उपत्यकाका केही स्कूलहरुमा छोटाछोटा जागिरबाट अघाइसकेपछि मैले महाराजगञ्जस्थित ग्रीन रोज स्कूलमा जागिर भेट्टाएको थिएँ । त्यो प्राइमरी स्कूल थियो । विद्यार्थीहरु र विद्यालय परिवारलाई रिझाएर यस जागिरलाई अलिकति लम्ब्याउने कुरामा म अलि सचेत भएको थिएँ । फलस्वरुप स्कूलमा निर्धारित समय अगावै पुग्ने, शिक्षक तथा प्रिन्सिपललाई सक्दो आदरभाव प्रकट गर्ने, स्टाफमिटिङमा गहकिला सुझाव प्रस्तुत गर्ने, अनुशासनको दायरामा रहने, विद्यार्थीहरुलाई फलामे अनुशासनको चौघेराभित्र राख्ने, घण्टीको जनाउसँगै कक्षाकोठा पस्ने र निस्कने, विद्यार्थीहरुको मनोभाव र लेसनप्लानअनुसार अध्यापन गर्ने, होमवर्क दिने र विद्यार्थीले बुझाएनबुझाएको निरीक्षण गर्ने, घरमा विद्यार्थीको होमवर्क जाँच्ने, नबुझाउने विद्यार्थीको अभिभावकलाई चिठ्ठी लेखेर सोको जानकारी तुरुन्त दिने, आदि, मेरो दिनचर्या बनेको थियो ।

पूर्ण ओली

त्यस स्कूलका हरेक कोठामा चौबीसजना जति विद्यार्थी अट्ने गरी बेन्चडेस्क टम्म मिलाएर राखिएका थिए । भुइँ सफासुग्घर राखिएको थियो । भित्तामा विद्यार्थीहरुले प्रतियोगिताको लागि कोरेका मध्ये उत्कृष्ट चित्रहरु टाँगिएका थिए । चित्रहरुका बिचबिचमा विद्यार्थीहरुले के गर्ने, के नगर्ने जस्ता आचारसंहिताका बुँदाहरु पनि टाँसिएका थिए । सबै बेन्च विद्यार्थीले भरिभराउ थिए ।

विद्यार्थीहरु भर्ना हुन अझै आइरहेका थिए, कक्षाकोठा अपुग भएकोले अर्को घर भाडामा लिने प्रक्रिया अघि बढाइएको थियो । यसबाट पनि त्यस विद्यालयप्रति अभिभावकहरुको आकर्षण रहेको बुझ्न सकिन्थ्यो । त्यो आकर्षणलाई कायमै राख्ने चुनौती प्रिन्सिपलमा थियो र प्रिन्सिपलले चुनौती र जोखिमको भारी हामीजस्ता ज्यालादारी शिक्षकमा थुपार्ने हरदम कोशिस गरिरहन्थे ।

मैले सबै कक्षाको कम्तीमा एक पिरियड लिनुपर्थ्यो । पाँचकक्षामा भने गणित र जनसंख्या गरी दुईवटा विषय पढाउने जिम्मा दिइएको थियो । यस कक्षामा दशवर्षदेखि सोह्रसत्र वर्षसम्मका विभिन्न रुपरङका केटाकेटीहरु थिए । सामान्यतया अघिल्लो बेन्चमा होचा विद्यार्थीहरु र पछिल्लो बेन्चमा अग्ला विद्यार्थीहरुलाई बसालिने व्यवस्था भए तापनि होचाहोचा र अग्लाअग्लाबीच पनि बसाइको रोटेशन हुन्थ्यो ।

प्रत्येक कक्षा समाप्तीपछि शिक्षकले, ‘आजको पाठ बुझ्यौ त ?’ भनी प्रश्न राख्नुपर्ने नियमजस्तो थियो । प्रश्न राखिसकेपछि विद्यार्थीहरु एउटै स्वरले “बुऽऽझ्यौँऽऽ  सऽऽ रऽऽऽ !” भनेर प्रतिक्रिया दिन्थे । त्यो स्वरमा साना-ठूला, केटा-केटी, मसिनो-खस्रो सबै स्वरहरुको सम्मिश्रण हुन्थ्यो । तिनीहरुको सुमधुर प्रतिक्रिया यति कर्णपृय लाग्थ्यो कि कक्षाकोठामा रहँदाको तनाव स्वात्तै घटेर शून्यमा आइपुग्थ्यो, मनोबल माथि उक्लन बल गर्थ्यो, आफूले जानअनजान गरेका गल्तीहरुबाट सहजै उन्मुक्ति जस्तो मिल्थ्यो, स्कूलमा जान आउन ऊर्जा समेत थपिदिन्थ्यो ।

