यालमाया कथासङ्ग्रह छापिने पक्कापक्की भइसकेको थियो । कथा सङ्ग्रहको सेटिङ र सम्पादनको पाटो साहित्यपोष्ट समूहले जिम्मा लिएको थियो । खास गरी साहित्यकार अश्विनी कोइराला र पत्रकार अच्युत कोइरालाले कभर चित्र तयार गरी बुझाउन मलाई अत्याउन थालेका थिए ।
कभर चित्र तयार गरिदिन ब्याचेलर इन फाइन आर्ट गरेका भदाहा सुशील खड्कालाई गुहारेँ । उनले मेरो भावनाअनुसारका धेरै चित्रहरु कोर्दै मलाई पठाउँदै गरे । उनले दिएका चित्रहरु मेरो मनले खाएन । सुशीलले नै अन्य नामी आर्टिस्टहरुसँग पनि सम्पर्क गराए । तर उनीहरुबाट प्राप्त चित्रहरु पनि मलाई मन परेनन् ।
मनले एक जना सिद्धहस्त आर्टिस्ट खोजिरहेको थियो । त्यसको मधुरो चित्र त दिमागमा आउँथ्यो तर त्यो को थियो ठ्याक्कै नाम लिन सकिरहेको थिइनँ । एक बिहान फेसबुक हेर्दै जाँदा फोटो रिभ्यूको लागि एक वर्ष अघिको एउटा फोटो देखायो । बल्ल मैले त्यो मान्छेको अनुहार सम्झिएँ । नाम पनि सम्झिएँ ।
ती मेरा किशोरकालमा मेरो बढी समय खाइदिएका मोहन दाइ नै थिए ।
उनको फोटो र नाम देख्नेबित्तिकै उनलाई फोन लगाइहालेँ, “दाइ, मेरो यालमाया शीर्षकको कथासङ्ग्रह छापिँदै छ, मलाई तुरुन्त यालमायाको भाव झल्किने युवतीको चित्र कोरेर पठाइदिइहाल्नू त !”
“म त बिरामी छु भाइ । हातगोडा उति चल्दैनन् । दिमागले काम गर्दैन । मेरो साथमा न फुलस्केप कागज छ, न बुरुस छ, न त रङहरु नै छन् । के गर्ने होला ? सक्दिनँ कि क्या हो ?” दाइले असमर्थता जनाए ।
“जसरी हुन्छ चित्र कोरेर पठाइदिनू । मलाई रङसँग केही चाहिँदैन । ब्ल्याक एण्ड ह्वाइट भए पनि हुन्छ । मलाई तपाईँकै चित्र चाहिन्छ ।” मैले दाइसँग किशोरकालजस्तै जिद्दी छोडिनँ ।
उनले बाध्य भएर भने, “कहिलेसम्म चाहिने हो र भाइ ?”
“मलाई एक दुई दिनभित्र चाहिन्छ दाइ ।”
“म प्रयास गरौँला । सकिनँ भने मन नदुखाउनू भाइ ।” भन्दै उनले फोन काटिदिए ।
मलाई शङ्का लागिरहेको थियो यिनले चित्र कसरी कोर्लान् र ? गत वर्ष मात्र यिनलाई म भेट्न महाराजगन्ज अस्पत्ताल पुगेको थिएँ । यिनी अस्पत्तालको बेडमा उठ्नै नसक्ने गरी ढलेका थिए । पित्तथैलीको अपरेशन गर्दा चिकित्सकको लापर्बाहीले पेटको आन्द्रा काटिन पुगेको रहेछ । उनी यसै कारणले जीवन मरणको दोसाँधमा पुगेका थिए । एउटा घाइते सर्पसरह आफ्नो दुःखी जीवनलाई सकीनसकी घिसारिरहेका थिए । यिनलाई फोन लगाउँदा पनि मेरो मनले शङ्का गरिरहेको थियोः कतै जीवित नै पो छन् कि छैनन् ?
