साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लकडाउन डायरी

अर्पण तिवारीकाे ब्लग

जहाजको आवाज र बारम्बार खोसिएको खुसी

आकाशमा उडेको हवाई जहाजको आवाजले एकाबिहानै निद्रा खलबल बनाइदियो । सिरानी छेउको मोबाइल स्क्रिनले बिहानको ६.२५ भएको संकेत गरिरहेको थियो । एकान्तबास अगाडि हवाई जहाजका आवाजले केही फरक नपर्ने भैसकेको म, आज यो आवाजले निद्रा खल्बलाउँदा मन खल्लो भयो, छटपटी बढ्यो, त्यो भन्दा बढी मनमा खुसी-उमंग पनि भरियो । म हाल स्पेन बार्सिलोना बस्दै आएको छु । म बसेको स्थानबाट एयरपोर्ट जम्मा ४ कि.मि. टाढा छ । यस बार्सिलोना एयरपोर्टको टी वन र टी टु टर्मिलनबाट विश्वका ९४ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका सयौँ जहाजहरुले १४५ विभिन्न डेस्टिनेसनको लागि दैनिक उडान भर्थे । यी हवाइजहाजहरु प्रायः म बसेको ठाउँ माथिको आकाश प्रयोग गरेर उडान भर्थे ।
“९ दिनमा नौलो, २० दिनमा बिर्स्यो” भन्ने उखान सम्झेँ। आकाशमा जहाजहरुले उडान नभरेको पनि लगभग दुई महिनाभन्दा बेसी भैसकेका थियो, सायद मैले हजाई जहाजको आवाज भुलिसकेको रहेछु, अनि हवाई जहाजको आवाजले मेरो निद्रा खलबलाउँदा आफू दुःखी भएको अनुभव गरिनँ।
एकान्तबासपूर्व म एकतमासले व्यस्त थिएँ । दिनमा उपलब्ध २४ घण्टामध्ये १४ घण्टा लगातार काम गर्नु मेरो लागि सामान्य दैनिकी जस्तै भएको थियो । १८७ सदस्य राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रमिक सगंठन (ILO)को ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरन्जन भन्ने नारा केवल मानिसको लागि मात्र हो जस्तो लाग्थ्यो, आफूलाई काम गर्ने मानिस नभै रोबोट मेसिनजस्तै सम्झने गर्थें । आफूलाई रोबट मेसिन सम्झेसँगै जीवन बिस्तारै अब सरल रुपमा बग्न थालेको थियो । दुई वर्षअघि युरोप छिर्दा मनमा गुनेका, मनमा फलेका लड्डुहरुको स्वाद चिनीको चास्नीमा डुबेर गुलियो भएजस्तै मिठास आउन थालेको थियो । भाषा ज्ञानको विकास, कार्यअनुभवले बिस्तारै अर्को महिनामा काम गर्ने समयअवधि र महिनामा बुझ्ने तलब आफू सन्तुष्ट हुने गरी कम र बढी हुनेवाला थियो । एक जना दाइसँग मिलेर एउटा सानो बार रेष्टुरेन्ट खोल्ने दिन यही गर्मी सिजनमा गर्ने भनेर तोकिसकेका थियौँ। यसले मन हाइड्रोजन ग्यास भरेको बलुन उडेजस्तै माथि उड्न थालेको थियो । नसोचेको कोरोना प्रवेशले मेरो सबै खुसी खोसेर एकान्तबासमा धकेलिदियो । आजसम्म मुखैमा आएको खुसी यसरी खोसिनु जीवनको पहिलो खोसिएको खुसी भएको छ ।
कोरोना पछिको एकान्तबासले सुरुमा मनमा ठूलो बेचैनी निम्त्यायो । शुरुका दिनमा एकदमै हतास हुने खालको भयो । जीवन नै एक तमासले अन्धकारतिर धकेलिएको अनुभव हुन थाल्यो । परदेशमा आफ्ना भाषाका प्रिन्ट बुकहरु त्यति सम्भव नभएसँगै इन्टरनेटमा आफूलाई व्यस्त राख्न थाले । ओशो, विपस्यना र ओमशान्तिका ध्यानविधिको क,ख,रा बुझेको थिएँ। त्यसमा आफ्नो समय धेरै खर्चिन थालेँ, अनलाइन बुकहरु पढ्न थालेँ, बिस्तारै माया, मोह, राग, लोभ, क्रोध, कामवासनाबाट आफूलाई सकेसम्म टाढा राख्नुपर्ने बुझेँ । एकान्तबासका दिनहरु अब प्रिय हुन थाले । आफ्नो जीवनमा यस्तो सु–अवसर अब चिन्ता माथिको विश्रामअघि कहिल्यै आउन नसक्ने कल्पना गरेँ ।
