


बद्री भिखारी
सामाजिक सञ्जालमा अब खुसी हुनुपर्ने अनेक बहाना खोज्नुपर्ने बेला आएको छ । केही साहित्यकारले भने बन्दाबन्दीका बेला बढेको दाह्रीजुँगा सफाचट पार्न सफल भएको खुसी सामाजिक सञ्जालमा प्रकट गर्न थालेका छन्।
विराटनगरका साहित्यकार बद्री भिखारीले लामो समयपछि दाह्रीजुँगा सफाचट पारेपछि आफूलाई ६० वर्षे तन्नेरी महसुस गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
कोविद १९ रोगका कारण जनजीविकाका बाटाहरू ठप्प हुँदै गर्दा र कोरोनाभाइरसका संक्रमण संख्या बढ्दै जाँदा केही साहित्यकारहरूको दाह्रीजुँगा बढिरहेको थियो ।
बढीभन्दा बढी मानिसहरू आउजाउ हुने ठाउँका रूपमा परिचित सैलुनमा पुगेर बन्दाबन्दीका यत्तिका दिनपछि दाह्री जुँगा सफाचट पार्न सफल भएकोमा साहित्यकार नयनराज पाण्डे र किशोर पहाडीले खुसी बाँडेका छन् ।
साहित्यकार पहाडीले लेखेका छन्, ‘ठूलै जोखिम मोलेर आइयो । तीन महिनादेखि काट्न नपाएकाे कपाल, टोलमा हजाम खोजखाज गरी कटाएर आइयो। जे त पर्लापर्ला।’
पहाडीले बाहिर कपाल काटेपछि सेल्फ क्वारेन्टिनमा बस्ने र केही दिनपछि मात्र भेटघाट गर्ने जनाउ पनि दिएका छन् । उनको तस्बिरमा उनको खुलेको मुस्कानको तारिफ गर्नेहरू बढी देखिए ।

नयनराज पाण्डे
यता ‘लू’ फेमका पाण्डेले त सफाचट देखिन सैलुन सञ्चालक राकेशलाई आफैँले नयाँ मास्क र पञ्जा दिए । घरैबाट लगेको स्यानिटाइजरले औजार सफा गर्न लगाए । झरेका कपाल र दाह्री व्यवस्थापन गर्न पनि उनले आफ्नै रूमाल उपयोग गरे र कपाल काटुञ्जेल मास्क लगाए।
यति गरेपछि उनले साढे दुई महिनापछि कपाल काटेर हल्का भए । यति सबै गर्दा उनको जम्माजम्मी १८० रूपैयाँ खर्च भएको पनि लेखेका छन् ।
उनले लेखेका छन्, ‘यस्तो अप्ठेरो परिस्थितिमा त्यति रकम तिरे पनि घाटा लागेको महसुस भएन ।’
साहित्यकार पाण्डेको बयानपछि अर्का साहित्यकार रवीन्द्र समीरले आफूले घरैलाई शैलुन बनाएकामा तनाव नभएको टिप्पणी गरेका छन् भने अर्का साहित्यकार नारायण तिवारीले आफ्नो दाह्री काट्ने मेसिनको तस्बिर पठाएर ठट्टामा साथ दिएका छन् ।



