‘द पिक्चर अफ डोरिएन ग्रे’ ओस्कार वाइल्ड (१६ अक्टोबर १८५४-३० नोभेम्बर १९००) द्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो । ओस्कार वाइल्ड प्रसिद्ध नाटककार, कवि, उपन्यासकार र लघुकथाकार थिए । उन्नाइसौं शताब्दीको अन्तिम दशकमा उनी सौन्दर्यवादी आन्दोलनको प्रमुख नेता थिए र आफ्नो बौद्धिकतापूर्ण, कल्पनाशील तथा प्रखर विचारको लागि प्रसिद्ध थिए । उनले अङ्ग्रेजी साहित्यलाई नयाँ दिशा दिए र शेक्सपियरपछि चर्चित साहित्यकार मानिए । उनको व्यक्तित्व र जीवन पनि उनको उपन्यास जस्तै चमकदार, विडम्बनापूर्ण र अन्ततः त्रासदीपूर्ण थियो । उनको खास नाम ओस्कार फिङ्गल ओ’फ्लाहर्टी विल्स वाइल्ड थियो । उनी लेखक मात्र नभएर एक सास्कृतिक मानक थिए । उनको जीवन र कार्य सौन्दर्यवादी दर्शन, भिक्टोरियन युगका कुण्ठाहरूको विद्रोह र अन्ततः एक क्रूर नैतिकतावादी समाजद्वारा तिनीहरूको विनाशको कथा हो ।

वाइल्डको जन्म आयरल्याण्डको डबिलनमा भएको थियो । उनका पितार सर विलियम वाइल्ड एक प्रसिद्ध चिकित्सक र पुरातत्त्वशास्त्री थिए । उनी आमा फ्रान्सेस्का वाइल्ड एक कवयित्री र नारीवादी लेखिका थिइन् । यो बौद्धिक वातावरणले उनको रचनात्मकतालाई प्रारम्भिक रूपमा नै पोषित गरिदिएको थियो । उनले डबलिनको ट्रिनिटी कलेज र अक्सफोर्डको मेग्डालेन कलेजमा शिक्षा प्राप्त गरे । अक्सफोर्डमा उनी वाल्टर पेटर र जोन रस्किन जस्ता विद्वानहरूबाट प्रभावित भए, जसले ‘कलाको लागि कला’ को सिद्धान्तलाई बढावा दिए । यही दर्शनलाई वाइल्डले आफ्नो जीवन र लेखन दुवैमा अपनाए ।

सन् १८७० र १८८० को दशकमा वाइल्डले आफूलाई सौन्दर्यवादी आन्दोलनका जीवन्त प्रतीक बनाए । उनी चतुर, स्मरणीय र विडम्बनापूर्ण कथनका लागि प्रसिद्ध थिए । लण्डनको सामाजिक गतिविधिमा उनको उपस्थिति सनसनीपूर्ण हुन्थ्यो, किनकि मानिस उनको तीक्ष्ण बौद्धिकता र हास्यको आनन्द लिनको लागि जम्मा हुन्थे । सन् १८८२ मा उनले अमेरिकाको एउटा अत्यन्त सफल भाषणयात्रा गरे, जहाँ उनले सौन्दर्यवादको प्रचार गरे ।

वाइल्डले साहित्यको लगभग हरेक विधामा काम गरे । सन् १८९० मा प्रकाशित ‘द पिक्चर अफ डोरिएन ग्रे’ उनको एकमात्र उपन्यास हो, जुन एक दार्शनिक गोथिक साहित्य (प्रायः भय, रहस्य, अन्धकार, अतिप्राकृतिक तत्त्व तथा मनोवैज्ञानिक द्वन्द्वले भरिएको अठारौं शताब्दीदेखि सुरु भएको एउटा साहित्यिक शैली) कथाको रूपमा शुरु भयो र एक शास्त्रीय साहित्यिक कृति बन्यो । उनलाई सबभन्दा ठूलो सफलता नाटकबाट प्राप्त भयो, जुन आज पनि खेलिन्छन् । उनले ‘लेडी विन्डरमेरेज फ्यान’ (१८९२), ‘ए ओमेन अफ नो इम्पोर्टेन्स’ (१८९३), ‘एन आइडल हस्बेन्ड’ (१८९५), ‘द इम्पोर्टेन्स अफ बिङ अर्नेस्ट’ (१८९५) आदि जस्ता धेरै नाटक लेखे । उनले सन् १८८८ मा ‘द ह्याप्पी प्रिन्स एण्ड अदर टेल्स’ लेखे ।

बच्चाहरूको लागि लेखिएको यो कथासङ्ग्रह भावुकता र नैतिक शिक्षाले भरिएको छ । उनले सन् १८९८ मा ‘द ब्यालेड अफ रिडिङ गोल’ नामक कविता लेखे । यसमा उनले जेलको व्यवस्थाको क्रूरता र मानवीय पीडाको एक मार्मिक टिप्पणी गरेका छन् । उनको जीवन असामान्य थियो । सामाजिक र नैतिक मान्यताको टकरावको कारण उनले सन् १८९५ मा कठोर जेल सजाय भोग्नुपर्यो । जेलबाट मुक्त भएर उनी पेरिस गए र त्यही उनको छयालीस वर्षको उमेरमा मृत्यु भयो ।

वाइल्ड आधुनिकतावाद र उत्तर-आधुनिकतावादका अग्रणीमध्ये एक हुन् । उनको विडम्बना, शाब्दिक खेल, हास्य र सामाजिक आलोचना आज पनि प्रासङ्गिक छन् । वाइल्ड यस्ता सर्जक थिए, जसले आफ्नो जीवनलाई पनि कलाकृतिको रूपमा बिताए । उनको त्रासदी के हो भने जुन समाजले उनको बौद्धिकता र कलाको मनोरञ्जन लियो, त्यही समाजले उनको वास्तविकतालाई स्वीकार गरेन र उनलाई नष्ट बनाइदियो । तर पनि उनका शब्द र विचार उनको मृत्युपछि पनि जीवित रहे, जुन उनको वास्तविक अमरताको प्रतीक हो ।

‘द पिक्चर अप डोरिएन ग्रे’ उपन्यासमा ओस्कर वाइल्डले धेरै नै कलात्मक ढङ्गले मानिसको अन्तस्थल र बाह्य स्थितिको अन्योन्याश्रित सम्बन्ध प्रदर्शित गरेका छन् । यो उपन्यासमा सुन्दरतालाई नैतिकताभन्दा बढी महत्त्व दिंदा, आत्माको आवाजलाई बेवास्ता गरी केवल इच्छाको पछाडि भाग्दा त्यसको परिणाम धेरै भयानक हुन सक्छ भन्ने कुरालाई स्पष्ट रूपमा देखाइएको छ । यो उपन्यासमा सुन्दरताको लालच, शैतानसँग भएको सौदा र मानव आत्मालाई कैद गरेको जादूगरी तस्वीरको कथा छ ।

उपन्यासलाई सन् १८९० को दशकको लण्डनको पृष्ठभूमिमा राखिएको छ । यो एउटा यस्तो युग थियो, जुन बाहिरी रूपमा नैतिक दृढता, सामाजिक शिष्टाचार र धार्मिक दयाबाट परिभाषित थियो तर भित्री रूपमा हिप्पोक्रेसी, दमित वासना र सामाजिक असमानताले भरिएको थियो । वाइल्ड स्वयं सौन्दर्यवादी आन्दोलनका प्रमुख नेता थिए । यो उपन्यासले यसका परिणाम र खतराहरूको परीक्षण गर्छ ।

यो उपन्यासले बाहिरी सद्गुण र आन्तरिक पापको बीचको दूरीलाई पर्दाफास गर्छ । डोरिएन ग्रे समाजमा सुन्दर, सुसंस्कृत र दयालु व्यक्ति बनिरहन्छ, जबकि उसको चित्रले उसको वास्तविक, भ्रष्ट र आन्तरिक स्वरूपलाई वहन गर्छ । यो भिक्टोरियन समाजको त्यो दोहोरो मानसिकताको एक शक्तिशाली रूपक हो, जसले पापबाट बच्नुभन्दा पनि त्यसलाई लुकाउनमा जोड दिन्थ्यो ।

यो उपन्यासको केन्द्रीय प्रश्न कलाको लागि नैतिक उद्देश्य हुनुपर्छ कि पर्दैन भन्ने हो । यो उपन्यासले कुनै सरल उत्तर दिंदैन, बरु पाठकलाई प्रश्नहरूसँग सङ्घर्ष गर्नको लागि छोडिदिन्छ । चित्र उपन्यासको सबभन्दा शक्तिशाली प्रतीक हो । यो आत्माको दर्पण हो, जसले डोरिएनको नैतिक पतन र पापको भार वहन गर्छ । यो अमरत्व र नश्वरताको प्रतीक हो । डोरिएन शारीरिक रूपले अमर रहन्छ, जबकि उसको आत्मा नश्वर भएर नष्ट हुन्छ । यो भिक्टोरियन युगको हिप्पोक्रेसीको रूपक हो, जसानुसार बाहिरी रूपमा सुन्दर हुन्छ तर भित्री रूपमा सडेको हुन्छ ।

