तीन बजेपछि बल्ल प्लेन आउने खबर आयो । यात्रुका झोलाहरू पुलिसले खोलेर एक एक गरी जाँच्न थालेकोले अब भने प्लेन आउँछ भन्ने पक्का भयो । उनको सामान काठमाडौँबाटै एक झोलाभरि आएको थियो । अर्को दुई झोला तुलसीपुरमा थपिएका थिए । म भने रित्तै थिएँ । भए पो मेरो झोला जाँचोस् पुलिसले ! प्रेमकै एउटा झोला आफ्नै हो भनी जचाएँ । अघिसम्मको प्लेन नआउला कि भन्ने अत्यास सामसुम भयो । म बढ्तै खुशी भएँ । अब चार बजे नै उडे पनि हामी सवा चार बजे रुकुमको एरपोर्ट चौरजहारी पुग्ने भयौँ ।

“वीरेन्द्र सिल्डमा म्याराथुन दौड मैले तीनचोटि जितिसकेको छु । जान्नुहुन्छ ? चालीस किलोमिटरको दूरी सिर्फ पैँतालीस मिनेटमा मात्र ।

चौरजहारीबाट मुसिकोट तीस किलोमिटर पनि छैन । दोब्बर समय लागे पनि डेढ घण्टा । तपाईँले सक्नु भएन छ भने पनि दुई घण्टा नै भयो रे ! हामी र उनीहरू सोलाबाङ सँगसँगै पुग्ने छौँ तर हामी नै दुई पाइला अगाडि हुने छौँ ।”, जनार्दनलाई जितिछाड्ने प्रेमको हुटहुटी पटक्कै सेलाएको छैन ।

“मैले त सय मिटर दौडमा पनि भाग लिएको छैन । त्यति विधि कुद्न त सक्दिनँ म ।”

“म अगाडि लागेर कुद्न थालेँ भने तपाईँलाई नकुदी सुख्ख ? कुद्ने भनेको ज्यानै फालेर फालहाल्ने होइन केरे । बिस्तारै एउटै गतिले छिटो हिँड्ने भनेको । कुद्न खोज्नेले म्याराथुन हारेको देख्नुभएकै होला ।”

चार बजे प्लेन उड्दैन कि भन्ने डर थियो, भुर्र उडिहाल्यो । दाङबाट पाँच मिनेटमै टुइनेटर प्लेन अक्कासिँदै धनबाङको लेक काट्यो । देब्रेपट्टि सल्यानको खलंगा बजार र दाइनेपट्टि सिस्ने हिमालमुनि झैँ नागबेली आकारको शारदा खोला देखियो ।

प्रेमले भने, “जनार्दनहरू यतै अल्झिएका पनि हुन सक्छन्, निज्याएर हेर्नु त ।”, तलका मान्छेहरू कमिलासरह देखिन्थे । कुन जनार्दन ? कुन भीमप्रकाश अब ? अर्को पाँच मिनेटमा प्लेनले कुपिण्डे ताल काट्यो र देब्रेपट्टि नीलोकालो भेरी नदी देखियो । अर्को पाँच मिनेट नबित्दै मध्यपहाडको विशाल उपत्यका चौरजहारी आँखा सामुन्ने देखियो । कात्तिकसम्म पनि फाँट हरियै थियो । केहीबेरमै प्लेन बत्तिँदै चौरजहारी काटेर जहारी खोलाको सिधा माथि हुँदै खोलागाउँसम्म पुग्यो । जोगीनेटा र आमडाँडा सामुन्ने देखिए । पुनः प्रेमले भने, “यतै झरुम् कि क्या हो ? आमडाँडाबाट त एकघण्टामै पुगिन्छ चौतारा !”

