नदीका दुई किनारा
पारिले वारिलाई हेर्यो
वारिले पारिलाई हेर्यो
प्राप्त गर्न सकेनन् एकले अर्कालाई
वर्षौँदेखि चलिरह्यो मात्र हेराहेर
असीम प्रेम फुलाए आपसमा
समर्पित भए एकअर्कामा
सप्तरङ्गी सपना देख्दै
हराउँथे मिलनको स्वर्णिम कल्पनामा
एकदिन अचानक पहिरो आयो
बदल्यो नदीले आफ्नो बाटो
अब रहेन पानीको बहाव
मुक्त भए किनाराहरु नदीको अड्चनबाट
प्राप्त गरे एकले अर्कालाई
मेटियो दुइ किनाराबिचको सीमाना
साकार भए रङ्गिन सपना र कल्पनाहरु
तर दुखको कुरा
केही समयपछि शुरु भयो मनमुटाव
चोट पुग्यो एकअर्काको स्वाभिमानमा
ठेस लाग्यो दुवैको आत्मसम्मानमा
अब उर्लिन थाल्यो घृणाको वहाव
दुवैले अनुभूति गरे प्रेमको अभाव
प्यासी भए दुवै किनारा
रहेन अब दुवैको आफ्नो नाम
र, मेटियो दुवैको अस्तित्व ।
सभापोखरी १, संखुवासभा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला