साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

रक्सी खाने आइमाई

कार्तिक सहरिया संस्कारमा केही असहज महसुस गर्दै थियो । ऊ अक्कलझुक्कल वान एन्ड वन्ली युवतीलाई हेर्दै थियो । नजानिँदो पाराले युवतीलाई हेर्दै गरेको कार्तिक युवतीले उचालेको भोड्काको बोतलसँगै झस्कियो- रक्सी खाने आइमाई !

Chovar Blues Mobile Size

“ए.. झापाली, त कहाँ ?”  फोनसँगै प्रश्न आयो ।

झापाली आफैँमा धूर्त अर्थाउने शब्द, जसले सहरमा छोरी भएका घरबेटीदेखि देशको राजनैतिक वृत्तमा पनि ठूलै हलचल मच्चाउने सामर्थ्य राख्दथ्यो । किन झापालाई मानिसहरूले बिब्ल्याँटाएका होलान् ? उल्याएका होलान् ?  उसले मनमनै सोच्यो ।

अस्थायी रूपमा बसोबास गरे पनि जरा नै खोतल्ने हो भने ऊ झर्रो झापाली पनि थिएन । तर आजलाई भने त्यो व्यङ्ग्यात्मक झापाली शब्दले उसलाई त्यति धेरै पिरोलेन । उसको ध्यान त पहिलोपटक सहरको रात्रिकालीन झिलिमिली र रमझममा मनाउन जान लागेको, बर्थ डे पार्टीतिर बढी केन्द्रित थियो । लगाउने कपडादेखि लिएर उपहारसम्म, केहीको बारेमा पनि उसले सोच्नु परेको थियो ।

कार्तिक अपरिष्कृत गाउँमा जन्मिएको थियो । अपरिष्कृत अर्ध–सहरीकरण हुनुअघि एउटा सुन्दर गाउँ थियो । आफ्नै संस्कार र सभ्यता बोकेको अपरिष्कृत गाउँको उत्तरी शीरमा देवी थान थियो । पूर्वबाट कलकल गर्दै मन्दागिनी बगेर पुछारको कोसीमा गडगडाउदै मिसिन्थिन् । त्यही दोभानमा घाट थियो, जहाँ मौन सिद्ध अघोरी बाबा बस्थे । गाउँको मध्यपश्चिमी भागमा सर्पको माला बेरेका जटाधारी शिव बस्ने शिवालय थियो । यही शिवालयअगाडि बेलाबखत लाग्ने मेलामा सर्प नचाउने सपेरादेखि बाँदर नचाउने मदारीसम्म भेला हुन्थे ।

कोसीपारिको भित्तोमा घना जङ्गलबीच निरन्तर बगिरहने रुपमती झर्ना थिइन् । रुपमतिमाथि वनमान्छे बस्ने गुफा थियो । त्यस गुफामा बेलाबखत हराउने बच्चाहरूलाई धामीझाँक्रीको प्रशिक्षण गराइन्छ भन्ने किंवदन्ती प्रचलित थियो  । यिनै धामीझाँक्रीलाई गिज्याउन साँझपख पश्चिममा रहेको उत्तानेभीरमा बेलाबखत राँको बाल्दै बोक्सीहरु आफ्नो परेड देखाउन निस्कन्थे । यस्तै दृश्यहरूमाझ हुर्किएको कार्तिक परिवर्तनीय सत्यतालाई आत्मसात गर्दै सहर पुगेको थियो । तैपनि नौलो ठाउँमा लगेज छुटेको हवाई यात्रीजस्तै सहरको कोलाहलपूर्ण वातावरणमा थोरबहुत अलमलिएजस्तै देखिन्थ्यो ।

अत्तर छर्किसकेर उसले खल्तीबाट फोन निकाल्यो, र मिस्टर एफलाई फोन गर्याे ।

केही समयमै मिस्टर एफ बाइक लिएर आइपुग्यो ।  दुवै कुरा गर्दागर्दै गैरीधारा पुगे । खाजाघरअगाडि बाइक रोकियो ।