उनले ठट्टा गरिनसक्दै प्लेन फनक्क मोडियो । प्लेन मोडिएर चौरजहारीतिर एक्कासी हुत्तिँदा यात्रुहरू प्लेनबाट खसिएला झैँ निस्सास्सिँदै कालानीला भए । मेरो पनि सातोपुत्लो उड्यो । भेरीमै लगेर बजार्छ कि बजियाले ? सोची नभ्याउँदै प्लेनले चौरजहारीको घाँसे मैदानमा खुट्टा टेक्यो र यात्रुहरूलाई लतार्दै केही परसम्म पुग्यो । प्लेन रोकिन पनि नपाउँदै हामी अरू यात्रीलाई उछिन्दै पहिल्यै झरिहाल्यौँ ।

पूर्ण ओली

प्लेनबाट झर्नेबित्तिकै प्रेमले लामा लामा टाङ हाल्दै चौरजहारीको समथर जमिनमा सकेसम्म फाल हाल्न थाले । यसरी नै म्याराथुन दौडमा जिते होलान् भनि अड्कल काटेँ । मैले मरिकाटे उनलाई पछ्याउन सकिनँ । उनको एउटा सानो झोला मेरै काँधमा थियो ।

“म त सक्दिनँ । भो, जानुस् तपाईँ एक्लै ।”, मैले धेरै पर पुगिसकेका प्रेमलाई सुन्ने गरी चिच्याएँ ।

उनी टक्क रोकिए र म नजिक पुगेपछि भने, “यसरी त कसरी जित्न सकिएला लामखुट्टे जनार्दनलाई ?”

“नसक्किए नसक्कियोस् । जित्नैपर्ने भन्ने के छ र ?”

“त्यसो भनेर काँ होला ? कुनै हालतमा जित्नुपर्छ । जितिन्छ पनि । आँट गर्नुपर्छ, आँट ।”

“आँटले मात्र पुगे पो । मेरो शरीरले धान्दै धान्दैन त के गरुँ ?”, मैले प्रेमलाई दिएको जवाफ मसँगै रह्यो । उनी फेरि धेरै पर पुगिसके छन् ।

अघि र पछि गर्दै दाङ जत्तिकै चौडा फाँट सकी नसकी काटेर हामी बल्लतल्ल विजेश्वरी पुग्यौँ । विजेश्वरीबाट तल झरेर खोलागाउँतिरबाट अल्छी मान्दै आएको जहारी खोला त¥यौँ । जहारी खोलाको किनारै किनार उँभो लाग्नुपर्नेमा प्रेम पारिपट्टि सोझिए ।

“त्यतापट्टिबाट जाने हो र ?”

“सर्केनापट्टिबाट जाने हो भने सुरुमै जोगीनेटाको उकालोले फतक्कै गलाइहाल्छ । भोलि त के पर्सि भाइटीकासम्म पनि हामी मुसीकोट पुग्ने छैनौँ । यही बाटो मज्जाले तेर्छैतेर्छो तिर्पायाँ हिँड्न सकिन्छ । थकाइ पनि लाग्दैन । धेरै लामो पनि छैन यो बाटो ।”

कोटजहारीको उकालोमा केहीबेरसम्म प्रेमलाई पछ्याएपछि तेर्सो बाटो आइपुग्यो । प्रेम र मबीचको दूरी पुनः फराकिलो बन्न थाल्यो । हामी कोटजहारी कटेपछि बुकीचौर पुग्यौँ । हाम्रो हिँडाइ देखेर अघिदेखि छक्क परेका सुर्जे जाजरकोटको लेकको सियाँलपट्टि लुक्न पुगे । एकैछिनमा घामले कोटजहारीको डाँडा चढेर अलप भयो । जङ्गलमा चराचुरुङ्गी र वनकीराहरू बास्न थाले । वातावरण उराठिलो बन्दै गयो । अँध्यारोले बिस्तारै गोरेटो बाटोसमेत पहिल्याउन गाह्रो हुँदै जान थाल्यो । जङ्गलगाउँ नपुग्दै झमक्कै रात प¥यो । औँसीको रात भएकोले उज्यालोको कुनै विकल्प थिएन । जङ्गलको बीचमा रहेको गाउँका झुप्राहरूमा दाउराको आगोको धिपधिप उज्यालो देखिन्थ्यो तर त्यसको उज्यालो उनीहरूकै आँगनमा निस्कन पनि मानिरहेको थिएन । अँध्यारो हुन थालेपछि प्रेम र मेरोबीचको दूरी घटेर समाप्त हुन पुग्यो । अब घरि उनी घरि म अघिपछि हुँदै लेकाली उकालो गोरेटोमा घस्रिन थाल्यौँ ।

