काठमाडौं । वागमती प्रदेशस्तरीय लघुकथा गोष्ठी  लङ्का रेष्टुरेन्ट, धापासीमा सम्पन्न भयो। हाम्रो लघुकथा केन्द्र, वागमती प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा समसामयिक लघुकथाका प्रवृत्ति, चुनौती र सम्भावनाबारे सशक्त छलफल तथा अन्तरक्रिया भएकाे थियाे ।

कार्यक्रमको अध्यक्षता इन्दिरा चापागाईंले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि अमेरिकाबासी साहित्यकार विश्वराज अधिकारी रहनुभएकाे थियाे ।

कार्यक्रममा सहभागी लघुकथाकारहरूले सामाजिक, यौन, बालबालिका, युद्ध र ‘जेनजी’ पुस्ताका भोगाइलाई केन्द्रमा राखी लेखन विस्तार गर्नुपर्ने धारणा राख्नुभएकाे थियाे। ललिता दोषी, शान्ता तिम्सिना, अञ्जु शर्मा, सत्या अधिकारी, मनीषकुमार शर्मा ‘समित’, निर्मला बराल, रमेश सुवेदी, प्रार्थना खनाल, दामोदर अधिकारी, महेन्द्र न्यौपाने, छायाँदत्त न्यौपाने बगर लगायतका लेखकले आ-आफ्नो अनुभव बाँड्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि विश्वराज अधिकारीलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो। अध्यक्ष चापागाईंले सिद्धान्तहरूलाई बाधा नभई मार्गदर्शकका रूपमा लिई लघुकथा सिर्जनामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयाे। कार्यक्रम प्रदेश सचिव मनीषकुमार शर्माको संयोजन र मन्दिरा चापागाईंको सञ्चालनमा सम्पन्न भएको थियो।

गोष्ठीलाई सहभागीहरूद्वारा सशक्त, उपयोगी र प्रेरणादायी अनुभव गरिएको थियो।