बाटोभरि सगुनाले मेरो दिमाग आफ्नै अँगालोमा च्यापिरही । म बिनसित्ति आवेशमा आएछु, दायाँबायाँ नहेरी सगुनाउपर चक प्रहार गरेछु भनी पश्चात्तापको मुस्लो दिलदिमागमा रङमङिइरह्यो ।

ग्रिनरोज स्कूलमा उसको भूमिका सामान्य होइन भन्ने कुरामा म करिब करिब निश्चित भइसकेको थिएँ । स्कूलबाट
बाहिरिँदै गर्दा सिर्जना मिसले नै सगुनालाई नमस्कार गरेकी हुनुपर्छ भन्ने पनि निश्चित भैसकेको थिएँ । प्रिन्सिपलले मलाई भोलिदेखि नआउनू भन्न खोज्दा सो आदेशलाई नै चुनौति दिने त्यो केटी एउटी सामान्य विद्यार्थी हुनै सक्दिन । स्कूल छुट्टीपछि सबै विद्यार्थी आआफ्नो घरतिर लाग्दा ऊ भने स्कूलमै गायब भएकी थिई ।
तर उसको उमेर प्रौढ पनि पटक्कै देखिँदैनथ्यो । अरु बच्चाहरुकै हाराहारीकै उमेरकी थिई । उनीहरुजस्तै स्कूलेड्रेसमा सजिएकी थिई । उसको व्यवहार बालसुलभ थियो । विद्यार्थी होइन कसरी भनूँ ? ऊ विद्यार्थी नेता पनि त हुन सक्छे !

यस्तो नेता कि उसले समग्र विद्यार्थीको मात्र होइन समग्र स्कूलकै नेतृत्व लिइदिई ! यो किन हुन सक्दैन र ?
त्यसो हो भने एकजना विद्यार्थी जतिसुकै प्रवीण होस् शिक्षकले आफ्नो विद्यार्थीलाई नमस्कार गर्दै गर्दैन । सिर्जना मिसले किन सगुनालाई नमस्कार गरिन् ? कक्षाकोठामा ऊसँग आफ्ना कापिकिताब पनि त थिएनन् । मैले पढाइरहेको बखत सम्बन्धित पाठतिर नभई अन्त कतै घोत्लिएकी हुन्थी । यसकारणले पनि पाँच कक्षाकै ऊ विद्यार्थी हो भन्ने आधार कहाँ थियो र ? उसोभए विद्यार्थीकै ड्रेस पहिनेर किन पसी ऊ पाँचकक्षाको कक्षा कोठामा ? विद्यार्थीसँगै टाँसिएर किन बसी ? जति बुझाउन कोशिस गरे पनि बुझ्दै बुझिन किन भनिरही उसले ? स्कूलले उत्कृष्ट विद्यार्थीलाई शैक्षणिक अनुगमनकर्ता खटाएको होला त ? अनुभवी शिक्षकको अनुगमनकर्ताको उमेर यति सानो कसरी सम्भव होला त ? त्यसो पनि होइन होला ! जुन कोणबाट सोचे पनि मैले आफूलाई चित्त बुझ्दो जवाफ दिन सकिनँ ।

प्रिन्सिपलले मलाई क्रियटिभ लेसन प्लान बनाएर मात्र स्कूल आउनु भनेका थिए । लेसनप्लान बनाउन त सिकेको थिएँ, तर क्रियटिभ लेसनप्लानको मेसो मसँग थिएन । म शिक्षाशास्त्रतर्फको अनुसन्धाता पनि थिइनँ । क्रियटिभ लेसनप्लान के होला भनी जान्न हत्तपत्त गुगल सर्च गरेँ । तर त्यहाँ पनि मैले जसरी लेसनप्लान बनाउँथेँ त्योभन्दा खासै भिन्न सूचनाहरु थिएनन् । भन्नाले क्रियटिभ लेसनप्लानमा पनि उही कुरा थिएः विशिष्ट उद्देश्य, सामान्य उद्देश्य, शैक्षिक सामग्री, शिक्षक सिकाइ क्रियाकलाप, विद्यार्थी क्रियाकलाप, पृष्ठपोषण, आदि, आदि । विषयभित्रका कुराहरु भने केही फरक थिए । म धेरै बेरसम्म गुगल सर्चमै हराएँ । कोठाको बन्द वातावरणबाट म संचार प्रविधिको आधुनिकतम खुल्ला वातावरणमा पुगिसकेको थिएँ । त्यहाँ सम्पूर्ण मेरा ज्ञानेन्द्रीय अलमलिने निकै फराकिलो ठाउँ थियो । यदि यिनै सामान्य कुराहरु भएको लेसनप्लानको बारेमा प्रिन्सिपलले भनेका हुन् भने उनले यति विधि जोड दिनै पर्दैनथ्यो ! यो स्कूलले तोकेको क्रियटिभ लेसनप्लान पनि सायद भिन्नै होला । यस्तै सोच्दै प्रविधिका वैकल्पिक महामार्गमा बतासिँदै म फेसबुक संसारमा आइपुगेँ । साथीभाइका तर्क वितर्क र समसामयिक घटनाहरु के भैरहेछन् जान्न कुतकुती लागे मेरो सहारा फेसबुक नै हुने गर्थ्यो । म फेसबुकमा डुब्दै गर्दा मध्य रात पनि घर्किँदै थियो ।

