोसँगै आफ्नो तेस्रो बच्ची अमरांता उर्सुलालाई जन्म दिन्छिन् । दोस्रो पुस्ताकी अन्तिम जीवित बुएंडिया बुजुर्ग अमरांता धेरै वर्षदेखि आफ्ना यादहरूमा हराएकी छिन् । अमरांता वर्तमानको तुलनामा आफ्नो एकान्तपन र पछुतोपनले भरिएको अतीतमा बढी बाँच्छिन् । आफ्नो मृत्युको पूर्वाभाससँगै उनी आफ्नो अन्तिम संस्कारको लागि कफन सिलाउन शुरु गर्छिन् । उनले त्यो काम समाप्त गरेपछि सम्पूर्ण शहरमा आफू साँझमा मर्नेछु भन्ने घोषणा गर्छिन्, र उनी जीवित मानिसहरूलाई मृतकहरूको लागि पत्र लिएर जाने आव्हान गर्छिन् । अन्ततः अझैसम्म कुमारी रहेकी उनी मर्छिन् । अमरांताको मृत्युपछि उर्सुला आफ्नो ओच्छ्यानमा जान्छिन् र कैयौं वर्षसम्म फेरि उठ्दिनन् । उनी प्रायः सानी अमरांतालाई भेट्न आउँछिन्, जससँग उनको एक प्रेमपूर्ण सम्बन्ध विकसित हुन्छ ।
ओरेलियानो सेगुंडो फर्नांडा डेल कार्पियोकी पहिली छोरी मेमे आफ्नो पिताजस्तै चंचल स्वभावकी छिन्, उनी केवल क्लेभिकोर्डमा रुचि देखाउँछिन्, जसलाई उनकी आमाले पढ्नको लागि बाध्य बनाउँछिन् । आफ्नो पितासँगै मेमेले साझा हित र फर्नांडाको लागि आपसी अरुचिको आधारमा एक संगति गर्छिन् । उनी केही अमेरिकी केटीहरूसँग मित्रता गर्छिन् र उनीहरूसँग घुलमिल हुन्छिन्, यहाँसम्म कि धेरथोर अंग्रेजी पनि सिक्छिन् । मेमे केराको बगानमा काम गर्ने मेकानिक मौरिसियो बेबिलोनियासँग प्रेम गर्न लाग्छिन् । उसले उनलाई ठाडै र लज्जाहीन तवरले प्रस्ताव गर्दछ र जसको खुलापनबाट मेमे मोहित हुन्छिन् । उसको पछाडि सँधै पहेंला पुतलीहरू रहन्छन् । फर्नांडाले उनीहरूलाई एक चलचित्र थिएटरमा चुम्बन गर्दै गरेको देख्छिन् र प्रेममा पागल मेमेलाई घरमा कैद गर्छिन् । मौरिसियो बेबिलोनिया हरेक रात मेमेसँग प्रेम गर्नको लागि घरमा पस्छ भन्ने कुरा थाहा पाएपछि उनले पछाडि एक गार्ड तैनाथ गर्छिन् । बेबिलोनिया एकपटक पुनः त्यहाँ आएको बेलामा गार्डले उसलाई गोली हान्छ, जसको कारण उसको मेरुदण्डको हड्डी भाँचिन्छ र ऊ जीवनभरीको लागि पक्षघातग्रस्त अवस्थामा हुन्छ ।
अध्याय पन्ध्र
मौरिसियो बेबिलोनियाको दुःखद पक्षघातले मेमेलाई आघात पुर्याउँदछ, जसको कारणले उनी लाटी हुन्छिन् । मेमेको व्यवहारबाट घायल फर्नांडाले उनलाई आफ्नो जन्म भएको शहरको लामो यात्रामा लैजान्छिन् । मेमेलाई एउटा मठमा राखिन्छ, जहाँ उनी आफ्नो बाँकी जीवन मौरेसियो बेबिलोनियाको बारेमा सोच्दै बिताउँछिन् । उनी आएको महिनौंपछि मठकी एक भिक्षुणी मेमेको एक अवैध बच्चासँगै बुएंडियाको घरमा आउँछिन्, जसको पिता मौरिसियो बेबिलोनिया हुन्छ । उसलाई फर्नांडाले कर्नेल ओरेलियानो बुएंडियाको पुरानो कार्यशालामा लुकाएर राख्छिन् । मेमेको कार्यबाट लज्जित भएर उनी देखावटी रूपमा यो बच्चा अनाथ हो भन्छिन् । उसको नाम ओरेलियानो (द्वितीय) हुन्छ ।