तर पाँचौ कक्षाको कारणले म यस्ता निशुल्क सुविधाहरुबाट वञ्चित भइरहेको थिएँ । पाँचौ कक्षा नभनौँ त्यस कक्षाकी एक मात्र छात्राको कारणले । बुझेनबुझेको मेरो सोधाईपछि बाँकी विद्यार्थीहरुले बुझेको प्रतिक्रिया दिन्थे । जब म त्यो प्रतिक्रियाले आनन्दविभोर हुँदै कक्षाबाट पाइला उचाल्न थाल्थेँ पछिल्लो बेन्चमा बस्ने चौबीसौँ क्रमकी केटीले मेरो पाइला स्थिर गराउँदै भन्थीः “एकछिन पख्नुस् सर !” जब मैले उसलाई फरक्क फर्केर हेर्थेँ, उसले थप्थीः “मैले त केही बुझिनँ ।” अनि अरु विद्यार्थीहरुको दबेको हाँसो र मसिनो गुनगुनाहटले कोठा भरिन्थ्यो ।

छातीभरि उम्लिएको आनन्दानुभूति उसको प्रतिक्रियाले सेलाएर चिसो भैदिन्थ्यो, उचालिसकेका पाइलाहरु चाल्न दोधारमा पर्थे, गर्विलो छाती पोल्थ्यो । उसलाई बुझाउनको लागि अर्को घण्टी खाइदिने कुरा पनि हुँदैनथ्यो “उसोभए, अर्को घण्टीमा बुझाउँला ।” भन्दै मैले मुक्तिको बाटो पहिल्याउँथेँ ।

अर्को कक्षा हुन्थ्यो जनसङ्ख्याको । जनसङ्ख्या पढाउँदा गणितको समस्या सिकाउनु पनि भएन । पाठको लाइन-लाइनको अर्थ लगाउँदै आफ्नो घण्टीभर प्रश्नोत्तर शैलीमा पढाउँथे । कक्षा सकिएर होमवर्क दिइसकेपछि सोध्नैपर्थ्यो “बुझ्यौ त ?”

तुरुन्तै विद्यार्थीहरुको एकमुष्ठ कर्णपृय स्वर गुन्जिन्थ्योः “बुझ्यौँ सर ।” त्यसपछि उसले प्रतिक्रिया दिन्थी, “मैले त कत्ती बुझिनँ सर ।”

जनसङ्ख्या विषयको पाठका कुराहरु नबुझ्ने भन्ने सवालै हुँदैनथ्यो । सबैभन्दा कमजोर विद्यार्थीले समेत बुझ्ने भनेकै जनसङ्ख्या विषय थियो । शतप्रतिशत विद्यार्थीले पास गर्ने सबैको लागि सजिलो विषय । सबैभन्दा सजिलो विषय । तर उसले जनसङ्ख्याको पाठ पढाइपछि पनि भन्ने गर्दथीः “बुझिनँ, सर !”

०००

जागिरको शुरुको दिनमा नै आठवटै पिरियडमा पाँचवटै कक्षाहरुमा पसेको थिएँ । शुरुको दिन भएकोले विद्यार्थीहरुसँग परिचय साटासाट मात्र भयो । यस पहिलेका शिक्षकहरुको बारेमा पनि केही कुरा भए । कसरी पढाए बुझ्न सजिलो हुन्छ ? भन्ने विषयमा पनि छलफल भयो । अघिल्लो कक्षामा प्रथम, दोस्रो हुने विद्यार्थीहरुको पनि अनुहार निज्याएर हेरियो ।