०००
हाइस्कूलसम्म मोहन दाइ मभन्दा अघिल्लै ब्याचका विद्यार्थी थिए । तर दुवै भाइले एउटै वर्ष एसएलसी पास गरेका थियौँ । एसएलसी पास गर्नेबित्तिकै दुई भाइले आइएस्सी पढ्न नेपालगन्ज जाने योजना बुन्यौँ । पहिलो प्रस्ताव मेरै घरमा राखिने कुरा मिल्यो । मेरो आमाबाले छोरालाई टाढाको क्याम्पस पढाउने मन्जुर नभएकोले एकसाथ दुवै भाइले प्रस्ताव राखे स्वीकृत हुने सम्भावना प्रबल थियो । त्यसैले एक बेलुका मोहन दाइ पनि मेरै घरमा आए र विज्ञान विषय पढ्न दुवै भाइ नेपालगन्ज जान पाउनुपर्ने प्रस्ताव राखे । मैले प्रस्तावको पक्षमा जोडदार समर्थन गरेँ ।
“हाम्रो माइलोलाई त मायाको बन्धनले गर्दा जान छेकेका हौँ । तिमीले साथ दिन्छौ भने माइलोलाई त पठाउन सकौँला रे । तर तिमी कसरी जान सकौला र बाबु ?” आमाले उल्टै मोहन दाइलाई नै अडबाङ्गे प्रश्न सोधेकी थिइन् ।
आमाको प्रश्नले मोहन दाइको दृढतामा केही पर्यो कि भनी मैले मोहन दाइको अनुहार हेरेँ । दाइको अनुहार एकदमै बिग्रिसकेको थियो । जवाफ दिनको लागि उनले ओठ कँपाइरहेका थिए । दाइको अनुहार किन बिग्रियो भन्ने कुरा उतिखेर मैले बुझ्न सकिनँ ।
मैले आमालाई भनेँ, “मोहन दाइ मेरो संरक्षकको रुपमा मसँग जाँदै हुनुहुन्छ । दाइको पढाइ पनि राम्रै छ । उहाँको बाबुआमाले पठाए गइहाल्नुहुन्छ नि । खर्चपर्च पनि उति नलाग्ला । नजाने परिस्थिति के होला र ?”
दाइ वर्ष नै थालेको मेघसरि अँध्यारिए । मैले केही बुझ्न सकिनँ ।
मोहन दाइले घर छोडेर जान सकेमा मेरो आमाबाले मलाई साइन्स पढाउन नेपालगन्ज पठाउन मन्जुर भए । दाइ पढाइमा तगडा थिए । हृष्टपुष्ट र आँटिलो पनि थिए । मजस्तो सानो मनका थिएनन् । मोहन दाइमा नेपालगन्ज जान नसक्ने अयोग्यता मैले त्यस्तो केही देखेको थिएन ।
अब मेरो घरबाट नेपालगन्ज जाने प्रस्ताव अनुमोदन भएपछि मोहन दाइको घरबाट पनि अनुमोदन गराउनुपर्ने भयो । म भोलिपल्ट नै मोहन दाइको घरमा जाने भएँ । दाइले भने, “मैले तिम्रो घरमा प्रस्ताव राखेँ र अनुमोदन गराएँ । तिमीले मेरो घरमा प्रस्ताव राखेर अनुमोदन गराइदेऊ ।”