यस बीचमा ओरेलियानो सेगुंडोको लाटो र एक्लो भाइ जोस आर्केन्डियो सेगुंडो अमानवीय कार्य स्थितिको विरोधमा केरा बगानहरूमा श्रमिकहरूलाई हड्ताल गर्नको लागि संगठित गरिरहेको हुन्छ । म्याकोंडोलाई ‘मार्शल ल’ अन्तर्गत राखिन्छ, र श्रमिकले बगानमा तोडफोड गरेर जवाफ दिन्छन् । सरकारले तीन हजारभन्दा बढी श्रमिकहरूलाई प्रान्तको नेतृत्वसँगै बैठकको लागि आमन्त्रित गरेर प्रतिक्रिया दिन्छ र आफ्नो मतभेदलाई हल गर्छ । बैठक एक चाल हुन्छ, र सेनाले मेशिनगनसँगै श्रमिकहरूलाई घेर्दछन् ती सबैलाई मारिदिन्छन् । जोस आर्केडियो सेगुंडोलाई मृत ठानेर ट्रेनमा फ्याँकिन्छ, तर ऊ ट्रेनबाट हाम फालेर म्याकोंडो फर्किनमा सफल हुन्छ । त्यहाँ नरसंहारका सम्पूर्ण प्रमाणहरू मेटाइएका छन् भन्ने थाहा पाएर उसलाई डर लाग्छ – म्यकोंडोका मानिसहरू कसैलाई पनि के भएको थियो भन्ने स्मरण छैन, र जोस आर्केडियो सेगुंडोले उनीहरूलाई सम्पूर्ण कुरा बताउँदा पनि उनीहरु त्यसमाथि विश्वास गर्दैनन् । शहरमा लगातार भारी वर्षा हुन्छ र यो रोकिंदैन । यसबाट नरसंहारका सबै भौतिक प्रमाण नष्ट हुन्छन् ।
सेना र सरकारले कुनै पनि जीवित बचेका संघका नेताहरूलाई खत्तम गर्ने काम जारी राख्छ र नरसंहारका सबै रिपोर्टहरूको खण्डन गर्दछ । अन्तमा जोस आर्केडियो सेगुंडोलाई बुएंडिया घरमा भएको पत्ता लगाइन्छ, जहाँ ऊ मेलक्किएड्सको पुरानो कोठामा लुकेको हुन्छ । कोठामा हेर्दा सबै बुएंडिया बिल्कुल त्यस्तै लाग्छ, जस्तो कि मेलक्किएड्सको समयमा थियो, सैनिकहरूले केवल सडेको देख्छन्, मानौं कोठा धेरै पुरानो भएको होस् । उनीहरूले आर्केडियो सेगुंडोलाई सूचित गर्दैनन् । नरसंहारपछि बाहिरी संसारबाट भयभीत जोस आर्केडियो सेगुंडोले जिप्सीको पुरानो कोठामा शरण लिन्छ, ऊ मेलक्किएड्सले बुझ्न नसक्ने पाण्डुलिपिहरूको अध्ययन गर्छ । विस्तारै-विस्तारै ऊ बाहिरी संसारको लागि मृत हुन्छ र उसको ग्रसित मनले उसलाई मानसिक सन्तुलन गुमाउने स्थितिमा लैजान्छ । जोस आर्केडियो सेगुंडो केवल आफ्ना ग्रन्थहरूको अध्ययन र नरसंहारमा मारिएका तीन हजार मानिसहरूको स्मृतिलाई संरक्षित गर्नको लागि जिउँछ ।
अध्याय सोह्र
