काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले वर्ष २०८२ का लागि दुई महत्वपूर्ण पुरस्कार घोषणा गरेको छ।
प्रतिष्ठानले योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्थापित रु. २५ हजार राशिको ‘योगेश्वर वाङ्मय पुरस्कार’ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष मोमिलाद्वारा जारी विज्ञप्तिअनुसार चैत्र १० गते काठमाडौँमा बसेको प्रतिभा चयन समितिको बैठकले साहित्यिक योगदानसँगै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको आधारमा ओलीलाई सम्मानित गर्ने निर्णय गरेको हो।
यसैगरी, अमेरिकी मानवशास्त्री स्वर्गीय प्रा. डा. ग्रेगरी जी. मस्कारिनेकको स्मृतिमा स्थापित रु. २० हजार राशिको ‘ग्रेगरी कलासंस्कृति पुरस्कार’ सोलुखुम्बुका स्रष्टा मनुहाङ किरॅाती सोलु (युमन खालिङ) लाई प्रदान गरिने भएको छ। उक्त पुरस्कार कला, साहित्य तथा संस्कृतिको उत्थानमा पुर्याएको योगदानका आधारमा प्रदान गरिने जनाइएको छ।
दुवै पुरस्कार काठमाडौं बाहिरका स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो। पुरस्कारहरू आगामी चैत्र २८ गते सोलुखुम्बुमा आयोजना हुने विशेष सिर्जना उत्सव समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
यसअघि ‘योगेश्वर वाङ्मय पुरस्कार’ डा. कृष्णराज डी.सी., अमर गिरी, उषा शेरचनलगायत स्रष्टाहरूलाई प्रदान गरिएकाे थियाे भने ‘ग्रेगरी कलासंस्कृति पुरस्कार’ शेरबहादुर अधिकारी, नवीन विभास, भरत गुरुङलगायतलाई प्रदान गरिसकिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