यो उपन्यासका तीन पात्र बेसिल हलवार्ड, लर्ड हेनरी वोटन र डोरिएन ग्रेको माध्यमबाट यसको प्रभावको सिद्धान्त पत्ता लगाउन सकिन्छ । बेसिल डोरिएनमा केवल सौन्दर्य र पवित्रता देख्ने निष्कपट कलाकार हो । उसले नैतिकता र विवेकको प्रतिनिधित्व गर्छ । लर्ड हेनरी मनोरञ्जक, नास्तिक र विदूषक दार्शनिक हो । ऊ सुखवाद र सौन्दर्यवादको प्रवक्ता हो, जसले डोरिएनलाई नयाँ सुखवादतिर धकेल्छ । डोरिएन एक खाली क्यानभास जस्तै हो, जसमा बेसिल र लर्ड हेनरी दुवैले आ-आफ्ना विचार भर्दछन् । उसको पतन कसरी एउटा प्रभावशाली दुषित दर्शनले एउटा व्यक्तित्वलाई भ्रष्ट बनाउन सक्छ भन्ने कुराको प्रमाण हो ।

यो उपन्यास गोथिक शैलीमा लेखिएको छ । रहस्यमय चित्र, अलौकिक सम्झौता, हत्या, जादू, भयानक परिणाम जस्ता कुरा गोथिक शैलीका तत्त्व हुन्, जसको उपयोग वाइल्डले मनोवैज्ञानिक तनाव र नैतिक अधःपतनको वातावरणलाई बनाउनको लागि गरेका छन् । यो उपन्यास विडम्बनामा आधारित छ । सबभन्दा ठूलो विडम्बना डोरिएनले आफ्नो युवावस्थालाई कायम राख्ने इच्छा पूरा गर्छ तर यही नै उसको नैतिक पतन र अन्ततः उसको मृत्युको कारण बन्छ ।

यो उपन्यास प्रकाशित भएको बेलामा धेरै ठूलो विवादहरूले घेरिएको थियो । समीक्षकहरूले यसलाई अश्लिल, विकृत र अनैतिक घोषणा गरिदिएका थिए । यसको स्पष्ट समलङ्गिक मन्दस्वर (बेसिलको डोरिएनप्रति प्रेम, सुखवादको सन्दर्भ) र नैतिकतावादी दृष्टिको कमीले भिक्टोरियन समाजलाई झङ्कृत बनाइदिएको थियो । आज यो उपन्यास विचित्रताको सिद्धान्त, मनोविश्लेषणात्मक आलोचनावाद, सौन्दर्यवादी सिद्धान्त आदि जस्ता विभिन्न दृष्टिकोणबाट पढिन्छ । यसलाई आधुनिक युरोपेली साहित्यको एक आधारभूत ग्रन्थ मानिन्छ ।

यसरी ‘द पिक्चर अफ डोरिएन ग्रे’ एक बहुआयामिक उपन्यास हो । यो एक सम्मोहक गोथिक कथा हो । यो एक तीखो समालोचना हो । यो एक गहन दार्शनिक सोधपुछ हो । यो कसरी सौन्दर्यको पूजा र नैतिक उदासीनता आत्म-विनाशको कारण बन्न सक्छ भन्ने एक चेतनावनीपूर्ण कथा हो । यसलाई वाइल्डको प्रतिभाको चरमोत्कर्ष मानिन्छ ।

बाहिरी सुन्दरताको मोह र नैतिकताको बेवास्ताले हामीलाई विनाशको मार्गमा लिएर जान्छ । वास्तविक सुन्दरता हाम्रो कर्ममा हुन्छ । त्यसकारण देखावटी संसारको पछाडि दौडिनु हुँदैन । आफ्नो आत्माको आवाज सुनेर हरेक कर्मको जिम्मेवारी लिनुपर्छ । कुनै पनि व्यक्तिलाई अनुहारले होइन, उसको चरित्रबाट चिनिन्छ । हामीभित्र इमान्दार र सुन्दर जीवन जिउनको लागि धेरै क्षमता अन्तर्निहित हुन्छ ।

यो उपन्यासमा डोरिएन ग्रेले आफ्नो अन्तर्आत्मालाई एउटा तस्विरमा कैद गर्ने प्रयास गर्यो तर अन्तमा ऊ आफूले बनाएकै जालमा फस्यो । एउटा सुन्दर जिन्दगीको अर्थ एउटा सुन्दर अनुहार होइन, बरु एक सुन्दर अन्तर्हृदय हो । वास्तविक तस्विर स्क्रिनमा देखिने होइन, बरु हामीभित्र भएको तस्विर नै वास्तविक तस्विर हो । हामीभित्र भएको तस्वरीलाई सुन्दर बनाउने एकमात्र तरीका दयालुता, इमान्दारिता र आफ्नो अन्तर्हृदयप्रति सच्चा रहनु हो । किनकि अन्तमा बहिरी खोल हटेपनि आत्माको दर्पण सधैं साँचो देखिन्छ । यो उपन्यासले यही सच्चाईको सामना गर्ने हिम्मत प्रदान गर्छ । यसले सधैं वास्तविक सुन्दरता के हो भन्ने कुराको स्मरण गराउँछ ।

यो उपन्यासले धेरै गहिरो शिक्षा प्रदान गर्दछ । यसले बाहिरी सुन्दरता धेरै खोक्रो र अस्थायी हुन्छ भन्ने कुरा बताउँछ । वास्तविक सुन्दरता हाम्रो अनुहारमा हुँदैन, बरु हाम्रो चरित्र, कर्म र अन्तर्आत्मामा हुन्छ । आत्माको आवाजलाई दबाएर केवल बाहिरी देखावटी र सुखको पछाडि दौडिंदा हामी भित्रबाट खोक्रो र कुरूप हुँदै जान्छौं, भलै दुनियाँलाई हाम्रो अनुहार जतिसुकै सुन्दर किन नलागोस् । हामी आफ्नो कर्मको परिणामबाट भाग्न सक्दैनौं । हरेक गलत कामको एउटा दाग हुन्छ, जुन कतै न कतै अवश्य लागेको हुन्छ । दुनियाँले नदेखे पनि त्यो हाम्रो अन्तर्आत्मामा सदैव विद्यमान हुन्छ र एक दिन हामीले त्यसको सामना गर्नैपर्छ ।

उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा

कलाकार, शैतान र निर्दोषिता

यो उपन्यासको कथा उन्नाइसौं शताब्दीको अन्तमा लण्डनको एउटा आलिसान स्टुडियोबाट शुरु हुन्छ । स्टुडियोमा गुलाबको मधुर सुगन्ध भरिएको थियो । यहाँ धेरै प्रतिभाशाली र असल हृदय भएको चित्रकार बस्दछ । उसको नाम बेसिल हलवार्ड हो । बेसिलले यो समयमा सबभन्दा उत्कृष्ट चित्र बनाइरहेको छ । यो चित्र (तस्विर) एउटा युवाको हो । यो एउटा यस्तो युवक हो, जसको सुन्दरतालाई शब्दमा वयान गर्न सकिंदैन। उसका आँखामा निर्दोषिता छ, उसको अनुहारलाई हेरेर जोसुकै मन्त्रमुग्ध हुन्छ । त्यो युवकको नाम डोरिएन ग्रे हो ।

बेसिलको लागि डोरिएन ग्रे एउटा मोडेल मात्र नभएर कलाको प्रेरणा र आदर्श पनि हो । बेसिल डोरिएनसँग भेट भएपछि नै आफ्नो कलामा नयाँ जीवन आएको महसुस गर्छ । ऊ डोरिएनको सुन्दरताको पूजा गर्छ र यो पूजामा एउटा विचित्र भय पनि सामेल छ । ऊ यो चित्रलाई कुनै प्रदर्शनीमा पठाउन चाहँदैन । किनकि उसलाई यो चित्रमा आफ्नो हृदयको रहस्य र डोरिएनप्रति आफ्नो गहिरो लगावलाई स्पष्ट गरिदिएको छ भन्ने लाग्छ ।

यही स्टुडियोमा एउटा अर्को व्यक्ति पनि रहेको छ । उसको नाम लर्ड हेनरी वोटन हो र उसलाई ह्यारी भनेर बोलाइन्छ । लर्ड हेनरी बेसिलभन्दा बिल्कुल उल्टो छ । ऊ एउटा धनी, बुद्धिमान तर धेरै कुटिल अर्थात् दुनियाँलाई खराब दृष्टिबाट हेर्नेखालको व्यक्ति हो । उसको लागि दुनियाँमा असल-खराब जस्तो कुनै चीज छैन । उसको लागि केवल सुख र सुन्दरताले मात्र अर्थ राख्छ । ऊ एउटा खतर्नाक व्यक्ति हो । किनकि उसका शब्द महमा लपेटिएको विष जस्तै हुन्छन् । ऊ विशेषगरी निर्दोष र अनुभवहीन मानिसहरूमाथि आफ्नो विचारको जादू चलाउनमा माहिर छ ।

