बाओ निन्हद्वारा लिखित ‘युद्धको दुःख’ (The Sorrow of War) उपन्यासले अमेरिकी सैनिकहरूद्वारा भियतनामीहरूमाथि गरेको यातनालाई दर्शाउँदछ । बाओ निन्हको जन्म १८ अक्टुबर १९५२ मा भएको थियो र उनको वास्तविक नाम होआं उ फोंग हो । उनी भियतनामी उपन्यासकार, कथाकार र लघुकथाकार हुन् । लेखक भियतनाम युद्धमा सामेल भएका थिए र युद्धमा बाँचेका धेरै कम मान्छेमध्येमा उनी एक थिए ।
युद्धको दुःख उपन्यास सन् १९९४ मा लेखिएको थियो । यसमा मुख्यगरी युद्धपछिको स्मृति, मूल्यको पुनर्मूल्याङ्कन र समाजको विषय उल्लेख गरिएको छ । यो उपन्यासले भियतनामीहरूको दुर्दशा र युद्धको कारण उत्पन्न भएको कठिनाइहरूको स्पष्ट विवरण दिएको छ । यो एक भियतनामी सैन्य अनुभवी दृष्टिकोण हो । यो उपन्यासमा भियतनामीहरूको अत्याधिक पीडा र हानिलाई अनुभव गर्ने संघर्षको पक्ष देखाइएको छ ।
यो उपन्यासमा किएनको युद्ध अनुभवलाई देखाइएको छ । युद्धको अनुभवको बारेमा उसको बुझाई बाँकी भियतनामी समाजको धेरै निकट छ । किएनले सन् १९७५ को युद्धपछि बेपत्ता कार्वाही अवशेष जम्मा गर्ने समूहको लागि लाश जम्मा गर्दछ । ऊ अधिकांश सयम युद्धमा भएको ठाउँमा फर्किएर आउँछ । उसले अलग-अलग धेरै दर्दनाक भिडन्तहरूको पनि नेतृत्व गरेको थियो र ती युद्ध कहिल्यै लडाइँमा भाग नलिएकाहरूका लागि धेरै अकल्पनीय थिए ।
किएनको युद्धका स्मरण धेरै ज्वलन्त हुन्छन् र तिनीहरूले ती स्थानमा लिएर जान्छन्, जसबाट पुनः युद्धको अनुभव हुन्छ । यिनीहरूले युद्धको क्रममा हुने दुःख र पीडालाई महसूस गराउँदछन् । के मानिन्छ भने, यी स्मरणहरूले उसको हृदयको आघातलाई ठीक गर्नेछन्, तर यो एक युद्धको अनुस्मारक हो कि, ऊ जीवित रहुन्जेलसम्म उसले युद्धको अनुभव गर्नेछ र स्मरण गर्नेछ ।
हत्या, बलात्कार र मृत्युका दृश्य भएको युद्धलाई कथामा स्पप्ट रूपले चित्रण गरिएको छ। किएनको दृष्टिकोण भियतनाम युद्धको क्रममा एउटा सैनिकको दृष्टिकोण समान हुन्छ । भियतनाममा अपनाइएको रणनीति स्थितिको वास्तविकतामा अनुरूप थिएन । वास्तवमा संयुक्त राज्य अमेरिकासँग कुनै पनि देशको तुलनामा अत्यन्तै शक्तिशाली हतियार र युद्धसामग्री थिए तर यी सम्पूर्ण हतियार र युद्ध सामग्री परम्परागत रणनीति अपनाउने अनियमित सेनाको विरूद्ध निरर्थक थिए।
भियतनाम युद्धको कारण आंशिक रूपमा भियतनाम सरकारमाथि हस्तक्षेप गर्ने संयुक्त राज्य अमेरिकाकाको नीति नै हो । सन् १९६७ र १९६८ मा भएको भियतनाम युद्धले देशलाई ध्रुवीकृत गरिदियो । सन् १९६६ र १९६७ को क्रममा भियतनाम दुवै पक्षको लागि युद्धको नरक बन्यो। सन् १९६८ सम्म भियतनाम युद्ध सबभन्दा लामो युद्ध बनेको थियो, जसमा अमेरिका सामेल थियो । हरेक मुख्य अमेरिकी विश्वविद्यलाय परिसरमा सक्रिय युद्धविरोधी प्रदर्शनकारीहरूले ड्राफ्ट कार्ड र अमेरिकन झण्डा जलाएका थिए ।