फिल्मी शैलीको अपेक्षा बोकेर पार्टीमा हिँडेको कार्तिकको मन, पुरानो भट्टी देख्दा एकाएक जिल्लियो । खिन्निएको मन लिएर ऊ मिस्टर एफलाई पछ्याउँदै प्राचीन शैलीको नेवारी खाजा घरको साँघुरो छिँडीहुँदै पार्टी कक्षमा पुग्यो । सिगरेट, रक्सी र पकवानको गन्धले सम्पूर्ण वातावरण भरिएको थियो । राम्ररी भित्र नपुग्दै मातिएका स्वरहरूको छिल्लिएको हाँसो उसको कानमा गुन्जियो । तिर्मिराएका आँखा एकाएक मुस्कुराइरहेकी युवतीमा गएर ठोकियो । ड्याम केयर टाइप कि युवती बिना मेकअप युवकहरूको दस्तामा चम्किरहेकी थिई ।

हल्लाखल्ला सुन्दा वर्थ डेको माहोल तातिँदै गएको भान हुन्थ्यो । हल्लाकै माझ, ह्यापी बर्थ डे भन्दै दुवै जना एकै स्वरमा कराए । गिफ्ट दिँदै साथीलाई धाप मारे ।

कार्तिक सहरिया संस्कारमा केही असहज महसुस गर्दै थियो । ऊ अक्कलझुक्कल वन एन्ड वन्ली युवतीलाई हेर्दै थियो । नजानिँदो पाराले युवतीलाई हेर्दै गरेको कार्तिक युवतीले उचालेको भोड्काको बोतलसँगै झस्कियो- रक्सी खाने आइमाई !

…………………………….

अपरिष्कृत गाउँ विश्वव्यापीकरणको प्रभावसँगै बिस्तारै आधुनिकीकरण हुँदै गएको हो कि भन्ने भान हुन्थ्यो । शिव र पार्वतीको उपमा पाएको कार्तिकका ड्याडी र ममी अपरिष्कृत गाउँकै आदर्श जोडी मानिन्थे ।

“ड्याडी अफिस सकाएर आउनुहुन्छ । तँलाई लान्छु भन्नुभएको छ । तयार भएर बस् । हरिप्रियाले घरर्पैँचोमा बोलाएकी छन् ।”

“ममी हरिप्रिया आन्टीको कतिवटा घर छ ?”- घर भन्ने सुन्नेबित्तिकै कान्छोले प्रश्न सोध्यो ।

कार्तिकको कान्छो भाइ गणेश; के, किन, कसरी, कसको, कहाँ र कहिलेजस्ता उत्सुकताले भरिएका प्रश्न जन्मने सुन्दर उमेरमा थियो ।

“बजारमा हामी बसेकोसहित दुई वटा, त्यहाँ….. त्यहाँ…. । अँ अहिले बनाएको घरसमेत पाँच होला !”

“किन त्यति धेरै घर बनाउनभएको होला हाम्रो घरबेटी आन्टीले ?”

“भाडा खानलाई,” कपडा पट्याउँदै ममीले कान्छोलाई प्रस्ट्याउनुभयो ।

“आन्टीको बूढा कहाँ छन् ममी ?”

कान्छोको प्रश्नमाथि प्रश्न सुनेर यसपटक भने ममी रन्कनुभयो- “किन चाहियो तँलाई ? जा बार्दलीमा गएर दाइसँग खेल । ए कार्तिक, यसलाई लगेर खेला त !”

“ह्या, म खेल्दिनँ त्यो पिन्चेसँग ।”

“फकाएर खेला न । नत्र अहिले ड्याडीले कान्छोलाई लिएर जानुहुन्छ । अनि थाहा पाउँछस् ।”

“ड्याडीसँग म जाने”- कान्छो उफ्रन थाल्यो ।

“जालास् ।”- कार्तिकले मनमनै भाइलाई गिज्यायो । र तान्दैबाहिर लगेर खेलाउन थाल्यो ।

त्यसबखत कार्तिक सानो सानो विषयमा सजग थियो । ड्याडीसँग जाने मौका ऊ कुनै हालतमा गुमाउन चाहँदैन थियो ।

उसको ड्याडी एनजिओको प्रमुख हुनुहुन्थ्यो । ड्याडीको अफिसका कर्मचारी पनि उसलाई औधि माया गर्थे । बाहिर हिँड्दा चकलेट, फ्रुटीहरु पाइरहने, नयाँ नयाँ कुराहरू देखिने भएर पनि होला हिँड्न भनेपछि फुरुक्क पर्थ्यो । अघिल्लोपटक ड्याडीसँग जाँदा श्यामदत्त अङ्कलले ज्यादा मातेर चकलेट खानका लागि हरियो नोट दिएको स्मरण उसको मस्तिष्कमा ताजै थियो । के के हुन्थ्यो हुन्थ्यो ड्याडीको सर्कलमा ?