शुरुकै दिनमा त्यस स्कूलका विद्यार्थीहरुसँगको परिचयको क्रममा आधाजति विद्यार्थीको नाम सुनेको हुँदो हुँ । बेलुका घर फर्किँदा तिनीहरुको नाम सम्झन प्रयत्न गरेँ । एकदर्जनभन्दा बढी नाम सम्झनै सकिनँ । केही नामहरु राम, श्याम, गीता, सीता आदिजस्ता औसत नामहरु थिए, सम्झिन पुगेका केही नौला नाम पनि थिए, ती नौला नामहरुमध्ये एउटा नाम थियोः ‘सगुना’ । शुरुको दिनमा आफैलाई प्रश्न गरेको थिएँ कि सगुना नाम नै मैले किन सम्झिन पुगेँ ?, मनले चित्तबुझ्दो जवाफ दिन सकेको थिएन ।

भोलिपल्ट । पहिलो पिरियड चारकक्षामा लिनु थियो । विद्यार्थीको हाजिरी लगाउँदा सगुना नाम आएन । नयाँ जोशजाँगरसँग अरु कक्षा पनि लिँदै गएँ । मलाई जान्नु थियो सगुना भनेर कुन विद्यार्थीले परिचय देला ? मैले परिचय लिन चुक्दैनथेँ, कक्षामा सबैभन्दा बढी जानीटोपल्नेले प्रश्न राखेपछि, कसैले ध्यान नदिँदा, कोही पढाउँदापढाउँदै झुङ्यो भने, अप्रासङ्गिक क्रियाकलाप देखायो भने, आफूले पढाएको बुझनबुझेको स्याम्प्लिङ गर्दा सोधिहाल्थेँ “तिम्रो नाम केरे ?” भनी । उसले आफ्नो परिचय दिन्थ्यो । यसरी भोलिपल्ट प्रसङ्गवश् दोहोर्‍याएर लिइएको परिचयबाट अरु धेरै नाम सम्झन सक्ने भएँ । तर सातवटै पिरियड लिँदा पनि कसैले पनि आफ्नो नाम सगुना भनेर परिचय दिएन । मलाई त लाग्यो कि मैले सुनेकै नाम गल्ती थियो ।

आठौँ तथा अन्तिम पिरियडमा पाँचौँ कक्षामा जनसङ्ख्या विषय पढाउन पसेको थिएँ । बिहानैदेखि उम्लिएको जोशजाँगर बेलुकी सातसात पिरियड पढाउँदासम्म उपयोगिताको ह्रास नियमलाई समातेर घटिरहेको थियो । त्यस्तो अवस्था विद्यार्थीहरुलाई भरिसक्य नदेखाउन कथा, चुड्किला, खेल आदिको भर नपरी सुख्खै थिएन । केही आफूले जानेको सुनाएँ । केही विद्यार्थीलाई सुनाउन लगाएँ । जसले गर्दा विद्यार्थीहरुको सुन्ने जाँगरमा पनि ऊर्जा भरिन्थ्यो र भोको अनुहार उज्यालिइरहेको हुन्थ्यो ।

घडी हेरेँ अब केही सेकेन्डमै बेलुकी छुट्टीको लामो घण्टी बज्ने वाला थियो । छिटो छिटो औपचारिकता पूरा गर्न सोधिहालेँ, “बुझ्यौ त ?” मैले सोधिनसक्दै विद्यार्थीहरुले एकमुष्ठ स्वरमा जवाफ दिए,

” बुझ्यौँ सर ।” त्यही मधुर स्वरमा संगीत भरेजस्तै त्यसैबेला छुट्टीको लामो घण्टी टिनिनिनिनिन बजेको थियो र सबै विद्यार्थीहरु बाहिर निस्कन हतारिँदै आआफ्नो सिटबाट जर्‍याकजुरुक उठिसकेका थिए । यस्तो विषम अवस्थामा उसले प्रतिक्रिया दिएकी थिईः “मैले त कत्ति बुझिन सर !”