लर्ड हेनरीले डोरिएन ग्रेको सुन्दरताको बारेमा थाहा पाएपछि उसको रुचि जागृत हुन्छ । उसले बेसिलसँग त्यो अद्भुत युवकसँग भेट गर्ने चाहना व्यक्त गर्छ । बेसिल उसलाई रोक्ने प्रयास गर्छ । उसलाई लर्ड हेनरीको खराब प्रभावले डोरिएनको निर्दोषितालाई बर्बाद बनाइदिनेछ भन्ने कुराको भय छ । त्यसकारण उसले ह्यारीलाई भन्छ, उसको आत्मालाई नबिगार र उसलाई मबाट टाढा नबनाउ । ऊ मेरो जिन्दगीको सबभन्दा आवश्यक हिस्सा हो ।

यद्यपि संयोगले अर्को काम गर्दैथियो । ठीक त्यहीबेला डोरिएन ग्रे स्वयं स्टुडियोमा आइपुग्छ । र, यहीँ यो सम्पूर्ण उपन्यासको भविष्य निर्धारण गर्ने तीनजना पात्रहरूको भेट हुन्छ । एकातिर बेसिल छ, जो असलपन, कला र नैतिकताको प्रतीक हो । अर्कोतिर लर्ड हेनरी छ, जो प्रलोभन, सुखवाद र शैतानको प्रतीक छ । र, यी दुवैको बीचमा डोरिएन ग्रे छ, जो एक खाली क्यानभास जस्तै छ, जसमाथि कुनै पनि रङ्ग भर्न सकिन्छ । ऊ सुन्दर र निर्दोष छ । उसलाई अहिलेसम्म दुनियाँको बारेमा कुनै बोध छैन ।

लर्ड हेनरी पहिलो दृष्टिमै डोरिएनको सुन्दरताबाट प्रभावित हुन्छ । यसपछि ऊ यो युवक आफ्नो खतर्नाक विचारको लागि एक उत्कृष्ट शिकार हुन्छ भन्ने कुरा पनि महसुस गर्छ । ऊ डोरिएनसँग कुरा गर्न शुरु गर्छ र उसका हरेक कुराले डोरिएनको मनमा एक तिर जसरी प्रभाव पार्छन् । लर्ड हेनरीले डोरिएनलाई भन्छ, संसारमा सबभन्दा मुख्य चीज जवानी र सुन्दरता हो । एक दिन तिमी बुजुर्ग हुनेछौं, तिम्रो अनुहार चाउरी पर्नेछ, तिम्रा आँखाका चमक गुम्नेछन् र त्यसपछि तिमीलाई जवानीको हरेक क्षणलाई पूर्ण रूपमा नजिउनु कति धेरै गल्ती थियो भन्ने कुरा महसुस हुनेछ । संसारमा डराउनुभन्दा अरु कुनै पाप छैन । आफ्नो हरेक इच्छालाई पूरा गर । हरेक सुखलाई भोग । यही नै जिन्दगीको खास उद्देश्य हो ।

यी कुरा डोरिएनको लागि बिल्कुल नयाँ थिए । आजसम्म कसैले ऊसँग यसप्रकारको कुरा गरेको थिएन । ऊ एकातिर त यी विचारबाट डराइरहेको थियो तर अर्कोतिर ऊ यिनीहरूको जादूमा आकर्षित पनि हुँदै गइरहेको थियो । उसलाई पहिलो पटक आफ्नो सुन्दरताको मूल्यको महसुस भइरहेको थियो । यसको साथै यो सुन्दरता गुमाउने एउटा भयानक डर पनि उसको मनमा बसिरहेको थियो ।

यही बिचमा बेसिलले आफ्नो चित्र पूरा गर्छ । उसले त्यो चित्र सबैको सामुन्ने ल्याउँदा त्यसलाई देखेर सबै दङ्ग हुन्छन् । यो केवल एउटा चित्र मात्र थिएन, यो जीवित जस्तै देखिएको थियो । बेसिलले डोरिएनको सुन्दरतालाई क्यानभासमा अमर बनाइदिएको थियो । डोरिएनले आफ्नो त्यो तस्विरलाई हेरेपछि उसलाई आफ्नो सुन्दरतासँग प्रेम हुन्छ । यसपछि लर्ड हेनरीका शब्द उसका कानमा गुन्जिन्छन् ।

अब उसमा एउटा भयानक भावना उत्पन्न हुन्छ । यो तस्विर त सधैं यस्तै सुन्दर र जवान रहनेछ तर म दिनप्रतिदिन बुजुर्ग र कुरूप हुँदै जानेछु । यो भावना उसको लागि असहनीय थियो । र, त्यही क्षण एक पीडादायिक चित्कारसँगै उसको मुखबाट ती शब्द निक्लिन्छन्, जसले उसको जिन्दगीको सम्पूर्ण सम्झौता गरिदिन्छन् । ऊ भन्छ, म बुजुर्ग हुनेछु, भयानक हुनेछु र कुरूप हुनेछु । यो कति धेरै दुःखद हुनेछ । तर यो तस्विर सधैं जवान रहनेछ । यदि यसको उल्टो हुने भए म सधैं जवान हुनेथिएँ र यो तस्विर बुजुर्ग हुनेथियो । यसको लागि म आफ्नो आत्मा पनि दिन सक्छु ।

यो केवल एउटा भावुक क्षणमा निक्लिएको कुरा थियो वा वास्तवमा कुनै अदृश्य शक्तिले उसको यो प्रार्थना कबूल गरेको थियो ? के वास्तवमा उसले आफ्नो आत्मासँग सम्झौता गरेको थियो ? यो प्रश्नको उत्तर कसैलाई थाहा थिएन । तर तुरुन्तै डोरिएनलाई यसको पहिलो र सबभन्दा भयानक प्रमाण प्राप्त हुनलागेको थियो ।

एक राक्षसी सम्झौता

डोरिएन ग्रेको सदैव जवान रहिरहने इच्छा आवेगको एक क्षणमा निक्लिएको थियो । तर यसको असर उसको सम्पूर्ण जिन्दगीमा पर्नेवाला थियो । लर्ड हेनरी डोरिएनको यो भावनात्मक उत्तेजनालाई देखेर धेरै खुशी हुन्छ । उसले आफ्नो नयाँ खेलौना प्राप्त गरेको थियो । अब ऊ डोरिएनलाई आफूसँगै लिएर जान्छ र उसलाई लण्डनको रङ्गीन र नसालू संसारसँग परिचित गराउँछ । डोरिएन अब हरेक रात पार्टीहरूमा जान्छ, थिएटर हेर्छ र लर्ड हेनरीको सुखवादी दर्शनलाई आफ्नो जिन्दगीमा उतार्ने प्रयास गर्न लाग्छ । ऊ लर्ड हेनरीका हरेक कुरालाई सूत्र जसरी सुन्छ र मान्छ ।

बेसिल यो सबै घटनाक्रमबाट धेरै दुःखी थियो । उसलाई आफूले डोरिएनलाई गुमाइरहेको छु भन्ने लागिरहेको थियो । तर ऊ केही गर्न सकिरहेको थिएन । यही क्रममा डोरिएनको जिन्दगीमा एउटी युवती सिबिल भेनको प्रवेश हुन्छ । सिबिल एक धेरै गरीब तर धेरै प्रतिभाशाली कलाकार थिइन् । उनी एउटा सानो थिएटरमा शेक्सपियरका नाटकको अभियन गर्थिन् । डोरिएनले उनलाई पहिलोपटक जुलियटको भूमिकामा देख्छ । त्यसपछि उसको सिबिलसँग प्रेम हुन्छ । तर यो प्रेम सच्चा थिएन । डोरिएनलाई सिबिलसँग नभएर उनको कलासँग प्रेम भएको थियो । उसको हरेक रात एक नयाँ चरित्रमा जिउने नायिकासँग प्रेम थियो । अब ऊ दैनिक राति उनको नाटक हेर्न जान्छ र उनको प्रेममा अझ डुब्दै जान्छ ।

सिबिल पनि डोरिएनको सुन्दरता र उसको आकर्षणमा पूर्ण रूपले हराउँछिन् । उनले उसलाई ‘प्रिन्स चार्मिङ’ भनेर बोलाउँछिन् । दुवैले ‘इन्गेजमेन्ट’ गर्छन् । डोरिएनलाई आफू संसारको सबभन्दा सुखी मानिस हुँ भन्ने लाग्छ । ऊ बेसिल र लर्ड हेनरीलाई पनि सिबिलको नाटक देखाउनको लागि लैजान्छ । किनकि ऊ आफ्नो रुचि कति धेरै अनुत्तरित छ भन्ने कुरा देखाउन चाहन्छ ।