जनवरी १९६८ मा भियतनामको कम्युनिष्ट शक्तिले अमेरिकी बेसक्याम्प र दक्षिण भियतनामी शहर तथा गाउँहरूमा भयङ्कर आक्रमण गरेको थियो । किएनको वर्तमानमा उसका विगत दिनका स्मरण सामेल हुन्छन् । यी उसका जरा हुन् । परिस्थिति जतिसुकै कठिन भए पनि ऊ त्यहाँबाट मिलेका शिक्षा र त्यहाँ पाइने असल भावनाहरूबाट आकर्षित हुन्छ ।
वर्तमानमा किएनको जीवनस्तरमा भविष्यका असल दिनको लागि चीजहरूलाई स्थापित गर्ने कुरा सामेल छ । त्यसबेला अमेरिकीहरूलाई युद्धको प्रकृतिको जानकारी थिएन र उनीहरू भियतमिन्हको विरूद्धमा लड्नको लागि कुनै रणनीतिक योजनाबाट लैस थिएनन् । मुख्य कुरा के थियो भने अमेरिकी सेनासँग धेरै वर्ष युद्ध लड्ने अनुभव नै थिएन । अमेरिकीहरूले हमेशा विगतका युद्धबाट जसरी विजय हासिल गरेका थिए, त्यसरी नै भियतनामीहरूलाई पनि जित्नेछन् भन्ने ठाने । तर भियतनामको स्थिति आश्चर्यचकित बनाउने खालको थियो ।
उत्तर भियतनामलाई दबाउने कुरा अमेरकी सैन्य अनुभवभन्दा परको कुरा थियो । भियतनाम युद्धमा अमेरिकाको सहभागिता सैन्य अनुभवको लामो अनुभवको परिणाम थियो । यसले उनीहरूलाई यो युद्ध अरू युद्ध जस्तो थिएन भन्ने कुरा मान्न विवश बनाइदिएको थियो । आफ्ना गल्तीहरूलाई स्वीकार गर्ने प्रयासबिना र उनीहरूको वर्षौंको साम्राज्यवादी प्रयासहरूको परिणाम थियो भन्ने कुराको पहिचान नगरीकन नै भियतनाम युद्ध सदैव कयौं अमेरिकीहरूको लागि एक रहस्य जस्तै बनेर रह्यो ।
किएनको लागि स्मृति, अतीत र शब्दहरूको सन्दर्भमा हरेक चीजलाई बुझ्ने कोशिश गर्ने कुरा उसको जीवनको अधिकांश समयको लागि मार्गदर्शक पुस्तक बनिरहन्छ । किएनको वर्तमान क्षण उसको अतीत र भविष्यको केन्द्रबिन्दु हो । यो घटित भएका सबै कुराको अभिव्यक्ति हो र त्यो स्थान हो, जहाँ कसैले ऊर्जा लगाउनु हुन्छ ताकि जे हुनेछ, त्यसलाई प्रभावित गर्न सकियोस् । हिजोका उसका कयौं स्मरणहरू भोलिका बारेमा थिए।
किएनको लागि यसलाई स्मरण गर्ने र यसलाई अगाडि ल्याउने कुरा महत्त्वपूर्ण थियो किनभने यस सम्बन्धमा कसैले पनि प्रायः सजिलैसँग स्वयंलाई अतीतमा बन्द गर्न सक्छ । किएनको वर्तमान परिस्थितिलाई हेर्दा संघर्षको विरूद्ध लोकप्रिय भावनामा असन्तोष बढिरहन्छ । जतिसुकै धूमिल भए पनि किएनका स्मरणले उसलाई अझ बढी सार्थक जीवन जिउनको लागि प्रेरित गर्दथे । उसले वर्तमान क्षणको महत्त्वलाई महसूस गर्दा सबभन्दा बढी जीवन्त हुन्छ । यद्यपि के कुरा स्मरण गर्नु महत्त्वपूर्ण थियो भने जब ऊ हिजो र भोलिमा हराउँछ, तब यसको अन्ततः उसको आजमाथि असर पर्नेछ ।
‘द सरो अफ वार’ युद्धको पीडालाई व्यक्तिगत र समष्टिगत रूपमा उजागर गर्ने एक मौलिक कृति हो । यसले युद्धको नकारात्मकता मात्र नभई युद्धपछिको समाज र स्मृतिको जटिलतालाई पनि समेटेको छ। यसको शैली संवेदनशील र अत्यन्तै प्रभावकारी छ, जसले पाठकलाई युद्धको यथार्थताको नजिक पुर्याउँछ। यो उपन्यासले भियतनामी जनताको एउटा सांस्कृतिक आवाजको रूपमा पनि काम गर्छ, जसले युद्धका अनुचित पक्षहरूलाई विश्वसामु ल्याउँछ।
उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा
