
सार्कीमामाको खबर र ज्याको चिठ्ठीको हदम्यादअनुसार एक महिनामै ज्याबा घर फर्कनुपर्ने थियो, तर फर्किएनन् । ठाँटीतिरको बाटो हेर्दाहेर्दा हाम्रा आँखा टट्टाइसकेका थिए । हाम्रो व्यग्र पर्खाइ र तड्पाइले पहिलो एक महिना कट्न निकै मुस्किल भयो । अर्को एकमहिना बित्न थालेपछि मात्र हाम्रो तीब्र आशा एवम् व्यग्रता ओरालो झर्न थाल्यो । हुँदाहुँदा ज्याबा छिट्टै फर्कने कुराको विश्वास नै लाग्न छोड्यो । हामी हाम्रो भागको अचल पृथ्वीलाई धिक्कार्दै पूर्ववत् अवस्थामा फर्कियौँ ।
यस्तैमा एक दिन ज्याबा बम्बैबाट गाउँको छेउमा आइपुगेको खबर ल्याएर छिमेकी केटाकेटीहरू दगुर्दै हाम्रो घरमा आइपुगे । त्यो अप्रत्याशित खबर सुनेर स्यानीफुपू “हयजेइ बाबै नि तो !” भन्दै गोठबाट फूत्त निस्किइन् । दिदीहरू “साँच्चै कि बलै ?” भन्दै घरभित्र रोटी हाल्दाहाल्दै बार्दलीमा निस्किए । हामी दुईभाइ गिरी खेल्दाखेल्दै बकटक्क परेर खबर ल्याउनेको अनुहार हेरेका हेरेई भयौँ । अरूले नमान्दा नमान्दै ठूल्दाइले लठ्ठी र गिरी खोसेर कान्लामुनि मिल्काइदिए । मैले गिरी खेल्ने खोबिल्टो पुरपार पारेँ । ज्या सन्चो भएर गाउँमा आइपुगेको खबर सुनेर मुटु उफ्रिन थाल्यो । हातगोडा लल्याकलुलुक भए । बोली लरबरायो ।
हाम्रो गिरी खेल्ने स्थान सालघारीको जङ्गलबाट घरको आँगनमै सरिसकेको थियो । सुरूसुरूमा दिदी र फुपूहरूले गिरी खेल्न हुँदैन भनी दुईभाइलाई गाली गरे । पिटे । अनेक गरी सम्झाए पनि । तर गिरी नखेल्दा हामी झनै कुना पसी भक्कानिएर सम्हाल्नै गाह्रो हुने भएकोले हाम्रो लागि गिरी खेल क्षम्य हुन पुगेको थियो र किस्ता किस्तामा स्वीकृति लिँदै हामी घरको आँगनसम्मै आइपुगेर उधुम मच्चाउन थालेका थियौँ । खेलाडीमा ठूलाबाका छोराहरू पनि थपिएका थिए ।

पूर्ण ओली
ज्याबा बम्बैबाट साँच्चिकै फर्किएको खबरले हामी हर्षविभोर भयौँ । गर्मीले पोलेको शरीरमा चिसो पानी खन्याएजस्तै शितल भयो । हामीले चाल नपाई पृथ्वी आधा फन्को घुमिसकेछ । भयपूर्ण लामा रातहरूपछि उज्यालो भैछाड्यो । हुरीबतासको वितण्डापछि जङ्गलको चराले आफ्ना बचेरा खोज्न आएझैँ ज्या पनि मुटुमा भकभकी उम्लिएको मायालाई सम्हाल्दै हामीउपर खन्याउन आउँदै थिइन् । हामी ज्याबा हुँदाहुँदै पनि टुहुराजस्ता थियौँ, अब ज्याबाको शितल छहारी र संरक्षणमा बस्न पाउने भयौँ । अब हाम्रा ओठमा उम्रिने पिडाहरू छिमलिएर खुसी मात्र उम्रने भयो । हामी धन्यधन्य हुने भयौँ । अब हरेक रात ज्याका श्लोक र गीतहरूले सहजै कट्ने भए । अब ज्याबालाई आफ्नो कब्जाबाट कदापि फुत्कन दिनुहुन्न । यस्तै कल्पनाले म तरङ्गित हुन थालेँ ।
“बम्मैवाले कतापट्टि बाट आया तो ?” भन्दै स्यानीफुपू आँगनको छेउतिर सर्दै गइन् र डालाबोटले नछेकिने ठाउँमा पुगेर निधारमा हत्केला तेर्स्याउँदै बैरागी ठाँटीतिरको बाटो निज्याउन थालिन् । दिदीहरूले पनि फुपूलाई पछ्याए ।
ठूल्दाइ र म पनि हतार हतार दुईतीन कान्ला नाघेर खबर ल्याउनेले औँल्याएतर्फ तन्कीतन्की ठाडो बाटो र तेर्सो बाटोतिर चिहाउन थाल्यौँ । कतै नदेखेपछि ज्याबालाई बाटोमै भेट्न जान जम्कियौँ ।