“आत्तिनु पर्दैन, मैले अँध्यारो भगाउने उपाय पनि गरेको छु ।”, प्रेमले आफ्नो झोलाबाट बेटरी (टर्चलाइट) झिके । दुवै जना भोक र थकानले लखतरान भएका थियौँ । कात्तिकको चीसो महिनामा पनि हाम्रो शरीरभरि पसिनाको मूल उम्लिरहेको थियो । लगाएका लुगा पसिनाले निथ्रुक्कै भिजेका थिए ।

“भयो अब, अब यसो गरौँ !”, प्रेमले नै यात्रा बिसाउने बहाना खोजे ।

“कसो गरौँ ?”, उनको भाव बुझीबुझी पनि मैले उनलाई प्रतिप्रश्न गरेँ ।

“ऊ त्यो बाटोको छेवैको घरमा गएर गासबास मागौँ । बिहान छकालै उठेर हिँडम्ला ।”

“आठ घण्टा यतै सुतेर बिताए कसरी जनार्दनलाई जित्न सकिएला र ?”, मैले प्रेमकै थेगोले प्रेमलाई झटारो हानेँ ।

उनीहरू जाँडमा डुबुल्की मार्दैगर्दा हरेकलाई तीनपुस्ते विवरण दिनु हाम्रो कर्तव्य हुन गयो । अगेनामा दाउराको आगो गज्योर परेर बलिरहेको थियो ।

“उनीहरू पनि रातारात हिँड्ने होइनन् क्यारे ! उनीहरूको फलामको जिउ होइन, हाम्रोजस्तै हाडछालाकै जिउ त हो नि !”

प्रेमको भन्दा त बढी म नै थाकेको थिएँ हुँला । खासमा मलाई त जनार्दनलाई जित्ने इरादाभन्दा घरका आफ्नी नवदुलही, भाइलाई पर्खिएकी दिदीबहिनी र आमाबाको अनुहारले तानिरहेको थियो ।

घरबेटीले बास माग्दा हाम्रो तीनपुस्ते विवरण माग्यो । तृषित नजरले हाम्रो शरीर र झोलाहरूको नापजाँच लियो । अनि मात्र हामीलाई बास दिने भयो र आफ्नो आँटीतिर देखाइदियो ।

आँटी घरसँगै जोडिएको थियो । आँटीको तल्ला घोगाका पोखले ढाकिएको थियो । त्यहीँ जम्मा भएर उसका परिवारका सदस्यहरूले घोगा

उदारिरहेकोले हामीले पनि उनीहरूलाई साथ दिन थाल्यौँ । खुट्टाका औँलाले दुःख पाएकै थिए हातका औँलाले पनि सुख्ख पाएनन् ।

केहीबेरपछि वरपरका मान्छेहरू त्यस घरमा जम्मा हुन थाले । घर जाँडको अमिलो गन्धमा डुबेको कुरा पहिल्यै चालपाइसकेका थियौँ । आउनेहरू एक एक गरी जाँडको बटुकोमा डुब्न थाले । उनीहरू जाँडमा डुबुल्की मार्दैगर्दा हरेकलाई तीनपुस्ते विवरण दिनु हाम्रो कर्तव्य हुन गयो । अगेनामा दाउराको आगो गज्योर परेर बलिरहेको थियो । आगोको राप आँटीसम्मै आएर हामीलाई तताइरहेको थियो । केहीबेरपछि हामीलाई खाना खान बोलाइयो । खाना खाँदा जाँडसभा गरिरहेकाहरूले सोधे, “तपाईँहरू पढ्न जानुभएको हुँदै होइन । इण्डिया वा विदेशतिर कमाउन गएर फर्किएको हुनुपर्छ ।”, हामीले होइन भने पनि मरिगए पत्याएनन् । भर्खरै इण्डियाबाहेकको विदेश पनि छ भन्ने कुरा गाउँमा खुल्दै थियो । प्रेम विष्टले ल्याएका पोटिला झोलाहरूले सायद त्यो अड्कल काट्न पुगे होलान् उनीहरू ।

