जुन बेला साम्राज्यवादले
छिमेकमा कब्जा जमायो
विश्वमै पखेटा फिँजायो
साधनस्रोत सबै हडपेर
पराधीन बनायो
त्यसबेला
वीर पुर्खाहरुले बगाएथे अनमोल रगत
पानीसम्म पिउन नपाई
भीरबाट गुल्टाइदिएथे
वैरीका परतन्त्रका ईच्छाहरु
गढीमा जम्मा गरेर राखेथे
सिङ्गो नेपालको अस्तित्व
बाले पनि जसोतसो बचाइरहेथे
वीर पुर्खाको विरासत
विश्वभरि फैलिएको थियो
वीरताको सुगन्ध
अनि स्वतन्त्रताको सुवास
उदाइरहेकै थियो
नेपालको अस्तित्व
समयको एक कालखण्डमा
तिमीले बगायौ आफ्नो अस्तित्व
कोशी, गण्डकी र कर्णालीसँगै
छिमेकीसँग मिल्यौ या बिक्यौ
मिलायौ या सत्तामा टिक्यौ
जे होस् सौदा गर्यौ
आफ्नो स्वाभिमान र अस्तित्व
कालापानी, लिपुलेक र लिम्पियाधुरा
खुसुक्क हालिदियौ छिमेकीको खल्तिमा
र, झुक्यायौ जनमानसलाई
केवल एकथान कागजी नक्सामा ऊ
सुस्ता तान्दैछ सुस्तरी
नजानिदो गरी
धकेलिदिन्छौ तिमी पनि
थुप्रै सुस्ता हडपिरहेछ
ऊ बिस्तारी बिस्तारी
के तिमी यिनै आमाबाट जन्मेका हैनौ?
के तिमीले यी नै आमाको स्तन चुसेका हैनौ?
धिक्कार! छ तिमीलाई
आफ्नै आमा बेचेर बच्ने
तिम्रो कस्तो लाक्षी स्वाभिमान हो?
आमाको काखमा
पराइले परेड खेल्दा नदुख्ने
तिम्रो कस्तो अन्तरमन हो?
आमालाई लत्याएर उँचो देखाउने
तिम्रो कस्तो अस्तित्व हो?
जुन क्रमश: अस्ताउँदै गइरहेछ।
**
सभापोखरी १, संखुवासभा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।