पोखरा । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी ‘कास्की आइडल–२०८१’ को टपटेन छनोट चरण सम्पन्न भएको छ। गायन र नृत्य दुवै विधामा तीव्र प्रतिस्पर्धामध्यमार्फत प्रतियोगीहरूको शीर्ष दश चयन गरिएको हो।
गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा प्रवेश गर्नुभएकाे छ । नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा पर्नुभएकाे छ ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदीले कास्की आइडलले स्थानीय स्तरमै दक्ष कलाकार उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । गायकसमेत रहेकाे सुवेदीले गायन र नृत्य क्षेत्रको विकासका लागि स्थानीय तहले कला, साहित्य र सङ्गीतमा लगानी गर्न हिच्किचाउन नहुने बताउनुभएकाे छ ।
कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । रूपा वाङ्मय प्रतिष्ठानका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको महत्वबारे प्रकाश पार्नुभयाे ।
कार्यक्रमको स्वागत गीत सनम गुरुङले प्रस्तुत गर्नुभएकाे थियाे भने सञ्चालन ज्योति खड्काले गर्नुभएकाे थियाे । प्रतियोगिताको आगामी चरण अब टपटेनबीचको प्रतिस्पर्धाबाट अघि बढ्ने आयोजकले जनाएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




