साहित्यकार रमेन्द्र कोइरालाको सातौँ कृति ‘जडौरी’ लघुकथा सङ्ग्रह पढ्ने मौका पाएँ । दुइ मानव आकृति एक अर्कातिर फर्किएको तर स्वाभाविक हेराहेर गर्न नसकेको अर्थपूर्ण आवरणले सजिएको यस पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ । स्वर्गीय पितामा हार्दिक समर्पण गरिएको यस पुस्तकमा ६५ वटा लघुकथा सङ्ग्रहित छन् । यो पुस्तक एक बसाइमा रुचिपूर्वक पढी सकिने लघुकथाहरूको सँगालो हो ।

पुस्तकमा पारिवारिक सामाजिक लघुकथाहरूको बाहुल्य छ जसले सामाजिक सन्देश दिन्छन् । जस्तो ‘बाहुन’ लघुकथामा बाहुन अनिवार्य होइन श्राद्धविधि चाहिँ अनिवार्य हो । ‘फुर्ती’ मा दाम्पत्य जीवनको आत्मीयता र श्रीमतीको प्रतीक्षाको कथानक छ । ‘एकल’ मा एकल एकल मिलेर जोडी बन्न श्रेयस्कर देखाइएको छ । ‘आँखा’ मा विवाह गर्दा योग्यता भन्दा रूप हेरिने कुरा छ । ‘लाश’ मा मिटरव्याजले दिएको पीडा छ । ‘घर’ मा एकातिर घरको आवश्यकता अर्कोतिर क्यान्सरसँग जुध्नु पर्ने नियति देखाइएको छ ।

त्यस्तै घर भनेको केवल गतिलो संरचना मात्र होइन आपसी विश्वास र सौहार्द्यता हो भन्ने सन्देश छ । नबोल्ने भगवानको सेवा गर्न छोडेर बोल्ने भगवानको ख्याल गर्न सुझाइएको छ । छोराछोरी र नातिनातिना विदेश पस्नाले बुढाबुढीमा एक्लो पनले डसेको चित्र छ । महिनावारी मातृत्व अनुभवको चाबी हो भन्ने सन्देश छ । श्रीमान् वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमतीहरू गलत बाटो नलाग्न मार्गनिर्देश छ ।

त्यस्तै दाइजोले निम्त्याएको पीडा, बाबुको रूपमा रहेको बलात्कारी राक्षस, रक्स्याहा लोग्नेले स्वास्नीको अस्मिता बेच्न पनि पछि नपर्ने कुरा, आमालाई बेवास्ता गर्ने तर आमाको सम्पत्तिमा र्‍याल चुहाउने प्रवृत्ति, जागिर अवकाश भएपछिको पीडा, विदेशबाट घर फर्किन छुट्टी नपाउँदाको खिन्नता, नशाले सडकवासी बनाउने जस्ता विषयहरू छन् ।

छाउगोठको दुष्परिणाम छ । नारी मनोविज्ञानका उजागर गरिएको छ । यौनकृयाकलापहर भाइरल भएको कथानक छ । लागूपदार्थको लत छ । जातीय विभेदले निम्त्याएको पीडा छ । समयमा बसपार्क चालु नहुँदा डेटिङ स्फोटको रूपमा प्रयोग भएको विकृति छ ।

आफ्ना सबै सुख त्यागेर सन्तान हुर्काउने आमा साँच्चै महान् हुन् । ‘तनावले खाना खाए विष हुन्छ, आनन्दले खाए अमृत हुन्छ ।’  भन्ने जस्ता जीवनोपयोगी कुराहरू पनि छन् । यस्तो लाग्छ परिवार या समाजका कुनै पनि घटना यहाँ समावेश हुन छुटेका छैनन् ।

औषधि लघुकथामा ‘भैँसीको भारी भैँसीलाई नै थाहा हुन्छ’ लाई ‘भैँसीलाई सिङको भारी हुँदैन’ भन्ने हाम्रो प्रचलित उखानको नयाँ संस्करण मान्न सकिन्छ । सर्जकले बाको डर, बाको कर्सी, लिभिङ टुगेदर, नशा, जस्ता लघुकथामा पूर्वदिप्ती शैलीको प्रयोग गरेका छन् । पूर्वदिप्ती शैली लामो परिवेशलाई उपयुक्त आकार दिने कडी हो । ‘घोषणा’ मा व्यङ्ग्य छ । विपरीत भावमा समापन छ । अक्षयकोष स्थापना, आत्मशान्ति, रचना वाचन, पाण्डुलिपि,  हतार जस्ता साहित्यसँग सम्बन्धित लघुकथाहरू पनि छन् । नवसर्जकले गुणस्तरलाई ध्यान नदिई सिर्जना सार्वजनिक गर्न हतार गरेको कुरा छ। पारिवारिक माग धान्ने जिम्मेवारीले पाण्डुलिपिलाई पुस्तकको रूप दिन नसकेको व्यथा छ । लघुकथाका फेसबुक पेजहरू सिकारुका लागि वास्तविक गुरु भएको अनुभूति छ । ‘रचना वाचन’ मा अब्बल रचना वाचन गर्नु पर्ने नत्र हल खाली हुने चेतावनी पनि छ ।