नरसंहारको रातबाट शुरू भएको वर्षा लगभग पाँच वर्षसम्म रोकिंदैन । वर्षाको कैदमा ओरेलियानो सेगुंडो एक शान्त वातावरणमा जान्छ, उसले आफ्ना शुरुवाती वर्षका व्यभिचारहरूलाई त्यागिदिन्छ । ऊ आफ्ना बच्चा, अमारांता उर्सुला र मेमेको अवैध छोरो ओरेलियानो (द्वितीय) को हेरविचार गर्न शुरु गर्दछ, जो अन्ततः त्यो कोठाबाट भागेको छ, जहाँ उसलाई फर्नांडा डेल कार्पियोले लुकाएकी थिइन् । उर्सुला ओच्छ्यानमा परेकी छिन्, धेरै बूढी र कम सुसंगत हुँदै गएकी छिन्, बच्चाहरूको लागि एक खेलौना बन्छिन्, जो उनीबाट आफ्ना पूर्वजहरूका कथा सिक्छन् । वर्षाले घरलाई खान्छ र ओरेलियानो सेगुंडोको विशाल सम्पत्तिलाई नष्ट गरिदिन्छ, किनकि पेट्रा कोट्ससँगै ऊद्वारा पालिएका सबै जनावर बाढीमा मर्दछन् । फर्नांडा स्वयंलाई टेलीप्याथिक डाक्टरहरूसँग सम्पर्क गर्नमा व्यस्त राख्छिन्, जसले उनको गर्भासयको बिमारी ठीक गर्ने कोशिस गरिरहेका छन्, र उनी आफ्नो पति ओरेलियानो सेगुंडोलाई दुःख दिएर भए पनि स्वयंलाई व्यस्त राख्छिन् । उसले अब आफ्नो स्वभाव गुमाउँछ र घरका मूल्यवान चीजहरूलाई फुटाउँछ । बदलामा ओरेलियानो सेगुंडो स्वयंलाई सुनका सिक्कामा भाग्य खोज्ने कोशिसमा व्यस्त राख्छ, जसलाई उर्सुलाले घरको पछाडि कतै लुकाएकी छिन् । अन्ततः वर्षाको अन्त्य भएपछि म्याकोंडोमा धेरै गिरावट आइसकेको हुन्छ । केराका बगान बगेका हुन्छन्, र शहर विस्मृतिमा गएको हुन्छ ।
अध्याय सत्र
वर्षाको अन्त्य सँगसँगै उर्सुला ओच्छ्यानबाट उठ्छिन् र बुएंडिया घरलाई फेरि बसाउने कोशिस गर्छिन् । उनले जोस आर्केडियो सेगुंडोको बारेमा पत्ता लाउँछिन्, जो वर्षौंदेखि आफ्नो कोठामा बन्द छ र जिप्सी मेलक्किएड्सका प्राचीन भविष्यवाणीहरूलाई बुझ्ने कोशिस गरिरहेको छ । ओरेलियनो सेगुंडो आफ्नी उपपत्नी पेट्रा कोट्सको घरमा फर्किंदा उसले आफ्ना सबै जनावर मरेको पाउँछ र उनीहरू आफ्ना आवश्यकताहरूलाई पूरा गर्न पहिलेभन्दा धेरै बढी संघर्ष गर्न बाध्य हुन्छन् । तिनीहरूका पार्टी अब पुराना उत्सवका सामान्य कार्यहरू मात्र छन्, तर तिनीहरू पहिलेकै जस्तै खुशी छन्, एक पटक पुनः एक-अर्कोको प्रेममा पागल भइरहेका छन् । ओरेलियानो सेगुंडोलाई उसले बच्चाहरूसँग कम समय बिताइहेको जस्तो लाग्छ । ओरेलियानो (द्वितीय) परिवारको अग्लो, पातलो र एकान्तप्रेमी ओरेलियानोस जस्तै हुन्छ । उर्सुला आफ्नो अतीतमा जान्छिन् । अन्ततः १२० वर्षभन्दा बढी उमेरमा उनको मृत्यु हुन्छ । यस क्रममा जोस आर्केडियोकी विधुवा रेबेकाको पनि मृत्यु हुन्छ ।