खाना खाएर हामी आँटीमा फर्कियौँ । हामीलाई धुले कम्बल र धुइँसो गन्हाउने सिरक दिइयो । हामी दुवै जना एउटै सिरकमा गुटमुटियौँ । भित्र हल्लाखल्ला बढिरहेको थियो । प्रेमले मेरो कानमा फुसफुसाए, “यिनीहरूको चाला राम्रो छैन । हामीलाई लाहुरे ठानेका छन् । तल भेरी सुस्साइरहेको छ । मेरो सामानको लोभले यिनीहरूले हामीलाई भेरीमा घुचेटिदिन के बेर ?”

उनको यो अनुमानले मेरो मुटुमा डरले ढ्याँक्रो ठोक्न थाल्यो । हातखुट्टा लगलगी काँप्न थाले । प्रेमले छातिमाथिको भाग सुस्तरी उठाएर उनीहरूका कुरातिर कान थाप्न थाले ।

अनि मेरो कानमा फुसफुसाए, “मैले अनुमान गरेको पक्का हो । तर त्योभन्दा पहिले उनीहरू अरिङ्गाल पोल्न जान थालेका छन् । हामी यही मौकामा यहाँबाट भाग्नुपर्छ ।”

नभन्दै जम्मा भएका मान्छेहरू झिर र झर्कोको राँकोहरू बालेर जङ्गलतिर उक्लिए । घरमा आइमाई र अलिअलि जाइनहरू मात्र बाँकी रहे । केटाकेटीहरू समेत हल्ला गर्दै उनीहरूका पछि लागे ।

प्रेमले झोलाहरू जम्मा गरे । घोगाको पोखको मुठो पारेर मान्छे सुते झैँ बनाई सिरक ओढाइदिएपछि आँटीको साँघुरो लिस्नोबाट तल ओर्लिए । उनको आडले म पनि तल ओर्लिएँ । मुटुले ढुकढुक गरिरहेको थियो । घाँटीमै बुज्जिरहेका सास झन् ठूलो स्वर निकालेर बाहिर निस्कन जोडबल गरिरहेको थियो । हाम्रो बेटरीको भन्दा बढी उज्यालो उनीहरूले बोकेको झर्कोकै थियो जो हाम्रो बाटोमा पनि पोखिइरहेको थियो ।

“हामी भागेको चाल पाए भने ? उनीहरू अझै पनि हाम्रो नजिकै छन् । उनको उज्यालोमा हामी पनि प्रस्टै देखिएका छौँ । चोर भनेर समात्न आए भने के होला हाम्रो हालत ? हामीलाई भेटाउनेबित्तिकै साँच्चीकै भेरीमा खसालिदिने छन् ।”, मैले प्रेमको कानमा सुस्तरी मुख राखेँ ।

“चकमन्न रातमा उनीहरूको उज्यालोले वरपरको मान्छेलाई मात्र देख्न सक्छन् । उज्यालो यहाँसम्म आइपुगे पनि हामीलाई देख्न सक्दैनन् ।” उनी झन् चालो गरी बोले, “हामी उनीहरूकै उज्यालोको सहायताले हिँड्नुपर्छ । अहिल्यै बेटरी बाल्नु हुँदैन ।“

प्रेम बिरालोको चालले अघि लागे । चकमन्न अँध्यारोमा उनलाई पछ्याउँदै गएँ म । उनीहरूको उज्यालो हाम्रो बाटोमा मधुरो हुँदै गयो ।

“अब बेटरी बाल्नोस् !“

“काँको बेटरी बाल्नु ? उनीहरूले भागेको चाल पाइहाल्छन् नि ! अहिल्यै बाल्नु हुन्न ।”