अब यहीं आएर उपन्यासको कथामा एउटा नाटकीय मोड आउँछ । एक रात डोरिएन आफ्ना साथीहरूसँगै नाटक हेर्न पुगेपछि सिबिलले मञ्चमा धेरै खराब अभिनय गर्छिन् । उनले आफ्नो डाइलग नै भुल्छिन् । उनको अभिनयमा कुनै जीवन्तता हुँदैन । दर्शक उनलाई देखेर हाँस्छन् र खिसी गर्छन् । डोरिएनको शिर लज्जा र रिसले झुक्छ ।

नाटकपछि ऊ रिसाएर मञ्चपछाडि सिबिलकोमा जान्छ र तिमीले यसो किन गर्यौं भनेर सोध्छ । सिबिलले धेरै निर्दोषितासँगै उत्तर दिन्छिन्, डोरिएन तिमीसँग भेट गर्नुभन्दा पहिले मेरो लागि थिएटर नै जिन्दगी थियो । म ती पात्रहरूको प्रेम र दुःखलाई साँचो ठानेर जिउँथे । तर तिमी मेरो जिन्दगीमा आएपछि मलाई वास्तिक प्रेमको महसुस भएको छ । अब म मञ्चमा झुटो अभिनय गर्न सक्दिनँ । अब मलाई त्यो अति धेरै खोक्रो थियो भन्ने कुरा थाहा भएको छ । तिमीले मलाई वास्तविकता के हो भन्ने कुरा सिकायौं ।

यस्तो कुरा सुन्दा कुनै पनि साँचो प्रेमीको हृदय पग्लिन्छ तर डोरिएनको हृदय अब लर्ड हेनरीको दर्शनबाट पत्थर भइसकेको थियो । उसले सिबिलका यी कुरामा सच्चाई नभएर आफ्नो बेइज्जती र अपमान देख्यो । उसलाई लाग्यो, सिबिलले आफ्नो कलाको बोधलाई अपमान गरेकी छिन् । त्यसपछि ऊ धेरै निर्दयीतापूर्वक सिबिललाई भन्छ, तिमीले मेरो प्रेमको हत्या गर्यौं । तिमी एक प्रतिभाशाली थियौं । तिमीले मेरो कल्पनालाई जागृत गरेकी थियौं । अब तिमी केवल एउटी साधारण सुन्दरी युवती हौं । म तिमीसँग विवाह गर्न सक्दिनँ ।

यति भनेर उसले उनलाई रुदै गरेको अवस्थामा छोडेर जान्छ । ऊ रातभरी लण्डनका सडकमा घुमिरहन्छ । विहान घर फर्किंदा उसको दृष्टि पर्खालमा टाँगिएको आफ्नो त्यो तस्विरमा जान्छ । त्यसलाई हेरेपछि उसको शरीर शिरिङ्ग हुन्छ । तस्विरमा केही परिवर्तन भएको थियो । त्यो धेरै हल्का तर निश्चित परिवर्तन थियो । तस्विरको ओठको कुनामा एक क्रूरताको रेखा उत्पन्न भएको थियो । डोरिएनलाई आफ्ना आँखामाथि विश्वास हुँदैन । ऊ ऐनामा आफ्नो अनुहार हेर्छ । उसको अनुहार त बिल्कुल निर्दोष र दागविहीन थियो । तर तस्विर परिवर्तन भइरहेको थियो ।

अब उसलाई बेसिलको स्टुडियोमा व्यक्त गरेको आफ्नो भयानक इच्छाको स्मरण हुन्छ । के त्यो साँचोमा परिणत भयो ? के वास्तवमा तस्विरले उसको आत्माको बोझ उठाउन शुरु गरिदियो त ? यो सोचले उसलाई भयभीत बनाइदिन्छ । उसलाई पहिलो पटक आफ्नो क्रूरताको महसुस हुन्छ । सिबिलसँग गरेको व्यवहारबाट ऊ धेरै पछुताउँछ । अब ऊ लर्ड हेनरीको खराब असरबाट स्वयंको रक्षा गर्ने, सिबिलसँग माफी माग्ने र उनीसँग विवाह गर्ने निर्णय गर्छ । ऊ आफ्नो पुरानो निर्दोषितालाई पुनः प्राप्त गर्ने निर्णय गर्छ । ऊ स्वयंलाई आफू बदलिन सक्ने र यो तस्विर पनि पुनः पहिले जस्तै हुने विश्वास दिलाउँछ । अब ऊ सिबिललाई एउटा माफीपत्र लेख्न बस्छ ।

निर्दोषिताको मृत्यु र एउटा गोप्य कोठा

भोलिपल्ट दिउँसो लर्ड हेनरी डोरिएनको घरमा आउँछ । डोरिएनले उसलाई आफूले सिबिलसँग विवाह गर्ने र एक असल मानिस बनेर रहने निर्णय गरेको बताउँछ । यस्तो सुनेर लर्ड हेनरी मुस्कुराउँछ र धेरै लापरवाही ढङ्गले भन्छ, तिमी अब उनीसँग विवाह गर्न सक्दैनौं । डोरिएन आत्तिंदै सोध्छ, किन ? त्यसपछि लर्ड हेनरी एउटा समाचार दिन्छ, जसले डोरिएनको जिन्दगीलाई सधैंको लागि परिवर्तन गरिदिन्छ । उसले भन्छ, सिबिल भेनले अघिल्लो रात आत्महत्या गरिन् ।

यो कुरा सुनेर डोरिएनको खुट्टामुनिको जमिन भासिएजस्तो हुन्छ । उसलाई एउटा गहिरो आघात हुन्छ । आफू एउटा मान्छेको मृत्युको जिम्मेवार हुँ भन्ने उसलाई महसुस हुन्छ । केही समयको लागि उसलाई आफ्नो अन्तर्आत्माले पीडा प्रदान गर्छ । तर लर्ड हेनरीले यहाँ आफ्नो राक्षसी खेल खेल्छ । उसले डोरिएनलाई सान्त्वना दिनुको साटो यो सम्पूर्ण घटनालाई एक सुन्दर र रोमान्टिक कथामा परिवर्तित गर्छ । ऊ भन्छ, दुःखी नबन । उनी आफ्नो जिन्दगीको सबभन्दा महत्त्वपूर्ण प्रेमकथामा बाँचिन् । उनी एक महान कलाकार थिइन् र उनको मृत्यु पनि कुनै शेक्सपियरको अन्तिम दृश्य जस्तै भव्य थियो । तिमीले यसलाई एक दुःखद घटना जसरी नभएर एक कलात्मक अनुभवको रूपमा हेर्नुपर्छ । अब तिमी स्वतन्त्र छौं र तिम्रो सामुन्ने अनुभवहरूको सम्पूर्ण समुद्र छ ।

लर्ड हेनरीका शब्दले एकपटक पुनः डोरिएनमाथि आफ्नो जादू चलाउँछन् । विस्तारै-विस्तारै डोरिएनको दुःख र अपराधबोध कम हुनलाग्छ, त्यसको ठाउँ एउटा विचित्र जिज्ञासा र सहासिक यात्राले लिन्छ । उसलाई आफ्नो जिन्दगी वास्तवमा कुनै नाटक जस्तै हो र आफू त्यसको नायक हो भन्ने लाग्न थाल्छ ।

लर्ड हेनरी गएपछि डोरिएनले पुनः आफ्नो तस्विर हेर्छ । तस्विरमा क्रूरताको रेखा अब अझ गहिरो भएको थियो । तर अब ऊ त्यो तस्विरलाई हेरेर डराइरहेको थिएन, बरु एक विचित्र आकर्षणबाट त्यसलाई हेरिरहेको थियो । उसलाई आफ्नो इच्छा पूरा भइसकेको, चाहेको गर्नसक्ने, हरेक सुखको अनुभव गर्नसक्ने, हरेक अपराध गर्नसक्ने र त्यसको असर आफ्नो अनुहारमा कहिल्यै नदेखिने कुरा महसुस हुन्छ । ऊ सधैं जवान, सुन्दर र निर्दोष रहिरहने तथा आफ्नो आत्माको सम्पूर्ण बोझ एवम् दाग यो तस्विरले उठाउने कुराको महसुस गर्छ । यो तस्विर उसको अन्तर्आत्मा हुनेछ, जसलाई उसले चाहेको खण्डमा देख्न सक्नेछ वा चाहेको बेलामा त्यसको मुहार फेर्न सक्छ ।