राजनीति र राजनीतिक व्यक्तिहरूप्रति व्यङ्ग्य पनि छ । जनप्रतिनिधिले फोस्रो आश्वासन मात्र दिने कुरा छ । ‘धन्य छ यो सडक, नेताले बजेट पचाए जस्तै सबै फोहोर पचाउँदो रहेछ ।’ जस्तो झड्कादार समापन पनि छ ।

कोइरालाले लघुकथाको सुरु र विकासमा एउटा घटना र समापनमा अर्को घटनाको संयोजन कुशलतापूर्वक गरेका छन् । ‘पसिनाको घर’ मा आफ्नो घर भत्केसँगै देश भत्केकोप्रति चिन्ता छ । केही लघुकथामा जैविक आवश्यकताको लागि विद्रोह चेत पनि छ । ‘अधिकार’ लघुकथाको समापन वाक्य ‘समाजले बालविधवा ठहर्‍याउँदैमा भात पानी जस्तो नैसर्गिक अधिकार उपभोग गर्न म सक्दिन र ?’  पापी पुरुष लघुकथाको समापन वाक्य ‘यो मेरो खुन हो यसलाई म जन्माउँछु हुर्काउँछु र तिमी जस्ता स्वार्थी पुरुषका विरुद्धमा प्रशिक्षण दिन्छु’ भनिएको छ । ‘जडौरी’ मा स्वाभिमानका लागि विद्रोह चेत छ ।  मालिकबाट सधैँ उसले दिएको सटकै कुरा सुनेर बद्ने दिक्क भएको छ र जडौरी सट मिल्काएको छ । ‘थुक’ ‘नजन्माएकी छोरी’ ‘घर’ जस्ता मार्मिक लघुकथाहरू छन् । केही व्यङ्ग्यप्रधान पनि छन् ।

यति धेरै राम्रा पक्ष हुँदाहुँदै पनि केही नपुग पक्षहरू पनि छन् । शौचालय, सिँगान, जस्ता अति सामान्य विषयलाई पनि लघुकथा बनाइएको छ । ट्र्याक, सुटिङ, टप टेन जस्ता लघुकथाहरू लघुकथा कम र बालकथा बढी लाग्दछन् । त्यस्तै ‘अबदेखि नारी सशक्तीकरणका लागि महिलालाई कुनै नियम कानून लाग्ने छैन’ रेडियोले सरकारको घोषणा सुनायो ।’ घोषणा लघुकथाको यो उठान वाक्यलाई सही मान्न सकिँदैन किनभने नियम कानून बनाएर महिला सशक्तीकरणका प्रयास गरिएको छ तर महिलालाई कुनै कानून नलाग्ने भन्ने कुरा हुँदैन ।

मतगणना लघुकथाको शीर्षक र कथानकको तालमेल मिलेको छैन । लघुकथाको उद्देश्य शिक्षाको महत्त्व देखाउनु या आफ्नो कामको सम्मान गर्नु रहेको छ । स्थान मात्र मतगणना स्थल छ । तसर्थ मतगणना शीर्षकले कथाभाव बोकेको छैन । दाइजो लघुकथामा अग्रगामी सन्देश छैन । साहित्य समाज परिवर्तनको संवाहक हो । तसर्थ ज्वाइँ किन्ने भन्दा छोरीलाई सक्षम बनाउने तर्फ लघुकथा टुङ्ग्याउनु पर्थ्यो या छोरीले पनि ‘म विवाह गर्दिन । त्यही खर्चले पढेर म सक्षम हुन्छु’ भन्न सक्नु पर्थ्यो ।

त्यस्तै डेटिङ स्पोट, ट्र्याक,  भाइरल ,  रिटायर जस्ता अङ्ग्रेजी शब्दहरू शीर्षकको रूपमा आएका छन् । नेपाली साहित्यकार भनेको नेपाली भाषा साहित्यको सेवक हो, उन्नयनकर्ता हो । ‘बाको कर्सी’ मा जुन मिठास पाइन्छ, यी शब्दमा त्यो पाउन सकिँदैन ।

यस सङ्ग्रहमा विम्ब, प्रतीक र स्वैरकल्पनाको प्रयोग लगभग छैन । त्यस्तै कथानकमा आम विषयहरू छन् । खासै नवीनता छैन ।

समग्रमा सातवटा र लघुकथाका दुईवटा कृति प्रकाशन गरिसकेका कोइराला लघुकथाका कुशल समीक्षक समेत हुन् । यसर्थ पाठकले उनीबाट अलि बढी अपेक्षा राख्दछन् । आगामी दिनमा यी कुरा विचार पुर्‍याएर लेखेमा उनको लघुकथाकारिता अरू सफल हुने छ । कोइरालाको साहित्य यात्राले शिखर चुमोस् शुभकामना । जय लघुकथा ।