उसलाई किन बुझिनौ ? कुन कुरा बुझिनौ ? भनी सोधौँ भने विदा घण्टी लागिसकेकोले विद्यार्थीले धकेल्दै बाहिर गुरुरुरुरु निस्किएर एक्लै पार्लान् भन्ने डर, नसोधौँ, ‘बुझिनँ !’ भनिदिएपछि सुनेको नसुनेई गरिदिनु एकजना शिक्षकको लागि पाच्य कुरा थिएन ।

मैले यति मात्र सोधेँ, “तिम्रो नाम ?”

“सगुना  ।”

“सगुना ?”

घण्टी बजेको सुनी विद्यार्थीहरु आआफ्नो सिटबाट सबै उठे र हलचल नगरी उभिइरहे । बाहिर जाने अनुमति खोजेको जस्तो मैले ठहर्‍याएँ ।

म के भनूँ ? केही ठहर गर्न सकिनँ । सबै किँकर्तव्यविमुढ उभिएको देखेर उसैले भनी: “जाऊँ अब ।”

ऊ अगाडि लागेपछि मात्र अरु विद्यार्थीहरु उसको पछि ग्वार्ग्वार्ती लागे । म ढोकामै उभिएकोले मैले बाटो छोडिदिनुपर्थ्यो । शिक्षक भित्र हुँदाहुँदै विद्यार्थीलाई बाहिर जान दिनु शिक्षकको अपमान जस्तो केही हुने अनुमान गरेकोले सहजीकरणको लागि म पहिल्यै बाहिर निस्किँदै सरासर अफिस कोठातिर लागेँ । विद्यार्थीहरुको मिठो स्वर “बाइ, सर ! बाइ, सर !” भनेको पछाडिबाट सुनेँ मात्र । मैले बाइ भन्न  ।

भोलिपल्टदेखि मैले अरु विद्यार्थीहरुको पनि नाम कण्ठस्थ गर्नेतिर लागेँ ।

०००

एक हप्तापछि । पाँचौँ कक्षाको गणित विषय अन्तर्गत सरल पाठ शिक्षण गर्नु थियो । विभिन्न उदाहरणहरु दिँदै सिकाउँदै गएँ र नजान्नेहरुको समिपमै गएर कापीमै समाधान गरिदिँदै पनि गएँ । जब अन्तिम बेन्चमा पुगेँ सगुनाको अस्वाभाविक स्थितिले मेरो ध्यानाकर्षण गर्‍यो । सगुनासँग न कुनै कापी थियो, न किताबको झोला नै थियो । उसले कापीको एउटा पानामा समस्या हलको प्रयास गरिरहेकी थिई ।

“खोइ तिम्रा कापी किताब ?”

उसले नजिकैको साथीको कापीकिताब देखाउँदै भनी, “यी सर !”

“ती त उसकै होलान् नि त । तिम्रो कापी किताब खोइ ? भनेको मैले ?”

“यी मेरा पनि हुन् सर । हामी शेयर गरेर पढ्दै छौँ ।”

मैले पत्याउन करै लाग्यो ।

“हिसाब नआएको भए सिकाइदिऊँ ?”

“पर्दैन सर ।” गम्भीर मुखाकृति तुल्याउँदै जवाफ दिई ।

“बुझ्यौ त ?”

“अँहँ ।” उसले टाउको हल्लाउँदा उसका ठूलाठूला एररिङ अलि बढी नै हल्लिए ।

“खोइ कापी देऊ न त । म सिकाइदिन्छु ।”

“पर्दैन सर ।”

ऊसँग नै जवाफसवालमा उत्रिरहँदा मेरो र अरु विद्यार्थीको समय त्यत्तिकै बर्बाद हुने देखी म अरु विद्यार्थीतिरै पुगेँ । म जब जब सगुनाको नजिक पर्थेँ, अरु विद्यार्थीहरु चुपचाप लागेर सतर्क हुन्थे ।

मलाई लाग्यो पक्का पनि यो केटी कि त यस कक्षाको मोनिटर हो, कि त कुनै विद्यार्थी संगठनकी अगुवा हो । ऊ जे नै भए पनि ती मेरा सरोकारका विषय थिएनन् ।

अन्तिममा मैले “बुझ्यौ त ?” भन्दै औपचारिकता पूरा गरेँ, ऊबाहेक सम्पूर्ण विद्यार्थीले बुझ्यौँ सर भनी प्रतिक्रिया दिएपछि म अर्को कक्षातिर लागेँ ।