“राखिहाल्छु नि !”, भनेँ मैले ।
भोलिपल्ट । हाम्रो घर सोलाबाङबाट साँखखोला तरेर हामी ठाँटी बजार पुग्यौँ । ठाँटीबजार पार गरेर लहुँखोला तर्यौँ । त्यसपछि नुवागाउँको उकालो लाग्यौँ । उकालोबाट सोलबाङको दृश्य सपाट देखिन्थ्यो । मुसिकोटको डाँडा नाकैनेर देखिन्थ्यो । बीचको जङ्गलबाट चलेको हावाले हामीलाई शितलता हम्किरहेको थियो । “ओहो ! सोलाबाङ पूरै हेर्न त नुवागाउँ पो आउनुपर्दोरहेछ !” भन्यो मेरो मनले ।
हामी गफिँदै झन् झन् उकालो काट्दै गयौँ । केही परबाट बाटो तेर्सो लाग्यो । अमला, बेलौँती, ऐँसेलु, चुथ्रा, धाइरोका रुखहरुले सजिएको सुन्दर पाखो हुँदै अगाडि बढ्यौँ । सोलाबाङ ओझेलमा पर्नेबित्तिकै तल काइँयोखोला नागबेली परेर तलतिर झरिरहेको देखियो । पारिपट्टि जुम्लाबाङको सुन्दर फाँट देखियो । जुम्लाबाङको माथिपट्टि काँसपोखरी देखियो । उत्तरतिर कौछेको गाउँ भलाक्चाको उकालोतिर उक्लँदै गरेको देखियो । मन चङ्ग भयो । हामी तिर्पायाँ हिँडिरहेका थियौँ ।
फलफूल भरिएको पाखो सकिनेबित्तिकै सालको सानो जङ्गलले हाम्रो स्वागत गर्न आइपुग्यो । जङ्गल काट्न धेरै समय लागेन । जङ्गल सकिनेबित्तिकै घर तथा गोठहरु पाखैभरि देखिए । खोरियाजस्ता पाटाहरु पनि देखिए । एउटा सानो गोठको अगाडि उभिएर दाइले गाउँका घरहरु औँल्याउन थाल्नुभयोः “उतापट्टिको त्यो गोपाल खडकाको घर । माथिपट्टिको मनजीत ओलीको घर । ऊ त्यो परपट्टि भीमबहादुर ओलीको घर । ऊ त्यो तिलकराम ओली दाइको घर । अलिकति माथि तुलवीर ओलीको घर छ । माथिपट्टि बीचतिर लालबहादुर ओलीको घर छ ।”
यी नामहरु उतिबेला आआफ्नो स्कूलमा तहल्का मच्चाइरहेका नामहरु थिए । यिनीहरु स्कुलमा पढाइ, खेलकूद र साहित्य प्रतियोगिता आदि जुन प्रतियोगितमा पनि सर्वोत्तम हुने मेधावी जेहनदार तथा लगनशील विद्यार्थीको नाम थिए । मोहन दाइ त उमेरले पनि अगाडि नै भएकोले यिनीहरुका लिडर नै थिए ।
मैले अझै पर आँखा पुर्याएँ । सोचेँ, दाइको घर यी घरहरुभन्दा अझै उतापट्टि होला । सोधिहालेँ, “दाइको घर कुन हो त ?”