“कान्छाबासित मस्तै बम्मैवालेहरू पनि आका छन् । बम्मैकी माइलीसान्ज्या पनि आकी छिन् ।” तल्नाघर ठूल्दाइले ज्याबाको साथमा अरू पनि आएको पक्कापक्की गरेपछि हाम्रो सातोपुत्लो उड्यो । साथमा अरू पनि छन् भन्ने खबरले फाल हाल्न तम्सिएका हाम्रा गोडाहरू हचक्क हच्किए । दिदीहरू हातमुख धुन खालीपटतिर दगुरे । फुपूले हामी दुईभाइलाई लतार्दै कयनपानी पँधेरोबाट हातगोडा धोएर आउन अह्राइन् । हामी दुईभाइ हामफाल्दै एकै सासमा पँधेरामा पुग्यौँ र छरिएका टुक्राटाक्री पिना सँगालेर हातगोडा र मुख मिनीमिनी धोयौँ । त्यसपछि हामफाल्दै फेरि घरमा आइपुगेर मुन्टो तानीतानी बम्बैवालेहरूलाई वारिपारि खोज्न थाल्यौँ ।
“चाँरै, अब नइयाँ लुगा लाऊ । ज्याबा मात्रै भए हुन्थ्यो, अरू बम्बैवालेको अघि यस्तै मयलले कटकटिएका, लुगाले लाजमर्नु हुन्छ फेरि ।” फुपूले हामीलाई घरभित्र तानिन् र आफूले पनि सफा लुगा खोज्न थालिन् ।
नयाँ लुगा भए पो लगाउनू ! धोएका लुगाजति गिरी खेल्दा बिगारिसकेका थियौँ । स्कूल ड्रेस धुनको लागि पर्सि मात्र शनिबार आउँदै थियो । स्कूल ड्रेसबाहेक बाँकी लुगा महिनामा एकचोटि खरानी उमालेर धुने गर्थ्यौँ । त्यो अन्तिम शनिबार पनि पछि नै परेकोले सफा लुगा एउटै भेटिएन ।
“अस्तिको एक मैनासम्म कस्तरी लुगा धोइराख्यौँ, आँगन र कोठा बढारेको बढारेई गर्यौँ, यिनी बम्बैवाले मुन्टिएनन् । ऐले थापत्ता केइ नदिकन अपर्झट मुन्टिने ? यत्तिकै ठेस्सिराखून् । म ता लुगा मरिगए फेर्दिनँ ।” ठूल्दीले एकोहोरो जिद्दी गरिन् । मनदी भने पहिल्यै लुगा धोएर राखेकी रहिछन् । सफा लुगा फेरेर चिटिक्क परिहालिन् । ठूलदीले घरभित्र र स्यानीफुपूले बाहिर आँगन बढारकुढार पार्न थाले । जताततै बुङ्बुङ्ती धुलो उडेर चौपट्टै भयो ।
हामीले के लुगा फेर्ने भन्नेमा कोलाहल मच्चाइरहेको बखत पश्चिमतिरको कयनपानी खोल्सामा मान्छेहरूको हल्लाखल्ला सुनियो । हामीले हत्तपत्त स्कूलको ड्रेस जीउमा छिराएर बार्दलीमा गुरुरुरुरु निस्कियौँ र खोल्साबाट निस्किँदै गरेको मान्छेको बगाललाई च्याउन थाल्यौँ ।
अघिअघि चिल्ला सर्टपाइन्ट लगाएका दुईजना अग्ला जुँगे तन्नेरीहरू, तिनको पछाडि एकजना बूढो मान्छे, त्योभन्दा पछाडि अनुहार ज्याजस्तै तर अलि मोटी र अग्ली, झिलिमिली निलो सारी र निलै ब्लाउजमा सजिएकी महिला, उनको पछाडि गुलाबी सारी र ब्लाउजमा सजिएकी पातली युवती । त्यसपछि हटारू-डोका बोकेका दुईजना भरियाहरू । त्यसपछि गाउँकै आफन्तहरूको लामो लस्कर । गाउँले केटाकेटीहरू उनीहरूको घरी अघि, घरी पछि उफ्रिरहेका थिए ।
केही समयअघि खबर पाउनेबित्तिकै ज्याबालाई बाटोमै अँगालो हाल्न तम्सिएका हामीहरू । अहिलेचाँहि उनीहरू नजिकै आइपुग्दा समेत कोही पनि अघि सर्न सकेनौँ । लाज र डरले पछिपछि सर्यौँ ।
स्यानी फुपूले आँगनभरि छपक्कै मान्द्राहरू बिछ्याइदिइन् । घरको पेटीमा परालका चकटी र गुन्द्री बिछ्याइदिइन् । ओटामा काम्लाहरू ओछ्याइन् ।
दाइका कानमा मुख लगेर सुस्तरी सोधेँ मैलेः “ज्या र बा ता देखिन्नन् तो ? अन्तैका बम्मैवाले हुन् कि ?”