यो सोचले डोरिएनलाई एक खतर्नाक स्वतन्त्रताको महसुस गराउँछ । उसले यो रहस्यको बारेमा कसैलाई पनि नबताउने निर्णय गर्छ । ऊ यो तस्विरलाई दुनियाँको दृष्टिबाट लुकाइदिनेछ । उसले आफ्नो घरको सबभन्दा माथिल्लो तलामा बनेको एउटा पुरानो बन्द कोठामा त्यो तस्विरलाई लिएर जान्छ । यो ऊ बालककालमा खेल्ने गरेको कोठा थियो । उसले तस्विरलाई एउटा ठूलो पर्दाले ढाकिदिन्छ र कोठामा ताला लगाइदिन्छ । अबदेखि यो कोठा उसको गोप्य ठेगाना थियो । यो ठाउँमा उसको वास्तविक आत्मालाई कैद गरिएको थियो ।

यसपछि डोरिएन ग्रेको जिन्दगीको एउटा नयाँ अध्याय शुरु हुन्छ । ऊ अब दोहोरो जिन्दगी जिउन लाग्छ । दुनियाँको सामु ऊ लण्डनको सबभन्दा आकर्षक, सुसंस्कृत र सुन्दर युवक थियो । उसको पार्टी सबभन्दा भव्य हुन्थ्यो, उसको कलाको बोध सबभन्दा उत्कृष्ट थियो र मानिसहरू उसको सङ्गत गर्नको लागि याचना गर्थे । तर पर्दा पछाडि ऊ एक बिल्कुल फरक मानिस थियो ।

लर्ड हेनरीले उसलाई एउटा विषालु फ्रान्सेली उपन्यास दिएको थियो । त्यो एउटा यस्तो मानिसको कथा थियो, जसले आफ्नो जिन्दगीलाई केवल नयाँ-नयाँ र विचित्र-विचित्र सुखको अनुभव गर्नमा लगाइदिन्थ्यो । यो पुस्तक डोरिएनको लागि बाइबल जस्तै बन्यो । ऊ त्यो पुस्तकबाट प्रेरित भएर हरेक प्रकारका खराब काममा लिप्त हुनलाग्यो । ऊ लण्डनका सबभन्दा बदनाम इलाकामा जान्थ्यो, अपराधी र नसालुहरूसँग समय बिताउँथ्यो । उसले कयौं निर्दोष युवाहरूलाई आफ्नो सङ्गतले बिगारिदियो, कयौं परिवारहरूको इज्जत माटोमा मिलाइदियो । उसको बारेमा समाजमा धेरै भयानक अफवाह फैलिन लागेको थियो । मानिसहरू डोरिएन देखिएजस्तो छैन भनेर कानेखुशी गर्थे; उसको सुन्दर अनुहारको पछाडि धेरै घृणित रहस्य लुकेको छ । तर कोहीसँग कुनै प्रमाण थिएन । किनकि डोरिएनको त्यही निर्दोष र दागविहीन अनुहारले उनीहरूलाई मौन रहन बाध्य बनाउँथ्यो । यति सुन्दर मानिस यति धेरै खराब हुनसक्छ भनेर कसैले विश्वासै गर्न सक्दैनथ्यो ।

यद्यपि डोरिएनलाई वास्तविकता के हो भन्ने कुरा थाहा थियो । ऊ प्रायः मध्य राति चुपचाप त्यो कोठामा जान्थ्यो र आफ्नो तस्विरबाट पर्दा हटाउँथ्यो । र, हरेक पटक ऊ तस्विर कति बदलिएको छ भन्ने कुरा देखेर काम्थ्यो । वर्ष प्रतिवर्ष तस्विर बुजुर्ग र कुरूप हुँदै गइरहेको थियो । त्यसमाथि हरेक नयाँ अपराधको एउटा नयाँ दाग लाग्थ्यो । निर्दोषिताको ठाउँ अब त्यो अनुहारमा कपटी, वासना र घृणाले लिएको थियो । आँखा रगत जस्तै राता भएका थिए र ओठमा एक राक्षसी मुस्कान जमेको थियो । डोरिएन आफ्नो सुन्दरता र तस्विरको कुरूपता दुवैलाई हेरेर एउटा विचित्र नसाको महसुस गर्दथ्यो । ऊ आफ्नो आत्माको यो खराब भइरहेको रूपसँग घृणा पनि गर्दथ्यो र त्यसमा मोहित पनि थियो । यो सिलसिला अठार वर्षसम्म चलिरह्यो ।

एक रक्तपातपूर्ण रात

अठार वर्ष वितिसकेको थियो । डोरिएन ग्रे अब करिब अड्तीस वर्षको भइसकेको थियो तर अझै बीस वर्षकै देखिन्थ्यो । ऊसँगैका मानिस बुजुर्ग भइसकेका थिए । उसको सुन्दरता एक आश्चर्य बनिसकेको थियो र उसको बारेमा फैलिइरहेका अफवाह एक रहस्य बनेको थियो । एक रात लण्डनमा बाक्लो कुहिरो लागेको थियो । यहीबेला डोरिएनलाई कसैले बोलायो । पछाडि फर्केर हेर्दा ऊ बेसिल हलवार्ड थियो । ऊ त्यही कलाकार थियो, जसले उसको त्यो जादूगरी तस्विर बनाएको थियो । बेसिल विगत अठार वर्षमा धेरै परिवर्तित भएको थियो । उसका कपाल फुलिसकेका थिए । ऊ पेरिस गइरहेको थियो तर जानुभन्दा पहिले ऊ डोरिएनसँग केही जरुरी कुरा गर्न चाहन्थ्यो ।

डोरिएनले धेरै उदासीनतापूर्वक बेसिललाई भित्र बोलाउँछ । बेसिलले धेरै दुःखी मनले डोरिएनलाई भन्छ, समाजमा तिम्रो बारेमा धेरै भयानक कुरा भइरहेका छन् । मानिसहरू डोरिएनले धेरै व्यक्तिको जिन्दगी बर्बाद गरिदिएको छ र उसको सङ्गत विषसमान छ भनिरहेका छन् । बेसिल भन्छ, म यी कुरामा विश्वास गर्न चाहन्नँ । जतिबेला म तिम्रो यो निर्दोष अनुहारलाई हेर्छु, तब मलाई यो सबै झुटो हो भन्ने लाग्छ । तर पनि म तिमीबाट साँचो कुरा थाहा पाउन चाहन्छु । डोरिएन म तिम्रो आत्मालाई हेर्न चाहन्छु ।

यति कुरा सुन्ने वित्तिकै डोरिभित्र एउटा राक्षसी सोच प्रकट हुन्छ । एउटा विचित्र घृणा र घमण्ड उसमाथि हावी हुन्छ । त्यसपछि उसले बेसिललाई भन्छ, ठिक छ, म तिमीलाई आफ्नो आत्मा देखाउनेछु, मसँगै आउ । उसले एउटा ममबत्ती उठाउँछ र बेसिललाई आफ्नो पछाडि-पछाडि माथिको बन्द कोठातिर लिएर जान्छ । डोरिएनले आफूलाई कहाँ लिएर गइरहेको छ भनेर बेसिल चकित हुन्छ ।

अब उनीहरू त्यो बन्द कोठाको ढोकामा पुग्छन् । डोरिएनले चाबीले ताला खोल्छ र दुवै जना भित्र जान्छन् । कोठामा धूलो र आर्द्रताको गन्ध थियो । पर्खालमा एउटा ठूलो पर्दा झुण्ड्याइएको थियो । डोरिएनले बेसिललाई भन्छ, तिमी मानिसले मेरो बारेमा भनेको कुरा साँचो हो वा होइन भन्ने कुरा थाहा पाउन धेरै उत्सुक थियौं होइन ? त्यसपछि उसले अगाडि गएर त्यो पर्दालाई एक झड्कामा तानिदिन्छ । बेसिलले त्यहाँ जे देख्छ, त्यसबाट ऊ चिच्याउँछ । अगाडि पर्खालमा उसले वर्षौं पहिले बनाएको तस्विर नै टाँगिएको थियो । तर अब त्यसलाई पहिचान गर्न सकिएको थिएन । त्यो अब एक राक्षसको अनुहार बनिसकेको थियो; एक बुजुर्ग, चाउरी परेको, घिनलाग्दो अनुहार बनेको थियो । त्यसका आँखामा घृणा र धूर्तता भरिएको थियो । त्यो कुनै खराब सपनामा मात्र आउनसक्ने अनुहार थियो ।

बेसिललाई पहिले त विश्वास नै हुँदैन । उसलाई यो कुनै अरु नै चित्र होला भन्ने लाग्छ । तर चित्रको कुनामा उसले आफ्नो हस्ताक्षर देख्छ । यसपछि उसलाई यो आफैले बनाएको कलाकृति हो भन्ने महसुस हुन्छ । ऊ काम्दै गरेको आवाजमा डोरिएनलाई सोध्छ, यो के हो ? यो कसरी हुनसक्छ ? डोरिएन धेरै घमण्डका साथ उत्तर दिन्छ, बेसिल यो मेरो आत्मा हो । त्यसपछि उसले आफूले इच्छा जाहेर गरेको त्यो रातको सम्पूर्ण कथा बताउँछ ।

