इन्दिरा चापागाइँ

मेरा कविताका विम्बहरुमा

तिमीले आफ्नो प्रतिबिम्व देख्न सकेनौ

मैले प्रयोग गरेका प्रतीकहरुमा

तिमी प्रतिको प्रेमको प्रतीक भेटेनौ

मेरो सिर्जना पढ्दा जीवन बाँच्ने

जीवनका सूर, संगीत बुन्न सकेनौ

र सकेनौ दाम्पत्य जीवनमा

अलङ्कारहरु उन्न पनि

 

शब्द, मर्म मनन गर्न सकेनौ

न त ग्रहण गर्न सक्यौ प्रेमको भाव

न त कला देख्यौ

जीवनलाई जीवन्त बनाउने

न त बुझ्नसक्यौ

प्रणयको स्वादिलो स्वभाव

जसले जीवनमा मीठास छर्नेथियो

एकाआपसमा माया र सम्मान भर्नेथियो

 

कविता प्रेम हो

मैले तिमीलाई गर्ने जस्तै

प्रेम कविता हो

मैले तिमीलाई लेख्ने जस्तै

सुगन्धमा सुन हुन्थ्यो

 

तिमीले मेरो कविता बुझ्न सकेको भए

न्यून रक्तचापलाई नुन हुन्थ्यो

मेरो कविताको मर्म सुझ्न सकेको भए

मैले कति प्रयास गर्दा पनि

अहँ तिमीले सकेनौ

मेरो कवितामा चिन्तन गर्न

न त जीवनमा लय भर्न नै सक्यौ

 

सायद, प्रेम बुझ्न प्रेमीहृदय चाहिन्छ

सायद, कविता बुझ्न कविहृदय चाहिन्छ।

**

सभापोखरी १, संखुवासभा