“च्यान्नै, अग्गेट लाग्या अग्ला तन्नेरी हाम्रै बा ता हुन् केरै । सटपाइन्टमा सजिएकाले अर्कै देखिएका हुन् । अनि ज्या.. ज्या..ता… !”
ज्याको बारेमा दाइ पनि स्पष्ट थिएनन् । दिदीहरू पनि बम्बैवाले र आफ्नै ज्याबालाई खुट्याउन नसकेर अलमल्ल थिए र बालदारीबाटै ट्वाल्ल परी हेरेका हेरेई थिए । बम्बैवालेहरू घरको नजिकै आएकोले हामी दुईभाइ लुक्न घरभित्र छिर्यौँ । मुटु निकै ढुकढुक गर्यो । ह्यास खसेजस्तै भयो । के ज्या आइनन् ? के उनलाई सन्चो नभएर उतै बसिन् ? कि…. ?” मनमा अनेकौँ आशंकाहरू उब्जिए । भर्खरै उम्लिएको उत्साह र उमङ्ग एकाएक सेलाएर गयो ।
उनीहरू आँगनमै आइपुगेर कोही पेटीमा त कोही आँगनमा बसे । डोकेहरूले डोकाहरू पेटीमै अड्याए । धेरै महिनादेखिको निस्याइलो घर हल्लीखल्लीले गुन्जायमान र ससिलो हुन पुग्यो ।
“किन तिमीहरू बार्दलीमै उभिराखेका ? झर तल । एकछिन बाहिरै थकाइ मारेर भित्र पसौँला ।” बाको खिरिलो स्वर प्रष्टै चिनियो ।
दिदीहरू तल झरेपछि हामी दुईभाइ पनि दिदीहरूको पछिपछि टाँसिएर बाहिर निस्कियौँ । बम्बैबाट आएकी मोटी महिलाले मलाई पाखुरामा समातेर काखमा राखिन् र भनिन् “यही हो कान्छो ? कस्तो धाइराको काठजस्तै सुकेको त ? च्च.. च्च.. माको काखमा हुर्किन नपाएर हत्ते भएछ ।” उनले मेरा गालामा चप्पाचप म्वाइँ खाइन् । म लजाएँ । बुझिसकेको थिएँ कि यिनी नै बम्बै बस्ने माइलीसान्ज्या हुन् । सँगै बसेकी अर्की आईमाई को हुन् त उसोभए ?