हामी हिँडिरहेको बाटो हो कि पाटो हो अँध्यारोले केही थाहा हुन सकेन । केही परसम्म हामी हातखुट्टाले बाटो छाम्दै अगाडि बढ्यौँ ।

हामीभन्दा माथिको जङ्गलमा ठूलो हल्लाखल्ला भयो र त्यो हल्ला हाम्रो नजिकै आएजस्तै भयो । मेरो मुटुले ठाउँ छोड्न थाल्यो ।

“केको हल्ला हो यो ? हामीलाई खेद्न आए कि ?”, मैले पछाडि नफर्कीकनै प्रेमलाई सोधेँ ।

गोलोमा आगो लगाउँदा अरिङ्गालहरू त्यही आगोमा खनिन्छन् ।

“होइन, होइन । ऊ त्यो पारिको रूखमा उनीहरूले अरिङ्गालको गोलो आगो लगाइदिए नि ! तल आगोको मुस्लो बालेका छन् । गोलोमा आगो लगाउँदा अरिङ्गालहरू त्यही आगोमा खनिन्छन् । त्यसैको उज्यालो र अरिङ्गालउपर उनीहरूको विजयको शंखध्वनि हो यो ।”

“अरिङ्गाल यहीँसम्म आएर हामीलाई टोके भने नि ?”

“त्यो ज्यानले जिन्दगीमा कहिले पनि अरिङ्गाल पोलेको छैन कि क्या हो ? रातमा आगोको उज्यालोमा बाहेक अरिङ्गाल अन्त जान सक्दैनन् भन्नेसम्म थाहा रहेन छ । त्यसैले त रातमा अरिङ्गालको सिकार गर्न सजिलो हुन्छ ।”, प्रेमले खितखिताउँदै मउपर व्यङ्ग्य कसे ।

म अरिङ्गालले नटोक्ने कुरामा विश्वस्त भएँ ।

हामी तेर्छैतेर्छो अगाडि बढिरहेका थियौँ । जति अगाडि बढे पनि हामी बास बसेको घर र आगोको उज्यालो हाम्रै पछिपछि आइरहेको जस्तो लाग्यो । उनीहरूको जोखिमबाट पटक्कै टाढिइसकेका थिएनौँ ।

केहीबेरपछि फेरि हल्लाखल्ला चल्यो ।

आवाज हाम्रो कानमै प¥यो, “चोर १ चोर १ चोर भागे है गाउँलेउ ! समात ! समात !! तिनीहरूलाई नछोड ।”

“हामी भागेको चाल पाएजस्तो छ । अब त हामीलाई साँच्चीकै सिध्याउने भए ।”, हम्मेसी डर नदेखाउने प्रेमले डराएको स्वर निकाले । “ऊ यता जाम् । छिट्टो छिट्टो ।”, हामी पहाडको तीन चार कान्ला तल हामफालेर एउटा परालको टौवाभित्र छि¥यौँ र परालका मूठाले आफ्नो जिउ छोप्यौँ ।

उनीहरूको त्यो आवाजले वरपरका घरहरूबाट पनि उज्यालाका राँकाहरू निस्कन थाले र गाउँको वरपर घुम्न थाले । स्वरहरू झन् झन् थपिन थाले ।

उनीहरू चारैदिशा लागेर हामीलाई खोजिरहेका हुनुपर्छ । आगोको एउटा राँको हामीले भर्खरै तताएको बाटोतिर आयो । हामी अरू सतर्क भयौँ ।

साससमेत नफेरेर हलचल नगरी परालको मुठोमा लेपास्सियौँ । त्यो आगो हामीभन्दा केही अगाडिसम्म पुग्यो । केहीबेरपछि फरक्क फर्किएको चाल पायौँ ।