दाइ मुसुक्क हाँसे, “मेरो घर भने पनि छाप्रो भने पनि यही हो पूर्ण भाइ ।”
खरले छ्वाएको एकतल्ले छाप्रो । मोहन दाइजत्तिका मान्छेको घर यो छाप्रो होइन होला । ख्याल गरेका होलान् दाइले । मनमा कथेँ ।
अविश्वास गर्नुपर्ने कारण थियो । उनको सफासुग्घरपन । मोहन दाइ साँच्चिकै सुन्दर थिए । सलक्क परेको गोरो वर्णको जीउ थियो । हृष्टपुष्ट थिए । हाँस्दा गालामा डिम्पल पर्दथ्यो । आइरन लगाएका सफेद सर्टपाइन्ट लगाउँथे । बाल चिटिक्क पारेका थिए । पाइन्टको जमानाले भर्खरै गाउँमा खुट्टा हालेको थियो । ठूलठूला कालकाला एकजोर आँखा थिए । राजेश हमालको नाम गाउँमा पुगिसकेको थिएन । पुगेपछि अड्कल गरेको थिएँ, त्यो राजेश हमाल मेरो दाइभन्दा सुन्दर हुनै सक्दैन । हिँडाइको लच्काइ हात्तीको जस्तो लाग्थ्यो ।
दाइको यस्तो जिउडाल देख्नेमध्ये कसैले पनि मोहन दाइ एक विपन्न परिवारको सन्तान होलान् भनी अड्कल कसैले काट्न सक्दैनथे । मैले त्यही अनुमानको साथ नुवागाउँको उकालो चढेको थिएँ । तसर्थ मैले यो गोठ दाइको घर होला भनी पत्याउँदै पत्याइनँ ।
दाइ माटोको लिस्नोमा खुट्टा उचाल्दै माथि उक्लन थाले । म अन्यमनस्क उनको पछिपछि उक्लन थालेँ ।बिडम्बना थियो यो । सबैभन्दा ठूलो घर मोहन दाइकै होला भन्ठानेको त सबैभन्दा सानो झुप्रो पो रहेछ ।
ओटामा एक जना पूरै कपाल फुलेका र वृद्धावस्थाले कुप्रो परिसकेका व्यक्ति दाम्लो बाट्दै थिए । दाइले उनीसँग मेरो परिचय दिँदै लुगा फुकाल्न भित्र पसे । म बाहिर उभिइरहेँ । ती वृद्ध व्यक्ति दाइको बाजे पर्छन् होला भन्ठानी हात तान्दै, “बाजे, ढोग गरेँ !” भन्दै हातमा ढोगिदिएँ ।
“केको बाजे भन्छस् ? तँ त कयनपानी कान्छाको छोरा, मेरो भतिजो परिस् नि ! बस् यता !” उनले परालको चकटी देखाउँदै भने । म झाँगलझुँगल भएँ । झण्डै आफ्नै उमेरका मोहन दाइका बाबु अधबैँसे हुनुपर्ने अड्कल थियो मेरो । तर दाइका बाबु यति वृद्ध ?
मैलो गन्जी र जाँघे मात्र लगाएर दाइ बाहिर निस्किनेबित्तिकै मैले सोधिहालेँ, “आमा खै त दाइ ?”
दाइ केही बोलेनन् । अँध्यारिए मात्र । काकाले नै जवाफ दिए, “उसकी आमा कहाँ छे र बाबु ? ऊ त पहिल्यै खसी सकी ।”
म उनको जवाफले भित्रैसम्म चिथोरिएँ ।
दाइले घरको भित्र बाहिर जमेको कसेर कुचोले बढार्न थाले । धुलो हावासँगै रङमङियो । नुवागाउँमा हावा चलिरहँदोरहेछ । त्यसैले जति पटक बढारे पनि धुलो जमिहाल्ने । दाइले लिस्नो बढार्दै आँगनसम्म पुगे ।
“घर त अरुले बढारे पनि हुँदो हो !” मनमनै भनेँ मैले । मैले घरि वृद्ध काकाको अनुहार र घरी मोहनदाइको अनुहार दाँजिरहेँ ।
“कहिल्यै नआउने मान्छे आइछस् । ए मोहन ! उकालोले मस्तै भोकाएको होला । यसलाई केही खानेकुरा दे न बरु ।”
दाइले बढारकुँढार पारिसकेपछि भित्र पसेर अगेनामा आगो फुक्न थाले । सानो छाप्रो धुवाँमा बिलाउन बेर लागेन ।
“घरको कामजति सप्पै आफैले गर्नुहुँदोरहेछ दाइले त !”, मैले काकासँग विस्मय पोखेँ ।
“अँ बाबु । एकदमै मिहेनती छ । नगरी पनि के गरोस् रुघरमा अरु कोही छैन । छोरीहरुको बिहे भएर घरघर गैसके । यही मोहन र म मात्र छौँ बाबु अहिले । यसको छिट्टै बिहे गरिदिन पाए यसलाई मद्दत मिल्थ्यो ।”
दुई जना बाहेक यो छाप्रोमा कोही छैन भन्ने स्पष्टीकरणले म निकै बिथोलिएँ । गलामुनिबाट उठ्न थालेका अनगिन्ती हिक्कालाई बलजफ्ती पिउँदै म उठेँ । मैले यस्तो अवस्थाको दाइलाई नेपालगन्ज पढ्न पठाऊ काका भनी कसरी भन्न सक्थेँ र ?