फेसबुकको संसार खुल्नेबित्तिकै जुकरवर्गले “ह्वाट्स अन योर माइन्ड ?” भन्दै जिस्क्याइहाल्यो । झोक चल्योः लेखिदिऊँ कि, “देयर इज वान्ली अ लिटिल गर्ल नेम्ड” सगुना “इम माइ माइन्ड !” औँला सलबलाइरहेका थिए, तर ती औँलालाई पोष्टतिर जान नियन्त्रित गर्दै सर्च बक्सको प्रयोग गरेँ: सगुना सुनार !

एक सेकेन्डमै सगुना सुनार नामका दर्जनौँ अनुहारहरु मेरो नजर अघि पेश भए । मैले पाँचकक्षाकी उही सगुनाको अनुहार सम्झिएँ । सुलुत्त परेको जीउ । हल्का अग्ली । अलि वेशी नै गोरो रुपरङ । लामो नाक । अनुहारको वरिपरि टाँसिएकाजस्ता चिल्ला गाला । बाक्ला आँखीभौँ । चौडा ललाट । निख्खर कालो कपाल । लामो तर समतल छातिको अग्रभाग । माथिल्लो भाग छोपेको सेतो तर पातलो बुसर्ट । शरीरको तुलनामा छोटा खुट्टाहरु । खुट्टाहरुमा टाँसिएको गाढा निलो छोटो पाइन्ट ।

मेरो मनस्पटलमा बनेको सगुनाको यही मानसिक चित्रसँग फेसबुक भित्ताका प्रत्येक अनुहार तुलना गर्दै गएँ । एउटा तस्बीर मनसपटलकी सगुनासँग अलि बढी नै मिल्न पुग्यो । तर तस्बिरका केटीका आँखा भने हरिया देखिए । उत्सुकता मेट्न मैले उसको प्रोफाइल खोलेर हेरँ । धमाधम उसका पोष्टहरु चेक गर्न थालेँ ।
पोष्टहरु गणितीय सूत्रहरुले भरिएका थिए । कतै कतै फिजिक्सका सूत्रहरु पनि थिए । बुझ्दै नबुझिने कठिन सूत्रैसूत्रले उसको फेसबुक टाइमलाइन भरिएको थियो । मलाई दिगमिग लागेर आयो । थप पोष्ट खोतल्ने धैर्यता गुम्न पुग्यो । प्राइमरी स्कूलकी विद्यार्थीसँग यति विधि सूत्रको जानकारी हुनसक्ने कुरै थिएन ।

पोष्ट चेक गर्न छोडेर उसका फोटोहरु चेक गर्न थालेँ । धेरै फोटोहरु कक्षा कोठा भित्रकै थिए । केही फोटोहरु सामुहिक थिए र फिजिक्सका एक्सपेरिमेन्टमा डुबेका जस्ता देखिन्थे । केही त विद्यार्थीहरुलाई पढाउँदै गरेका फोटोहरु पनि थिए । अधिकांश फोटोमा रहेका ग्रीन रोज स्कूलको पृष्ठभूमिले उही सगुना हो भन्ने कुरामा कुनै दुविधा रहेन । म तरङ्गित हुन पुगेँ ।

सगुना एउटी विद्यार्थी मात्र होइन भन्ने कुरा उसको प्रोफाइलले राम्रैसँग बताइदियो । रातको उत्कर्षमा पनि सगुना
अनलाइनमै थिई । मेरा औँलाहरु अनायास मेसेज बक्समा नाच्न पुगेः

“हाइ ! सगुना !!”
“नमस्ते सर !” ढिला नगरी प्रतिक्रिया प्राप्त भयो । गम्भीर स्वभावकी सगुना मेरो आँखामा नाच्न थाली । उसको कर्णपृय स्वर कानमा गुन्जियो । मानौँ त्यहाँ अक्षरहरु होइन सस्वर सगुना उपस्थित छे ।