बेलुका जनसङ्ख्या कक्षा लिन पुनः त्यही कक्षामा प्रवेश गरेँ । कक्षाकोठामा पसेपछि शुरुमै सबैभन्दा पछिल्लो बेन्चमा मेरो नजर पुग्न थालेको थियो । पछिल्लो बेन्चमा बस्ने त्यही अजीवकी केटी पहिलो नजरमा पर्दथी । म कक्षाकोठामा पस्दा अरु विद्यार्थीहरु अलिकति चनाखो हुन्थे । सबैको गफगाफ बन्द हुन्थ्यो । अगाडिका कापीकिताब मिलाएर झोलामा राख्थे र पिरियडअनुसारको कापीकिताब बेन्चमा फिजाउँथे । आआफ्नो सिटमा स्थिर रहन्थे । उनीहरुको अनुहारको रङ बदलिन्थ्यो । मेरो उपस्थिति कक्षामा हुँदै छ भनेजस्तो गरी विद्यार्थीहरुले दिएको प्रतिक्रिया पनि कम्ता आनन्ददायक हुँदैनथ्यो मेरो लागि ।

ऊ भने म कक्षाकोठामा पसेको सामान्य औपचारिकता पूरा गर्दथी । त्यसपछि आफ्नै पढाइमा घोत्लिरहन्थी । मेरो उपस्थिति कक्षामा भएको कुनै भावभंगी प्रदर्शित हुँदैनथ्यो ।

ऊ पढाइप्रति पटक्कै बेपरवाह भने हुँदैनथी । मैले पढाएको गौर गरेर सुन्ने प्रयास गर्दथी । कसैले प्रश्न गरेमा प्रश्नोत्तरमा सहभागी विद्यार्थीलाई राम्रोसँग हेर्थी र सुन्थी । अनि केही टिपोट गर्थी ।

यो विषय पढाउन पनि र बुझ्न पनि सजिलो मानिन्थ्यो । अतः मैले कमै परिश्रम गरी विभिन्न मनोविनोद गर्दै पढाउँदै थिएँ । सम्पुर्णतः विद्यार्थीका अनुहार मतिर फर्किएका थिए, तर सगुनाको टाउको भने अघिदेखि किताबमै घोप्टिरहेको थियो । यो देखेर मेरो रिसको पारो अलिकति चढ्यो । जो केटी जति घोकाए पनि अन्तिममा बुझिनँ भन्छे उसैले मतिर ध्यान दिइरहेकी छैन ।

मैले उसको ध्यान तत्कालै आफूतिर खिच्नुथियो । मैले हातको चक भाँचेर उसको टाउको ताकेर हिर्काएँ । चकले आफ्नो वजनअनुसारको सुइँइँइँए हल्ला गर्दै ताकिएको ठाउँतिर हुर्रियो । उसको टाउकोमा बज्रिएर आफ्नो करामत नदेखाउँदै ऊसँगैको साथीले त्यो चक सजिलरी आफ्नो हातमा लिइदियो ।

कोठाको कानून मेरो हातमा थियो । म त्यस कक्षाको लागि सर्वोच्च र निर्विकल्प न्यायकर्ता थिएँ । मैले जसलाई सजाय दिन खोजेको थिएँ, उही सजायको भागीदार थियो र उसैले सजाय पाउनुपर्दर्थ्यो । मैले जारी गरेको न्यायलाई अर्कै व्यक्तिले अर्कोतिर बङ्ग्याइदिनु चानचुने अपराध थिएन ।

उसको नाम मलाई कण्ठस्थ थिएन । उसको नाम सोध्ने धैर्य पनि मसँग बाँकी रहेन । म पढाउन छोडेर आँखाकान चिम्लेर त्यस विद्यार्थीको नजिक पुगेँ र भएभरको बल पाखुरादेखि पन्जासम्म सन्चित गर्दै उसको कन्चट ताकेर हिर्काउन हात उठाएँ । मेरो हात उसको कन्चटमा परेको भए उसले कोठामै सगरका ताराहरु फुलेको प्रस्ट देख्नेवाला थियो । ती ताराहरु उसको आँखाबाट निभेपछि कोठामै ब्ल्याकहोलको वास्तविक अनुभूति संगाल्नेवाला थियो । तर मेरा पन्जा उसको कन्चटमा नपर्दै बिजुली चम्केको गतिमा सगुनाले मेरा हातका पन्जालाई च्याप्पै समातिदिई । उसका हातको स्पर्शमा कोमलताको नामै थिएन । मैले जिल खाएँ ।

