हिमाल हिउँ तानेर सेताम्य थियो । पहाड नीलगगनका हरिया पातहरू समेटेर नीलाम्मे थियो । तराई लहलह झुलेको थियो । धानका बोटहरू मसँग दिनहुँ पौठेजोरी खेल्न आउँथे । म आत्मविभोर हुन्थेँ । हिउँदका चिसा बाटाहरू गाउँका स्वतन्त्र कुकुरहरूसँग मस्त सुत्थे । स-साना केटाकेटी गाईबस्तु लखेट्दै उफ्रिन्थे ।

समय बिस्तारै यौवनको नितम्ब चढ्दै गएको थियो ।

कंश स्वरूप, नव -नायिकाको अनुहारमा कृत्रिम गर्भाधान गराउने होडमा अप्राकृतिक मैथुनद्वारा बारूदअस्त्रको गन्धमा रमाउन थाल्यो । चार दिशामा विकसित मान्छे दुई ध्रुवीय खटनमा बटारिन पुग्यो । जता हेरे पनि मसानघाटमा सभ्यता जलेको कालोधुवाँ मात्र फैलियो । सेताम्मे हिउँ र नीलाम्मे पहाड उचालेको समाज, एकाएक वेश्याहरूको दुर्गन्धित डिम्ब र कालो वीर्यबाट निस्किएको गह्नाउने ग्याँसले प्रदूषित भइसकेको थियो । केटाकेटी / गाईबस्तु यहाँसम्म कुकुरहरू पनि बेचिन थालेका थिए । भोग्न बाँकी र भोग्नुपर्ने केही रहेका थिएनन् ।

यतिञ्जेलसम्म रङ्गमञ्च मानव आकृतिले खचाखच भरिइसकेको थियो ।

‘नाटकको पर्दा खुल्यो । कथामा दुई पात्र/एक परिवार देखा पर्छन् ।’

एक – “यो धर्ती ईश्वरको सृष्टि हो । म ईश्वरको अन्तिम अस्तित्व हुँ । मैले यसलाई हिजोको जसरी नै उपभोग र संरक्षण गर्न पाउनुपर्छ ।”

दुई – “यो धर्ती प्राकृत हो । प्रकृतिले सबैलाई समान मान्दछ । हिजोको पुरातन संस्कार च्यातेर नयाँ ल्याएको पनि सबैको निम्ति भनेर हो ।”

एक – “संस्कार मेटाउनु भनेको कुनै परिवर्तन होइन । अर्को लाद्ने षड्यन्त्र मात्र हो । म किमार्थ मान्दिनँ । यो सुन्दर माटो पुनः एकीकरण गर्छु । एउटै गोलार्ध बनाउँछु ।”

दुई – “भएको नष्ट नगरी अर्को मार्ग कसरी पुनर्निर्माण हुन्छ ?”

एक – “यो समय विष हो । विषाक्त पदार्थ क्षणभङ्गुर हुन्छ । ऊ स्वयम् नासिन्छ । म पर्खेर हेर्छु ।”

दुई – “तिमी पनि यही समयको लिँड हौ । नासिनेमा तिमी पनि पर्छौ ?”

एक – “म ईश्वरको भक्त हुँ । त्यसो हुन सक्दैन ।”

दुई – “ईश्वर मनभित्रको सत्य मात्र हो । हाम्रो अन्त्य अवश्यम्भावी छ । दुवैको उद्देश्य नास्नु र नासिनुमा छ भने किन प्रकृतिलाई कष्ट दिने ! समयको भरोसा हुँदैन । आऊ, आजै सम्भोग गरौं । भोलि छोरीहरू उठ्न सक्छन् ।”

यत्तिकैमा नाटकको पर्दा खस्छ ।

– धनगढी, कैलाली