स्वःअध्ययनलाई जोड दिँदै बिस्तारै सामाजिक सन्जालहरुलाई समय कम दिन थालेँ । “हुने हार दैव नटार” भने भनाइ एक तमासले फेरि सम्झेँ । विश्वका सबै वैज्ञानिकहरु कोरोना रोकथाममा जुटिरहँदा केही उपलब्धि हासिल हुन नसकिरहेको यस अवस्थाले यो उखानलाई अझ न्याय गरेको सम्झे, कोरोना महामारीलाई दैवको नै लीला सम्झेँ । ओशोको प्राय साँझको समय गरिने कुण्डलिनी ध्यानका १५,१५ मिनटका चार चरणहरुले ठोस चट्टानजस्तो शरीरमा थुनिएका र ब्लक भएका इनर्जीहरुलाई बिस्तारै तरलतामा बगाउँदै पैतालाबाट ठाडो दिशामा बग्न मद्दत गरेको बुझ्न थालेँ । सन्ध्याकालीन समयमा नाच्दा आफ्ना शरीरका अंगहरु स्वःस्फूर्त रुपमा नाचिसकेपछि त्यो रात आउने गहिरो निद्राको अनुभव राम्रोसँग गर्न थालेसँगै यसले मानसिक स्वःस्फूर्तता ल्याउने र मेमोरी पावर बढाउने तथ्य गहिरोसँग अध्ययन गरे । ब्रह्मकुमारी विश्वविद्यालयअन्तगर्त ज्योतिको परिकल्पना गर्दै गरिने राजयोगले मस्तिष्कमा एक किसिमको रिल्याक्स तथा पोजिटिभ इनर्जीतिर आफूलाई लगेको महसुस गर्ने कुरामा अझ बढी प्रष्ट भए । त्यस्तै आफ्नो श्वासप्रश्वासलाई महसुस गर्दै गरिने विपस्यना ध्यानले नकारात्मक सोचको प्रभाव कम हुँदै जाने कुरा अझ गहिराईसँग अध्ययन गर्न पाए । समग्रमा एकान्तबासले आर्थिक मनोदशालाई नराम्रोसँग प्रभाव पारे पनि बिस्तारै माया, लोभ, द्वेष, कामवासना, क्रोध यी सब झुटा हुन फजुल हुन् भन्नेतर्फ मन डोहोर्याउँदै लगेको थियो । आध्यात्मिक अध्ययनमा आफूलाई पाउँदा मन चङ्गा हुन थालेको थियो । यो खुसी पनि कोरोनामा आएको फैलावट दरको कमी र मृत्युदर कमसँगै खोसियो । कोरोना प्रभाव घटदै जानु आफैँमा एकदमै राम्रो भए पनि अपवादको रुपमा मलाई अब एकान्तबासमा जस्तै अध्ययनलाई समय दिन नसक्ने अवस्थाले फेरि खुसी खोसिएको महसुस गरे ।
बिहानीपखको जहाजको आवाजले मनमा एकतमासले उत्सुक्ता थप्दै थियो । अब छिटै अवस्था सामान्यतर्फ फर्किने संकेतसँगै सानाखालका रेष्टुरेन्टहरुलाई सन्चालन गर्न दिने यहाँको सरकारको निर्णयले आफ्ना पहिलाका योजनामा अगाडि सोच्ने अवस्था सिर्जना भएको थियो । छुटेको काम पनि हात लाग्ने र आर्थिक पाटोमा सुधार आउने निश्चित थियो । यसले मनमा फेरि एकान्तबास सँगै गुम्सिएका खुसीहरु सल्बलाउन थालेका थिए । जहाजको आवाजले निद्रा खल्बलाइसकेपछि फेरि निदाउन कोसिस गरे । अहँ, निदाउन सकिनँ । स्याङजा वालिङमा ३ कोरोना बिरामी थपिएसँगै ५ मा कोरोनाको पुष्टि भन्ने हाइलाइट समाचार स्थानीय आँधिखोलाखबरमा हेरेपछि सल्बलाएका खुसीहरु एकै