इन्दिरा चापागाइँ

क्यानडा गएको एक वर्षपछि ऊ काठमाडौंमा अनायास भेटियो। छब्बिस वर्षको सुन्दर जवान मान्छे त ज्याङ्गो थियो नै, आज राम्रै लवाईखवाईको खानदानी पनि देखियो। गाउँको साधारण केटो यस्तो देखेर अलि छक्क परेँ र सोधेँ- “होइन, तँ त क्यानडा पो गएको थिइस्, होइन?”

“म्यानपावरले धोका दियो। नक्कली भिसा रहेछ। पुग्न नपाई तुरुन्त फर्किनु पर्यो।”

“किन बस्छस् त यहाँ, घर नगएर?”

“मुटुका रोगी बुढा बा, दमको रोगी आमा । मैले आफू फर्किएको कुरा सुनाउन सकेकै छैन यार। पत्नीलाई चाहिँ दुःख बिसाएँ। यतै बोलाएको छु। घरखेत सब साहुकहाँ बन्धकी छ। ऋण तिरी सकेपछि मात्र घर फर्किन्छु।”

उसको कुराले मलाई भावुक बनायो। सोधेँ, “कसरी बाँचेको छस् त काठमाडौंमा?”

“मलाई गाँस, बास, कपास जुटाउनु मात्र थिएन। ऋणको सावाँ ब्याज बढेको बढ्यै। जति सक्दो चाँडो घरखेत उकास्नु पर्ने बाध्यताले काम खोज्न थालें। रत्नपार्कतिर भोकभोकै भौंतारिदा दलाल भेट भएर काम मिलाइदियो। ऋण तिर्नका लागि अरु उपाय भेटिनँ। त्यत्रो पैसा पाउने जागीर भन्ने बित्तिकै कहाँ पाइन्छ र ? कसैको रहरले मेरो बाध्यतासँग सौदाबाजी गर्यो यार !”

“कति पैसा पाउँछस् नि?”

“पचास हजार मासिक। फिल्ड जाँदा चाहिँ दश हजार थप हुन्छ। अरु सुविधा पनि छ,” मलिन अनुहारमा बोल्यो।

“अरु सुविधा के के?”

“पल्सर बाइक, जीम शुल्क, ल्याङ्ग्वेज शुल्क भुक्तानी ।”

“अनि राम्रो रहेछ त। किन गुनासो गरेको त फेरि?”

“तँ त कथा लेख्दोरहेछस्। मेरो पनि लेखिदे न । समाजलाई चेतना होओस् ।अझै त यो केही गर्दा लाग्ने अवस्थामै छ। सरकारको पनि आँखा खुलोस् । मेरो जस्तो नियति कसैले भोग्न नपरोस्,” यसो भन्दा उसको अनुहारमा पीडा र आक्रोश पोतिएको थियो।

“सरकारले व्यवस्थित गर्न नसकेका म्यानपावर यस्तै हुन्। तैँले मात्र होइन, धेरैले धोका खाएका छन्। घरखेत गुमाएका छन् । कसलाई थाहा छैन र ? तेरो जस्तो जागिर पाए त म किन विदेश जान्थेँ र ?” मैले भनेँ।

“तँ कुरै बुझ्दैनस् यार । मलाई आत्मग्लानि छ। आफूलाई धोकेबाज ठान्छु। थकित हुन्छु । आफ्नी पत्नीलाई शारीरिक माया त गर्न सक्दिनँ नै भावनात्मक मायाले रातभर रुन्छु।”

“हैन, के हो तेरो कुरा?”

“मसँग यही रहेछ। यही शरीर बेच्न बाध्य भएँ यार । म त दलदलमा फसेँ। त्यो पनि छपन्न वर्षकी घरानियाँ मेडमसँग ।”

****

सभापोखरी १, संखुवासभा।