लटे दाइ दिनभर घरमा छन् अचेल। टोलका सबै भट्टी पसलहरू बन्द छन्। शर्मिला भाउजूको अनुहारमा चमक देखिन्छ। सधैँजसो रात-बिरात फर्किन्थे लटे दाइ। बिहे गर्नु पहिलेदेखि नै यो आदत थियो लटे दाइको। टोलका धेरै जसो लोग्नेमान्छेहरूको अवस्था एउटै थियो र त्यही संगतमा थिए लटे दाइ। दिनभर तास खेल्नु, रातिसम्म भट्टीमा रैला गर्नु र अबेर घर पुग्नु उनीहरूको पेशाजस्तै थियो। वर्षौंपछि समय यसरी बदलियो, कोरोना भाइरसका कारण टोलका सबै व्यवसायहरू बन्द भए। भट्टी पसलहरू पनि बन्द भए, समाजमा मान्छेहरूलाई बिना काम बाहिर निस्कन, डुल्न बन्देज गरियो।
लटे दाइ घरमै बस्न थाले। शर्मिला भाउजूप्रति माया बढ्दै गयो। शर्मिला भाउजू जुठेल्नामा निक्लेर उक्क-उक्क गर्न थालिन् र छिमेकी घरतिर फर्केर खिस्स हाँस्न थालिन्। म एक दिन स्वास्थ्य चौकी पुगेर फर्किदै गर्दा लटे दाइको पिँढीमा एउटा अनौठो दृष्य देखे, शर्मिला भाउजू पिँढीको सानो चकटी गुन्द्रीमा बसेकी थिइन्। लटे दाइ बाँसको मूढामा बसेका थिए।
भाउजूले मस्त अढेस लगाएकी थिइन्, दाइतिर ढल्किएर। कपाल बाँधेको रबर देब्रे हातमा छिराएकी थिइन्। भुईंको सानो कचौरामा भएको तोरीको तेलमा हात चोब्दै शर्मिला भाउजूको कपालमा पुर्याउँथे लटे दाइ। म यो दृष्य अजीब भएर हेरिरहेँ। एकै छिनमा भाउजूको खलबलिएको कपाल सुम्सुम्याउँदै जाउँ च्या बसाल भने दाइले शर्मिला भाउजूलाई। भाउजू हवस् भन्दै भित्र छिरिन्।
मैले लटे दाइलाई भनेँ, ‘दाइ, एकदिन यो महामारी सकिने छ। हामी पुरानै कामकाजमा फर्कने छौँ। हजूर पनि पुरानै संगतमा नफर्किनु होला है अब !’
लटे दाइले हाँस्दै भने, ‘भाइ माया भन्ने जिनिस, प्रेम भन्ने कुरा मलाई थाहा नै थिएन। यो समयले सिकायो। अब म भुलेर पनि पुरानो बाटोमा फर्किने छैन। भाउजू-आमा बन्दै छे। सब चिज माया रहेछ।’
यसो भन्दै मुसुक्क हाँसे लटे दाई ।
म बिस्तारै आफ्नो बाटो लागेँ। छुच्चो मनमा अनेक कुरा खेले मेरो मनमा पनि। सोचेँ, पिँढीमा बसेर लटे दाइले जस्तै प्रेम साट्ने समय कहिले आउने होला!
(अनेसास जापानका निवर्तमान अध्यक्ष)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।