“दाइ म अहिले घर जान्छु ।” बाहिरैबाट दाइलाई अनुमति मागेँ ।
“के भो तँलाई अकस्मात रुआउन पाएको छैन, जान्छु भन्न थालिहालिस् रु आज यतै बस्नुपर्छ ।” काकाले मलाई रोक्न खोजे ।
दाइले परातमा पिठो मुछ्दै भित्रैबाट भने, “नेपालगन्ज जानको लागि सल्लाह गर्न मेरो घरमा आएको होइन र भाइ ?”
मैले दाइलाई केही जवाफ दिन सकिनँ, “भयो दाइ, म घर गएँ ।” मात्र भनेँ र दाइले रोक्न नभ्याउँदै खुर्र लिस्नोबाट झर्दै नुवागाउँको ओरालोमा हाम फाल्न थालेँ ।
“दाइले मेरो मन ठूलो पार्नलाई मात्र नेपालगन्ज जाने भनेका रहेछन् ।” भन्ने लाग्यो मलाई ।
म एकछिनमै घरमा पुगेँ र आमालाई भनेँ, “भयो आमा, म तपाईँहरुलाई एक्लै छोडेर साइन्स पढ्न नेपालगन्ज जान सक्दिनँ । म मोहन दाइसँगै मुसिकोट क्याम्पसमा आइए पढ्छु ।” आमाबालाई पहिल्यै थाहा थियो । मोहन दाइले मलाई साथ दिन सक्दैनन् भनेर । मेरो बदलिएको मन देखेर मसँग कुनै आश्चर्य प्रकटन गरेनन् । नाटकीय रुपमा सपना चक्नाचुर भएको चोट सहन नसकी सिरकले मुख छोपेर सिरकको खोल भिजाउन थालेँ ।
भोलिपल्टदेखि नै मोहन दाइ र म मुसिकोट क्याम्पसमा भर्ना भएर आइए पढ्न थाल्यौँ ।
केही समयपछि एक बेलुका मोहन दाइको करले म नुवागाउँतिर उक्लिएँ । त्यस दिन भने दाइसँग नुवागाउँमै रात बिताउने निश्चय गरेको थिएँ । मोहन दाइको घरमा पुग्दा सन्जे पर्न आँटिसकेको थियो ।
काकाको असक्त अवस्था झन् झन् बिग्रिँदै गइरहेको थियो । गोठको बाहिरपट्टि काकाले वारिपारि हेरेर दिन धकेल्ने ओटो थियो । ओटोभन्दा भित्रपट्टि सिङ्गै एउटा मात्र कोठा थियो । घरको भित्ताभरि हातले कोरेका चित्रहरु थिए । दाइले खाना पकाउने सुरसार कस्न थालेपछि मैले सहयोग गर्छु भन्दै उठेँ ।
“यो सानो चुलो र मैरोमा तिमीले कहाँनेरबाट सहयोग गरौला र ? झन् मलाई अलमल मात्र हुन्छ । बरु यो उपन्यास पढ !” भन्दै पढ्दा पढ्दा धुलिएको एउटा बाक्लो किताब हात लगाइदिए ।
आमा उपन्यास थियो त्यो । पहिल्यै एकचोटि पढी भ्याइसकेको थिएँ । तर दाइलाई यो पढिसकेको किताब हो भन्न सकिनँ । दोहोर्याउन थालेँ । घरि किताबमा त घरि छाप्रोको आनाकुना मेरा आँखा घुमिरहे ।
भित्ता हेर्दा लाग्दथ्यो म कि कुनै सम्पन् आर्ट ग्यालरीमा छु । तर जब दलिनतिर हेर्थेँ म वास्तविकतामा आइपुग्थेँ । किनकि त्यहाँ धुइँसोले काल्लिएका डाँडाभाटाहरु मात्र थिए । डढेको खरको छानो थियो । छानो यति पातलो थियो कि भित्रैबाट सगरका दुई चार थान ताराहरु पनि देखिन्थे ।