बेसिल यो सबै कुरा सुनेर भावशून्य हुन्छ । ऊ डोरिनसँग प्रार्थना गर्छ, यो धेरै भयानक छ तर अझै पनि ढिलो भएको छैन । हामीले प्रार्थना गर्नुपर्छ डोरिएन, हामीले घुँडा टेकेर माफी माग्नुपर्छ । ऊ डोरिएनलाई पश्चाताप गर्नको लागि भन्छ । तर बेसिलको यस्तो कुरा सुनेर डोरिएनको भित्र दबिएको क्रोध विस्फोट हुन्छ । उसलाई अचानक बेसिलप्रति तीव्र घृणा पैदा हुनलाग्छ । उसलाई यो सबै बेसिलकै कारण भएको हो भन्ने लाग्छ । यदि उसले यो तस्विर नै नबनाएको भए आज यो सबै हुँदैनथ्यो । एक पलको लागि डोरिएनको मनमा एक जङ्गली जनावर जागृत हुन्छ । अब ऊ कोठाको चारैतिर हेर्छ र उसको दृष्टि नजिकै मेचमा रहेको एउटा चक्कुमा पुग्छ । केही नसोचीकन उसले त्यो चक्कु उठाउँछ र बेसिलमाथि झम्टिन्छ । उसले बेसिललाई गर्दनमा समाएर मेचमा लडाउँछ र त्यो चक्कुले उसमाथि पटक-पटक प्रहार गर्छ । बेसिलको पीडादायिक चित्कार त्यो बन्द कोठामा गुन्जिन्छ र त्यसपछि एकाएक सन्नाटा छाउँछ ।

डोरिएन ग्रेले आफ्नो साथी र त्यो कलाकारलाई मारेको थियो, जसले उसको सुन्दरतालाई पूजा गरेको थियो । उसले शायद दुनियाँको एक्लो व्यक्तिलाई मारेको थियो, जसले उसलाई साँचो प्रेम गर्दथ्यो । डोरिएन होसमा आउँदा उसका हात र वस्त्र रगतले भिजेका थिए र बेसिलको लाश जमिनमा पल्टिएको थियो । उसलाई यसमा कुनै पछुतो हुँदैन र कुनै भय पनि हुँदैन ।उसको दिमाग बिल्कुल शान्त थियो । उसको एकमात्र सोच अब यो लाशलाई के गर्ने र यो प्रमाणलाई कसरी मेटाउने भन्ने थियो । उसले आफ्नो जिन्दगीको सबभन्दा भयानक अपराध गरेको थियो । उसले आफ्नो आत्मामा रगतको सबभन्दा गहिरो दाग लगाइदिएको थियो ।

एउटा पुरानो मित्र र नयाँ भय

बेसिल हलवार्डको हत्या गरेपछि डोरिएन ग्रेको दिमागले धेरै तीव्र रूपमा काम गर्नलाग्यो । उसले यसमा कुनै पछुतो मानेको थिएन । ऊ केवल ठण्डा दिमागले प्रमाण मेटाउने बारेमा सोचिरहेको थियो । यस्तैमा उसले एउटा पुरानो मित्र एलन क्याम्पबेलको स्मरण गर्यो । एलन एउटा धेरै प्रतिभाशाली अलकेमिस्ट र वैज्ञानिक थियो । कुनैबेला एलन र डोरिएन धेरै असल मित्र थिए तर पछि एलनले डोरिएनसँग सम्पूर्ण सम्बन्ध भङ्ग गरेको थियो । र, अब ऊ डोरिएनलाई हेर्न पनि मन पराउँदैनथ्यो । डोरिएनलाई एलनले मात्र आफ्नो मद्दत गर्न सक्छ भन्ने कुरा थाहा थियो । एलनसँग लाशलाई कुनै प्रमाण नछोडिकन बेपत्ता बनाउने वैज्ञानिक ज्ञान छ भन्ने कुरा पनि उसलाई थाहा थियो ।

विहान हुनेवित्तिकै डोरिएन एलन क्याम्पबेलको घरमा पुग्छ । एलनले उसलाई देखेर छक्क पर्छ र धेरै उदासीनतापूर्वक उसलाई त्यहाँबाट तुरुन्त जानलाई भन्छ । तर डोरिएन जाँदैन । शुरुमा उसले एलनलाई मित्रताको बाचा गरेर मद्दत माग्छ । तर एलनले कुनै पनि मूल्यमा उसको मद्दत गर्न अस्वीकार गरेपछि डोरिएनले आफ्नो अन्तिम चाल चल्छ । उसले एलनलाई भयादोहन गर्छ । डोरिएनसँग एलनको कुनै भयानक रहस्य थियो । त्यो रहस्य बाहिर आएको खण्डमा एलनको इज्जत, उसको सम्पूर्ण जिन्दगी बर्बाद हुन्थ्यो । डोरिएनले एउटा कागजमा केही लेख्छ र एलनलाई दिन्छ । त्यसलाई देख्नेवित्तिकै एलनको अनुहार पहेलो हुन्छ । ऊ काम्न लाग्छ । ऊसँग अब कुनै उपाय थिएन । त्यसकारण उसले डोरिएनको कुरा मान्न बाध्य हुनुपर्यो ।

यसपछि डोरिएनले एलनलाई आफ्नो घरको बन्द कोठामा लिएर जान्छ, जहाँ बेसिलको लाश राखिएको थियो । एलन लाशलाई देखेर आत्तिन्छ तर अब ऊ पछाडि हट्न सक्दैनथ्यो । उसले आफ्नो सामान मगाउँछ र धेरै घण्टाको मेहनतपछि नाइट्रिक एसिडको मद्दतले बेसिलको लाशलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ । कोठामा केवल एक भयानक र असहनीय दुर्गन्ध रहन्छ । काम सकिएपछि एलन क्याम्पबेल एक शब्द पनि नबोली त्यहाँबाट जान्छ । केही हप्तापछि एलनले आत्महत्या गर्यो भन्ने खबर आउँछ ।

डोरिएनलाई अब आफू पूर्ण रूपमा सुरक्षित छु भन्ने लाग्छ । बेसिल वेपत्ता भएको खबर फैलिन्छ तर कसैले पनि डोरिएनमाथि शङ्का गर्दैन । ऊ त्यही राति एउटा पार्टीमा जान्छ र बिल्कुल सामान्य व्यवहार गर्छ, ताकि कसैलाई आफूमाथि शङ्का नहोस् । तर ऊ भित्रभित्रै केही बदलिएको थियो । उसलाई अब एउटा नयाँ भयले सताउन लागेको थियो । हत्याको विचार उसको दिमागमा हावी हुनलागेको थियो । हरेक आवाजमा ऊ पुलिसले आफूलाई पक्रिन आइरहेको छ भन्ने ठान्थ्यो । उसलाई निद्रा लाग्दैनथ्यो । यो भय र बेचैनीबाट छुटकारा प्राप्त गर्नको लागि ऊ अफीमको अड्डामा जान लाग्छ, जहाँ ऊ नशामा डुबेर केही समयको लागि सबै कुरा भुल्न चाहन्छ । ऊ लण्डनको सबभन्दा खतर्नाक र दुर्गन्धित इलाकामा आफ्नो सुन्दर रूप लुकाएर एक छायाँ जसरी भट्किन लाग्छ ।

एक रात अफीमको अड्डामा नसाले चुर भएको बेलामा एउटी स्त्रीले डोरिएनलाई चिन्छिन् । उनले उसलाई ‘प्रिन्स चार्मिङ’ भनेर बोलाउँछिन् । यो नाम सिबिल भेनले उसलाई दिएकी थिइन् । यो सुनेपछि नजिकै सुतेको एउटा नाविक चकित भएर उठ्छ । ती स्त्रीले त्यो नाविकलाई भन्छिन्, यही राक्षसले नै सिबिल भेनको जिन्दगी बर्बाद बनाइदिएको हो । त्यो नाविक सिबिलको दाजु जेम्स भेन थियो । जेम्स वर्षौंदेखि आफ्नी बहिनीको मृत्युको बदला लिनको लागि त्यो ‘प्रिन्स चार्मिङ’ लाई खोजिरहेको थियो । तर उसलाई त्यसको अनुहार धेरै सुन्दर छ भन्ने कुरा मात्र थाहा थियो ।