शहरमा नारकीय गर्मीको लहर आउँछ र शहरवासीहरू आफूलाई पिरोलिएको महसुस गर्छन् । पक्षीहरूका समूह मर्दछन् र भट्किंदै गरेको यहूदी, एक विचित्र अर्ध-मानव प्राणी सडकमा पाइन्छ । शहरले टुटफुट भएको र परित्यक्त महसुस गर्छ र यो आफ्ना पूर्व-समृद्धिका स्मरणहरले भरिन्छ । यो गरीबीको बीचमा ओरेलियानो सेगुंडो अमरांता उर्सुलालाई उनको शिक्षाको लागि युरोप पठाउनको लागि पैसा जम्मा गर्नमा लाग्छ, तर विगतका वर्षहरूको जस्तो उसको महान शक्तिले उसलाई छोडिसकेको छ, र ऊ मरिरहेको छ । जोस आर्केडियो सेगुंडो पनि आफ्ना अन्तिम दिनमा बाँचिरहेको छ, र ऊ अन्ततः मेक्किएड्सका भविष्यवाणीहरूलाई बुझ्न र ओरेलियानो (द्वितीय) लाई भविष्यवाणीको ज्ञान तथा म्याकोंडोको इतिहासको खोजलाई आरम्भ गराउनमा प्रगति गरिरहेको छ । अन्तमा ओरेलियानो सेगुंडो अमरांता उर्सुलालाई ब्रसेल्स पठाउन सफल हुन्छ । आफ्नो कार्य पूरा गरेपछि आफ्नो जुम्ल्याहा भाइ जोस आर्केडियो सेगुंडोसँगै त्यही बेला मर्दछ, जसका अन्तिम शब्दले ओरेलियानो (द्वितीय) लाई हड्ताल गर्ने श्रमिकका लगभग भुलिएको नरसंहारको बारेमा स्मरण गराउँदछन् । दाहसंस्कारको भ्रममा ओरेलियानो सेगुंडो र जोस आर्केडियो सेगुंडोका कफन आपसमा मिसिन्छन् र दुवैलाई एक-अर्कोको चिहानमा दबाइन्छ ।
अध्याय अठार
ओरेलियानो (द्वितीय) मेलक्किएड्सको पुरानो प्रयोगशालामा बस्छ, जहाँ कहिलेकाहीँ जिप्सीको भूत पनि आउँछ । त्यसले उसलाई सूत्र दिन्छ र अन्ततः भविष्यवाणीहरूलाई बुझ्नमा उसलाई मद्दत गर्दछ । ओरेलियानोलाई के थाहा हुन्छ भने भविष्यवाणीहरू संस्कृतमा लेखिएका छन् र तिनीहरूलाई सय वर्ष भएपछि बुझ्न सकिन्छ । बुएंडिया परिवार गरीब भएको छ तर ओरेलियानो सेगुंडोकी पुरानी उपपत्नी पेट्रा कोट्सद्वारा पठाइएको खानाबाट उनीहरूको भरणपोषण हुन्छ । आर्केडियोकी लगभग अदृश्य विधुवा सांता सोफिया डे ला पियादादले अन्ततः परिवारलाई छोडिदिन्छन् र आधा शताब्दीसम्म धैर्यपूर्वक हेरविचार गरेपछि उनी कहाँ गइरहेकी छिन् भन्ने कुनै वास्तविक संकेतबिना नै हिड्छिन् । केही समयपछि आफ्नो भाग्यमा विलाप गर्न र युरोपमा आफ्ना बच्चाहरूलाई पत्र लेख्नुको अतिरिक्त केही गर्न नसक्ने फर्नांडा डेल कार्पियो पुराना स्मरणमा हराएर मर्छिन् ।