दाइले खान बोलाए । भातको बास्ना मिठो थियो । उसिनेको तोरीको साग थियो । बाक्लो बाक्लो झोलको तिहुन थियो । चिप्लो चिप्लो थियो ।
“के को तिहुन हो यो ?” मैले यस प्रकारको तिहुन कहिल्यै चाखेको थिएन ।
दाइ मुख चिम्लिएर हाँस्न थाले । काका भने मुख खोलेरै खितखिताउँदै हाँसे, “घरानका बाबुलाई के दुःख दिएको होला यो मोहनले पनि ! यो त कपासको बियाँ पिनेर बनाएको फाँडो हो । मिठो मानेर खा । खा । हाम्रो घरमा आइस् भने यस्तै खाना चाख्न पाउँछस् ।”
उनको कुराले म स्तब्ध भएँ । त्यस प्रकारको दाल अत्यन्तै निम्न आय हुनेले मात्र खाने कुरा मैले सुनेको थिएँ ।
मिठो नहोला भन्ने अनुमानले भात र तिहुन मुछेर जब मुखमा गास पुर्याएँ, खाना अत्यन्तै मिठो थियो । सम्पन्न कहलिएकाले नचाखेका तिहुन तरकारी पनि स्वादिष्ट हुँदा रहेछन् । दाइको कला त बोलीमा मात्र नभई खानामा पनि उत्तिकै रहेछ ।
खाना खाइसकेपछि हामी दुई भाइ दाइको ओछ्यानतिर लाग्यौँ । सजीवनको गेडा टिपेर सिन्कामा उनी मैनबत्ती तुल्याएका रहेछन् । त्यसैको उज्यालोले उनका कापि किताब हेर्न थाल्यौँ । सजीवनको उज्यालोले सिरानी नजिकै रिठ्ठाको डल्लो पनि देखियो । त्यसैको मद्दतले मोहन दाइले एक दुई दिन बिराएर लुगा र जीउ सफा गरिरहँदा रहेछन् र पो दाइ यति ह्यान्सम देखिएका रहेछन् । कपडाहरु पट्याएर गोर्यानपट्टि राखेका थिए । धोएर पट्याएर राखे पछि लुगा आइरन लगाएका जस्ता देखिँदा रहेछन् भन्ने भेद खुल्यो ।
“दाइ त भस्मेइ राम्रो चित्रकार हुनुहुँदोरहेछ !” मैले पुनः भित्तातिर आँखा रिँगाउँदै जिब्रो टोकेँ ।
“अँ, भाइ अलिअलि चित्र पनि बनाउँछु । भित्ताका ती चित्रहरुमा माटोको रङ भरिएको हो । तर कलर पेन्सिलले रङ भरिएका थप चित्रहरु यी यसमा छन् ।”, दाइले मोटो कापी मेरो हात लगाइदिए ।
मैले कापीको पाना पल्टाउँदै गएँ । मेरा आँखामा सजीव चित्रहरु उत्रँदै गए । हिमालका चित्र । पहाडका चित्र । जङ्गलको चित्र । खोलानालाको चित्र । पाखापखेराको चित्र । चराचुरुङ्गीको चित्र । गाउँले जीवनको चित्र । कुनै कुनै साथीभाइको चित्र । चित्रहरु दुरुस्तै प्राकृतिक थिए । आँखा झुक्क्याउने खालका थिए ।