जेम्स भेन एउटा धेरै बलियो र खतर्नाक व्यक्ति थियो । अब ऊ डोरिएनको पीछा गर्छ र एउटा अध्यारो गल्लीमा उसलाई पक्रिन्छ । उसले डोरिएनको कन्चटमा पेस्तोल राख्छ र भन्छ, तिमीले सिबिल भेनलाई मारेका थियौं, अब तिमी मर्नको लागि तयार होऊ । डोरिएन त्यो क्षण मृत्युलाई यति नजिकै देखेर नराम्रोसँग डराउँछ । तर उसको दिमाग अझै तेज थियो । उसले धेरै चलाखीपूर्ण ढङ्गले जेम्सलाई भन्छ, तिमी गलत व्यक्तिलाई पक्रिरहेका छौं । मलाई राम्रोसँग हेर, जुन व्यक्तिले तिम्रो बहिनीलाई धोका दिएको थियो, त्यो अठार वर्ष पहिलेको कुरा हो । के म अठार वर्ष पुरानो देखिन्छु त ? मेरो अनुहार हेर । म त केवल एक युवक हुँ । जेम्स भेनले डोरिएनको अनुहारलाई प्रकाशमा हेर्छ । उसको अनुहार त वास्तवमै बीस वर्षको युवकको थियो । उसलाई आफूले गल्ती गरेको जस्तो लाग्यो । त्यसपछि उसले डोरिएनसँग माफी माग्छ र उसलाई छोडिदिन्छ ।

डोरिएन आफ्नो ज्यान बचाएर त्यहाँबाट भाग्छ । तर ऊ जानेवित्तिकै उसलाई चिन्ने स्त्री जेम्सकोमा आउँछिन् र भन्छिन्, तिमीले उसलाई किन छोडिदियौं ? मैले उसलाई अठार वर्ष पहिले देख्दा पनि बिल्कुल यस्तै थियो । मानिसले भन्छन्, उसले आफ्नो आत्मा शैतानलाई बेचिदिएको छ । यो सुनेर जेम्स भेनलाई आफ्नो गल्तीको महसुस हुन्छ; डोरिएनले आफूलाई धोका दिएको कुरा बुझ्छ र अब कुनै पनि मूल्यमा नछोड्ने बाचा गर्छ । डोरिएनले आफ्नो ज्यान त बचाउँछ तर उसले आफ्नो पछाडि एउटा शिकारी छ भन्ने कुरा बुझ्छ । ऊ एउटा यस्तो शिकारी हो, जो बदला लिनको लागि कुनै पनि हदसम्म जानसक्छ । अब डोरिएनको जिन्दगी भय र छायाँको खेल बनिसकेको थियो ।

शिकारीको छायाँ

जेम्स भेनबाट बचेपछि डोरिएनको जिन्दगीमा वास्तविक भयले डेरा जमाएको थियो । अहिलेसम्म ऊ आफ्ना अपराधहरूको परिणामबाट असावधान थियो । किनकि उसको सुन्दर अनुहार सधैं उसको ढाल बनिरहन्थ्यो । तर अब उसको अतीत एक जीवित सास लिइरहेको खतराको रूपमा आफ्नो पीछा गरिरहेको छ भन्ने कुरा उसलाई महसुस भएको थियो ।

जेम्स भेनको अनुहार उसका आँखाको सामुन्ने घुमिरहन्थ्यो । हरेक छायाँ र हरेक अपरिचितको अनुहारमा उसले जेम्स भेनलाई देख्न लागेको थियो । ऊ घरबाट बाहिर निक्लिन पनि डराउन लाग्यो । उसको रातको निद्रा र दिनको चैन सबै कुरा गुमेको थियो । ऊ एक सुन्दर पिन्जडामा कैद एउटा पक्षी जस्तै भएको थियो, जो बाहिरको संसारबाट डराउँथ्यो ।

केही दिनपछि ऊ आफ्ना केही धनी साथीहरूसँग शहरबाट टाढा एउटा ग्रामीण आवासमा छुट्टी मनाउन जान्छ । उसलाई लाग्छ, शायद माहौल परिवर्तन गर्दा आफ्नो डर केही कम हुन्छ । ग्रामीण आवासमा एउटा विशाल शिकार पार्टीको आयोजना गरिन्छ । सबै मानिस घोडामा सवार भएर जङ्गलमा शिकारको लागि निक्लिन्छन् । डोरिएन पनि उनीहरूसँगै थियो तर उसको मन शिकारमा थिएन । ऊ कता-कता हराएको थियो ।

यही बीचमा अचानक झाडीमा कुनै हर्कत हुन्छ । एउटा व्यक्ति सर जेफरीले खरायो ठानेर त्यतातिर गोली चलाउँछ । त्यसपछि एउटा चिच्याहट सुनिन्छ र सबै मानिस त्यतातिर दौडिंदै जान्छन् । त्यहाँ एउटा मानिस जमिनमा लडेको हुन्छ र उसको मृत्यु भइसकेको हुन्छ । यो एउटा भयानक दुर्घटना थियो । यसले गर्दा पार्टीको सम्पूर्ण आनन्द खल्लो भयो ।

यद्यपि डोरिएनले यो दुर्घटनामा केही अरु नै देखिरहेको थियो । उसको मनमा एउटा भयानक अन्धविश्वासले डेरा जमाएको थियो । उसलाई यो मृत्यु खराब लक्षण हो र अर्को पटक आफ्नो मृत्यु हुन्छ भन्ने लाग्यो । ऊ त्यो दिनपछि अझ बढी भय र मतिभ्रममा जिउन लाग्छ । केही दिनपछि त्यो मरेको व्यक्तिको सनाखत हुँदा डोरिएनले जे कुरा थाहा पाउँछ, त्यसबाट उसमा कम्पन पैदा हुन्छ । त्यो व्यक्ति अरु कोही नभएर जेम्स भेन थियो । ऊ एउटा नाविकको भेषमा त्यो इलाकामा डोरिएनलाई खोजिरहेको थियो र गल्तीपूर्वक शिकार पार्टीको गोलीको निशाना बन्यो ।

यो कुरा सुनेपछि डोरिएनलाई एक पलको लागि धेरै राहत मिल्यो । उसको सबभन्दा मुख्य दुश्मन, उसको ज्यानको खतरा अब खत्तम भइसकेको थियो । ऊ अब स्वतन्त्र थियो तर यो राहत धेरै कम समयको लागि मात्र थियो । उसलाई तुरुन्तै के महसुस भयो भने जेम्स भेन मरे पनि आफ्नो पछाडि उसले एउटा अर्को धेरै भयानक चीज छोडेको छ । उसलाई आफ्नै हर्कतले धेरै मानिसहरूको जिन्दगी बर्बाद भइसकेको छ भन्ने कुराको महसुस हुन्छ । यिनीहरू सिबिल भेन, बेसिल होलवार्ड, एलन क्याम्पबेल र जेम्स भेन थिए । यी सबैको मृत्यु उसैको कारणले भएको थियो ।

यो महसुसले उसलाई पहिलो पटक सच्चा अपराधबोधले भरिदिन्छ । उसको भय अब बाहिरी नभएर आन्तरिक भएको थियो । ऊ अब कुनै शिकारीसँग होइन, बरु आफ्नै अन्तर्आत्मासँग डराउन लागेको थियो । अब ऊ आफ्नो सुन्दर अनुहारलाई नै घृणा गर्न लाग्छ, जसले उसलाई यो सबै कार्य गर्न उक्साएको थियो । ऊ आफ्नो जवानीलाई घृणा गर्न लाग्छ, जुन वास्तवमा एक अभिशाप थियो । ऊ त्यो तस्विरलाई घृणा गर्न लाग्छ, जुन उसको हरेक अपराधको जीवन्त प्रणाण थियो । अब ऊ यो जिन्दगीबाट थकित भइसकेको थियो । ऊ बदलिन चाहन्थ्यो । ऊ आफ्नो निर्दोषिता पुनः प्राप्त गर्न चाहन्थ्यो ।

यसपछि ऊ अब असल काम गर्ने निर्णय गर्छ; ऊ लर्ड हेनरीको विषालु प्रभावबाट स्वयंलाई हटाउनेछ र एक असल जिन्दगी जिउनेछ । यही क्रममा उसको गाउँकी एउटी सोझी युवतीसँग प्रेम हुन्छ, जसको नाम हेटी मर्टन थियो । ऊ उनलाई धोका दिन सक्थ्यो र उनको जिन्दगी बर्बाद बनाउन सक्थ्यो । तर ऊ यसो गर्दैन । आफूले एक असल काम गरिरहेको छु र ती युवतीको इज्जत बचाइरहेको छु भन्ने सोचेर उसले उनलाई छोडिदिन्छ । उसलाई यो असल कामको असर त्यो जादूगरी तस्विरमाथि पनि पर्नेछ भन्ने आशा थियो । उसलाई शायद तस्विरमा भएको कुरूपता केही कम हुनेछ भन्ने लाग्यो ।

यसरी धेरै आशावादी भएर ऊ धेरै दिनपछि लण्डन फर्किन्छ र सीधै त्यो बन्द कोठामा जान्छ । काम्दै गरेको हातले उसले तस्विरबाट पर्दा हटाउँछ । तर उसले त्यसमा जे देख्छ, त्यसबाट उसको अन्तिम आशा पनि भङ्ग हुन्छ । तस्विर पहिलेभन्दा पनि बढी घिनलाग्दो र कुरूप भएको थियो । उसको असल कामको कुनै प्रभाव परेको थिएन, बरु अब तस्वीरको ओठमा एक बेइमान, पाखण्डी मुस्कान आएको थियो, जस्तो कि त्यसले उसको असल कामलाई मजाक बनाइरहेको होस् ।