फर्नांडाको मृत्युको केही महिनापछि उनको छोरो जोस आर्केडियो (द्वितीय) म्याकोंडो फर्किन्छ । ऊ एक एक्लो र भ्रष्ट व्यक्ति बनेको छ । के थाहा हुन्छ भने ऊ सेमीनारीमा अध्ययन गरिरहेको थिएन, बरु सम्पत्तिको ठूलो हिस्सा उत्तराधिकारमा पाउने आशा गरिरहेको थियो । ऊ पुरानो जीर्ण अवस्थामा रहेको घरमा फस्यो, ऊसँग आफ्ना स्मरण र भव्यताको भ्रमको अतिरिक्त केही पनि बचेन । उसले उर्सुला इगुआरनद्वारा ओच्छ्यान मुनि लुकाएको सुनको बारेमा थाहा पाएपछि ऊ व्यभिचारमा पर्नजान्छ, र शहरका किशोरहरूसँग मोजमस्तीका लामा रातहरू बिताउँछ । आफ्नो एक्लोपनमा ऊ एकान्तमय ओरेलियानो (द्वितीय) सँग मित्रता कायम गर्न शुरु गर्छ, जो ज्ञानको खोजमा प्रगति गरिरहेको छ । कर्नेल ओरेलियानो बुएंडियाको अन्तिम बचेको छोरोसँग दुवै बुएंडियाले भेट गर्छन्, जसलाई आफ्ना सोह्र भाइहरू जसरी नै बुएंडियाको घरको सामुन्ने उभिंदा पुलिसले गोली हान्छ । जोस आर्केडियो (द्वितीय) ले एक पटक पार्टीमा सँगै उत्सव मनाएका चार बच्चालाई नुहाएको बेलामा हत्या गरेर सुन चोरेपछि ओरेलियानो (द्वितीय) र आर्केडियो (द्वितीय) को विकसित भइरहेको सम्बन्ध भंग हुन्छ ।
अध्याय उन्नाइस
अमरांता उर्सुला युरोपबाट आफ्नो पति गेस्टनलाई सँगै लिएर म्याकोंडो फर्किन्छिन् । उनको पति उनीसँगै म्याकोंडो जान्छ, तर उसलाई के थाहा हुन्छ भने आफ्नो गृहनगरको लागि उनको प्रेम एक उदासीन सपना हो – ऊर्जाशील र दृढ निश्चयी उनी घर र शहरलाई पुनर्जीवित गर्न चाहन्छिन् तर म्याकोंडोको पतन अपरिवर्तनीय छ । ओरेलियानो (द्वितीय) दुर्दशाले ग्रस्त शहरमा घुम्ने क्रममा उसलाई लगभग कसैले पनि बुएंडिया परिवारलाई याद गर्दैन भन्ने कुरा थाहा हुन्छ, जुन कुनै बेला गाउँको सबभन्दा उल्लेखनीय परिवार थियो । अनाचरपूर्ण प्रेमतर्फ परिवारको प्रवृत्तिको अनुशरण गर्दै ओरेलियानो (द्वितीय) अमरांता उर्सुलासँग प्रेम गर्न लाग्छ । उसले एक बुद्धिमान क्याटालोनियन पुस्तक बिक्रेतासँग आफ्नो मित्रताबाट र पुस्तक पशलमा भेटिएका चार युवा विद्वानहरूबाट आफ्नो अप्रतिफल प्रेमको लागि आंशिक सान्त्वना पाउँदछ । साथमा विद्वान म्याकोंडोका तल्लो स्तरमा घुम्छन् र वेश्यालय तथा बारमा जान्छन् । एक वेश्यालयमा ओरेलियानो (द्वितीय) लाई उसकी बिर्सिएकी जिजुआमा प्राचीन पिलर टेरनेराबाट सान्त्वना प्राप्त हुन्छ, जसले उसलाई आफ्नो विश्वसनीय बुद्धि र अन्तर्ज्ञान प्रदान गर्छिन् । उसले निग्रोमांता नामक एक अश्वेत वेश्यालाई प्रेमीको रूपमा पनि लिन्छ । म्याकोंडोमा उदास भइसकेको गेस्टन ल्याटिन अमेरिकामा एक एयरमेल सेवा स्थापित गर्ने आफ्नो सपनामा व्यस्त हुन्छ । गेस्टन व्यस्त भएको बेलामा ओरेलियानो (द्वितीय) ले अमरांता उर्सुलाको लागि आफ्नो प्रेमलाई स्वीकार गर्ने अवसरको रूपमा लिन्छ । अन्ततः उनले मान्छिन् र उनीहरू प्रेमी बन्छन् ।
