
कथाकार पूर्ण ओलीको कथासङ्ग्रह ‘यालमाया’ पढेँ । साहित्यपोस्ट समूहले प्रकाशन गरेको उक्त कथासङ्ग्रहमा १५ ओटा कथाहरू समेटिएकाले पुस्तक ठिक्क साइज अर्थात् २२६ पृष्ठको बन्न पुगेको छ ।
कथाहरू पढ्दै जाँदा अक्सर पढिएका कथाहरूभन्दा भिन्न अनुभूति भयो । उहाँका कथाहरूमा कथावस्तुको विविधता रहेको छ । कथाकारले कथामा परस्त्री भनेपछि मरिहत्ते गर्ने पुरुष पात्रको मनोदशाको चित्रण गर्नुका साथै द्वैध चरित्रका नारीहरूले पनि पुरुषलाई भुलभुलैयामा सजिलै फसाउने कुरालाई कथामा निकै मर्मस्पर्शी किसिमले प्रस्तुत गर्नुभएको छ ।
पाठकमा कौतुहलता जगाउँदै पाठकले अनुमान गरेभन्दा भिन्न परिणामका कथावस्तु प्रस्तुत गर्दै कथा अगाडि बढाउने उहाँको कलात्मक क्षमता कथामा भेटिन्छ । कथाहरू आधुनिक समाजका विकृति, परम्परागत समाजका विकृति, चारित्रिक विकृतिहरूका कारण मानिसले केकस्ता परिणाम भोग्न बाध्य छन् भन्ने कुरालाई उहाँले कथाका माध्यमबाट प्रस्ट पारेको देखिन्छ ।
उहाँका कथाहरू लामा र वर्णनात्मक भए पनि भाषाशैलीका कारण सुन्दर छन् । कुनै कथामा नेपालको पश्चिमी भूगोलमा प्रयोग गरिने कथ्य भाषाका साथै स्थानीय भाषिकाको प्रयोगले कथाहरू जीवन्त छन् भने केही कथामा कोडभाषाको प्रयोग भएको छ । कोडभाषाका कारण द्वन्द्वकालमा खेप्नुपरेको दुःखलाई समेत कथामा सुन्दर किसिमले वर्णन गरिएको छ ।
कथाकारका आफ्नै दुःख र दर्दलाई कथामा पढ्दा आँखा ओभाना भएनन् । ‘लोककथा’ शीर्षक दिनुभएको लोकबहादुरको दुःखलाई पढ्दा निकै मर्माहित भएँ । यालमायाका सङ्घर्षका कथाले महिलाप्रति गरिने विभेदपूर्ण समाजको चित्रण गरेको छ । यस कथाले सिङ्गो नेपालको जनजीवनको प्रतिनिधित्व गरेको छ । ‘यालमाया’ कथामा यालमायाको द्वैध चरित्रले गरिब तथा कथित निम्नवर्गीय पात्र गोरेले आफ्नो इहलीला समाप्त पार्न बाध्य हुन्छ । यो कथा पनि समाजको प्रतिनिधिमूलक चरित्र प्रधान कथा हो । ‘प्रतिशोध’ कथामा भौगोलिक विकटताका हिसाबले मानिसले गर्ने भेदभाव अर्थात् हेयको दृष्टिकोणलाई निकै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । समग्रमा कथाहरू सामाजिक यथार्थ र मनोवैज्ञानिक पक्षमा केन्द्रित छन् ।
यसरी कथाकार पूर्ण ओलीको कथासङ्ग्रहमा विभिन्न कालखण्डका कथाहरू समावेश भएको भेटिन्छ । कथाकारका बाल्यकाल, माओवादी द्वन्द्वकाल तथा अहिलेको आधुनिक फेसबुके प्राविधिक कालखण्डका सत्य र तथ्य कथावस्तु समेत ‘यालमाया’ कथासङ्ग्रहमा सङ्ग्रहित गरिएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