ठाउँमा एक गोलो ढिक्का भई छाति च्यापेको जस्तो हुन थाल्यो । ७० वर्षकी आमा सम्झेँ । श्रीमती, दाइका साना दुई छोरी सम्झेँ । हाल आफू रहेको देशमा २७,१०० भन्दा धेरै मानिसहरुले ज्यान गुमाउँदा जति यहाँ आफूलाई सुरक्षित सम्झेँ, त्यो भन्दा बढी असुरक्षित गाउँमा पाँच जना कोरोना सक्रंमित बिरामी हुँदा भएको महसुस गरेँ । आज क्वारेन्टिनबाट यति कोरोना संक्रमित बिरामीहरु भागे, एम्बुलेन्समा नक्कली कोरोना बिरामी फेला पर्यो, सरकारी हस्पिटलले कोरोना बिरामी लिन अस्वीकार गर्यो, सुनौली बोर्डरमा हजारौँ गाउँलेहरुले आफ्नो गाउँ आउन कुरेर बसेको खबरहरुले एकान्तबासबाट बिस्तारै सरलतातिर बग्न थालेको मेरो दैनिकीमा खुसी एकाएक खोसिदियो । एकाबिहानै जहाजको आवाजले मनमा ल्याएको खुसी एकाएक चुँडिन थाल्यो ।
म आफू हाल बसेको ठाउँ स्पेनमा अहिले मृत्युदर शून्यमा झरेको छ, सक्रमण दर ४ अंकबाट कहिले २ कहिले ३ अंकमा झरेको छ र पनि फेरि मार्च १४ बाट सुरु भएको लकडाउन जुन २१ सम्म कायम नै गरिएको छ । यहाँ अपवादका एकाध घटनाबाहेक कुनै किसिमको अप्रिय घटनाहरु भएका छैनन्, हाम्रो गाउँमा कोरोना बल्ल समुदायस्तरमा फैलिने क्रममा छ, मृत्युदर बढ्ने दिन आउन बाँकी छ तर हामी सरकारलाई वा व्यवस्थालाई दोष देखाउँदै आफू जति संयम र उत्तरदायी हुनु पर्ने हो त्यो एकरति पनि भएका छैनौँ । यसले हाम्रो अवस्था इटालीमा जस्तै हुने निश्चितप्रायः छ । भारतका नेता महात्मा गान्धी पनि २१ दिन कुनै अन्न बिनाको भोक हड्ताल गरेको इतिहास हामीले बिर्सेका छैनौँ। त्यस्तै सामान्यतयः मानिस २१ दिनदेखि ४० दिनसम्म बिना खाद्यान्न रहन सक्नेतर्क ब्रिटिस मेडिकल जर्नललाई आधार मान्दा पाउन सकिन्छ । तर यसको विपरीत हामी यस्तो विषम परिस्थितिमा पनि फेसबुकका स्टाटसमा आजको खाना भन्दै फोटो देखाउन अनावश्यक रुपमा बजारमा भिड गर्न रोकेका छैनौँ। यसले हामी खानाका लागि भन्दा पनि रोग फैलिन दिनको लागि बढी अग्रसर छौँ जस्तो लाग्छ ।
यो रोगसँग बच्ने भनेको रोग लाग्न नदिनु नै हो। यो केवल सामाजिक दुरी कायम गरेर मात्र सम्भव छ। खानाका लागि भन्दै हामी तरकारी पसलमा उस्तै भिड गरिरहेका छौँ। हरेक पसलहरुमा सोहीअनुसार भिड गरिरहेका छौँ। यो प्रवृत्ति मृत्युदर वृद्धि भए मात्र एक्कासि रोकिने प्रस्ट छ, जुन सारै दुःखको कुरा हो । आशा छ, हामी सबैमा रोग फैलावट प्रतिको जिम्मेवारीबोध हुन आउँनेछ र अब हामी सरकार वा व्यवस्थाले केही गरेन भन्दै आन्दोलन गर्न भन्दा पनि आफू संयमित रहने छैन। अब हामीले खाना नै नखाई पनि २१ दिन देखि ४० दिनसम्म बाँच्ने कुरा बुझ्न जरुरी छ र खानालाई भन्दा रोगलाई बढी महत्त्व दिन आवश्यक छ। यो गर्दासम्म सामाजिक दुरी कायम हुनेछ र बिस्तारै संक्रमण दर घट्ने छ। यससँगै म लगायत हाम्रा खोसिएका खुसी पुनः सल्बलाउन थाल्ने छन्।

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...