उनीहरू फर्किँदा गुनगुनाउँदै थिए, “चोर होलान् भन्ने के थाहा भयो र ? रातका पाहुना ठानी बास दिइहालियो । हामी अरिङ्गाल पोल्न गएको मौका छोपी स्वान्चरीका नाककान बुचै पारिदिएछन् । तामाका ताउला, हुन्ना, थाल, बटुका केही बाँकी छोडेनछन् । भेटिऊन् मात्रै गर्दन छप्काउन नसके त के ।”, यो हामीलाई बास दिने घरबेटीको आवाज थियो । चेतावनी सुनेर प्रेम र म एउटै डल्लो प¥यौँ ।

अर्को गाउँलेको बोली सुनियो, “गर्दन छप्काउनुभन्दा छाला कारेर नूनचूक लगाइकन गाउँ घुमाउनु नाम्रो ।”

उनीहरू बहादुरीका कथा सुनाउँदै हामी बास बसेको घरसम्म पुगे र त्यही घरको कान्लाको तलमाथि वरिपरि खोज्न थाले ।

यही मौकामा हामी परालको टौवाबाट निस्किएर लुसुक्क अगाडि बढ्यौँ ।

बास बसेको घरलाई केन्द्रबिन्दू बनाएर फैलिएको हल्लाखल्ला पनि छेलियो । प्रेमले ढुक्कसित बेटरी बाले । हामी उन्मुक्त भयौँ । मुटु ठेगानमा आइपुग्यो ।

केहीछिनको निष्पट्ट अँध्यारोको छामछामछुमछुम पछि डाँडोको कुइनेटा आइपुग्यो । हामी कुइनेटाको उतापट्टि लाग्यौँ । हामीबाट गाउँ छेलियो । झुप्राहरू छेलिए । झुप्राका आगाहरू छेलिए । बास बसेको घरलाई केन्द्रबिन्दू बनाएर फैलिएको हल्लाखल्ला पनि छेलियो । प्रेमले ढुक्कसित बेटरी बाले । हामी उन्मुक्त भयौँ । मुटु ठेगानमा आइपुग्यो ।

“अझै केइ भन्न सकिन्न । उनीहरू पछ्याउँदै हामीलाई भेट्टाउन आइपुग्न पनि के बेर ! हाम्रो सामानमा लोभिएर बिनासित्तिका आरोपहरू लगाइरहेका छन् । ढिला गर्नुहुन्न । अलि छिटो कुद्नुहोस् ।”

मैले कुद्न प्रयास गरेँ । जत्ति बल गरे पनि प्रेमलाई भेट्टाउन सकिनँ । प्रेम मभन्दा धेरै पर पुगे । उज्यालो पर पुग्यो । अँध्यारोमा प्रेमलाई पछ्याउन झनै गारो हुन थाल्यो । भेरी तलपट्टि नजिकै सुस्साइरहेको थियो । अड्कल गरेँ पक्का पनि भेरी र हामीबीच छाङ्गो भीर मात्र छ । औँसीको रातमा त्यो भीर कति भयानक छ, देख्न सकिएको छैन, अड्कल मात्र काट्न सकिन्छ ।

“छिटो आउनू न ! जानीजानी बैरीको मुखमा पर्नुहुन्न । आँट र बल गर्नोस् ।”

जनार्दनलाई जित्ने लक्ष्यबाट बिच्किएर अब जङ्गलगाउँका मान्छेबाट बच्नुपर्ने लक्ष्यमा आइपुगेका थियौँ हामी ।

“बेटरी यता देखाए पो आउन सकिएला त । अँध्यारोमा आफ्नै पैतला पनि देख्न सकेको छैन । कता टेक्ने ? कसरी छिटो आऊँ ?“

“त्यता बेटरी देखाउनु हुन्न, हामीले फर्काएको बेटरीको उज्यालो डाँडोको नेटो काटेर उनीहरूको गाउँसम्म पुग्छ । हामी हिँडेको बाटो उनीहरूले था पाउँछन् । चार हातखुट्टाले छाम्दै आउनोस् ।”

म छाम्दै छाम्दै प्रेमको नजिक पुगेँ । उनले मलाई अघि लगाएर आफू पछिपछि लागे । हामी निशब्द धेरै पर पुग्यौँ । हामीलाई कसैले पछ्याउन पाएनन् ।