आज फेन्सी हरिप्रिया आन्टीको घरपैँचोमा जाने कुरा थियो । ड्याम केयर टाइप कि हरिप्रिया आन्टी मेकअपलाई उति मतलब गर्दिन थिइन् । तर उसको छेवैमा पुग्दा एक गज्जबको बास्ना आउँथ्यो ।  बास्नाको कुराभन्दा पनि कार्तिकलाई हरीप्रियाको आन्टीको घरमा जान मन लाग्ने कारणचाहिँ विदेशी चकलेट थियो ।

‘आज को को आउने रहेछन् ? श्यामदत्त र ज्वालामोती अङ्कल आउँछन् कि आउदैन् ?’ मनमनै यस्तै कुरा गुन्दै थियो कार्तिक, कान्छो रुन थाल्यो ।

“भाइलाई नरुवा है । ड्याडी आउने बेला भयो,” ममीले भन्नुभयो- “बरु, एकैक्षण यता आइज त !”

“किन ममी ?”

“ड्याडीले धेरै पिउनु हुन्छ कि ? विचार गर्नु !”

कार्तिक ममीको ‘सेक्रेट एजेन्ट’ थियो भने ड्याडीको विश्वासिलो हतियार । ऊ ममी-ड्याडीबीच सन्तुलनको बिन्दु थियो  ।

ड्याडीसँग हिँड्दा आँखा चिम्लिएको बहाना गर्नुपर्थ्यो । बस्, घर पुग्दा ममीलाई कानमा खुसुक्क, ‘ड्याडीले त दुई गिलास मात्र पिउनु भयो’ भनिदिनु पर्थ्यो । अर्को यात्राको पास त्यहीँ प्रिन्ट हुन्थ्यो ।

लालसामा जेलिएको कार्तिक एकपछि एक गर्दै झूट बोल्न महारथ हासिल गर्दै थियो ।

………………….

“भाउजू नमस्कार !!” भन्दै अविवाहित बुङ्गाहरूको झुन्ड आइपुग्यो । शक्तिशाली उमेर । उनीहरूभित्र पस्दा घर नै ऊर्जामय बन्थ्यो ।

“चेन्ज गरेर आउँछु है, केटा हो । चिया खाने भए भाउजूलाई भन,” कर्तिकका ड्याडी हतारिँदै कोठाभित्र छिरे ।

कार्तिक तयार थियो हिँड्न ।

“भरे नआउन सक्छु । खाएर सुत्नु,” उनले श्रीमतीलाई दुई शब्द भने, तर कार्तिकलाई लाने कुरा उनले निकाल्दै निकालेनन् ।

ऊ तयार थियो । इसारा पाएको थिएन । ड्याडीका स्टाफहरू बाहिरिसकेका थिए ।

“कार्तिक पनि जान्छु भन्दै थियो,” ममीले सरासर झूट बोलिन् ।

“पर्दैन । केटाकेटी मान्छे । रात परिसक्यो,” ड्याडीले टार्न खोजे ।

“लानु न बिचरालाई, दिउँसैदेखि तयार भएर बसेको छ ।”

ड्याडीले केही अनुहार बिगारे, “ल हिँड् । कान्छोले थाहा पाउला । त्यो रुन्छ ।” उनले कार्तिकलाई अगाडि लगाउँदै निस्किए ।

………………………………………..

हरिप्रियाको नयाँ घरमा पुगे । गृहप्रवेश पूजाका रेखीहरु अझै आलै थिए । सेलको गन्ध अझै हराएको थिएन । त्यही पनि हरिप्रियाका सहयोगीहरू बार्बिक्यूको लागि रापिलो कोइला तयार पार्दै थिए ।

धनाढ्य बाबुकी छोरी, त्यसमाथि ब्रिटिस लाहुरेसँग प्रेम विवाह गरी बेलायत पुगेकी । रवाफिलो अनि रङ्गीन जीवन थियो हरिप्रियाको । तर उनको वैवाहिक जीवनको बारेमा भने राम्रो गाइँगुइँ सुनिँदैन थियो । केही श्रीमान् मरेकोले फर्किएकी भन्थे त केही श्रीमान्सँग राम्रो सम्बन्ध नभएको अड्कलबाजी गर्थे । उनको बारेमा यस्ता थुप्रै कुराहरू सुन्नमा आउँथे, तर उनलाई यस्ता कुराहरूले केही फरक पारे जस्तो लाग्दैन थियो ।

एक्ली महिला भएर पनि उनी मस्तसँग रवाफिलो जीवन बाँचिरहेकी थिइन् ।

आज उनैले घरपैँचोमा नौलो मिक्स संस्कार भित्र्याउँदै थिइन् ।

हरिप्रियाका सहयोगीहरू मासु पोल्न थालिसकेका थिए ।

रक्सीको बोतल हातमा बोकेर हरिप्रियाले चियर्स भन्दै कराइन् । विभिन्न रक्सीका ब्रान्डहरू गिलासमा भरिँदै अनि साथसाथै रित्तिँदै गए । मात्तिँदै गएका निम्तालुहरु हरिप्रियाको ‘ड्याम केयर’ दर्शन वरिपरि घुम्न थालिसकेका थिए ।

यसरी कार्तिकले पहिलोपटक रक्सी खाने आइमाई देखेको थियो । त्यति मात्र होइन, लोग्ने मानिसहरू मातेका आइमाईसँग इत्रिएको सुनेको थियो । उसलाई स्वस्थानी कथामा सुनेको जस्तै प्याला भरिएका ग्लास बोक्दै परीहरू नचाउने देवलोक यस्तै होला भन्ने कल्पना आएको थियो ।

ड्याडी हुन् वा उनका साथीहरू मस्तीबाहेक बिचरा त्यस बालकको पर्वाह गर्दिने कोही निस्केन । उसलाई ममी र भाइको अभाव खड्कियो । आठ वर्षे बालक बिस्तारै गनगनाउँदै ड्याडी छेवैमा गयो र निद्रा लाग्यो भन्दै गनगनाउन थाल्यो ।

अन्ततः हरिप्रिया आन्टीले उसको गनगन सुनिन र नयाँ घरको दोस्रो तलामा लगेर उसलाई सुताइन् । कतिबेला भुसुक्क भयो, उसले चालै पाएन । एकाएक रात्रिमा सुसुले च्याप्दा ड्याडी अर्को ओच्छ्यानमा घुरिरहेको पायो ।

……………………..

बिहानीपख ब्युँझिदाको दृश्य फरक थियो । ऊ कोठामा एक्लै थियो । बाहिर निस्कियो ।

तल्लोतलाबाट कल्याङ्गकुलुङ्ग आवाज आइरहेको सुन्यो ।

  • ल ल स्ट्रेचर तयार भयो ।
  • बूढालाई जवानी चढेपछि यस्तै हो ।
  • कम्तीमा हेरेर हिँड्नु पर्छ नि !

“……….को नाम लिँदै राति हामी सुतेको कोठा ढक्ढकाउँदै थिए । मातेपछि यी दुवैको चर्तिकला यस्तै हो । हेर न अब कसरी घर पुर्याउने हो ?” श्यामदत्त र ज्वालामोति अंकलले गरेका यस्तै गफ सुन्यो ।

आँखा मिच्दै भर्याङ्गबाट तल झर्‍यो । खुट्टा झुन्डाएर हरिप्रिया आन्टीसँगै ओछ्यानमा बसेका ड्याडीलाई टुलुटुलु हेर्‍यो । सबै मिलेर ड्याडीलाई स्ट्रेचरमा हाले ।

“ममीलाई ट्वाइलेट जाँदा लडेको भन्नु ल !” ड्याडीले भनेका यी शब्दहरू अझै बेलाबखत उसको कानमा गुन्जिरहन्छन् ।

त्यो रात वास्तवमा के भएको थियो ……………………………………. ?

………………

“झापाली आज सुन्धारातिरै बस्नु पर्छ,” बर्थ डे ब्वाई करायो ।

केही नबोली उसले भोड्का लियो ।

“ममता पनि जाने होइन त ?” फेरि, बर्थ डे ब्वाई करायो ।

झापालीले बिस्तारै टाउको उठायो, र “रक्सी खाने आइमाई“ तर्फ टुलुटुलु हेर्न थाल्यो ।

प्रतिक्रिया
Loading...