कन्सर्ट सकिए पनि ओशाकाको हलमा नेपथ्यको उपस्थिति दीर्घकालसम्म रहने भएको छ। जापान शृङ्खलाको अन्तिम प्रस्तुति सोमबार सम्पन्न हुँदै ब्यान्ड स्वदेश फर्कने तयारीमा छ। तर ओशाकाको प्रतिष्ठित ‘जेप ओशाका बे साइड’ हलले नेपथ्यको हस्ताक्षरसहितको सन्देश ‘वाल अफ फेम’ मा राख्ने भएको छ।

नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार विश्वभरका प्रतिष्ठित हलहरूले उत्कृष्ट प्रस्तुति दिने समूहलाई भित्तामा विशेष स्थान दिने परम्परा रहँदै आएको छ। ‘१३ वर्षअघि वेम्बली एरिनामा उपस्थित हुनु नेपथ्यका लागि एक मानक थियो,’ श्रेष्ठले भने, ‘जापानकै आर्थिक केन्द्र ओशाकामा पनि यसरी मान्यता पाउनु अर्को महत्वपूर्ण उपलब्धि हो।’

हलका प्रबन्धक एन्डो नाओसी नेपथ्यको प्रस्तुति र दर्शकको उत्साहले आफू प्रभावित भएको बताउनुभयाे । ‘नेपाली कार्यक्रम पहिले पनि भएकाे थियाे,’ उहाँले भन्नुभयाे, ‘तर आजको सहभागिता, ऊर्जा र दर्शकको आत्मीयता असाधारण थियो।’

नेपथ्यले यसअघि नागोया र टोकियोमा पनि प्रस्तुति दिदैँ जापान यात्रा अघि बढाएको थियो। ओशाकामा समेत दर्शकको भीड सुरुदेखि अन्त्यसम्म उत्तिकै घनिभूत देखिन्थ्यो। साँझ ५ बजे ढोका खुल्नेबित्तिकै हलमा पसेका दर्शकले मञ्चमा कलाकार देखिनासाथ चर्को आवाजमा स्वागत गर्नुभएकाे थियाे । पहिलो गीत ‘हो रामा रामा’ बाट वातावरण तातिएको थियो।

कार्यक्रमभर गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै कहिले हिमाल–पहाडको यात्राको प्रेरणा सुनाउनुभयाे, कहिले भाषा–संस्कृति जोगाउन आग्रह गर्नुभयाे । ‘यो जिन्दगानी’ प्रस्तुत गर्नु अघि उहाँले विदेशमा श्रम गरिरहेका नेपालीलाई आफ्नो भागबाट समाजमा योगदान पुर्याउन पनि अनुरोध गर्नुभयाे । विशेषगरी नेपालमा आधारभूत शिक्षा नपाएका बालबालिकालाई सहयोग गर्न उहाँले दर्शकलाई प्रेरित गर्नुभयाे ।

ओशाकाका ग्रामीण क्षेत्रबाट आएकाे दर्शक रविन श्रेष्ठले कन्सर्टले आफूलाई नेपालमै पुगेको अनुभूति दिएको बताउनुभयाे । ‘अमृत दाइका हर एक वचन वास्तविक लागे,’ उहाँले भन्नुभयाे , ‘शोले निकै सकारात्मक ऊर्जा दियो।’

दुई घण्टासम्म चलेको कार्यक्रम अन्त्यतिर ‘गाउँ–गाउँबाट उठ’ ले हलभरि उत्साह उफारेको थियो।  ‘जोगले हुन्छ भेट’ मा गितारवादक नीरज गुरुङ र दर्शकबीच रमाइलो मेल देखियो। लोकप्रिय ‘रेशम’, ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसुर्जे’ मा पुग्दा हलको वातावरण चरम उत्साहमा बदलिएको थियो।

हलमा जापानी दर्शकको सङ्ख्या पनि उल्लेख्य थियो। उनीहरूमध्ये ओकुयामा सिगेकीले मञ्च र दर्शकबीचको संवाद आफूले पहिलोपटक अनुभव गरेको बताउनुभयाे । चार वर्षदेखि जापानमा अध्ययन गरिरहनुभएकाे शिला देवानले एउटै गीतमा सबै पुस्ताको एकैसाथ नाचगान देख्दा ‘अद्भुत अनुभूति’ भएको बताउनुभयाे ।

अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे । आयोजक पूर्ण गर्बुजाले दर्शकको उत्साह देखेर निकै सन्तुष्टि लागेको प्रतिक्रिया दिनुभयाे ।

ओशाकाको कन्सर्टसँगै नेपथ्यको यो वर्षको जापान यात्रा सम्पन्न भएको छ। अब टोली स्वदेश फर्कने तयारीमा जुटेको छ।