यो उपन्यास उत्तर भियतनामी सैनिक कियनका सन् १९६० र ७० को दशकको भियतनाम युद्धभन्दा पहिले, युद्धको क्रम र पछिका अनुभवहरूको कथा हो । यो पुस्तक भावनात्मक रूपले आहत मनको एक गहन, ज्वलन्त र सहानुभूतिपूर्ण चित्रण हो । यो पुस्तक चेतनाको एक धाराको शैलीमा लेखिएको छ । यसमा हालका घटनाहरू र सुदूर अतीत दुवैको वर्णनसँगै कथाकालमा बदलाव सामेल छ । पुस्तकको प्राथमिक विषयमा युद्धको कारण हुने पीडाको खोज र मानवीय सम्पर्कको संक्षिप्त अनुभव सामेल छ, जसले त्यो पीडाबाट पार पाउने आशा दिन्छ । यसमा युद्धको दुःख, युद्धको समय र त्यसपछिका वर्षहरूमा एक युवक किएनका अनुवभवहरूको विवरण उल्लेखित छ ।
उपन्यासको मुख्य पात्र किएन एक भियतनामी सैनिक हो । ऊ कम्युनिष्टको तर्फबाट भियतनामको गठबन्धनबाट लड्नको लागि युद्धमा प्रवेश गर्दछ । सम्पूर्ण उपन्यासमा किएनको उत्साह र आफ्नो देशको लागि लड्ने इच्छा, भविष्यको बारेमा उसको सपना, आफ्नो समाजको नाममा जित्ने उसको इच्छा र आकांक्षालाई महसूस गर्न पाइन्छ । युद्धभन्दा पहिले किएनको जीवनमा सबै कुरा थियो, घरपरिवार, सबभन्दा बढी माया गर्ने प्रेमिका थिइन्, तर युद्धले उसको जीवनमा दुर्भाग्य लिएर आयो । युद्ध समाप्त भएपछि उसले स्वयंलाई सोध्यो, के मैले वास्तवमा युद्ध जितेँ त ? स्मृति किएनको निरन्तर साथी हुन्छ, किनभने सबै चीजमाथि नियन्त्रण प्राप्त गर्ने युद्धका घटनाहरू उसको दिमागमा छन् ।
उपन्यासले शुरूमा अतीतका घटनाहरूको बारेमा वर्णन गर्दछ र युद्धको समाप्तिपछिका महिनामा लाश सङ्कलन समूहमा किएनका अनुभवहरूको वर्णन गर्दछ । जङ्गलको वायुमण्डलीय विवरण सुदूर अतीतका उसका स्मरणहरू, विशेष रूपले युद्धमा रक्तपात र बलिदानका उसका अनुभवहरूसँग जोडिएका हुन्छन् । यी अनुभव उसका बालककालका साथी र प्रेमिका फुओंगको आदर्श स्मरणहरूसँग पनि जोडिएका हुन्छन्।
अन्ततः उपन्यासको कथाले युद्धपछिको वर्तमानमा पनि जोड दिएको छ। किएन हुर्किएको हनोई शहरमा आफ्नो जीवन र व्यक्तिगत पहिचानको पुनर्निर्माणको लागि संघर्ष गरिरहेको हुन्छ । उपन्यासको कथा सुदूर अतीत, निकट अतीत र वर्तमानको बीचमा अगाडि-पछाडि भइरहन्छ, किनभने कियनलाई युद्धका अनुभव, फुओंगसँग उसको सम्बन्ध र आफ्नो अतीतलाई पछाडि छोडेर आफ्नो जीवनसँगै अगाडि बढ्ने प्रयाससँग जोडिएका स्मृति र भावनाहरूको अनुभव हुन्छ ।
युद्धको आघात र फुओंगसँग आफ्नो सम्बन्धको समाप्ति दुवैसँग संघर्ष गर्ने प्रयासमा किएनमा मदिरा र सिगरेटको नशा बस्दछ । यसको साथै ऊ एकप्रकारले संस्मरण लेख्नमा गहन रूपले व्यस्त हुन्छ । किएनलाई युद्धमा आफ्नो अनुभव अभिलेखीकरण गर्ने जोश पैदा हुन्छ। कहिलेकाहीँ ऊ आफ्ना स्मरण र भावनहरूलाई एक पाण्डुलिपिमा लेख्नको लागि पूरै रात जागिरहन्छ ।