बीचतिर पुगेपछि मेरा आँखा अड्किए । त्यो चित्र नभएर फोटो पो हो कि भनी हातले छामेँ । फोटोको चिल्लो कागज नभई कापीकै खस्रो कागजमा कोरिएको अत्यन्तै सुन्दर चित्र थियो । त्यो देखेर म चकित परेँ । चकित पर्नुको कारण अर्कै थियो । त्यो चित्र दाइलाई देखाउँदै म मुस्कुराएँ । कहिले पनि मेरो अगाडि लज्जा प्रस्तुत नगरेका मोहन दाइ मेरो अगाडि लाजले रातोपिरो भए । गालाहरु रगत चुहिएला जस्तै भए । दाइले बोल्न नसकी आँखा झिमझिम पारे ।
त्यो फोटो चीरपरिचित थियो । हाम्रै क्याम्पसकी एक सहपाठीको थियो । मोहन दाइले मलाई मात्र माया गर्छन् कि भनेको त उनले माया गर्ने अरु कोही पनि रहेछ । मोहन दाइलाई म मात्र माया गर्छु कि भनेको त उनलाई मभन्दा बढी माया गर्ने अरु कोही पो रहेछ ।
त्यसपछि क्याम्पसमा पढ्दा मैले दाइका मायालु व्यवहारहरु मज्जाले अवलोकन गर्न थालेँ । दाइ त्यति डुबेरै मायाको भूमिका त खेल्न पाएका थिएनन् । किनकि उनी वैचारिक बन्धनमा पनि थिए । उनी विद्यार्थी राजनीतिमा हामीहरुभन्दा कता हो कता अगाडि लम्किएका थिए ।
०००
मुसिकोट क्याम्पसबाट आइए सिध्याएपछि म बीकम पढ्न काठमाडौँतिर लागेँ । दाइ कता लागे थाहा भएन । यसै बीचमा काकाको पनि मृत्यु भएछ । मोहन दाइले बिहे गरिसकेका थिएनन् । अब एक्ला दाइले के गर्लान् भनी मेरो मन सारै आत्तियो । दाइको क्याम्पसकालीन मायालु जोडी पनि छुटेको खबर सुनेँ । म झनै मर्माहित भएँ । केही समयपछि मोहन दाइ नुवागाउँको झुप्रो र बचेखुचेका पाटाहरु बेचबिखन गरेर दाङतिर झरेको सुनेँ । यो खबरले मेरो मन निकै कुँढियो ।
म सोलाबाङ पुगे पनि नुवागाउँतिर हेर्न आँट गर्न सक्दैनथेँ । मसँग आन्द्रा गाँसिएका जस्ता मोहन दाइ बसाइ सरेपछि रित्तिएको नुवागाउँ उक्लन मलाई जाँगर चल्न छोड्यो ।
मुग्लुखोला र काइँयोखोलामा धेरै पानी बगिसकेको थियो । कति बग्यो भनी हेर्न दाइ कहिले नुवागाउँ फर्किएनन् । अतः मोहन दाइ मेरो स्मृतिको खाडलबाट हराउँदै गए । पुरिँदै गए । बिलाउँदै गए । धौबिर्सनु मोहन दाइलाई मैले सजिलै बिर्सिन पुग्छु । यति हितैषी मित्र एवं मेरो संरक्षकको भूमिका खेलेका दाइलाई समयले यसरी बिर्साउन पनि सक्दोरहेछ ।
०००
मैले फोन गरेपछि मोहन दाइकै स्वर सुनेको थिएँ । मेरो भाग्यले मोहन दाइले नै फोन उठाएका थिए । मैले यालमायाको लागि चित्र कोरिदिन बिरामीले असक्त भएका दाइसँग बालहठ देखाएको थिएँ । मेरो जिद्दीका बाबजुद अप्रत्यासित बिरामीले थलिएका व्यक्तिले मेरो लहडस्वरुप चित्रकारितातिर पुनः मन लगाउनै सक्दैनथे । यो सम्भव हुने कुरै थिएन ।
