अमेरिका । स्रष्टा साँझ अमेरिकाले लघुकथाकार मनीषकुमार शर्मा ‘समित’को तेस्रो लघुकथा सङ्ग्रह ‘अर्धशताब्दी’ माथि एक साहित्यिक परिचर्चा सम्पन्न गरेको छ।  साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  समालोचक तथा लघुकथाकारहरू खेमराज पोख्रेल, डा. कुशमाकर शर्मा गौतम, दीपक लोहनी र इन्दिरा चापागाईंले कृतिबारे विश्लेषण गर्नुभएकाे थियाे ।

परिचर्चाकालीन प्रस्तुतिमा इन्दिरा चापागाईंले सङ्ग्रहमा समावेश ५० लघुकथाको विषयवस्तु अत्यन्त फराकिलो दायरामा फैलिएको उल्लेख गर्दै सामाजिक व्यथा, पारिवारिक सम्बन्धदेखि मिथक, राजनीति र प्रविधिसम्मका आयाम समेटिएको बताउनुभयाे । उहाँले शीर्षक चयनमा अझ सरलता र आकर्षक शैली अपनाउन सुझाव राख्नुभयाे ।

समीक्षक दीपक लोहनीले कृतिमा वस्तु–सौन्दर्य, संख्यात्मक रूपक र अंकगणितीय संरचनाको प्रयोगले पुस्तकलाई अन्य साधारण सङ्ग्रहभन्दा विशिष्ट बनाएको टिप्पणी गर्नुभयाे । उहाँले केही कथाहरूमा आवश्यक तीखोपन र तीव्र प्रभाव कमजोर देखिएको पनि औँल्याउनुभयाे ।

डा. कुशमाकर शर्मा गौतमले मिथक, कल्पना, यथार्थ र आधुनिकताको संयोजनले ‘अर्धशताब्दी’ लाई पृथक बनाएको उल्लेख गर्दै कृतिमा पौराणिक पात्रदेखि भविष्यवादी प्रविधिसम्मका विषयहरू प्रभावकारी रूपमा आएकाे बताउनुभयाे ।

समीक्षक खेमराज पोख्रेलले कृतिकार ‘समित’को पहिलो कृतिदेखि तेस्रो कृति ‘अर्धशताब्दी’ सम्मको लेखन यात्रा उल्लेखनीय रूपमा उचाइमा पुगेको बताउनुभयाे । उहाँका अनुसार लेखकका प्रारम्भिक संकेतहरू—प्रयोगशीलता, विषय छनोट र शैलीगत खोज—यो सङ्ग्रहमा आएर परिपक्व भएका छन्।

कार्यक्रममा निर्मला बरालले कृतिकारको बहुविधा लेखन–क्षमताको प्रशंसा गर्दै बधाई दिनुभयाे । कृतिकार मनीषकुमार शर्मा ‘समित’ ले कृतिमा मिथक र आधुनिक विज्ञानको संयोजन, अंकगणितीय प्रतीकहरूको प्रयोग तथा शीर्षकमा नवीनता ल्याउने प्रयास निरन्तर जारी रहने बताउनुभएकाे थियाे ।

सभापति ध्रुव मधिकर्मीले ‘अर्धशताब्दी’ ले कृतिकारलाई नेपाली लघुकथा क्षेत्रमा नयाँ पहिचान दिलाएको टिप्पणी गर्दै, अब लेखकले कथ्य–घनत्व र सूक्ष्मताको चुनौतीलाई झन् परिष्कृत बनाउनुपर्ने सुझाव दिनुभयाे ।

कार्यक्रमको संयोजन विश्वराज अधिकारीले गर्नुभएकाे थियाे । कार्यक्रममा श्रीप्रसाद पोखरेल, गणेश लम्साल, नवराज शर्मा, शितल सुबेदी ‘एन्जल निलु’लगायतको उपस्थिति थियो।