डोरिएनलाई आफ्नो यो असल काम पनि इमान्दारिताबाट नभएर घमण्ड र स्वार्थबाट पैदा भएको कुराको महसुस हुन्छ । ऊ आफू बदलिन सक्छु कि सक्दिन भन्ने कुरा हेर्न चाहन्थ्यो । यो देखेपछि डोरिएन पूर्ण रूपमा तहसनहस हुन्छ । उसलाई अब पुनरागमनको मार्ग बाँकी रहेको छैन, आफू कहिल्यै बदलिन सक्दिनँ र आफ्नो यो अवस्थाको जिम्मेदार यो तस्विर हो भन्ने महसुस हुन्छ । उसलाई महसुस हुन्छ – यो तस्विर नै उसको अन्तर्आत्मा हो, उसको विगत हो र उसका अपराधहरूको प्रमाण हो । यो तस्विर रहुन्जेलसम्म चैनपूर्वक बाँच्न सकिंदैन । त्यसपछि उसको मनमा एउटा अन्तिम र हताशापूर्ण विचार उत्पन्न हुन्छ । ऊ यो प्रमाणलाई नै मेटाइदिने र यो तस्विरलाई नै नष्ट गरिदिने निर्णय गर्छ । अब उसले बेसिल हलवार्डलाई हत्या गरेकै चक्कु उठाउँछ । उसलाई त्यो तस्विर नै नष्ट गरिदिएपछि आफू स्वतन्त्र हुनेछु भन्ने लाग्छ । ऊ चक्कु लिएर त्यो घिनलाग्दो तस्विरतिर अगाडि बढ्छ ।

एउटा अन्त्य र नयाँ शुरुवात

अब उपन्यासको कथा अन्तिम र सबभन्दा भयानक मोडमा आइसकेको छ । डोरिएन ग्रे त्यो बन्द कोठामा आफ्नो खराब भइरहेको आत्माको प्रतिबिम्ब र आफ्नो त्यो घृणित तस्विरको सामुन्ने उभिएको छ । उसको हातमा बेसिलको हत्या गरेको चक्कु छ । उसको मन घृणा, हताशा र क्रोधले भरिएको छ । उसलाई सम्पूर्ण समस्याको आधार यही क्यानभासको टुक्रा हो भन्ने लाग्छ । यो तस्विरले नै उसलाई आफ्नो अपराधको स्मरण गराउँछ । यो तस्विरले नै उसलाई चैनपूर्वक सुत्न दिंदैन । उसमा यदि यो तस्विरलई नष्ट गरियो भने आफ्नो अतीतबाट मुक्ति प्राप्त हुनेछ, आफ्नो अपराध मेटिनेछ र पुनः नयाँ निर्दोष जीवन शुरु गर्न सकिन्छ भन्ने एउटा पागलपनपूर्ण विश्वास भरिन्छ; बुजुर्ग भए पनि कम्तीमा शान्ति प्राप्त हुन्छ ।

यही उन्मादमा उसले चक्कुलाई हावामा उठाउँछ र सम्पूर्ण शक्ति लगाएर त्यो तस्वीरको हृदयमा प्रहार गर्छ । चक्कुले क्यानभासलाई चिर्ने वित्तिकै घरमा हृदयविदारक अमानवीय चिच्याहट गुन्जिन्छ । यसको साथै कुनै भारी चीज लडेको आवाज आउँछ । यो चिच्याहट यति भयानक थियो कि सडकमा हिडिरहेका मानिस पनि डराएर रोकिएका थिए ।

घरका कामदार ब्युझिन्छन् र डराउँदै-डराउँदै माथितिर दौडिन्छन् । उनीहरूले त्यो बन्द कोठाको ढोका ढक्ढक्याउँछन् तर भित्रबाट कुनै उत्तर आउँदैन । ढोका भित्रैबाट बन्द गरिएको थियो । त्यसकारण उनीहरू कुनै तरीकाले बाल्कोनीको मार्गबाट भित्र प्रवेश गर्छन् । त्यसपछि कोठामा उनीहरूले एक विचित्र दृश्य देख्छन् । पर्खालमा उनीहरूको मालिक डोरिएन ग्रेको भव्य तस्विर टाँगिएको थियो । यो तस्विर बेसिल हलवार्डले वर्षौं पहिले बनाएको जस्तै अवस्थामा थियो । तस्विरमा डोरिएन पहिलेकै जसरी अद्भुत रूपले सुन्दर र जवान देखिइरहेको थियो । उसको निर्दोषिता जस्ताको तस्तै थियो ।

यद्यपि जमिनको दृश्य देखेर नोकरहरूको मुटु काम्न लाग्छ । जमिनमा एउटा लाश पल्टिएको थियो । यो एउटा यस्तो मानिसको लाश थियो, जुन धेरै बुजुर्ग, चाउरी परेको र घिनलाग्दो थियो । उसको अनुहार घृणा र दुःखले विकृत भइसकेको थियो र उसको छातीमा एउटा चक्कु घुसेको थियो । त्यो लाश यति भयानक थियो कि त्यसलाई पहिचान गर्ने कुरा धेरै जटिल थियो । कामदार यो बुजुर्ग व्यक्ति को थियो र ऊ यो बन्द कोठामा कसरी आयो भनेर हैरान भएका थिए । त्यसपछि तुरुन्तै उनीहरूको दृष्टि त्यो लाशको हाततिर जान्छ । त्यो बुजुर्गको सुकेको हातका औंलामा त्यही सुन्दर औंठी थियो, जुन उनीहरूको मालिक डोरिएन ग्रेले सधैं लाउने गर्थ्यो ।

त्यसपछि उनीहरूले यो लाश अरु कसैको नभएर आफ्नै मालिक डोरिएनको हो भन्ने कुरा थाहा पाउँछन् । उसले तस्विरलाई होइन, बरु स्वयंलाई मारेको थियो । जुन क्षण उसले आत्माको त्यो प्रतिबिम्बलाई नष्ट गर्ने प्रयास गर्यो, त्यही क्षण उसको शरीर आफ्नो वास्तविक रूपमा फर्कियो । वर्षौंको बोझ, दशकौंको अपराध र उमेरको हरेक दिन सबै एकै पलमा उसको शरीरमा फर्किए र उसलाई एक कुरूप बुजुर्ग मानिसमा बदलिदिए ।

अर्कोतिर तस्विर अब उसको आत्माको बोझबाट मुक्त भइसकेको थियो । त्यो अब आफ्नो वास्तविक सुन्दर रूपमा फर्किएको थियो । डोरिएन ग्रेले आफ्नो आत्माको सम्झौता आफ्नो जवानी र सुन्दरताको लागि गरेको थियो । र, अन्तमा उसले दुवैलाई गुमायो । ऊ सुन्दरताको पूजा गर्दथ्यो र सुन्दरताले नै उसलाई नष्ट गरिदियो । ऊ आफ्नो जिन्दगीलाई एक कलाकृति बनाउन चाहन्थ्यो तर अन्तमा ऊ स्वयं एक बिग्रिएको घिनलाग्दो कलाकृति बनेर रह्यो । जबकि वास्तविक कला अर्थात् चित्र सधैंजस्तो शुद्ध र सुन्दर बनिरह्यो ।

सन्दर्भ स्रोतहरू

1. Wilde, Oscar. The Picture of Dorian Gray (1890 Version). The Preface is particularly crucial for understanding Wilde’s aesthetic philosophy.
2. Raby, Peter (editor). The Cambridge Companion to Oscar Wilde. Cambridge University Press, 1997.
3. Ellmann, Richard. Oscar Wilde. Alfred A. Knopf, 1988.
4. https://www.britannica.com/topic/The-Picture-of-Dorian-Gray-novel-by-Wilde
5. https://essaypro.com/blog/the-picture-of-dorian-gray-summary
6. https://www.gradesaver.com/the-picture-of-dorian-gray/study-guide/themes
7. https://www.litcharts.com/lit/the-picture-of-dorian-gray/themes
8. https://pedagogie.ac-orleans-tours.fr/documents/pdf/dorian_gray_-_worksheet_4_-_critical_reception.pdf
9. https://thebookstop.wordpress.com/2011/02/11/review-the-picture-of-dorian-gray-by-oscar-wilde/
10. https://www.thelallantop.com/lallankhas/post/interesting-things-and-quick-facts-about-irish-writer-oscar-wilde
11. Study and Research of various website, blogs, online portals, youtube channels, etc.
12. https://archive.org/download/pictureofdoriang00wildiala/pictureofdoriang00wildiala.pdf