खुसीको माहोलमा यो बगालमा मिसिएर आएकी ती अर्की महिला ज्याबाहेक अरू पराई हुनै सक्दिनथिन् तथापि ज्याजस्तै भने पटक्कै थिइनन् । कुनै अविवाहित युवती पनि हुनसक्थिन् । बीच बाटोमै गाउँले सातेनीहरूसँग कुरा गर्दागर्दै पछि परेर ज्या घरमा आइनपुगेकी हुनसक्थिन् । अतः ज्या खै त ? भन्न वा यिनी हाम्री ज्या हुन् कि होइनन् ? भनी जोकसैलाई सोध्नु हास्यास्पद हुनसक्थ्यो । हामीले ज्या भन्दै अँगालो मार्न पुगेकी महिला अरू नै भैदिए हामीलाई कति लाजमर्नू होला भन्ने डरले हामी खुम्चिरहेका थियौँ । पाँच भाइबैनी कसैले मुख फोर्न सकिरहेका थिएनौँ ।
नजिकै बसेकी महिलाले माइलीसान्ज्याको काखबाट मलाई तान्न खोजिन्, तर मैले सान्ज्याकै काखमा मुन्टो लुकाएँ । उनले दाइलाई तान्न खोजिन् तर दाइ उनीबाट भाग्दै बाको काखमा गएर बसे । उनले दिदीहरूलाई तान्न खोजिन्, दिदीहरूले पनि उनको हात फुस्काएर परपर पन्छिए । हाम्रा पाँचजोर आँखाहरू परैबाट ती नौली महिलाउपर झर्झरी खनिए ।
“ढोग गर माइलीसान्ज्या र काकाहरूलाई । ऊऽऽ उहाँ बम्मैवाले माइलाकाका । अनि उहाँ गुवाका कान्छाकाका । के भयो तिमीहरूलाई ?” ती महिलाले हातले औँल्याउँदै दबेको मसिनो स्वरमा हामीउपर उर्दी फिराइन् ।
पहिले फुपूले, त्यसपछि दिदीहरूले, अनि हामी दुईभाइले लामबद्ध भई आँगनमा जम्मा भएका जम्मैको हात तानेर पालैपालो ‘जीऊ’ गर्यौँ । हाम्रो जीउबाट मयल, पसिना र गोबरको गन्ध फैलिएर हुनुपर्छ बम्मैवालेहरूले रुमालले नाक छोपेर सर्याकसुरूक गरे ।
माइलीसान्ज्यासँगै बसेकी अर्की महिलाले घरी हामीलाई त घरी भोकले बाँबाँबुँबुँ गरिरहेका गाईभैँसीलाई चियाइरहेकी थिइन् । उनको हात तानेर ढोग्दा पनि उनको अनुहारमा अरूजस्तो खुसी उघ्रिएको थिएन । ज्या भए त खुसी हुँदै हामीलाई लम्बेतान आशिकभाग्गे दिँदी हुन् ।
‘ती महिला को होलिन् ? यिनी हाम्री ज्या नै हुन् कि ? तर स्वर ज्याको जस्तो पटक्कै छैन । स्वर मात्र होइन ज्याको कुनै हुलिया कतै मिल्दैन । हाम्री ज्या त मोटी, थसुल्ली, गुलाबी रुपरङकी थिइन् । कानमा पाते सुन, नाकै ढाक्ने फुली र मुन्द्री, गलामा लामो पोते र हातभरि चुरा थिए । ज्या त सात-आठवटा सन्तान जन्माइसकेकी अधबैँसे पो थिइन् । बिरामी पर्दा पनि यति पातली थिइनन् । यिनको अनुहार त गोरेनीजस्तै सेतो पटास देखिन्छ । आँखा निकै काला र भित्र गढेका छन् । अनुहार र जीउमा कुनै पनि सिँगारपटार छैन । कपाल ज्याको भन्दा निकै लामो छ । अनुहार ज्यासँग मिल्दै मिल्दैन । यिनी हाम्री ज्या हुनै सक्तिनन् ।
हामी केटाकेटीहरूले यस्तै केही सोच्दै मूलढोकाको सिँगारमा एउटै गुजुल्टो परेका थियौँ ।
“यिनीहरूले आफ्नी ज्यालाई नै चिनेनन् कि ? ज्याका नजिक कोही पर्दैनन् तो ? च्याउ तै ।” माइलीसान्ज्याले ज्यालाई औँल्याउँदै यति भनिदिएपछि बम्बैवाले र गाउँलेहरूबीच गलललल हाँसोको छाल नै उर्लियो । गाउँले केटाकेटीहरू पनि कुरै नबुझी पेट मिचीमिची हाँस्न थाले । ज्या भनिएकी महिलाचाँहि घोप्टो परेर रुन पो थालिन् ।
‘ती पातली महिला हाम्री ज्या नै रहिछन् !’ भन्ने निश्चित भएपछि हामी पाँचैजना ज्यालाई एकैचोटि अँगालो हाल्न पुग्यौँ । पाँच महिनापछि ज्यालाई पाएर हर्षले हाँस्नुको बदला हामीहरू ज्यासँगै बेरिएर क्वाँ क्वाँ रुनथाल्यौँ ।
ज्या आफ्नै सन्तानले चिन्न नसक्नेगरी कसरी फेरिइन् ? उता बगेर्नो भैँसीले मरेको पाडोसमेत आफ्नै जीवित सन्तान ठानेर मायाले चाटिरहन्छ । के हामी मरेको पाडोको खासतुल्य चेतनाशून्य भैसकेका थियौँ ? दरो मुटुकी हाम्री ज्या पनि त यति कमजोर मुटुकी भैसकिछन् । बिरामीले गलेर रुपरङ र शरीर पूरै बदलिएछ । कठै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