तर भोलिपल्ट बेलुका भनेकै समयावधिभित्र मेसेन्जरमा गज्जबको मेसेज आयो । त्यो मेसेज मोहन दाइकै थियो । मेसेजमा अल्लारे युवतीको चित्र पनि थियो । म तीनछक परेँ । म त्यो देखेर मन्त्रमुग्ध भैहालेँ । दाइको चित्रकारिताको शोख पटक्कै नघटेको देखी म खुसी भएँ । त्योभन्दा खुसीको कुरा उनको चित्र जीवन्त थियो । त्योभन्दा बिडम्बनाको कुरा उनी शरीर चलाउनै नमिल्ने गरी थलिएका थिए । मैले उनको चित्र नै मेरो कथासङ्ग्रहमा उपयुक्त हुने ठहर्याइसकेको थिएँ ।
मैले रुकुममा नजिकैबाट देखे भोगेका सर्वोत्कृष्ट चित्रकार । उति बेला उनका जीवन्त चित्रहरुले मन्त्रमुग्ध नहुने कोही पनि थिएन । उनका कति चित्र नुवागाउँकै कटेरोमा धुलिए होलान् । कति चित्र समयको खाडलमा पुरिए होलान् । यति सुन्दर चित्रकारको चित्र र कला संरक्षण गर्न खै कसले के भूमिका खेल्यो ? दाइको स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गइरहेछ ।
मैले आफ्नो कथासङ्ग्रहको कभरमा राखेर उनको चित्रकारिता बचाउनु मेरो दायित्व हो । उनीप्रतिको सम्मान हो ।
तर दाइसँग सिर्फ जिस्किन मन लाग्यो ।
मैले दाइलाई फोन लगाएँ, “दाइ, यो कसको चित्र बनाइदिनुभयो तपाईँले ? तपाईँले त्यो क्याम्पसकालीन प्रेम अझै भुल्नसक्नुभएको छैन ?”
फोनमा दाइ अलल्लिएर हाँसिरहे । एकतमासले खितखिताइरहे । मुखबाट उनको वचन छुट्नै सकेन । वक फुट्नै सकेन ।
“भन्नु न भन्नु दाइ ? यो चित्र मेरो पुस्तकमा कसरी राखूँ म ? तपाईँको निजी समवेदनासँग गाँसिएको चित्र मेरो कथासङ्ग्रहमा कसरी अटाऊँ म ?” म दाइसँग अलि बढी नै जिस्किएको थिएँ ।
“त्यसो नभन न भाइ । त्यो चित्र ऊसँग पटक्कै मिल्दैन । तिमीले यही आरोप लगाउनसक्छौ भन्ने सोची मैले स्वरुप बिगारेर यो चित्र कोरेको हुँ ।”
“स्वरुप बिगारेर भन्नाले ?” दाइले मलाई फेरि निस्तब्ध तुल्याइदिएका थिए ।
“मैले योभन्दा अगाडिबनाएका चित्रहरु झनै उसको झझल्को दिने खालका बन्न पुगेका थिए । मैले ती तीन चारवटा चित्रहरु तिमीलाई नपठाएरै च्यातेर फालिसकेँ । यसमा उसको स्वरुप नआएको निश्चित भएपछि मात्र तिमीलाई पठाइदिएको हुँ ।”
उनी पुनः अलल्लिने गरी हाँसिरहे ।
दाइ पनि मसँग जिस्किरहेका पो थिए कि ?
महान कलाकार मोहन दाइले मलाई अन्तिमपटक नराम्रोसँग जिल्ल्याइदिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।