अध्याय बीस
गेस्टन आफ्नो व्यापारिक योजनालाई अगाडि बढाउनको लागि बेल्जियम जान्छ । उसले आफ्नी पत्नीको प्रेम-सम्बन्धको बारेमा थाहा पाएपछि ऊ फर्किंदैन । सबभन्दा पहिले क्याटेलोनियन र त्यसपछि ओरेलियानो (द्वितीय) का चार विद्वान मित्रले म्याकोंडोलाई छोडिदिन्छन्, जुन अब आफ्नो शान्त मृत्युको पीडामा रहेको बन्द शहर हो । म्यकोंडोको एकान्तको बीचमा ओरेलियानो (द्वितीय) र अमरांता उर्सुलको बीचमा प्रेम-सम्बन्ध जारी रहन्छ, जुन उग्र र खुशीपूर्वक अगाडि बढ्छ । बुएंडिया घर पूर्ण रूपले जीर्ण भएको हुन्छ, जोडीको अनियन्त्रित प्रेम-सम्बन्ध हरेक ठाउँमा समूहमा रहने राता कमिलाहरूद्वारा नष्ट गरिन्छ । परिवारमा कुलमाता उर्सुला इगुआरनलाई भएको अनाचारको खतराको बारेमा पुरानो डरको पूर्ति स्वरूप प्रेमीहरुको बच्चा सुँगुरको पुच्छरसँगै जन्मिन्छ, जसको नाम ओरेलियानो (तृतीय) राखिन्छ पनि । बच्चालाई जन्म दिएपछि अमरांता उर्सुलाको अनियन्त्रित रूपले रगत बग्न लाग्छ र छिट्टै उनको मृत्यु हुन्छ । ओरेलियानो (द्वितीय) निग्रोमांटाको बाहुमा र मदिरामा आरामको खोजी गर्छ, तर उसले त्यो नवजात शिशुको बारेमा भुल्छ । उसलाई लाश प्राप्त हुँदा कमिलाहरूले त्यसमाथि भोजन गरिरहेका हुन्छन् । अब उसलाई बुएंडिया परिवारको वंशावली समाप्त भएको महसुस हुन्छ । उसले स्वयंलाई घरमा बन्द गर्दछ र अन्ततः मेलक्किएड्सको प्राचीन भविष्यवाणीहरूलाई बुझ्नमा सक्षम हुन्छ । तिनीहरू म्याकोंडोको स्थापनाको समयदेखि बुएंडिया परिवारको सम्पूर्ण इतिहासको वर्णन हुन् । पढ्दै जाँदा उसलाई के थाहा हुन्छ भने पाठले त्यही क्षण उसको आफ्नो जीवनलाई प्रतिबिम्बित गरिरहेको छ, पढ्दै गर्दा उसको पढ्ने कार्यको वर्णन गरिरहेको छ । र, उसको चारैतिर एक सर्वनाशकारी हावा घुमिरहेको छ, जसले शहरलाई त्यसको जगबाट उखेलिरहेको छ, त्यसलाई स्मृतिबाट मेटाइरहेको छ ।
सन्दर्भ स्रोत
1. ONE HUNDRED YEARS OF SOLITUDE, GABRIEL GARCIA MARQUES, TRANSLATED FROM THE SPANISH BY GREGORY RABASSA, Published by arrangement with Harper & Row, Publishers, Inc.
2. गैब्रियल गार्सिया मार्खेज, एकान्त के सौ वर्ष, हिन्दी संस्करण, अनुवाद – मनिषा तनेजा, राजकमल प्रकाशन
3. https://ia803406.us.archive.org/32/items/OneHundredYearsOfSolitude_201710/One_Hundred_Years_of_Solitude.pdf
4. Study and Research of various website and blogs



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









