इन्दिरा चापागाईं

तिजको ब्रतको दिन। टेलिभिजनमा बुज्रुक जस्ती देखिने एक महिलाको अन्तर्वार्ता चल्दै थियो।
“तिजको ब्रत बस्नु भयो?”
“पहिले पहिले बस्थें। अब छोडिसकें।”
“किन छोड्नु भएको त, पतिको आयुको सवाल छ हैन र?”
“यतिका वर्ष बसें। उनको आयु पनि अब पर्याप्त भैसक्यो नि! मेरो आयुका लागि भनेर उनी कहिल्यै व्रत बसेनन्। बरु आफ्नै आयु घटिसक्यो होला।”
त्यसपछि उनी हल्का मुस्काइन्।
“आयू चाहिँ कसरी बढ्छ त?”
“आयू बढाउन आपसमा सम्मान, माया र ख्याल गर्नु पर्छ । बरु हरियो तरकारी, पोसिलो खानेकुरा, व्यायाम, सन्तुलित आहार-विहारमा ध्यान दिएमा पक्कै पनि आयु बढ्छ। पतिको मात्र होइन दुवैको आयु बढाउनु पर्छ नि।”
“व्रतमा चाहिँ विश्वास छैन?”
“किन नहुनु! स्वास्थ्यका लागि पत्नी मात्र होइन पति पनि हप्ताको एक दिन व्रत बसे हुन्छ। विज्ञानले समेत स्वीकारेको कुरा हो।”
“भनेपछि व्रत बसेर भगवान् खुशी पार्न सकिने चाहिँ हैन?”
“मन, वचन र कर्मले अरुको कुभलो गर्न हुँदैन। मानव सेवा र सत्कर्मले भगवान खुशी पार्न सकिन्छ। ‘माग्नेलाई लात्ती हान्दै मूर्तिलाई दुध चढाउने’ भनिन्छ नि, त्यसो गर्दा भगवान खुशी हुनुहुन्न।”
“यहाँको धारणा आम महिलाको भन्दा अलि फरक आयो। कतै भगवान छैनन् भन्नु भएको त हैन?”
“नाम जे जे दिए पनि संसार चलाउने एउटा अदृष्य शक्ति अवश्य छ। मेरो विचारमा त्यही हो भगवान।”
“चुरा-पोतेका बारेमा यहाँको धारणा?”
“हेर्नोस्, यी चुरा, पोते, रंगीन लुगा लगाएर पतिको आयु बढ्ने वा भगवान् खुशी हुने होइन। लाउने बहाना मात्र हुन्। लाउन पाएर महिलाहरु चाहिँ खुशी हुनेहुन्। फेरि हाम्रो देशमा चुरा, पोते, साडी केही पनि बन्दैन । सबै विदेशबाट ल्याउनु पर्छ। हामीले खरिद गर्दाको करोडौं रकम विदेश जान्छ। हामी जत्तिको बुझ्ने मान्छेले वाहियातमा राज्यको व्यापार घाटा बढाउन सहयोग गर्न हुँदैन। बरु आत्मनिर्भर बन्न प्रयास गर्नुपर्छ।”
“अन्तमा, दर्शक स्रोतालाई केही भन्नुहुन्छ कि?”
“अहिलेको समयमा पति चाहिँ भगवान परमेश्वर पत्नी चाहिँ भक्त या साधारण मानिस भन्ने धारणा गलत छ। दुवै सहयात्री हुन्। जीवन साथी हुन्। आपसमा प्रेम गर्ने, ख्याल राख्ने, आहार-विहार, विचार र व्यवहार राम्रो बनाउने गर्दा दाम्पत्य जीवन सुन्दर हुन सक्छ। न कि भोकै बसेर, बेहोस भई ढलेर, पतिको गोडाको पानी पिएर।”
अन्तर्वार्ता सकेर घर पुगिन्। फेसबुक खोलेर हेर्दा त सयौं गालीगलौजको वर्षा थियो-
“कसरी त्यस्तो भन्न सकेकी? घर -समाज भाँड्ने,….खुब जान्ने पल्टेकी, छाडा, कस्ती नास्तिक आइमाई…?”

 

धुपू संखुवासभा