साहित्यकार इन्दिरा चापागाईंको लघुकथा–सङ्ग्रह ‘दृष्टिगोचर’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। भदौ १५ गते आइतबार साँझ श्रष्टा साँझ अमेरिका को आयोजनामा, जुम प्रविधिमार्फत परिचर्चा गरिएकाे हाे ।
निर्मला बरालको सभापतित्व र विश्वराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा लघुकथा सिद्धान्तकार गोपाल अश्क तथा हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी. ले कृतिकारलाई शुभकामना दिनुभएकाे थियाे । कार्यक्रमको प्रारम्भ लघुकथा गान–बजाएर गरिएको थियो।
कृति परिचर्चामा साहित्यकार रञ्जु खनालले कृतिमा सबै उमेर समूहका लागि उपयुक्त लघुकथाहरू समावेश भएको बताउनुभयाे । लेखक शान्ता तिम्सिनाले भने ‘पीडा’ शीर्षकको लघुकथाको वाचन गर्दै त्यसबारे टिप्पणी गर्नुभएकाे थियाे ।
परिचर्चाकार खेमराज पोखरेलले कृतिकार परिवर्तनशील र समयसापेक्ष सर्जक भएको उल्लेख गर्दै यौनजस्ता संवेदनशील विषयलाई समाजमा साहसपूर्वक प्रस्तुत गर्नु प्रशंसनीय रहेको बताउनुभयाे । अर्का परिचर्चाकार डा. शेखर कुमार श्रेष्ठले कृतिमा विषयवस्तुको विविधताले उत्तर–आधुनिकताको स्पर्श गरेको बताउनुभयाे । उहाँले भविष्यमा लेखनलाई अझ अनुभूतिप्रधान, कलात्मक र निर्वैयक्तिक बनाउन सुझाव दिनुभयाे ।
साहित्यकार तथा सिर्जना अभियानका सचिव ध्रुव मधिकर्मीले पहिलो कृतिको तुलनामा दोस्रो कृति धेरै परिस्कृत भएको भन्दै आगामी लेखनमा संवादको घनत्व र विषयको गम्भीरता ख्याल गर्नुपर्नेमा जोड दिनुभयाे । आख्यानकार मन्दिरा मधुश्रीले केही लघुकथामा भाषा प्रयोग र व्याकरणीय त्रुटि देखिएको औँल्याउँदै, यौनसम्बन्धी विषयलाई समाज र समय सापेक्ष रुपमा प्रस्तुत गर्नु साहसिक कदम भएको उल्लेख गर्नुभयाे।
समीक्षक मनीष कुमार शर्मा ‘समित’ ले कृतिका लघुकथाहरू भावनात्मक, सशक्त, व्यङ्ग्यात्मक, नवीनतायुक्त र सन्देशमूलक भएकाले विषयवस्तुको दृष्टिले ‘दृष्टिगोचर’ अब्बल रहेको टिप्पणी गर्नुभयाे ।
कार्यक्रमको अन्त्यमा कृतिकार इन्दिरा चापागाईंले प्राप्त सुझाव आत्मसात गर्दै आगामी लेखनमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले आयोजक, परिचर्चाकार र सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्नुभयाे ।
सभाध्यक्ष निर्मला बरालले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










