
“बचाऊ ! बचाऊ !! ऐय्या ! मरेँ । मरेँ ।”
निस्सासिएजस्तो र पीडित स्वरमा कोही कराइरहेको थियो । जनताले यसो हेर्यो, कतै कोही देखेन ।
“बचाऊ ! ऐय्या ! मरेँ ।”, ऊ कराउन भने छोडेन । सबैतिर हेरेपछि बल्ल पत्ता पायो । यो आवाज रामशाह पथनजिकै सिंह दरबारबाट आएको रहेछ । नजिकै गयो र हेर्यो । कोही पुरिएर छट्पटाइरहेको थियो । यो दृश्य देखेर जनता निकै डरायो । तर “जो भए पनि आपतमा परेकालाई सहयोग गर्नु पर्छ” भनेर बाले भनेको सम्झ्यो ।
“को हौ तिमी ? ” जनताले सोध्यो।
“कृपया मलाई उद्धार गरिदेऊ । परिचय पछि दिऊँला।”, ऊ आत्तिँदै बोल्यो ।
जनतालाई उसको उद्धार गर्न सकूँला जस्तो लागेन । तर पनि चिन्नु त पर्यो भनेर भन्यो, “म सक्दो गर्नेछु । तिम्रो नाम त भन ! अनि कसरी यस्तो हालतमा पुग्यौ हँ ?”
“म तिम्रो आफ्नै हुँ । मलाई पालन गर्ने जिम्मेवारी पाएकाले नै यस्तो हालतमा पुर्याए । म तिम्रो भलाइ गर्न चाहन्छु । यसरी त म आफैँ मर्ने भएँ । कृपा गरेर मलाई बचाऊ ।”, निस्सासिँदै भन्यो । ऊ कृपावाद, नातावाद र पैसाका बिटैबिटाले थिचिएको थियो ।
“ल बाबा ! कोसिस गर्छु, तर नाम त भन !”
“म न्याय हुँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