“आरामै छौ ?” म सक्दो विनम्र देखिन खोजेँ ।
“आरामै छु सर । सरको पनि आरामीको कामना गर्दछु ।” उसले झनै नम्रता देखाई ।
“के गर्दैछ्यौ त यति रातिसम्म ?” मैले चोर पक्रन खोजेँ ।
“सरहरुले दिनुभएको होमवर्क गर्दै छु ।”
“खुब गर्दैहौली होमवर्क ? तिमी मलाई यसरी नढाँट । तिमी विद्यार्थी होइनौ भन्ने कुरा मैले पत्ता लगाइसकेँ ।”

“हाहाहाहाहाहाहा ! मज्जाले हसाउनुभयो सरले पनि । के पत्ता लगाउनुभयो सर ? हजुरको अनुसन्धान नै भ्रमपूर्ण छ । ढुक्क हुनुहोस् म विद्यार्थी नै हुँ । मैले ढाँट्नुपर्ने केही कुरा छैन । ढाँटेको कुरा त हजुरले यो स्कूलमा निरन्तरता दिँदा भोलिका दिनहरुमा पत्ता लागिहाल्नेछ ।” उसको जवाफ सामान्य हुँदा हुँदै पनि मेरो दिमाग बेसरी चक्कराउन थाल्यो । आँखा तिरमिराए । एक कारण थियो मैले टाइप गर्दा केही समय लाग्थ्यो, तर उसले जवाफ दिँदा समयको अन्तर निकै झिनो हुन्थ्यो । उसको पछिल्लो एउटै रिप्लाइमा मात्र सातवटा वाक्य थिए ! मैले प्रश्न सोधेको एकसेकेन्डमै उक्त जवाफ फर्काएकी थिई । जतिसुकै फास्ट टाइप गरे पनि यो सम्भव थिएन ।
मेरो दिमागमा हलचल मच्चिनुको अर्को कारण के थियो भने उसले आफू विद्यार्थी नै भएको जिकिर गरिरहेकी थिई र यो कुरा भविष्यले प्रमाणित गरिदिनेछ भनेकी थिई । आजै, अहिल्यै बनेर आइपुग्ने भविष्य जत्तिको प्रमाणिक सत्य अर्को केही हुनसक्दैन भन्ने कुरामा म ढुक्क थिएँ । ढुक्क होइन अहिले म तीनछक परिरहेको थिएँ । किनकि यी दुवै परिस्थिति नितान्त विपरीत थिए ।

“हिजो मबाट अनायाश हुन गएको गल्तीको क्षमा चाहन्छु, सगुना म्याडम ।”  मैले “म्याडम” नै सम्बोधन गरेर आफ्नो जिद्दी देखाउन खोजेँ ।

“हजुरले आफ्नो जिम्मेवारी पूरा गर्दा देखाइएको व्यवहारप्रति मैले पटक्कै दुःख मानेकी छैन सर । बरु मलाई बुझ्ने मौका दिनुभयो । यो त मेरो अहोभाग्य हो सर ।”

उताबाट उत्तिकै तिब्र गतिमा उसले जवाफ त फर्काई तर मेरो खास प्रश्नको जवाफ भने दिएकी थिइन । मैले उसलाई
“म्याडम” सम्बोधन गर्दा उसले के प्रतिक्रिया दिन्छे ? भनी जान्न खोजेको थिएँ मैले । उसले आफू म्याडम भएको कुरा सहजै स्वीकार गरी । ऊ विद्यार्थी होइन भन्ने यो एउटा बलियो प्रमाण थियो ।

“रात निकै बितिसक्यो सर । भोलि तपाईँ स्कूलमा आएर धेरै कक्षाहरु लिनुछ । अब आफ्नो निद्रा पूरा गर्नुहोस् सर !”
“अनि तपाईँचाँहि सुत्नु नपर्ने ?”
धेरै बेरसम्म पनि ऊबाट कुनै जवाफ प्राप्त भएन ।
“म्याम्, क्रियटिभ लेसनप्लानको अर्थ मैले बुझ्न सकिनँ । मलाई हिन्ट्स दिनुहुन्थ्यो कि ?”
फेरि पनि उताबाट कुनै रिप्लाइ आएन । ऊ त पहिल्यै अफलाइन भैसकिछ ।
“गुड नाइट” को सामान्य औपचारिकता पनि पूरा नगरी अफलाइन भैदिने कस्ती स्वभावकी केटी हो यो ? मेरो मन निकै
खिन्न हुन पुग्यो । मैले आफ्नै इन्टरनेट चेक गरेँ । मेरै नेट पो गएको रहेछ ।
दिमागबाट सगुनालाई बढार्न खोज्दै म निदाउने प्रयत्नमा लागेँ ।