उता — पाँचखालमा अन्तिम फाइट राखिएको ‘म तिमीबिना मरिहाल्छु’ भन्ने सिनेमामा भुवन केसीले मेजरको भूमिका निभाएर करोडौं कमाए । फिल्म उल्का चल्यो । भुवनले दुइटा कुरा कमाए ।
करोडौंको — प्रशंसा ।
करोडौंमा — पैसा ।
यता — भर्खरै पाँचखालबाट डोटी सरुवा भएका मेजरसाब त्यही फिल्मको धङधङीमा थिए । भुवनको सिको गरेर उनले जुङा पाल्न थाले । ऐनामा हेरेर भुवन केसीको स्ट्याइलमा मुस्कुराउन थाले । हस्की भोइस निकालेर रोलकलमा— “सुन केटा हो मलाई अबदेखि भुवन मेज्साब भन्नू” भनेर जान्थे । केटाहरू मरिमरी हाँस्थे ।
अनि उनले अनुशासनमा एक मिनेट लामो प्रवचन दिन्थे, “हेर केटा हो ! सारा जिन्दगी सिपाहीले उभिएर बिताए पनि एउटा कुरामा नबसी जागिर पाक्न सक्दैन ।”
“था’छ, के कुरो हो ?”
केटाहरू ट्वा पर्थे, “छैन सर ।”
अनि त्यही एक मिनेटभित्र मेजरले भन्थे, “अनुशासनमा बसिनस् भने तेरो जागिर पाक्दैन । सेनाले बस्ने भनेको अनुशासनमा मात्रै हो । बाँकी त उभिइरहने हो ।”
यो डाइलगले केटाहरू डरले थरर काँप्थे ।
अन्तत : त्यस्ता खतरा मेज्सापले पनि ‘डोटीमा बसेर मान्छेले रोटी मात्रै खान्छन् र फर्किंदा धोती न टोपीका हुन्छन्’ भन्ने हेयको भनाइलाई घाममा सुकाइदिए ।
त्यहाँबाट चितौन पोस्टिङ भएर जाने बेला उनले पल्टनको आम्दानीले किनेका सिरक, डसनाका खोलदेखि, पल्टनको रासन, सत्र किलो चिनी, ४ सय ग्राम सुकमेल, ६ किलो मासको दाल, ७ वटा पिउरोको सुकुटी र केटाहरूको नाममा आएको २ वटा स्लिपिङ ब्याग, ५ लिटर लालीगुराँसको जुस र ६ थान मन्डी पोको पारेर घर गए ।
डोटीबाट धनगढी फर्केको सिपाहीले एकदिन दुखेसो सुनायो, “अरूभन्दा पनि भुवन मेज्सापले यो साल मेडल लाइसिन्छ भन्ने पिर छ !” नभन्दै सिपाहीले नचिताएको भयो । भुवन मेज्सापले मेडल लगाए ।
दुरुस्तै ! बालेनको ‘स्वतन्त्र’ प्रभावले राजनीतिमा ‘स्वतन्त्र पार्टी’ खोलेर उदाएका रवि लामिछानेले पनि तपाईं हामीलाई रोलकलमा राखेर — एक प्लेट देशभक्ति बेचे । जोस बेचे । नयाँले मात्रै माखो मार्छन् भन्ने कुतर्क बेचे । पुराना पार्टीको खेदो खने । हाम्ले बेल्चा दियौं । उनले माटो उघाए र आँखामा छारो हाल्दिए ।
अस्ति देश घुमेर आइपुगेका मुकुलले त्यो माटो उघाएको खाल्डोमा स्वतन्त्र पार्टी आफै जाकिने दिन आउँदैछ भनेर बोलेको बोली अर्थपूर्ण छ ।
तर मुकुललाई कसले चिन्छ र ? – भित्र बोलाएर बाहिर मुकुललाई चुकुल लाइदे भैगो नि !
तर ओइ ल्वाँठहरू — सक्किनुअघि सच्चिएको राम्रो । सोफामा हैन सुकुलमा बसेर मुकुलका कुरा सुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।