किएनले एपार्टमेन्टको माथिल्लो तलामा रहने एउटी लाटी केटीको पाण्डुलिपिका पन्ना पढ्यो, जहाँ कुनै बेला उसका चित्रकार पिता बस्थे । आफ्नो हिस्साको लागि लाटी केटी किएनप्रति अनुरक्त हुन्छिन्, त्यसपछि पाण्डुलिपिका प्रायः भुलिएका पन्नाहरूलाई सङ्कलन गर्छिन्, तिनीहरूलाई कुनै प्रकारले क्रममा राख्छिन्, र स्वयंलाई भावनात्मक भेद्यता र यौन आवश्यकताको नशामा चुर भएको क्षणमा किएनलाई यौन रूपमा प्रयोग गर्ने अनुमति दिन्छिन् । अन्ततः किएन फुओंगबाट अलग हुन्छ, जुन उसको वेश्यावृत्ति -परिभाषित विगतलाई स्वीकार्नमा असमर्थता र उसको आदर्श र अपेक्षामा खरो उत्रिनमा असमर्थताको कारण शुरू भयो ।
यही बीचमा उपन्यासमा वर्तमानको आघात र पीडाको अतीतसँग जोडिएका किएनका युद्धका अनुभवहरूको विवरण दिइएको छ । यसमा अरुद्वारा गरिएको लगातार बलिदान सामेल छ, यसकारणले ऊ र अन्य साथीहरू जीवित रहेका हुन्छन् । यहाँ आफ्ना साथी सैनिक हिएन र साहसी मार्गदर्शक होआसहित अन्य महिलाहरूसँग मुठभेड तथा एउटा साथी केनले सेना छोडेको र आफ्नी आमासँग खेतमा शान्त जीवनमा फर्किने दुर्भाग्यपूर्ण निर्णय सामेल छ । यहाँ उत्कृष्ट आशा र मानवताका झलकहरू पनि छन्, विशेषगरी किएन र केही उत्तरी भियतनामी कमरेडहरू र एक दक्षिण भियतनामी परिवारको बीचमा मुडभेडमा उनीहरूबीच दुश्मनी हुनुपर्नेमा यसको सट्टा उनीहरू दयालु पाहुना सावित हुन्छन् ।
उपन्यास चरमोत्कर्षमा पुग्दै जाँदा यसको समानान्तर अतीत र वर्तमान कथारेखाहरू एक हुन्छन् । अतीतमा किएन फुओंगमाथि बलात्कार भइरहेको देख्दछ, जो पुनः वास्तवमा उसको आँखाको सामु यस्ती महिलामा बदलिन्छिन्, जसको कामुकता ऊ जीवित रहने साधन हुन्छ । यसको साथै ऊ युद्धमा आफ्नो पहिलो व्यक्तिगत हत्या गर्दछ । वर्तमानमा किएनका स्मरण र पश्चाताप उसको पाण्डुलिपि लेख्ने उपचार प्रक्रियाबाट पनि अगाडि जान्छ र त्यो बेपत्ता हुन्छ । उपन्यासको अन्तिम पृष्ठमा कथावाचकको बारेमा थाहा हुन्छ। कथाको दृष्टिकोण किएनको छिमेकीको हुन्छ, जसले लाटी केटीबाट प्राप्त पाण्डुलिपिलाई अरुको लागि सुलभ ढङ्गले उपलब्ध गराउन सुसङ्गत रूपमा राख्ने प्रयास गरेको हुन्छ।
सन्दर्भ स्रोत
1. The sorrow of war : a novel of North Vietnam by Bàao Ninh, Pantheon Books
2. https://www.litcharts.com/lit/the-sorrow-of-war/themes
3. https://ivypanda.com/essays/the-sorrow-of-war-by-bao-ninh-memory-as-a-central-idea/
4. https://bythefirelight.com/2018/02/15/the-sorrow-of-war-by-bao-ninh-a-review/
5. https://janataweekly.org/the-sorrow-of-war-the-long-silence-of-bao-ninh/
6. Study and Research of various websites, blogs, online portals, youtube channesl, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
ज्ञान, आनन्द र साधनाको सम्मिश्रण भएको विश्वप्रसिद्ध उपन्यास ‘सिद्धार्थ’
अस्तित्ववादी र निरर्थकतावादी साहित्यको एक उत्कृष्ट उपन्यास ‘द स्ट्रेन्जर’
एक्लोपन र अन्तर्द्वन्द्वको गहन दार्शनिक आत्म-स्वीकृति ‘नोट्स फर्म अन्डरग्राउण्ड’
३ चैत्र २०८२, मंगलवार 