मैले एउटा मामुली विद्यार्थीबाट हार खानुपरेको थियो । परिस्थितिको आँकलन गर्न कक्षाकोठाको चारैतिर नजर दौडाएँ । कक्षाका सबै विद्यार्थीहरु आआफ्नो सिटबाट जर्‍याकजुरुक उठिसकेका थिए तर अद्भूत अनुशासन प्रदर्शित गर्दै एकपाइला यताउति सारेका थिएनन् । म न त सगुनाउपर थापिने केटा वा सगुनातिर पुनः जाइलाग्न सकेँ, न त त्यो परिस्थितिबाट हारेझैँ लुरुक्क फर्किन सकेँ । मेरो किँकतर्व्यविमुढतालाई विद्यालयको लामो घण्टी टिनिनिनिनिनिले सहजीकरण गरिदियो । अरु विद्यार्थीहरु सिटमै थिए । उनीहरुले घण्टीको कानैखाने ध्वनि सुने पनि प्रतिक्रियास्वरुप कुनै चाल देखाएनन् ।

मैले उनीहरुलाई आदेशात्मक लवजमा भनेँ, “जाऊ घर-घर, निस्क तिमीहरु !”

मेरो आदेशको बाबजुद विद्यार्थीहरु जसको तस उभिई नै रहे । उनीहरुले सुनेको नसुनेइ गरे । सिटबाट टसको मस भएनन् । मेरो आदेशको अवज्ञा जस्तो पनि थिएन, किनकि सबैले टाउको निहुराइरहेका थिए ।

केही समयसम्म न सगुनाहरुबाट केही प्रतिक्रिया आयो, न त विद्यार्थीहरुबाट । कोठामा धेरै बेरसम्म शुन्यता छाइरह्यो ।

त्यसपछि उसैले मुख फोरी, “जाऊ तिमीहरु !”

सगुनाको आदेश कानमा पर्नेबित्तिकै विद्यार्थीहरु अघिल्लो बेन्चबाट क्रमशः लाइनवद्ध हुँदै टाउको नहल्लाई बाहिर निस्किए । लाइनमा पछिल्लो विद्यार्थी मैले हिर्काएको चक समात्नेवाला थियो । अनुहार पढ्न कोशिस गरेँ, अनुहारको पाना बेसरी खजमजिएको थियो । आँखा रसिला र अनुहार निन्याउरो तुल्याएको थियो । अकस्मात उत्पन्न अकाल्पनिक परिस्थितिले हुनुपर्छ । कोठाबाट निस्कनुपूर्व सगुना र मलाई पालैपालो हेर्‍यो । मैले केही भनिनँ । सगुनाले नै भनी, “जाऊ तिमी पनि ।” अन्तिममा ऊ पनि निस्कियो ।

अब कोठामा सगुना र म मात्रै आम्नेसाम्ने उभिएका थियौँ ।

मैले कड्किँदै भनेँ, “जाऊ तिमी पनि,  सबैलाई पठाइसकेपछि के पर्खेर बसेको ?”

उसले मुखाकृतिमा गम्भीरताको रङ पोत्दै मसिनो स्वरमा भनीः “आदरणीय गुरुज्यू कक्षामा हुँदाहुँदै म कसरी निस्कूँ ? मेरो अनुशासनले यस्तो कुरा क्षम्य मान्दैन ।”

मेरो अनुहार क्वार्क्वार्ती हेरिसकेकर ऊ मुसुक्क मुस्कुराइदिई यसरी कि त्यहाँ कुनै असहज परिस्थिति उत्पन्न भएकै थिएन । उम्लिरहेको मेरो रिस सय डिग्रीबाट एकैचोटी ओरालोतिर चिप्लेटी खेल्न थाल्यो ।